उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न « Khabarhub

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज (मंगलबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ ।

उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । सोमबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई व्रतालुले अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो ।

सूर्योदयकालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरू लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वास छ । सूर्यषष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजा आराधना गर्ने निर्देश शास्त्रमा गरिएको छ ।

यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, वधू प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो व्रतले मनले चिताएको पूरा हुने धेरै भक्तजनको विश्वास छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शनिबारदेखि सुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अर्घ्य दिएपछि यो पर्व सम्पन्न भएको हो ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेषगरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ २०४६ सालपछि काठमाडौंलागायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो ।

२०६२ सालमा गुह्येश्वरी, गौरीघाट ठेगाना राखेर श्री छठ पूजा समिति विधिवत् जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपछि काठमाडौंमा छठको विशेष रौनक सुरु भएको हो ।

२०६३ सालपछि भने काठमाडौंको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो । २०७२ साल वैशाख १२ गतेको भूकम्पपछि रानीपोखरीमा भने छठ हुन छाडेको छ । पछिल्लो समय कमलपोखरीमा भने भव्य रूपमा छठ हुन थालेको छ ।

छठका लागि सोमबार गुह्येश्वरी, कमलपोखरी, थापाथलीलगायत स्थानमा निर्माण भएको छठ घाटलाई बेहुलीझैँ सिँगारिएको थियो ।  

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ७ : १७ बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि