भातृत्वदेखि विश्वासघातसम्म : शक्तिशाली परिवारको कलहले बिगारेको थाइल्याण्ड-कम्बोडिया सम्बन्ध | Khabarhub Khabarhub

भातृत्वदेखि विश्वासघातसम्म : शक्तिशाली परिवारको कलहले बिगारेको थाइल्याण्ड-कम्बोडिया सम्बन्ध



काठमाडौं- विश्वमा वंशवादमा आधारित राजनीति नौलो कुरा होइन । राजतन्त्रात्मक देशमा राजपरिवार शक्तिशाली त हुन्छन् नै तर गणतन्त्रात्मक देशमा पनि कतिपय परिवार राजनीतिक हिसाबमा ज्यादै शक्तिशाली हुने गरेको पाइन्छ ।

वंशवादी राजनीतिको कुरा आउने बित्तिकै धेरैले अमेरिकामा रुजबेल्ट र केनेडी परिवार, भारतमा नेहरु–गान्धी परिवार, श्रीलंकामा राजापाक्षे परिवार, नेपालमा कोइराला परिवार, पाकिस्तानमा सरिफ परिवार र भुट्टो परिवारको उदाहरण दिन्छन् ।

यस्तै उदाहरण दक्षिणपूर्वी एशियाका दुई देशमा पनि देख्न पाइन्छ । यी दुई देशबीच विगत ५ दिनदेखि संघर्षको मैदानमा उत्रिएका छन् ।

भलै दुई देशका नेताबीच सोमबारमात्रै युद्धविरामको सहमति भएको छ । तर, मलेशियामा सम्झौता भएको कम्बोडिया र थाइल्याण्डबीचको युद्धविराम व्यवहारमा कति लागू हुन्छ, त्यो भने हेर्न बाँकी नै छ ।

दुबै देशमा राजतन्त्रात्मक शासन प्रणाली छ भने दुबै देशमा बहुसङ्ख्यक बौद्ध धर्मावलाम्बीको बसोबास छ । दुबै मुलुकको सत्ता र राजनीतिमा शक्तिशाली परिवारको बलियो पकड छ । कम्बोडियामा हुन परिवार र थाइल्याण्डमा सिनावात्रा परिवार धेरै नै शक्तिशाली छन् ।

पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले थाइल्याण्डमा आफ्नो परिवारलाई औपचारिक रुपमा राजनीतिमा प्रवेश गराएका थिए । थाक्सिन सिनावात्राले सन् २००१ देखि सन् २००६ को सैन्य कूसम्म थाइल्याण्डको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

थाक्सिनका साला सोमचाइ वोङसवत पनि सन् २००८ को अन्त्यतिर छोटो समयका लागि प्रधानमन्त्री भएका थिए । त्यसैगरी, थाक्सिनकी बहिनी यिङलक सिनावात्रा पनि प्रधानमन्त्री भएकी थिइन् । उनले सन् २०११ देखि सन् २०१४ को सैन्य कूसम्म थाई प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।

त्यसपछि थाक्सिनकी छोरी पेटोङटार्न सिनावात्रा पनि प्रधानमन्त्री बनिन् । सन् २०२४ को अगस्टमा प्रधानमन्त्री बनेकी पेटोङटार्नलाई संवैधानिक अदालतले गत जुलाई १ मा पदबाट निलम्बन गरेको थियो ।

पछिल्लो घटनाक्रमपछि भने दुई परिवार र दुई देशकै सम्बन्ध बिग्रिएको छ । सम्बन्ध यतिसम्म बिग्रियो कि दुबै देश एक अर्काविरुद्ध सैन्य झडपमै उत्रिए ।

कम्बोडियाको कुख्यात सम्यवादी पार्टी खमेर रुजबाट कुनै समय राजनीति गरेका हुन सेन सन् १९९३ देखि सन् १९९८ सम्म र त्यसपछि सन् १९९८ देखि सन् २०२३ सम्म कम्बोडियाका प्रधानमन्त्री थिए । हाल उनका छोरा हुन मनेट कम्बोडियामा प्रधानमन्त्री छन् ।

