‘पठाओ’ गरेरै आमाको उपचार गराउँथे बुढाथोकी « Khabarhub

जेन-जी आन्दोलनका सहिद 

‘पठाओ’ गरेरै आमाको उपचार गराउँथे बुढाथोकी


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको बिगु गाउँपालिका–३ बुलुङकी दिलकुमारी बुढाथोकीको बाँच्ने आधार नै टुटेको छ । स्तन क्यान्सर भएका कारण आमाको उपचारका लागि पठाओ चलाएर खर्च जुटाउँदै आएका महेश बुढाथोकीको जेन-जी आन्दोलनमा निधन भएपछि पुत्रशोकले दिलकुमारीका आँखा ओभानो छैनन् भने अब उनको उपचार खर्च जुटाउने आधार पनि समाप्त भएको छ । 

छोरा बितेपछि आमा दिलकुमारी हरेक रात र दिन रोएर बित्ने गरेको छ । उनी भन्छिन्, ‘छोरा कतिबेला आमा भन्दै छोरा आउँछ झैँ लाग्छ, बितेको विश्वास लाग्दैन ।’

‘पठाओ’ गरेर क्यान्सर भएकी आफ्नी आमाको उपचारको खर्च जुटाउँदै आएका २२ वर्षीय महेशको गत भदौ २४ गते कोटेश्वरमा नेपाल प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

महेशका बुबा केशव भन्छन्, ‘छोराले १२ उत्तीर्ण सकेको थियो, युरोप जाने सपना देखेको थियो, युरोपको माल्टा जाने भनेर ५० हजार रूपैयाँ मेनपावरलाई बुझाएको पनि थियो र अहिले फुर्सद भएको समयमा आमाको उपचारलाई खर्च जोहो गर्न पठाओ चलाउने गथ्र्याे तर छोराको न युरोपको सपना पूरा भयो, न आमाको उपचार पूरा गर्ने सपना पूरा भयो, हाम्रो त सबै थोक सकियो, बेसहारा भयौँ ।’

महेशका बुबा केशव १० वर्षअघि दोलखाको दुर्गमगाउँ बुलुङबाट आफ्नो कलिला दुई छोराहरूको सुनौलो भविष्य बोकेर काठमाडौँमा छिरेका थिए । गहभरि आँसु पार्दै उनी भन्छन्, ‘गाउँमा बाँदर र भालु आतङ्कले बस्ने अवस्था भएन, जति खेती किसान गर्दा पनि परिवार पाल्न धौधौ भएपछि काठमाडौँ आइयो । तर आज यो अवस्था देख्नुपर्‍यो ।’ 

आफू अनपढ भए पनि भारी बोक्दै छोरालाई १२ कक्षासम्म पढाएको बताउँदै उनी भन्छन्, ‘अब म बा आमालाई सुख दिन्छु भन्थ्यो, अब युरोप जान्छु धेरै पैसा कमाउँछु अनि काठमाडौँमा घरघडेरी किन्छु भन्ने यसका ती सबै कुरा सपना जस्तै हराएर गए ।’

हाल केशव काठमाडौँको सुकेधारास्थित एक ग्यास डिपोमा ग्यास झार्ने र चढाउने काम गर्छन् । उनको महिनाको १५ हजार रुपैयाँ तलबले न काठमाडौँको ठाउँमा परिवार पाल्न पुग्छ न छोराछोरी पढाउन नै । उनी भन्छन्, ‘घरको मियो भाँचियो, अब कसको साहाराले बाँच्ने ? श्रीमती पनि बिरामी छिन्, उनको उपचार खर्च कसरी जुटाउने ? अर्काे छोरा सानै छ ।’

भदौ २४ गतेको दिन स्मरण गर्दै दिलकुमारी भन्छिन्, ‘एक हजार लिएर आमा म स्कुटी सर्भिसिङ गरेर आउँछु है भनेर गएको थियो तर छोरा फर्केन, छोराको श्वास भेट्न सकिन्छ कि भनेर आफैँ किष्ट मेडिकल कलेज पुगेँ, त्यो बेला उसको निधन भइसकेको रहेछ ।’ दिलकुमारी भन्छिन्, ‘घरको सबै काम गर्ने उही महेश थियो । लुगा धुने, खाना पकाउने, औषधि ल्याउने, खुवाउने काम गर्न रमाउँथ्यो ।’ अहिले पनि छोरासहित बसेको घरमा बस्न गाह्रो भएपछि छोराको याद कम होला कि भनेर केशवको परिवार केही पर कोठा सरेर बसेको छ । 

मृतक महेशले नै आफ्नै भाइलाई २३ गतेको आन्दोलनमा धेरै मान्छे मरेको र २४ गते झन् समस्या हुनसक्ने र काम गर्न नजानु भन्दै २३ गते बेलुकी सम्झाएको बुबा केशव बताउछन् ।

केशव भन्छन्, ‘भाइलाई सम्झायो तर आफूले छोडेर गयो । म बिहानै काम गर्न जाने भएकाले त्यस दिन छोरासँग भेट हुन पाएन एकैपटक छोरा मरेको खबर पाएँ, मैले केही सोच्न सकिन ।’

महेशको कोटेश्वरमा प्रहरीको गोली लागेपछि मृत्यु भएकै अवस्थामा एक स्थानीय व्यापारीले उनलाई किस्ट मेडिकल कलेज लगेका थिए । 

छोरा अस्पतालमा छ भन्ने खबर पाए लगत्तै महेशका बुबा आन्दोलनका कारण गाडी नचलेकाले सुकेधाराबाट तीन घण्टा लामो हिँडेर किस्ट मेडिकल अस्पताल पुगेका थिए, उनी पुग्दा महेशको मृत्यु भइसकेको थियो । उनले छोराको लास भेटेको बताए । बुढाथोकी परिवारलाई राज्यले १५ लाख रुपैयाँ दिएको भए पनि अन्य कतैबाट खासै सहयोग र सद्भाव पनि नआएको उनको भनाइ छ । रासस

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ४ : ३३ बजे

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग