रूपन्देही–३ मा उपनिर्वाचन : कांग्रेस, एमाले र राप्रपाका उम्मेदवार को ? | Khabarhub Khabarhub

रूपन्देही–३ मा उपनिर्वाचन : कांग्रेस, एमाले र राप्रपाका उम्मेदवार को ?


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता साझेदार दुई दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले) रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचन तयारीमा जुटेका छन् ।

सात बुँदे सहमतिमा टेकेर सरकार सञ्चालन गरिरहेका दुई ठूला दल रूपन्देहीमा हुने उपनिर्वाचनका लागि छट्टाछुट्टै आन्तरिक तयारीमा जुटेका हुन् ।

प्रतिनिधि सभा निर्वाचन–०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित सदस्य दीपक बोहराको कार्यकाल आधाभन्दा बढी बाँकी रहँदै निधन भएपछि रूपन्देही–३ मा उपनिर्वाचन हुन गइरहेको छ ।

सांसद बोहराको ०८१ चैत १९ मा काठमाडौंस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । त्यसयता रूपन्देही–३ मा प्रतिनिधि सभा सदस्य पद रिक्त छ ।

राप्रपाका नेता बोहरा ३६ हजार ७१७ मतसहित प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणले ३४ हजार ३६ मत पाएका थिए ।

तत्कालीन समयमा यो क्षेत्रमा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सघाएको थियो । यस्तै; नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) चुनावी गठजोडअनुसार काङ्ग्रेसलाई सघाएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जितबहादुर गुप्ता तेली पाँच हजार ७६९ मतसहित तेस्रो भएका थिए । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार तुल्सीप्रसाद थारूले चार हजार ७५१ र जनमत पार्टीका उम्मेदवार प्रमोदकुमार राउतले तीन हजार ३१७ मत पाएका थिए । उम्मेदवार थारू र राउत क्रमशः चौथो र पाँचौं भएका थिए ।

के गर्दैछ काङ्ग्रेस ?

रूपन्देही–३ मा उपनिर्वाचन हुने भएपछि सत्ता साझेदार काङ्ग्रेसका तर्फबाट पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सम्भावित उम्मेदवारका रूपमा हेर्न थालिएको छ ।

तर, उनको उम्मेदवारीको निधो भने अदालतको फैसलाले गर्ने काङ्ग्रेस नेताहरू बताउँछन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलसमेत परेका खाँडको मुद्दा टुङ्गिएको छैन ।

काङ्ग्रेसका एक पदाधिकारीले खबरहबसँगको कुराकानीमा अदालतको कुनै एक तहबाट सफाइ नपाउँदासम्म रूपन्देही–३ बाट उम्मेदवार बन्ने सम्भावना न्यून रहेको बताए ।

‘उहाँको फौजदारी अभियोगमा मुद्दा भएकाले सफाइ नपाएसम्म उम्मेदवार बन्न गाह्रो हुन्छ,’ ती नेताले भने, ‘अदालतको एक तहबाट सफाइ पाउनुभयो भने उम्मेदवार बन्न पाउनुहुन्छ ।’

उनले रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि पार्टीमा आन्तरिक छलफल चलिरहेको बताए । ‘मिति नतोकिए पनि सर–सल्लाह भइराखेको छ,’ उनले भने, ‘खाँण दाइ हाम्रो अग्रज नेता हो । उहाँ र जिल्ला सभापतिको परामर्शमा अनौपचारिक छलफल चलिराखेको छ ।’

ती नेताका अनुसार उपनिर्वाचनका लागि रूपन्देही काङ्ग्रेसबाट आधा दर्जन आकाङ्क्षी देखिएका छन् । तर, उनले आकांक्षीहरूको नाम भने खुलाएनन् ।

‘आकांक्षीहरूको संख्या आधा दर्जन छ । यसलाई हामीले अहिले नै डिस्क्लोज गरेका छैनौँ,’ ती पदाधिकारीले भने ।

एमालेबाट खिमलाल भट्टराईको सम्भावना

सत्ताको नेतृत्व गरिरहेको एमालेले रूपन्देही–३ मा हुने उपनिर्वाचनमा पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने निश्चित जस्तै छ ।

