काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती व्यवस्था अन्त्यका लागि सुरू भएको ०४६ सालको जनआन्दोलन पछिका दुई दशकसम्म केन्द्रबिन्दुमा रहे ।
वि.सं २००३ सालदेखि राजनीतिक जीवन प्रारम्भ गरेका गिरिजाप्रसादको जहानियाँ राणाशासन, निर्दलीय पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था अन्त्य गरेर नेपालमा गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका रह्यो ।
उनी जीवनको अन्तिम दिन (२०६६ चैत ७) सम्म राजनीतिक जीवनमा क्रियाशील रहेर पनि आफ्नो मृत्यु चेतनालाई अत्यन्त नजिकबाट देख्ने नेतामध्येमा पर्छन् । राजनीतिक विश्लेषक प्रा. कृष्ण खनालका नजरमा गिरिजाप्रसाद कोइराला कर्मवीर नेता थिए ।
‘हरेस नखाने, निर्णय गरेको कुरा पूरा गर्ने र सिद्धान्तको निश्चित मान्यताभित्र व्यवहारवादी हुने । सायद उहाँको सफलताको रहस्य पनि यही थियो,’ खनालले पत्रकार डा. जगत नेपालद्वारा लिखित पुस्तक ‘आफ्नै कुरा’को दोस्रो संस्करणमा लेखिएको भूमिकामा गिरिजाप्रसादको स्मरण गर्दै लेखेका छन् ।

उनका नजरमा गिरिजाप्रसादलाई प्रजातन्त्रको आधारभूत मान्यताभित्र हरेक सम्भावनाको प्रयोग गर्न र त्यसका लागि कुनै व्यक्ति वा साधनको उपयोग गर्न अलिकति पनि हिचकिचाहट लाग्दैनथ्यो । ‘यस अर्थमा उहाँ एक उपयोगवादी नेता पनि हो,’ प्रा. खनालले भनेका छन् ।
राज्यसत्ताविरूद्ध १० वर्ष सशस्त्र सङ्घर्ष गरेको तत्कालीन विद्रोही नेकपा (माओवादी)लाई मूलधारको राजनीतिमा ल्याएर राजतन्त्रको अन्त्यसँगै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा लैजान गिरिजाप्रसादको भूमिका अहम् मानिन्छ ।
०४८ सालमा सम्पन्न आमनिर्वाचनमा बहुमत प्राप्त गर्न सफल काँग्रेसले गिरिजाप्रसादको नेतृत्वमा सरकार गठन गरेको थियो । तर, उनी प्रधानमन्त्री नियुक्त भएकै २९औँ दिनमा तत्कालीन प्रतिपक्षी नेकपा (एमाले)ले सरकार ढाल्न सडक आन्दोलन सुरू गरेको थियो ।
गिरिजाप्रसाद नेतृत्वको सरकार ढाल्न एमालेले कर्मचारीको आन्दोलन चर्काएको थियो । टेलिफोन बुथहरू जलाउने काम गरेको थियो भने काठमाडौंको रत्नपार्कका रेलिङहरूसमेत भाँचेको थियो । ‘म कम्युनिस्टविरोधीका रूपमा नचिनिएको भए त्यस्ता घटना नहुन पनि सक्थे,’ पहिलोपल्ट प्रधानमन्त्री हुँदा एमालेले सुरू गरेको आन्दोलन स्मरण गर्दै उनले पुस्तकमा भनेका छन् ।
