ट्रम्पको ‘ट्यारिफ’ले खोस्यो भारतीय हिराको चमक | Khabarhub Khabarhub

व्यापार

ट्रम्पको ‘ट्यारिफ’ले खोस्यो भारतीय हिराको चमक

कसरी बच्ला सूरतको हिरा उद्योग ?


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा ५० प्रतिशतसम्म कर लगाएपछि ‘भारतीय हिराको चमक खोसिएको’ छ ।

युक्रेनविरुद्ध अतिक्रमणकारी युद्ध गरिरहेको रूसबाट तेल खरिद गरी उसलाई आर्थिक रूपमा सघाएको भन्दै अमेरिकाले भारतसँगको व्यापारमा कर अवरोध खडा गरेको हो ।

ट्रम्पको यो कदमले भारतका हिरा व्यवसायी चिन्तित भएका छन्‌ । सन्‌ २०२४ मा भारत विश्वमै शीर्ष हिरा निर्यातकर्ता मुलुक हो ।

हिराको केन्द्र मानिने भारतको सूरतका व्यापारीहरू अब के गर्ने भन्ने चिन्तामा छन्‌ । हिरा काट्ने र चम्काउने अधिकांश काम सूरतमै हुन्छ । अमेरिकामा सूरतबाटै अधिकांश हिरा पठाइन्छ ।

अमेरिकाले लगाएको ५० प्रतिशत आयात करले उक्त क्षेत्रका हिरा व्यापारी र मजदुरहरू तनावमा छन्‌ । ट्रम्पको कदमले भारतीय हिरा उद्योगमा आवद्ध २५ लाखभन्दा बढी मानिसहरू प्रभावित हुँदैछन् ।

ट्रम्पले भारतीय सामानमा भन्सार महसुल नघटाए सूरतका अधिकांश हिरा व्यवसायीहरू विस्थापित हुने अनुमान छ । धेरै मानिसले रोजगारी गुमाउने र भारतले ठूलो आर्थिक मन्दी भोग्नुपर्ने बीबीसीमा उल्लेख छ ।

हिरा उद्योगसँग सम्बन्धित भारतका अन्य सङ्गठनहरूले भने अमेरिकी करका कारण केही समय मन्दी छाउने, तर समयान्तरमा अवस्था सामान्य हुने जनाएका छन्‌ । भारतलाई हिरा उद्योगको जति आवश्यकता छ, अमेरिकालाई पनि हिरा त्यही मात्रामा आवश्यक रहेको ती सङ्गठनहरूको दाबी छ ।

सूरतका उद्योगमा ट्रम्प-ट्यारिफको असर

सूरतका बजारमा बिहान-बेलुकी दुईपाङ्ग्रे सवारीसाधनका कारण ट्राफिक जाम हुनु सामान्य मानिन्छ । किनकि त्यतिखेर हिराका कालीगढ या त काममा गइरहेका हुन्छन्‌, या त फर्किरहेका !

शहरका कयौँ साना फ्याक्ट्रीमा २० देखि २०० जनासम्म कालीगढले काम गर्छन्‌ । केही उद्योगले ५०० जनासम्म कालीगढ राखेका छन्‌ । सूरतमा हिरासँग सम्बन्धित यस्ता हजारौँ उद्योगहरू छन्‌ ।

सूरतको कतारगामस्थित हिरा चम्काउने एउटा इकाइको मेचमा धुलो जमेको छ । हिरा चम्काउने चक्का निकै दिनदेखि प्रयोगमा आएको छैन । जम्मा ६ जनाले काम गरिरहेको उद्योगका मेच खाली खाली देखिन्छन्‌ ।

त्यसरी काम गरिरहेका एक कालीगढले भने, ‘पहिले यहाँ कालीगढहरूको भीड लाग्थ्यो । उद्योगले हालै धेरै कालीगढहरूलाई कामबाट निकालिदियो । अब हाम्रो रोजगारी पनि के हुन्छ भन्ने थाहा छैन ।’

सूरतका साना ठूला कयौँ उद्योगहरूको अवस्था यस्तै छ । शैलेश मुङ्गकियाले २० वर्ष पहिले एउटा पोलिसिङ ह्वील राखेर हिरा चम्काउने इकाइ सुरु गरेका थिए ।

कारोबार विस्तारै बढ्दै गयो । उनले फ्याक्ट्रीमा कामदारको सङ्ख्या तीनबाट ३०० पुर्‍याए । तर, अहिले उनको हिरा उद्योगमा कालीगढको सङ्ख्या ७० मा सीमित भएको छ ।

