धनगढी – धर्तीको स्वर्ग अर्थात् भू–स्वर्ग । सुदूरमा लुकेको प्रकृतिको सुन्दर रचना । मानव जातिका लागि अमूल्य उपहार । जो अलौकिक छ । अद्भूत छ । अकल्पनीय छ । मनमोहक अनि बेजोड छ बडीमालिका ।
समुन्द्री सतहदेखि तीन हजार ८६० मिटर उचाइ । आँखाका नजरहरूले नभ्याउने विशाल क्षेत्रफल ।
प्रकृतिको हरित कुचीले रङ्गिएका फराकिला फाँटहरू । सात महिना हिँउ फुल्ने, चार मास कुहिरोले लुकामारी गर्ने जो कोहीलाई पुग्न कष्टसाध्य बडीमालिका ।
बडीमालिका जति प्राकृतिक सुन्दरताले सुरम्य छ त्यति नै धार्मिक आस्थासँग जोडिएको छ । आस्था र जीवनलाई आफूसँगै राखेको छ बडीमालिकाले ।
बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ मा पर्ने बडीमालिका भ्रमण तथा अवलोकन गर्न वर्षेनी हजारौं आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

बडीमालिकाको कायाकल्पको प्रयास
पाँच सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बडीमालिकामा २२ वटा समथर हरिया पाटन छन् । मनमोहक त्रिवेणी क्षेत्र, ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूल, विष्णुपानी, खेतीवेती, लौरी विनायक, धर्मद्वार बडिमालिका क्षेत्रका मुख्य मनमोहक स्थल हुन् ।
चार हजार दुई सय मिटर उचाइको यात्रापछि आइपुग्छ बडीमालिका । धार्मिक तथा पर्यटकीय दुवै दृष्टिले चर्चित गन्तव्य, विगत भन्दा फेरिँदै गएको छ ।
सदियौँपछि मन्दिर संरचना नयाँ बनेका छन् । पुरातात्विक महिमा र विशेषता झल्काउन कलात्मक शैलीमा कुँदिएको छ ।
नेपाली सेनाले करिब २ करोड बढी आन्तरिक स्रोत प्रयोग गरेर निर्माण गरेको हो । मन्दिर संरचना जति कलात्मक छ, त्यसमा प्रयोग गरिएका निर्माण सामग्री पनि उत्तिकै महत्वका साथ छनोट गरिएको देखिन्छ ।
मन्दिर निर्माणमा सिमेन्ट र फलामको प्रयोग गरिएको छैन । सिमेन्टका सट्टा काठमाडौँबाटै झिकाइएको चुना र सुर्की प्रयोग गरिएको छ ।
मन्दिरको डिजाइनअनुसार धनगढीमा तयार गरेर ल्याइएको सालको काठ प्रयोग भएको छ । स्थानीय क्षेत्रमै सङ्कलन गरिएको पत्थरको प्रयोग गरिएको छ । काठमाडौंबाटै तयार गरिएको छाना पित्तलको छ ।
बडीमालिकाका पुजारी नेत्रराज पाध्याका अनुसार ०५० सालदेखि मन्दिर पुनः निर्माणका लागि पहल हुँदै आएको थियो । हाल प्रधानसेनापति अशोकराज सिग्देलको अगुवाइमा निर्माण कार्य सम्पन्न गरिएको उनको भनाइ छ ।

