काठमाडौं– तारन्तारको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र बालेन्द्र साह ‘बालेन’ले शनिबार राति ७ बुँदे सहमति गरेका छन् । विशेषगरी आगामी निर्वाचनपछिको प्रधानमन्त्री बालेनलाई दिनेगरी गरिएको सो सहमतिले सामाजिक सञ्जालमा तरङ्ग नै सिर्जना गरेको देखिएको छ ।
रास्वपा र बालेनबीच भएको सहमतिलाई लिएर राजनीतिक दलका नेता तथा कार्यकर्ता साथै लेखक, पत्रकारलगायत आम सर्वसाधारण अधिकांशले परिवर्तनको सुरु भएको टिप्पणी गरेका छन् । त्यसैगरी उत्तिकै सङ्ख्यामा आलोचना पनि भइरहेको छ । पुराना दलका नेताहरुले रवि र बालेनको सहमति विदेशीको इसारामा भएको आरोप लगाएका छन् । फेरि कसैले उनीहरुको एकता पुराना दलहरुको लागि पनि सिकाई भएको बताएका छन् ।
वार्तामा डा. स्वर्णिम वाग्ले, शिशिर खनाल, डीपी अर्याल, असीम शाह र आसिफ शाह थिए । त्यसैगरी, बालेनको तर्फबाट कुमार व्यञ्जनकार, भूपदेव शाह, सुदीप ढकाल र सुनिल लम्साल सहभागी थिए । वार्ता साक्षीका रूपमा चलचित्र निर्देशक निश्चल बस्नेत र सामाजिक अभियन्ता केपी खनालको पनि उपस्थिति रहेकोले नयाँ भन्नेहरु पनि पितृसत्ताकै भुक्तभोगी रहेको आरोप आएका छन् ।
अर्कोथरी कुलमान घिसिङलाई पनि सहकार्यमा ल्याउनुपर्ने र ल्याउन नहुने दुवैखालका तर्कहरु आएका छन् । साामजिक सञ्जाल र मिडिया पुरै उनीहरुको सहमतिलाई लिएर तातेको छ । उनीहरुको एकतालाई लिएर सकारात्मक तथा नकारात्मक दुवै किसिमको धारणाहरु बनेका छन् । खबरहबले केहीका विचारहरुलाई समेट्ने प्रयास गरेको छ ।
ठाडो भाषा र शब्दको प्रयोग गर्ने धरान उपमहानगरमा मेयर हर्क साम्पाङले रवि र बालेनलाई विदेशी दलालको संज्ञा दिएका छन् । साथै, साम्पाङले सिंहदरबार जलाउने र जेन–जी युवाका हत्याराहरुले देशको प्रधानमन्त्री बन्ने सपना नदेख्न चेतावनी दिएका छन् ।
रवि र बालेन सहमतिलाई खिसीटिउरी गर्दै साम्पाङ लेख्छन् – ‘हाहा….जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ ? फटाहाहरू । सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे ?’
अर्को लेख्छन् –‘देश सिध्याउँछन् यी विदेशी दलालहरुले । सिंहदरबार जलाउँछु भन्ने र जलाएरै देखाउने देखि सावधान ।
नेपाली कांग्रेस नेता चन्द्र भण्डारी लेख्छन् – ‘रवि जी र बालेनजीको मिलनले यो सन्देश दिन्छ । अब अरुले पनि जिम्मेवारी लिन र दिन, विश्वास दिलाउन र मिलेर अघि बढ्न सक्नुपर्छ । यहि सन्देश हरेक घटनाले असल विद्यार्थीलाई सिकाउँछ ।’
एमाले नेता महेश बस्नेतले स्वतन्त्र छवि बनाएका बालेनले रविसँग मिलेर आफ्नो छवि धमिलाएको टिप्पणी गरेका छन् । साथै उनले भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई अस्थिर बनाउने षड्यन्त्रकारीको उपमा दिएका छन् ।