०४६ सालको परिवर्तनपछि सम्पन्न पहिलो आमनिर्वाचन (०४८) बाट शासन सत्ताको स्वाद चाख्न पुगेका गिरिजाप्रसाद कोइरालालाई कट्टर कम्युनिस्टविरोधी नेताका रूपमा समेत लिइन्थ्यो । जसका कारण उनले राजनीतिक जीवनमा अत्यन्तै संघर्ष र अवरोध सामना गर्नुपरेको थियो ।
‘आफ्नै कुरा’ पुस्तकमा गिरिजाप्रसादले भनेका छन्, ‘कट्टर कम्युनिस्टविरोधीका रूपमा चिनिएका कारण मैले राजनीतिक रूपमा निकै संघर्ष गर्नुपर्यो र अवरोधको सामना गर्नुपर्यो ।’ तर, उनै गिरिजाप्रसाद जिउ–ज्यानको परवाह नगरी काँग्रेसको सक्रिय राजनीतिमा लाग्नुअघि स्वयम् कम्युनिस्टको दर्शनप्रति आकर्षित थिए ।
गिरिजाप्रसाद बनारस (भारत) अध्ययन क्रममा कम्युनिस्ट विचारधाराप्रति तानिएका थिए । त्यो बेला बनारसबाट कम्युनिस्टहरूको साप्ताहिक पत्रिका प्रकाशित हुन्थ्यो । सबै सदस्यहरूले पत्रिका बेच्नुपर्ने कम्युनिस्टहरूको नियम थियो ।
कम्युनिस्ट विचारप्रति झुकाव राखेका गिरिजाप्रसाद पनि पत्रिका बेच्नु पर्ने नियमले बाँधिएका थिए । पत्रिका बेच्न जाँदा मानिसहरूले आफूलाई थुक्ने गरेको स्मरण उनले ‘आफ्नै कुरा’मा गरेका छन् ।
‘पत्रिका बेच्न जाँदा मानिसहरू मलाई थुक्थे । त्यस्तो घृणा थियो कम्युनिस्टहरुप्रति,’ पुस्तकमा लेखिएका छ, ‘कतिपटक त मैले पत्रिका नबेचेर आफ्नै खल्तीबाट समेत पैसा बुझाएको छु ।’
गिरिजाप्रसाद कम्युनिस्टनिकट हुनुको अर्को कारण थियो – बीपी कोइरालाका साथी, जो बनारसमा गिरिजाप्रसादका स्थानीय अभिभावक थिए । उनको घरमा कम्युनिस्टबारे चर्चा हुन्थ्यो भने मार्क्स र लेनिनका पुस्तकमात्र पढ्ने गरिन्थ्यो ।
‘मेरा अभिभावकका रूपमा सान्दाइका एक जना साथी थिए । उनी कम्युनिस्ट विचारधारा राख्थे । त्यसैले घरमा सधैँ कम्युनिस्टका कुरा मात्र हुन्थे,’ गिरिजाप्रसादको भनाइ उद्धृत गर्दै पुस्तकमा लेखिएको छ, ‘मार्क्स र लेनिनका पुस्तकमात्र पढ्ने गरिन्थ्यो। म कम्युनिस्टनिकट हुनुको यो अर्को कारण थियो ।’
गिरिजाप्रसादले बनारस अध्ययनका क्रममा मनमोहन अधिकारी (पूर्वप्रधानमन्त्री)को संगतले आफू कम्युनिस्टतिर आकर्षित भएको पत्रकार नेपालसँगको कुराकानीका क्रममा खुलाएको पाइन्छ ।
‘पिताजीको मृत्युको खबर पाएपछि म पटना आएँ। सान्दाइ बसेको कालीबाबुको घरमा पुगेँ । लामो समयपछि सान्दाइसँग भेट भएको थियो। कोठामा दुई ओटा खाट लगाइएका थिए । एउटा उहाँका लागि र अर्को मेरा लागि,’ पुस्तकमा लेखिएको छ, ‘राति कुरा गर्दै जाँदा मैले कम्युनिस्टले प्रयोग गर्ने भाषा प्रयोग गरेछु क्यारे, उहाँले थाहा पाइहाल्नुभयो । वास्तवमा बनारसमा पढ्दा मनमोहन अधिकारीहरूको संगतले म फेडेरेसन (कम्युनिस्ट) तिर आकर्षित भएको थिएँ ।’