सेनाले कलात्मक मन्दिर निर्माण गर्नु पालिकाको मात्रै नभइ देशकै लागि गौरव भएको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापा बताउँछन् । त्रिवेणीले आफ्नो समृद्धिको प्रमुख आधार नै बडीमालिका क्षेत्रको पर्यटन विकासलाई लिने गरेको छ ।
यो पटक बडीमालिका यात्रामा जानेका लागि नयाँ अनुभव, अवलोकन र विशेष रहनेछ । बडीमालिका पुग्नेहरूले भुटानको राजदरबार निर्माणमा संलग्न अनुभवी कालिगढले निर्माण गरेको पुरातात्विक मन्दिरहरूको दर्शन र अवलोकन गर्न पाउने छन् ।
उनीहरूसँगै भारतको लद्दाखमा काम गर्दैआएका कालीगढले मन्दिर निर्माण गरेका छन् ।
यो वर्षको साउन २३ गते पूजा लाग्नेछ । हरेक वर्षको जनैपूर्णिमाको अघिल्लो दिन बडीमालिकामा पूजा लाग्ने गरेको छ । जहाँ हजारौं भक्तजन बडीमालिकालाई वरदानको खानी र मनोवाञ्छित फल प्राप्त गर्ने आस्थाको धरोहरका रूपमा पुज्ने गर्दछन् ।
कलात्मक देवी भगवतीको मन्दिर र यज्ञशालाको पुनः निर्माण भएको छ ।
‘त्यो केवल एउटा भौतिक संरचना मात्रै होइन, अनेकन दृष्टिले महत्वपूर्ण र दुर्लभ अनि अलौकिक छ ।’ स्थानीयहरू भन्छन् ।
देवीका शक्तिपीठमध्ये बडिमालिकामा निर्माण गरिएको मन्दिर विश्वमै सबैभन्दा उच्च स्थानको कलात्मक मन्दिर हो ।
चार हजार दुई सय मिटरको उचाइमा अन्यत्र कुनै पनि स्थानमा देवीका कलात्मक मन्दिर निर्माण नभएको नेपाली सेनाको प्रारम्भिक अध्ययन छ ।

बडीमालिकाको इतिहास र महिमा
मन्दिर आदिमकालमा स्थापना भएको हो । स्कन्दपुराणको मानसखण्डमा उल्लेख भएअनुसार सत्यदेवीले आफ्ना पिता दक्षप्रजातिको यज्ञमा अग्निदाह गरेपछि महादेव सत्यदेवीको मृत शरीर लिएर पृथ्वी भ्रमण गर्न थाले ।
यसरी ठाउँठाउँमा सत्यदेवीका अङ्ग पतन हुँदै, झर्दै खस्न थाले । सत्यदेवीका अङ्ग जहाँजहाँ पतन भए त्यहाँ शक्तिपीठ स्थापना भए । त्यसै क्रममा बाजुराको मल्लागिरी पर्वत (बडीमालिका) मा उनको बायाँ कुम पतन भयो । त्यही मल्लागिरीमा बडिमालिकाको मन्दिर स्थापना गरेर पूजा गर्न थालिएको जनश्रुति छ ।
बडीमालिकाका अध्ययेता बाजुराका जहरसिंह थापाका अनुसार बडीमालिका देवीको पहिलो देउरो (मन्दिर) निर्माण बाजुराका दीपराज छत्यालले गरेका थिए । त्यसपछि शाके १५९१ मा जुम्लाका कल्यालवंशी राजा वीरभद्र शाहीले बाजुराको ढाडाकोटको कालापनी भन्ने ठाउँबाट ढुङ्गा बोकाएर बडीमालिकामा मन्दिर निर्माण गराएका थिए ।
शाके १६७९ मा कल्यालवंशी राजा शुरदर्शन शाहले बडिमालिका मन्दिर मर्मत गराउनुका साथै मूर्ति स्थापना गरेका थिए । त्यसपछि ०३६–०३७ तिर तत्कालीन जिल्ला विकास बाजुराका सभापति छत्रबहादुर शाह र पैमाका पुजारीहरूको सक्रियतामा मन्दिर निर्माण गरिएको थियो ।
आदिमकाल देखिकै धार्मिक आस्थाको धरोहरका रूपमा रहेको बडिमालिकामा अनेकन छँटाहरू, सुगन्धित बगैँचा, विशाल पाटन (फाँट) हरू र जैविक विविधताको खजानाका रूपमा रहेको छ । बडिमालिका मानव जातिका लागि प्रकृतिले दिएको अनुपम उपहार मानिन्छ ।
उसो त बडीमालिका नेपाली सेनाको इष्टदेवी हुन् । बडीमालिकाका अध्येता जहरसिंह थापाका अनुसार अमरसिंह थापाकै समयदेखि बडीमालिकासँग नेपाली सेनाको साइनो सम्बन्ध जोडिएको थियो ।