शैलेशले भनेका छन्‌, ‘सबै अर्डर (अमेरिकाबाट) रद्द गरिएको छ । मजदूरलाई अब काममा नआउनू भन्नुपरेको छ । यो निकै दुखद स्थिति हो । कसलाई निकाल्ने र कसलाई राख्ने ? सबै कालीगढहरू मेरो परिवारका सदस्यजस्तै हुन् । तर, सामानको माग नै नभएपछि काम पनि हुने भएन । अब म सँग उनीहरूलाई तलब दिने रकम पनि हुनेछैन ।’

गत वर्ष अगष्टमा उनको फ्याक्ट्रीमा प्रतिमहिना औषतमा दुई हजार हिरा प्रशोधन हुन्थ्यो । तर यो वर्षको अगष्टमा यो सङ्ख्या घटेर ३०० सम्म झरिसकेको छ । यस्तै स्थिति रहे अब चाँडै फ्याक्ट्री नै बन्द गर्नुपर्ने हो कि भन्ने त्रास शैलेशमा छ ।

ट्रम्पको ट्यारिफका कारण निम्तिएको मन्दीको सीधा असर हिरा उद्योगसँग सम्बन्धित मजदुरहरूमा पर्न सुरु भइसकेको छ ।

एक हिरा श्रमिक सुरेश रठौडले भनेका छन्‌, ‘सामान्यतयाः हामीले कृष्ण जन्माष्टमीका बेला दुई दिनमात्रै छुट्टी पाउँछौँ । यसपटक हामीलाई १० दिने वेतलबी बिदा दिइयो । यसरी त हामी कसरी रहनु ? मालिकले पनि के गर्न सक्छन्‌ र ! किनकि हिराको अर्डर नै आएको छैन ।’

तलब नै कटौती !

सूरतमा सुरेश राठौडजस्ता हजारौँ कालीगढ छन्‌, जो ट्रम्पको ट्यारिफबाट नराम्ररी प्रभावित हुँदैछन्‌ ।

सूरत डायमण्ड पोलिसर्स यूनियनका उपाध्यक्ष भावेश टाङ्कको कार्यालयमा यतिखेर कयौँ कालीगढहरू गुनासो लिएर आइरहेका छन्‌ । हिरा उद्योग सञ्चालकले तीमध्ये धेरैको तलब घटाइदिँदा या कामबाटै निकालिदिँदा गुनासो बढेको हो ।

‘कयौँ कर्मचारीको पारिश्रमिकमा कटौती गरिएको गुनासो हामीलाई प्राप्त भइरहेको छ । धेरै मानिसलाई वेतलबी बिदामा बस्न भनिएको छ । यस वर्ष कृष्ण जन्माष्टमीमा धेरै कर्मचारीहरूलाई तीनदेखि पाँच दिनसम्म घरमै बस्न भनिएको छ’, भावेशले भने ।

उनका अनुसार, कयौँ हिरा उद्योगहरूले अगष्ट १ भन्दा पहिले नै अमेरिकामा सामान पठाइसकेका थिए । जसकारण पनि हिरा उद्योगमा अमेरिकाबाट नयाँ अर्डर आइरहेको छैन । हजारौँ मजदुरको आम्दानी घटेको छ ।

हिरा व्यापारीका समस्या

मजदुरमात्रै होइन, भारतका हिरा निर्यातक पनि अनिश्चितताको भूमरीमा छन्‌ । उद्योगीहरूले एक ‘स्पेशल डायमण्ड टाक्स फोर्स’ त बनाएका छन्‌, तर यसले भारतीय हिरा उद्योगलाई समस्याबाट पार लगाउँछ या लगाउँदैन भन्ने निश्चित छैन ।

दक्षिणी गुजरातको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका अध्यक्ष निखिल मद्रासी भन्छन्‌, ‘अमेरिकी बजारमा भारतीय निर्भरताका कारण हामीलाई लामो समयसम्म ठूलो झट्का लाग्नेछ । पूरा अर्डरमा केही काम भएको छ, तर नयाँ माग आउनेरनआउने निश्चित छैन । सरकारले हिरा उद्योगी र श्रमिकहरूलाई तुरुन्त सहयोग गर्नुपर्छ ।’

उनका अनुसार, केही हिरा व्यापारीहरूले मध्यपूर्व र यूरोपजस्ता बजारमा अवसर खोजिरहेका छन्‌ । केहीले त अवैध तरिकाबाट अमेरिकामै हिराका गहना पुर्‍याउने प्रयास गरिरहेका छन्‌ । अब यूरोपका विभिन्न देशमा भारतीय हिराको नयाँ बजार खोज्नुपर्ने निखिलको भनाइ छ ।

कसरी बच्ला सूरतको हिरा उद्योग ?