त्यही राति बीपी कोइरालासँगको कुराकानीले गिरिजाप्रसादको मन कम्युनिस्ट विचारबाट परिवर्तन भएको पाइन्छ । ‘पिताजीको मृत्युपछि पटना गएका बेला बीपीसँग भएको कुराकानी मेरा लागि उपदेश नै भयो भने पनि हुन्छ,’ उनले भनेका छन्, ‘मेरा आँखा खुले अनि कम्युनिस्टप्रति वितृष्णा जागेर आयो । त्यसपछि म कम्युनिस्टविरोधी भएर आएँ ।’
त्यो राति बीपीले गिरिजाप्रसादलाई गान्धीजी (महात्मा गान्धी) कहाँ छन् भनेर प्रश्न गरेका थिए । जवाफमा उनले भनेका छन्, ‘जेलमा, अरू कहाँ ?’बीपीले एकपछि अर्को गर्दै सोधेका थिए, ‘ नेहरु (जवाहरलाल नेहरु), जयप्रकाश नि ?’ उनीहरू पनि जेलमा बन्दी बनाइएका गिरिजाप्रसादको जवाफ थियो ।
‘सान्दाइ (बीपी)ले फेरि भन्नुभयो, गान्धी र नेहरूहरू जेलमा छन् । तर तेरा नेताहरू को हुन् र कहाँ छन् ?मैले भनेँ, मेरा नेता श्रीपद अमृतपद डॉगे (नेता, भाकपा मार्क्सवादी) हुन्, उनी बम्बैमा छन्,’ गिरिजाप्रसादले भनेका छन्, ‘सान्दाइले भन्नुभयो, ‘गान्धी, नेहरू, जयप्रकाश जेलमा अनि डाँगे चाहिँ किन बाहिर ? यति भनेपछि उहाँले भन्नुभयो, ‘ल अब सुत। बस के थियो र ? म त रातभरि सुत्न सकिनँ । रातभर सान्दाइले भनेको कुरा मेरो दिमागमा घुमिरह्यो ।’
अनि मोडियो बाटो
पिताजीको मृत्युपछि पटना गएका बेला बीपीसँग भएको कुराकानी मेरा लागि उपदेश नै भयो भने पनि हुन्छ । मेरा आँखा खुले अनि कम्युनिस्टप्रति वितृष्णा जागेर आयो । त्यसपछि म कम्युनिस्टविरोधी भएर आएँ । कम्युनिस्टका बारेमा बुझ्न मार्क्स र लेनिनका थुप्रै पुस्तक पढेँ । बीपीसँग पनि मैले धेरै छलफल गरेँ । उहाँले मलाई रूसमा लेनिनले निर्वाचित संसद्लाई घेरेर शक्ति आफ्नो हातमा लिएको घटना सुनाउनुभयो ।
जसलाई अक्टोबर क्रान्ति भनेर चिनिन्छ। यी सबै कुराले प्रजातान्त्रिक धारप्रति मेरो लगाव बढ्दै गयो । पटनाबाट बनारस फर्किएपछि मैले किसुनजीसँग भनेँ– ल भन्नुस् त किसुनजी, गान्धी, नेहरू र जयप्रकाशजी जेलमा छन्, डाँगे किन बम्बईमा ?हाम्रो कुरा किसुनजीका दाजु गोपालजीले सुनिरहनुभएको रहेछ । उहाँले नै प्रजातन्त्रवादी नेता सम्पूर्णानन्दकहाँ लगेर हामीलाई प्रशिक्षण दिन लगाउनुभयो ।
एकपटक कटन मिल हडताल गर्ने भनेर उनले मलाई पनि लगेका थिए । त्यहाँ ठूलो आक्रमण भयो र उनको टाउकोसमेत फुट्यो । हामी भागेकाले बच्यौँ । यस्ता घट्नै घटनाले मेरो मन प्रजातन्त्रवादी धारतिर आकर्षित भएको हो ।
प्रतिक्रिया