निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी « Khabarhub

निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन सुरक्षाका लागि म्यादी (अस्थायी) प्रहरीको सङ्ख्या यकिन गरी आवश्यक प्रक्रिया सुरु गर्न सम्बद्ध निकाय तयारीमा जुटेका छन् । 

यसअघिको पूर्वानुमानभन्दा नयाँ मतदाता थप भई सङ्ख्या बढेकाले एकीकृत निर्वाचन सुरक्षा योजनामा प्रक्षेपित एक लाख ३२ हजार म्यादी प्रहरी बढाउनुपर्ने आवश्यकता देखिएपछि सम्बद्ध निकाय तयारीमा जुटेका हुन् ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले निर्वाचन सुरक्षा योजना कार्यान्वयनका क्रममा नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गर्ने बताए । नयाँ मतदाताको सङ्ख्यालाई आकलन गरेर म्यादी प्रहरीको सङ्ख्या बढ्न सक्ने उनले उल्लेख गरे ।  

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी अतिरिक्त महानिरीक्षक अबिरनारायण काफ्लेले निर्वाचन आयोगले मतदान केन्द्र यकिन गरेपछि सुरक्षा संवेदनशीलताका आधारमा शीघ्र जिल्ला सुरक्षा समितिमार्फत म्यादी प्रहरीको भर्ना प्रक्रिया प्रारम्भ हुने जनाए । 

उनले एकीकृत सुरक्षा योजना तथा म्यादी प्रहरी छनोटको मापदण्ड प्रदेश र जिल्लास्तरसम्म पुगेकाले थप हुने मतदान केन्द्रका आधारमा जनशक्ति स्पष्ट हुने बताए । 

निर्वाचनका क्रममा कूल ४० दिन खटिने म्यादी प्रहरीले प्रहरी जवानले पाउनेसरह आधारभूत तलब, लत्ताकपडा, यातायात खर्चलगायत सुविधा पाउनेछन् । निर्वाचनका लागि नेपाल प्रहरीले ७१ हजारभन्दा बढी प्रहरी खटाउने तयारी गरेको प्रहरीका केन्द्रीय प्रवक्ता काफ्लेले जानकारी दिए ।

केन्द्रीय सुरक्षा समितिले निर्वाचनभन्दा पूर्व, निर्वाचनको अवधि र निर्वाचनपछि गरी तीन चरणको सुरक्षा योजना बनाएको छ । 

निर्वाचनका लागि सङ्घीय सरकारको सिफारिसमा राष्ट्रपतिबाट बिहीबार नेपाली सेना परिचालनको स्वीकृति भइसकेको छ । 

निर्वाचनको पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा सेना रहनेछन् भने म्यादी प्रहरीले नेपाल प्रहरीलाई सघाउनेछन् ।

यही मङ्सिर ५ गते सम्पन्न भएको मतदाता नामावली सङ्कलन कार्यमा फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स)मार्फत तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार १८० नयाँ मतदाता थपिएका छन् । 

गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका नयाँ मतदाता मतदान नामावलीमा दर्ता भएसँगै कूल मतदाता एक करोड ८१ लाख ६८ हजार २३ पुगेको छ ।

आयोगले विवरणमा त्रुटि सच्याउन वा उजुरी दिन सकिने समय दिएपछि अन्तिम मतदाता नामावली सार्वजनिक गर्नेछ । 

विसं २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका थिए । 

त्यस बेला १० हजार ८९२ मतदान स्थलमा २२ हजार २२७ मतदान केन्द्र तथा १४१ अस्थायी मतदान केन्द्र तोकिएका थिए । रासस

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : ५७ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार