धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार « Khabarhub

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’  तयार गरिएको छ । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका– ४ को भूगोलमा पर्छ ।

चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार जना शेर्पाहरूले ‘रुट’  बनाएर चुचुरोमा पुगेका हुन् । आरोहण कम्पनी सेभेन समिट ट्रेक्सका संस्थापक मिङ्मा शेर्पाले आधार शिविरदेखि बाटो बनाएर धवलागिरिको चुचुरोमा पुगेका चार जना शेर्पाहरूको टोलीले शनिबार ‘रोप फिक्सिङ’ (डोरी राख्ने काम) गरेको जानकारी दिए ।

‘चौध शिखर अभियान र सात शिखर पदयात्राका शेर्पाहरूको संयुक्त टोलीले धवलागिरिको चुचुरोसम्म मार्ग खोलेको छ’, उनले भने, ‘यसले गर्दा यस सिजनमा सबै पर्वतारोहीका लागि धवलागिरि हिमाल पहुँचयोग्य भएको छ ।’

सङ्खुवासभाको मकालु गाउँपालिका–१ का टासी शेर्पा, लाक्पा टेम्बा शेर्पा, सोही पालिकाको वडा नम्बर २ का पुर्वा कुसाङ शेर्पा र पासाङ नोर्वु शेर्पाको टोलीले बाटो बनाउने र डोरी तान्नुका साथै चालु शरदयाममा धवलागिरिको सफल आरोहण गर्ने पहिलो टोली भएका छन् ।

शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोहीहरू चुचुरोमा पुग्ने गर्छन् । मौसम अनुकूल र अन्य समस्या नभएमा एकदुई दिनभित्र आरोहण टोली धवलागिरिको चुचुरोमा पुग्ने शेर्पाहरूले जनाएका छन् ।

पर्यटन विभागका अनुसार शरदयाममा धवलागिरि आरोहणका लागि तीनवटा समूहका सात जना महिला र १७ जना पुरुषले अनुमति लिएका छन् । अनुमति लिएकाबाट ५० लाख ७१ हजार सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ ।

आरोही, शेर्पा, पथप्रदर्शक र सहयोगीहरूको टाली आधार शिविरमा पुगिसकेका छन् । यसपालि आरोहण टोली मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविर पुगेका हुन् ।  धवलागिरि गाउँपालिकाको मुदीबगर हुँदै जाने पदमार्ग बिग्रिएको, घुमाउरो र टाढा पर्ने भएकाले मुस्ताङको पदमार्ग प्रयोग गरेर गएका हुन् ।

गत वसन्तयाममा दुईवटा समूहका १५ जनाले आरोहण अनुमति लिएबापत ३६ लाख ९१ हजार २६० राजस्व सङ्कलन भएको थियो । सन् २०२४ को शरदयाममा एक समूहका १४ जना पुरुष पर्वतारोहीहरूले आरोहणको अनुमति लिएकोमा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो ।

छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणको चुनौती हो । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अष्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए । (रासस)

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ९ : ४८ बजे

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते

मतदाता नामावली भोलिदेखि संकलन गरिँदै

काठमाडौं– निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि

इरान-इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित

एजेन्सी– अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानमाथि संयुक्त रूपमा