सिनावात्रा परिवार र हुन परिवार दुबै चिनियाँ मूलका हुन् । हुन परिवारको पुर्खा तियोचु चिनियाँ मूलको हो भने सिनावात्रा परिवारको पुर्खा हाका चिनियाँ मूलको हो ।

कम्बोडिया र थाइल्याण्डबीच सीमाक्षेत्रमा रहेको हिन्दू मन्दिरको विषयलाई लिएर धेरै लामो समयदेखि विवाद रहँदै आएको छ । दुई देशबीच सधैँ राम्रो सम्बन्ध नरहेपनि ७२ वर्षीय हुन सेन र ७६ वर्षीय थाक्सिन सिनावात्राबीच भने धेरै नै राम्रो व्यक्तिगत र पारिवारिक सम्बन्ध थियो ।

यी दुईबीचको सम्बन्ध दशकौँअघिदेखि प्रगाढ रहँदै आएको थियो । कतिपय थाई आलोचकहरुले थाक्सिन सिनावात्राले कम्बोडियाको हितलाई आफ्नो मुलुकको हितभन्दा माथि राखेको आरोप समेत लगाउने गरेका थिए ।

उनीहरुले एकअर्कालाई दाजुभाइ जत्तिकै व्यवहार गर्दै आएको समेत बताइन्छ । थाई सेनासँगको शक्ति संघर्षमा थाक्सिन सिनावात्रालाई हुन सेनले ठूलो समर्थन पनि गरेका थिए ।

यी दुई जनाको सम्बन्ध यति गहिरो थियो कि, सत्ताच्युत भएपछि हुन सेनले थाक्सिन र यिङलक सिनावात्रालाई आफ्नै घरमा शरण दिएका थिए । पछि हुन सेनले थाक्सिन सिनावात्रालाई कम्बोडियाको आर्थिक सल्लाहकार पनि नियुक्त गरेका थिए ।

थाक्सिन सिनावात्रा बारम्बार कम्बोडिया भ्रमणमा गइरहन्थे । हुन सेनले पनि थाक्सिनलाई खुब मान्थे । सन् २०२३ मा थाक्सिन १५ वर्ष लामो निर्वासनपछि स्वदेश फर्केका थिए । त्यसबेला थाइल्याण्ड पुगेर थाक्सिनलाई भेट्ने पहिलो विदेशी पाहुना हुन सेन नै थिए ।

दुईले औपचारिक मात्रै नभइ अनौपचारिक र पर्दापछाडि छद्म गतिविधिमा पनि सहकार्य गर्ने गरेको बताइन्छ । उदाहरणका लागि गत नोभेम्बर महिनामा पेटोङटार्न सिनावात्रा सरकारले एक बालकसहित ६ जना कम्बोडियाली सरकारविरोधी अभियन्तालाई कम्बोडिया पठाइदिएको थियो । कम्बोडिया पुग्नासाथ उनीहरु सबैलाई जेल हालिएको थियो ।

त्यसअघि एक जना थाई अभियन्ता वान्चालेर्न सतसक्सित आफ्नो देशबाट भागेर कम्बोडिया पुगेका थिए । सन् २०२० मा कम्बोडियामै उनको अपहरण भयो । उनलाई बेपत्ता पारिएको घटनामा थाई अधिकारीको हात रहेको आशंका गरिन्छ । यस कार्यमा कम्बोडिया सरकारले थाई अधिकारीसँग मिलिभगत गरेको पनि आरोप लगाइएको छ ।

गत जनवरीमै थाइल्याण्डको राजधानी बैंककमा दिनदहाडै कम्बोडियाका विपक्षी नेताको हत्या भएको थियो । दुई देशका सुरक्षा निकायको मिलेमतोमा उनको हत्या भएको आशंका गरिन्छ ।

