काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीनकुने क्षेत्रमा राजावादी आन्दोलनका क्रममा भएको घटनालाई लिएर प्रश्नैप्रश्न उठाएका छन् ।
उनले शनिबार प्रेस विज्ञप्ति जारी गरेर राजावादीको आन्दोलन उग्र हुँदै गएपछि भएको आगजनी र तोडफोडप्रति निन्दा गर्दै आन्दोलनकेन्द्रित आधा दर्जन प्रश्न गरेका हुन् ।
‘पार्टी कार्यालय, निजी घर, सुपर मार्केट र सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी निन्दनीय छ,’ अध्यक्ष थापाले भनेका छन्, ‘तर, हिजोको घटनाको सन्दर्भमा केही गम्भीर प्रश्नहरू पनि छन् ।’
यी हुन् थापाका सात प्रश्न
– निजी घरमा पसेर प्रहरीले जुलुसमा किन अन्धाधुन्ध अश्रुग्यास प्रहार ग¥यो ?
– कार्यक्रम सुरु हुनुअगावै मञ्चमा किन अश्रुग्यास प्रहार गरियो ?
– सामान्य झडप हुँदा किन अनावश्यक बल प्रयोग गरेर भिडलाई उत्तेजित बनाउने काम भयो ?
– परिस्थिति जटिल छ भन्ने पूर्व सूचना हुँदाहुँदै किन आवश्यक सतर्कता अपनाइएन रु
– राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको अभियानलाई बदनाम गर्न र तुहाउन कहीँ कतैबाट षड्यन्त्र त भएको थिएन ?
– आन्दोलनलाई अराजक बनाउने सरकारी वा अन्य कसैको नियोजित प्रयास त होइन ?
राप्रपा नेपालका अध्यक्ष थापाले शुक्रबार राजावादीको प्रदर्शनका क्रममा भएका अप्रिय घटनाप्रति दुःख व्यक्त गर्दै हिंसा र अराजक गतिविधि समर्थन गर्न नसकिने प्रष्टिकरण पनि दिएका छन् ।
‘चैत १५ गते काठमाडौंमा प्रदर्शनको क्रममा भएका अप्रिय घटनाहरू दुःखद छन् । कुनै पनि बहानामा हुने हिंसा र अराजक गतिविधि समर्थन गर्न सकिन्न,’ उनले भनेका छन्, ‘प्रहरीको गोलीबाट सविन महर्जनको निधन हुनु र प्रदर्शनकारीहरूले आगो लगाइदिएको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु हुनु जघन्य अपराध हुन् । यो घटनाको निष्पक्ष छानविन हुनुपर्छ र दोषीलाई कारबाही गर्नैपर्छ ।’
शुक्रबारको घटनालाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई जोड्न खोज्नु सर्वथा अनुपयुक्त र अनावश्यक भएको अध्यक्ष थापको भनाइ छ । उनले प्रहरीको हिरासत र नजरबन्दमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा, राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति नवराज सुवेदी र प्रवक्ता स्वागत नेपाललगायतलाई तत्काल रिहा गर्न माग पनि गरेका छन् ।
प्रतिक्रिया