उनले असार ९ मा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर टिकट ‘फिक्स’ गरिसकेको चर्चा छ ।

एक दिनपछि उनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीसँगको तस्बिर सार्वजनिक गर्दै लेखेका थिए, ‘सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीज्युसँगको महत्वपूर्ण भेट ।’ तर, भट्टराईको उम्मेदवारीबारे एमालेले औपचारिक निर्णय भने गरिसकेको छैन ।

गत निर्वाचनमा उनले रूपन्देही–५ बाट पार्टीका तर्फबाट उम्मेदवारी दिएका थिए । एमालेबाटै वासुदेव घिमिरेको पनि उम्मेदवारी परेको थियो । पछि निर्वाचन आयोगले घिमिरेको उम्मेदवारीलाई सदर गरेपछि भट्टराईले उम्मेदवारी र राष्ट्रिय सभा सदस्य पद गुमाए ।

राप्रपाले जोगाउला त विरासत ?

प्रतिनिधि सभा निर्वाचन–०७९ मा राप्रपाले देशभर प्रत्यक्षतर्फ सात सिट जितेको थियो । जसमध्ये उक्त पार्टीले नेता बोहराको निधनका कारण रूपन्देही–३ गुमाउनु परेको छ । राप्रपाले उक्त निर्वाचन क्षेत्रमा विरासत कायम राख्छ कि गुमाउँछ भन्ने निक्र्योल आगामी उपनिर्वाचनले गर्नेछ ।

राप्रपाका प्रवक्ता समेत रहेका संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उपनिर्वाचनका लागि पार्टीले आन्तरिक तयारी गरिरहेको जानकारी दिए । जिल्ला कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनका लागि उम्मेदवार तय गर्ने उनले बताए ।

‘मिति तोकिएको त छैन, तर तयारी हुने नै भयो,’ प्रवक्ता शाहीले भने, ‘यसबारे जिल्ला समिति र कार्यसम्पादन समिति बैठक बसेर हामी टुङ्गो लगाउँछौँ ।’ उनले बैठकहरूको मिति भने तय भइनसकेको बताए ।

कात्तिकमा हुन सक्छ उपनिर्वाचन

उपनिर्वाचनका लागि निर्वाचन आयोगले मिति तय गरिसकेको भने छैन । तर, आयोगले उपनिर्वाचनको तयारीस्वरूप मतदाता नामावलीमा नाम नभएका मतदाताहरूलाई नाम दर्ता गर्न आग्रह गरिसकेको छ ।

आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेद्वारा हस्ताक्षरित असार ११ मा जारी सूचनामा उपनिर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन नपाइने भएकाले यथाशीघ्र नाम दर्ता गराउनुपर्ने उल्लेख छ ।

उपनिर्वाचन गर्ने विषयमा असार ६ गते कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए । छलफलका क्रममा प्रतिनिधि सभाअन्तर्गत रूपन्देही–३ र प्रदेशसभा मनाङ– १ (ख) मा रिक्त सदस्यका लागि आगामी कात्तिक दोस्रो साता निर्वाचन गर्नेबारे परामर्श भएको बताइएको छ ।

रूपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी बोहराको निधन भएपछि पद रिक्त छ । यस्तै, मनाङ– १ (ख) का प्रदेशसभा सदस्य दीपक मनाङे जेल चलान भएपछि पद रिक्त हुन पुगेको छ । स्थानीय तहअन्तर्गत वडाध्यक्षतर्फ एक दर्जनभन्दा बढी पदहरू रिक्त छन् ।

निर्वाचित जनप्रतिनिधिको पदावधि समाप्त नहुँदै कुनै कारणले पद रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पद पूर्ति गरिने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ५ : ५० बजे

वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु

इजरायली आक्रमणमा मारिएका उच्च इरानी अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि

तेहरान – इरानले शनिबार इजरायलसँगको युद्धमा मारिएका करिब ६० वैज्ञानिक

मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

जनकपुर – मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयले आयोजना

पाकिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण २४ जनाको मृत्यु

पेशावर – पाकिस्तानमा यो साता मनसुन सुरु भएपछि भएको भारी

भारत र चीनले गरेको विकासबाट नेपालले लाभ लिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनसँगको सुमधुर सम्बन्धलाई