काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले अहिले पनि गणतन्त्र पुँजीपतिलाई मात्रै आएको बताएका छन् ।
एकीकृत समाजवादीले गणतन्त्र दिवसका अवसरमा बिहीबार गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
‘हामीले गणतन्त्र दलाल पुँजीपतिलाई मात्रै ल्याएको होइन । यो गणतन्त्र भ्रष्टहरूका लागि स्थापना गरिएको थिएन । हाम्रो देशको गणतन्त्र आमजनताको हुन सकेको छैन’, उनले भने, ‘सामन्त र दलाल पुँजीपति वर्गको बनेको छ । शोषकहरूको बनेको छ । कालोबजारी र तस्करको बनेको छ । यो जनताको गणतन्त्र बनिसकेको छैन ।’
उनले गणतन्त्र स्थापनासँगै आफूहरूले नयाँ संविधान बनाएको पनि बताए । तर नयाँ संविधान आएपछि कम्युनिस्टलाई जनताले दिएको दुईतिहाइ खेर फ्याँकेको पनि उनले बताए ।
‘संविधान बनेपछिको पहिलो निर्वाचनबाट वामपन्थीलाई विजयी गरेपछि आमूल परिवर्तन हुन्छ भनेर जनताले दुईतिहाइ बहुमत दिए’, खनालले भने, ‘त्यो असाधारण शक्ति त्यसबेलाको सरकारको नेतृत्वका लागि बाँदरका हातमा नरिवल जस्तै भयो ।’
त्यहीकारण देश निरन्तर संकटमा पर्दै गएको उनले बताए । ‘एउटा व्यक्तिको हातमा भएको सार्वभौमसत्ता जनताको हातमा आयो । त्यो ठूलो उपलब्धि थियो’, उनले भने, ‘नेपाली समाजबाट हामीले सामन्तवादको अवशेष राजतन्त्रलाई समाप्त गर्यौँ । जुन नेपाली जनतामाथि बुइ चढेर बसेको थियो । तर अहिले गणतन्त्र जनताको हुन सकेन ।’
प्रतिक्रिया