पुजारी नेत्रराज पाध्यायका अनुसार ०३२ सालसम्म नेपाली सेनाले पनि श्रावण शुक्ल चतुर्दशीकै दिन पूजाआजा गर्ने परम्परा थियो । तर त्यस दिन सर्वसाधारणले समेत पूजाआजा गर्ने भएकाले ०३२ सालपछि खप्तड स्वामीको सुझावमा सेना र तत्कालीन राजाले जेष्ठ शुक्ल पक्षको अष्टमी तिथिमा पूजाआजा गर्ने परम्परा सुरु भएको हो ।
त्यस बेला सकभर राजा, खप्तड स्वमी र प्रधानसेनापति पूजाआजाका लागि आफैं बडिमालिका पुग्थे । तर राजा वीरेन्द्रको हत्यापछि भने राजा र राष्ट्राध्यक्षले पूजा गर्ने प्रचलन टुटेको थियो । तर सेनाले पूजा गर्ने परम्परा भने कायम राखेको छ ।
पुजारी पाध्याका अनुसार हरेक वर्ष सेनापतिको प्रतिनिधित्व गर्दै विगतमा दीपायलबाट बाहिनीपति र अहिले पृतनापति पूजामा पुग्छन् ।
बडीमालिका दर्शन गरेमा इच्छाएको वरदान प्राप्त हुने जनविश्वासका कारण यहाँ पुग्नेको घुइँचो लाग्ने गर्छ । नेपाल मात्रै नभएर भारतको उत्तराखण्डमा पर्ने कुमाउ, गढवाल, पिथौरागढलगायतका ठाउँबाट पनि तीर्थयात्री आउने गरेका छन् ।

बडीमालिकाको पूजाका लागि तत्कालीन सिंजा राज्यको प्रतिनिधित्व गर्दै जुम्लाबाट सरकारी पूजा सामग्री (डोली) पठाइन्थ्यो भने डोटी राज्यको प्रतिनिधित्व गर्दै डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) पठाउने प्रचलन हालसम्म पनि कायमै छ ।
जुम्ला जिल्ला प्रशासन कार्यालयबाट चन्दननाथको डोलीसहित सरकारी टोली नागपञ्चमीका दिन बडीमालिकातर्फ प्रस्थान गर्ने परम्परा अहिले पनि छ ।
डोटीबाट अमरसिंह थापाकै पालादेखि बडीमालिकामा ‘डोली’ पठाउने चलन थियो । सरकारी पूजा सामग्रीलाई डोली भन्ने चलन छ ।
शिलगढीबाट १५ दिनमा बडीमालिका पुग्ने प्रचलन रहिएकाले श्रावण प्रतिपदाका दिन सदरमुकाम शिलगढीबाट पूजा टोली बडीमालिका प्रस्थान गर्ने गरेको छ । यस वर्षका लागि डोटीको सदरमुकाम शिलगढीबाट शुक्रबार बडिमालिका मन्दिरका लागि सरकारी डोली हिँडिसकेको छ ।