औपचारिक रुपमा सत्तामा नरहेपनि हुन सेन र थाक्सिन सिनावात्रा दुबै जना आ–आफ्नो मुलुकको राजनीतिमा अझै पनि शक्तिशाली छन् । पछिल्लो समय भने यी दुई शक्तिशाली परिवारबीच खटपट उत्पन्न भएको छ ।

दक्षिणपूर्वी एशियाका दुई देशबीचको घटनाक्रमले गत मे महिनाबाट अन्तर्राष्ट्रिय सञ्चार माध्यममा ठाउँ पाउन थाले । मे २८ का दिन विवादित सीमा क्षेत्रमा दुई देशका सैनिकबीच संक्षिप्त झडप भयो । त्यस झडपमा परी कम्बोडियाली फौजका सेकेण्ड लप्टनको ज्यान गयो ।

त्यसपछि दुई देशका सैनिक र राजनीतिक नेतृत्वबीच तनाव कम गर्ने विषयमा बारम्बार कुराकानी, छलफल र बैठक भए । तर, त्यसले कुनै सुखद् नतिजा दिन सकेन ।

दुबै मुुलुकका राजनीतिक नेतृत्वले आफ्ना जनतालाई रिझाउनका लागि एक अर्काविरुद्ध बयानबाजी र सैन्य गतिविधिलाई बढाउँदै लगे । यसै सन्दर्भमा तनाव कम गर्ने उद्देश्यका साथ गत जुन १५ का दिन पेटोङटार्न सिनावात्राले हुन सेनसँग टेलिफोनमा कुराकानी गरिन् ।

जुन १८ का दिन आफूले पेटोङटार्नसँग गरेको टेलिफोन कुराकानी हुन सेनले सामजिक सञ्जालमार्फत् चुहाइदिए । त्यस टेलिफोन वार्तामा पेटोङटार्न सिनावात्राले हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेको सुन्न सकिन्छ ।

त्यसबाहेक उनले हुन सेनलाई सीमा क्षेत्रमा तैनाथ थाई सैनिकलाई बेवास्ता गर्न आग्रह गरेकी थिइन् । हुन सेनसँग उनले आफ्नै देशको थाई सेनालाई ‘हाम्रा विपक्षी’ भनेकी थिइन् । आफूले भनेको मानेमा हुन सेनले चाहेजस्तो ‘बन्दोबस्त’ गरिदिने पनि उनले आश्वासन दिएकी थिइन् ।

हुन सेनले ‘कुनै भ्रम र गलत बुझाइ’ नहोस् भनेर अडियो सार्वजनिक गरेको प्रष्टोक्ति दिए । पेटोङटार्न सिनावात्राले पनि उक्त अडियोमा सुनिएको आवाज आफ्नै भएको पुष्टि गरेकी थिइन् ।

त्यसपछि थाइल्याण्डमा पेटोङटार्न र सरकारविरोधी प्रदर्शन शुरु भयो । विरोधीहरुले पेटोङटार्नमाथि आफ्नो देशको हित रक्षा गर्न नसकेको आरोप लगाए । सत्ता साझेदार पार्टीले सरकारबाट बाहिरिने घोषणा गर्‍यो भने यो विवाद अदालतसम्म पुग्यो । पछि संवैधानिक अदालतले पेटोङटार्नलाई निलम्बित गरिदियो ।

गत बुधबार सीमा क्षेत्रमा खटिएका एक जना थाई सैनिक बारुदी सुरुङ विस्फोटमा परी घाइते भए । थाइल्याण्डले कम्बोडियामाथि लामो समयदेखि सीमा क्षेत्रमा बारुदी सुरुङ बिछ्याउँदै आएको आरोप लगाउने गरेको छ । बुधबारको घटनापछि थाइल्याण्डले कम्बोडियाबाट आफ्ना राजदूतलाई फिर्ता बोलायो भने आफ्नो मुलुकमा रहेका कम्बोडियाली राजदूतलाई पनि देश निकाला गर्‍यो ।