हिरा उद्योगको अर्थतन्त्रबारे जानकारहरू आउँदा दिनमा अवस्था झन्‌ खराब बन्नसक्ने बताउँछन्‌ ।

जेम एण्ड ज्वैलरी एक्सपोर्ट काउन्सिल (जीजेईपीसी), गुजरातका अध्यक्ष जयन्तीभाई सावलिया अमेरिकी बजारमा निर्भरता कम गर्दै अन्य बजार खोज्नुपर्ने बताउँछन्‌ ।

उनले भने, ‘माग नै आउँदैन भने श्रमिकको तलब र रोजगारीमा असर पर्नेछ । वास्तविक असर आउँदा महिनामा देखिनेछ । दुबई, अष्ट्रेलिया र यूरोपका बजारमा थप ध्यान दिनु आवश्यक छ ।’

अहिले भारतबाट अमेरिकामा वार्षिक १२ अर्ब डलर बराबरको हिरा निर्यात भइरहेकोमा यसको आधामात्रै व्यापार अन्य देशमा विस्तार गर्न सक्दा पनि सूरतको हिरा उद्योग बच्ने जयन्तीभाई बताउँछन्‌ ।

अमेरिकालाई पनि भारतीय हिरा नै आवश्यक

विशेषज्ञहरूका अनुसार; भारतमा विवाह या अन्य शुभ कार्यहरूमा जसरी ठूलो परिमाणमा सुन खपत हुन्छ, त्यस्तैगरी अमेरिकामा पनि शुभ कार्यहरू हिरा बिना पूरा हुन सक्दैनन् ।

सूरत डायमण्ड एसोसिएशनका अध्यक्ष जगदीश खुन्ट भन्छन्‌, ‘हामी वित्त मन्त्रालयसँग कुराकानी गर्दैछौँ । अमेरिका भारतीय हिराबिना रहन सक्दैन । संसारका हरेक १५ मध्ये १४ हिरा गुजरातमा तयार गरिन्छ । त्यसैले अमेरिकी व्यवसायीहरू पनि यो समस्याको समाधान खोजिरहेका छन्‌ ।’

भारतको जेम्स एण्ड ज्वेलरी प्रमोशन काउन्सिल (जीजेईपीसी) का अनुसार; गत वर्ष अमेरिकाले भारतबाट ११.५८ अर्ब डलर बराबरको हिरा र गहना खरिद गरेको थियो । यो मध्ये चम्काइएको हिरामात्रै ५.६ अर्ब डलर बराबरको थियो । बाँकी परिमाण सुन, चाँदी, प्लाटिनम र रङ्गीन पत्थरको थियो ।

पछिल्लो वर्षसम्म चम्काइएको हिराको कारोबारमा कुनै समस्या थिएन । तर, ट्रम्पले महसुल बढाएसँगै यतिखेर समग्र व्यापार नराम्ररी हल्लिएको छ ।

अस्पष्ट भविष्य

सूरतका फ्याक्ट्रीमा यतिखेर चिन्ता र असमञ्जस्यताको माहोल छ । दैनिक ज्यालादारीमा हातमुख जोर्ने मजदुरलाई तलब कटौती या वेतलबी छुट्टीका कारण सकस परिरहेको छ ।

व्यापारीहरूले नयाँ बजार खोज्ने कुरा गरिरहेका छन्‌, मजदुरलाई भने जागिर जाने चिन्ताले सताइरहेको छ ।

आँखा रसिला पार्दै मजदुरहरू भन्छन्‌, ‘यहाँ (सूरत) को चमक विस्तारै धमिलो हुँदैछ, यो चमक फिर्ता आउँछ या आउँदैन भन्ने कसैलाई थाहा छैन ।’

(बीबीसीका लागि कलेक्टिभ न्यूजरूमबाट प्रकाशित सामग्री अनूदित र सम्पादित ।)

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १ : ५७ बजे

घ्याम्पेडाँडा-रानीकोट हुँदै पनौती जाने सडक पहिरोको जोखिममा

भक्तपुर– भक्तपुरको पर्यटकीय क्षेत्र घ्याम्पेडाँडा-रानीकोट हुँदै पनौती जाने सडक पहिरोका

राजपत्राङ्कित विशिष्ट श्रेणीमा प्रतिनिधिसभाको व्यवस्था यथावत राखिने

काठमाडौं– राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारीको

आयातित उपभोग्य वस्तु परीक्षण गरेर उपभोग गर्न दिनेछौँ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाहिरबाट आयात हुने

रुसी आक्रमणबाट युक्रेनस्थित ईयू नियोगको कार्यालयमा क्षति

किएभ- युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले युक्रेनको राजधानी किएभमा रुसले

पाकिस्तानमा बाढीका कारण एक लाख ५० हजार विस्थापित

इस्लामावाद- भारतको बाँधबाट अतिरिक्त पानी छोडेको चेतावनी पाएपछि पाकिस्तानी अधिकारीहरूले