डोटीको डोलीमा दीपायलको भुरुडी, (धानको पात) र अछामको वैद्यनाथको अक्षता समावेश गर्ने प्रचलन छ ।
पूजाको पनि विधि र परम्परा छ । ‘सुरुमा डोटीबाट आएको डोलीसँगै गोरखनाथको पेटारो चढाइन्छ । त्यस क्रममा जुम्लाबाट आएको चन्दननाथको पेटारो पूजाको चढाउने पराम्परा छ ।
तीन दिनअघि नै बडीमालिकाका पुजारीले लिने आशागुर्जा (चाँदीका पूजा भाँडा) र कालिकोटका ब्राम्ह्रणहरूले लिने छत्रको पूजा गर्ने चलन छ । त्यसपछि पूजा जल लिएर पुजारीहरू बडीमालिका मन्दिरतर्फ प्रस्थान गर्छन् ।
धार्मिक आस्था र प्राकृतिक सुन्दरताले नै बडीमालिका बहुत सुन्दर र सबैको रोजाइको गन्तव्य बनिरहेको छ । मन्दिरमा प्राचीन कालदेखि नै मेला लाग्ने र पूजाआजा हुँदै आएको छ । बडिमालिका मन्दिरका पुजारी नेत्रराज पाध्यायका अनुसार आफ्नो परिवारका १४ पुस्ता अघिदेखि पूजा भइरहेको अभिलेख छ ।
वि. सं १८८३ मा राजा रणबहादुर शाहद्वारा बडीमालिकालाई राष्ट्रिय धार्मिक आस्थाको क्षेत्रका रूपमा लालमोहर लगाएर प्रमाणित गरेको पुजारी परिवारको भनाइ छ ।

राजा रणबहादुर शाह स्वयंले पनि बडीमालिकाको दर्शन गरेको भन्ने भनाइ छ । नेपाल एकीकरणको बाँकी काम पूरा गर्न बहादुर शाह स्वयम् बडीमालिका पुगेर माताको दर्शन गरेर आर्शिवादसहित फर्किएको पुजारी खलक बताउँछन् ।
बडिमालिका क्षेत्रमा दुर्लभ जडीबुटीका त फाँटैफाँट छन्, डाँफे मुनाल, अनेकौँ प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ । बहुमूल्य जडीबुटी कुट्की, वन लसुन, सुगन्धवाल, पदमचाल, भूतकेश, बायोजडी, पाँचऔंले लगायत ४५ बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडिबुटी पाइने गरेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ ।
क्यान्सरको औषधिमा प्रयोग हुने ‘ट्यास्सोल’ उत्पादन हुने लौठ सल्ला, गोब्रे सल्लालगायतका वनस्पति पनि बडीमालिका क्षेत्रमा प्रशस्तै छन् ।

सरकारी प्राथमिकताबाहिर बडीमालिका
प्रकृतिले दिएको यति विराट र दुर्लभ उपहारका रूपमा रहेको बडीमालिका सरकारको भने प्राथमिकतामा कहिल्यै परेन ।
नेपाल सरकार वा प्रदेश सरकार कसैले पनि बडीमालिकाको दिगो विकासका लागि ठोस काम गरेका छैनन् । सरकारले ०६८–६९ कै बजेट वक्तव्यमा बडिमालिका क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा अघि बढाउने उल्लेख गरेको पनि थियो । तर कार्यान्वयन गरेन । जति बेला तत्कालीन सरकारको प्रधानमन्त्री माधवकुमार नेपाल थिए ।
छाडा चरिचरन, मनमर्जी सडक निर्माण, जडीबुटी र वन्यजन्तुको चोरीतस्करीले बडिमालिकाको जैविक विविधता नासिँदै गएको छ । बडीमालिका संरक्षणको सवालमा स्वयम् पुजारीहरूकै पहल पनि मन्दिर बनाउन, भक्तजन बढाएर भेटी लिने बाहेक नदेखिएको आरोपसमेत सर्वत्र छ ।
बडीमालिकाको हिसाब–किताबसमेत हरेक वर्ष खोजीको विषय बने पनि छानबीनको प्रक्रिया नै टुङ्गोमा नपुगेर सेलाउने गरेको पाइन्छ ।
प्रतिक्रिया