त्यसपछि बिहीबार सबेरै एक्कासी दुई देशका सैनिकबीच झडप शुरु भयो । हालसम्म झडपमा परी हालसम्म दुबै पक्षका गरी ३५ जनाको ज्यान गएको छ । दुबै देशका २ लाख ७० हजारभन्दा धेरै विस्थापित भएका छन् ।

हुन सेनले पेटोङटार्नसँग गरेको कुराकानीको अडियो चुहाएपछि दुई परिवारको सम्बन्ध बिग्रिएको हो । लामो समयदेखि सुमधुर सम्बन्ध रहेको हुन परिवारले विश्वासघात गरेर अडियो चुहाएको सिनावात्रा परिवारको बुझाइ छ ।

‘मसँग निकट रहेको कसैले यसो गर्ला भनेर मैले सोचेको पनि थिइनँ ।’ हुन सेनसँगको सम्बन्ध सकिएको घोषणा गर्दै थाक्सिन सिनावात्राले भनेका छन् ।

हुन सेनले पेटोङटार्न सिनावात्रासँगको अडियो किन चुहाए भन्ने अझै स्पष्ट छैन । कतिपयले कम्बोडियामा आफ्ना छोरा हुन मनेटको राष्ट्रवादी छवि चम्काउन हुन सेनले अडियो चुहाएको आशंका गरेका छन् ।

हुन सेनले पनि थाक्सिनलाई ‘धोका दिएको’ आरोप लगाउँदै सिनावात्रा परिवारको ‘थप संवेदनशील सूचना’ पनि चुहाइदिने धम्की पनि दिएका छन् । संवेदनशील सूचना कस्तो हो भन्ने स्पष्ट नभएपनि थाक्सिनले थाई राजपरिवारको निन्दा गरेको कुनै सूचना हुन सेनसँग रहेको आशंका गरिएको छ ।

थाइल्याण्डमा राजपरिवारको निन्दा गर्नुलाई ठूलो अपराध मानिन्छ । राजसंस्थाको निन्दा गर्नेलाई थाल्याण्डमा लामो जेल सजाय हुने गरेको छ ।

अरु कतिपय चाहिँ दुई देशका शक्तिशाली नेताबीच पर्दापछाडि कुनै व्यक्तिगत लेनदेनमा विवाद उत्पन्न भएपछि त्यसको असर राष्ट्रिय हितमा परेको आशंका गर्छन् । जे होस्, हुन सेनले अडियो चुहाएपछि अहिले सिनावात्रा परिवार थाई राजनीतिमा एक्लिएको छ । यसको लाभ थाइल्याण्डको शक्तिशाली सेनाले लिने निश्चितप्रायः छ ।

केही दिनअघि थाक्सिन द्वन्द्वग्रस्त थाई प्रान्त उबोन राट्चाथानी पुगेका थिए । त्यहाँ उनलाई एक जना महिलाले थर्काउँदै भनेकी थिइन्, ‘तिमी हुन सेनको साथी हो नि, होइन ? उ तिम्रो साथी हो ? तिमीले कम्बोडियालाई थाई जनतामाथि गोली हान्न किन दिएको ?’

सायद, थाक्सिन सिनावात्रासँग यो प्रश्नको चित्तबुझ्दो जवाफ नै छैन ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ९ : ०२ बजे

अफ्रिकामा खाद्य सम्मेलन, संयुक्त राष्ट्रसंघको गम्भीर चिन्ता

इथियोपिया – इथियोपियाको राजधानी आदिस अबाबामा सम्पन्न खाद्य प्रणालीसम्बन्धी एक

प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तान भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति

एमालेको अपानि : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण प्रक्रिया मिलेन, सदर हुँदैन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी

विज्ञ भन्छन् : मधेशमा खाद्य संकट घटाउन कृषि बाली परिवर्तन गर्नुपर्छ

काठमाडौं – मधेशमा खडेरीका कारण हुन सक्ने खाद्य संकट समाधानका

संस्कृतिमन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अवलोकन

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले साउनको