बस्नेत लेख्छन् – ‘नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा बेचिन्छ। गगन आए, जवर्जस्ती बासी बनाइए । काण्डै–काण्डका नाइके रवि आए,उनी पनि बासी भए । लोकप्रियताको आडमा बालेन आए । तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ। अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ ।
बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो। रबि जस्तो बिबादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तीब्र गतिमा घट्ने देखिन्छ । ‘काम गर्ने कालु, मकै खाने भालु’ जस्तै रास्वपाको राजनीति पुराना दललाई सराप्ने र सत्ताको भर्याङ चढ्ने बाहेक स्पष्ट दिशा र भिजन आधारित नहुँदा जनतासंगको दूरी झन् बढ्दै जाने र जनमत झन कमजोर हुँदै जाने निश्चितै छ ।
भाद्र २३ गतेको शान्तिपूर्ण प्रदर्शन योजनाबद्ध मुठभेडमा परिणत गराइयो र केही युवाले ज्यान गुमाए। त्यसको भोलिपल्ट भाद्र २४ गते राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरियो । यी घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण हुन् । यसमा बालेन र रविको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिनु, साथै माओवादी र राजावादी धाराहरूको समर्थन देखिनु गम्भीर विषय हो ।
त्यसैगरी उनी थप लेख्छन्, ‘अबको चुनावको मुख्य प्रश्न, सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने अराजकतालाई रोज्ने कि ती संरचना बनाउने र भत्काउनेमाथि कारबाही गर्ने राजनीति दललाई साथ दिनेहरु जलाउने धारको नेतृत्व बालेन–रविहरुले गरेकै हुन् । संरचना जोगाउने जिम्मेवारी पुराना दलहरूले नै वहन गर्नुपर्ने यथार्थ देखिएको छ ।
समस्या पुराना दलको अस्तित्व होइन, तिनको कतिपय विकृति हो। नयाँ दल खोल्नु समाधान होइन, पुराना दललाई परिमार्जन गर्दै राजनीति सुधार गर्नु हो। रवि र बालेन केन्द्रित व्यक्तिवादी स्वार्थको अभियान दीर्घकालीन सुधारको स्पष्ट खाकाबिना पार लाग्दैन । यस्तो गम्भीर घडीमा संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनैपर्छ । नत्र नयाँ बोत्तलमा पुरानै रक्सी पिइरहँदा हामी फेरि–फेरि उही भ्रमको सिकार भइरहनेछौँ ।’
रास्वपा नेता तोसिमा कार्कीले अबको आशा रास्वपा हुने दाबी गरेकी छिन् । लेख्छिन् – ‘रिर्फमेसन, अब क्रमश पुरा देश नै घण्टीमय हुँदै जानेछ घण्टी । देशले काँचुली फेर्नेछ । फेरी पनि सम्पूर्ण राष्ट्रप्रेमी नागरिक तथा वैकल्पिक शक्तिहरुलाई घण्टीमा गोलबद्द हुन आवहान गर्दछु । आउनुस् शान्त भद्र ‘निलो क्रान्ति’ मार्फत समुन्नत समृद्द नेपाल निर्माण गरौँ ।
नेकपा एमाले नेता गोकुल बाँस्कोटा लेख्छन् – ‘रवि र वालेन मिलेछन् । अब कुलमान र प्रचण्ड बाँकी रहे जस्तो देखियो । त्यो पनि होला झै लाग्छ ।’
समाजशास्त्री निर्मला ढकालले सिंहदरबार जलाउनेहरुले लायकको नेता पाएको भन्दै व्यङग्य गरेकी छिन् । लेख्छिन्– ‘सिंहदरवार जलाउने भिडलाई व्यहोरा सुहाउँदो नेता मिलेछ, रमाइलो त अब पो हुने भो । यो पटक आफु भोट हालिन्न, ढुक्कले रमिता हेरिन्छ ।’

जेन–जी आन्दोलन सर्मथक लेखक तथा अधिवक्ता सरिता तिवारी परिवर्तनका संवाहक युवाहरुमा समेत पुरुषहरुकै वर्चस्व भएको आरोप लगाएकी छिन् । रवि र बालेनको सहमतिपछि खिचिएको तस्विरमा एक महिला सहभागी छैनन् । लेख्छिन्– ‘राजनीतिमा म्यान र बाहुबलीको भाष्य नै स्थापित गर्ने भए युवा जन्ताले पनि । युवा जन्ता पनि पुरुष वर्चस्वकै मनोविज्ञानले बनेका छन् । स्ट्यान्डर्ड पोलिटिकल एक्टर भनेको सट–पयेंट लाउने, दार्ही जुँआ भुको मुन्छे नै हो नि, हैन युवा जन्ताहरू ?’
पत्रकार स्मृति मल्लले उनीहरुको गठबन्धन भावनामाथिको खेलवाड भएको बताएकी छिन् । लेख्छिन्–‘यदि तपाई खतरनाक राजनीतिक दाउ खेल्दै हुनुहुन्छ भने जे वा जो सँग तपाईलाई खतरा छ । उसको दिमागमा ‘द फिलिङ अफ रिलेटिभ डेप्रिभेसन’ अर्थात तुलनात्मक रुपमा वञ्चित हुनसक्ने भावनामा खेल्दिनुस् । खेल खतम । जीत तपाईको । अहिलेलाई यत्ति भनौं ।’
सामाजिक सञ्जाल प्रयोगकर्ता दीपक शर्माले रवि र बालेनको एकता माओवादी जनयुद्धको जस्तो हुने दाबी गरेका छन् ।जनयुद्धले देश पछाडि धकेलियो । अब यिनीहरुको एकता दुरुस्तै हुने उनको तर्क छ । लेख्छन् – ‘एउटा राष्ट्रिय ठग र अर्को धुन्दकारीको मिलन जनताले के पाउछ मलाइ थाहा छैन । तर देश चै अस्थिरताको भुमरीमा फसेर २० बर्षपछि धकेलिनेमा कुनै शंका छैन । नोट–माओबादि जनयुद्दमा जनता यस्तै उद्देलित भए सारा ध्वस्त पार्यो आखिर के हात लाग्यो ? देशलाई नयाँ दल र सेलिब्रेटि चाहिएको होइन स्थिर शासन प्रणाली र स्थिर सरकार हो । त्यो यि टाल्टुले जोडेकाबाट सम्भव छैन ।’
त्यसैगरी नवीन रिजाल लेख्छन् – ‘फागुन २१ सम्मको चुनावको नतिजापछि पनि रहिरहने वाला सहमती हो मेयर साव ? कुनै पदको लागि मात्र त होइन ? साँच्चै देशप्रति बफादार हुँदै काम गर्नको लागि हो भने शुभकामना । अब सिंहदरबार जलाइदिन्छु भन्ने अभिव्यक्ति चाइ दिनु भएन है ।’













प्रतिक्रिया