मौरीपालनबाट वार्षिक ६५ लाख आम्दानी « Khabarhub

मौरीपालनबाट वार्षिक ६५ लाख आम्दानी


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर केसीको नाम  मौरीपालन व्यवसायमा चर्चित छ । उनी मौरीबाजेको नामले बढी चिनिन्छन् ।

केसीले बलेवा मौरीपालन उद्योग सञ्चालन गरेका छन् । विसं २०५६ मा १० हजार लगानीमा दुई मौरीको घारबाट थालिएको मौरीपालन व्यवसायमा उनले अहिले एक करोड लगानी गरिसकेका छन्। उद्योगका रूपमा स्थापित भएको मौरीपालन व्यवसायका कारण सिँगो बलेवा समेत परिचित हुँदै आएको छ ।

एक-दुई घार हुँदै थपिएका मौरीका घार अहिले ३५० पुगेका छन् भने उद्योगबाट वार्षिक दुई हजार ५०० मौरीका घार देश भरका विभिन्न जिल्लामा बिक्री भइरहेका छन् । केसीका दुई छोराले उद्योगलाई प्रविधिसँग जोडेर आधुनिक मौरीका घार बनाइरहेका छन् । 

‘मत ६० वर्ष कटे, मौरीको स्याहार मात्रै गर्छु । छोरा जगत र जनकको नेतृत्वमा थप छ जनालाई रोजगारी दिएर आधुनिक मौरीका घार उत्पादन भइरहेका छन्, अहिले चितवनबाट ४०० मौरीका घारको माग आएपछि उद्योगमा धमाधम काम भइरहेको छ’, केसीले भने ‘देशभरका विभिन्न जिल्लाबाट अनुदानमा वितरण गर्ने मौरीका घार यही उद्योगमा निर्माण हुन्छन्, अहिले १० लाखमा युरोपबाट काठ काट्ने आधुनिक उपकरण लिएका छौँ, मौरीको मह बिक्री, मौरीगोलासहितको घार तथा अन्य घार मात्रै बिक्रीबाट पछिल्लो एक वर्षमा मात्रै रु ६५ लाख आम्दानी भयो ।’

केसीका चार छोरामध्ये अहिले दुई छोराले बुबाको सीप र दुःखलाई पछ्याइरहेका छन् । वार्षिक तीन क्विन्टलसम्म मह उत्पादन तथा एक वर्षमा दुई हजार ५०० मौरीका घार उत्पादन गरेर बिक्री गर्दै आएको छोरा जगत केसीले जानकारी दिए । उनले अहिले तीन चरन क्षेत्रमा ३५० मौरीका घारमा मह उत्पादन भइरहेको जानकारी दिए । 

‘बाबाको बिँडो सम्हालेका मात्रै हौँ, बाबाले मौरीपालन गर्दै आउनुभएको थियो, पछि फर्निचरसमेतको काम जान्नुभएकाले आफूलाई चाहिने मौरीको घार आफैँ बनाउने गर्नुभएको छ, घारको माग बढ्न थाल्यो, उद्योगलाई प्रविधिसँग जोड्न मात्रै हामीले सघाएका छौँ’ छोरा जगतले भने, ‘अहिले घार उत्पादन फर्निचरमा छ जनालाई रोजगारी दिएका छौँ, तीन स्थानमा मौरीको चरन क्षेत्र विस्तार गरेका छौँ, चितवनका लागि ४०० मौरीका आधुनिक घार बिक्री गर्ने तयारी छ ।’

केसीले आधुनिक उपकरणबाट काठ काट्ने, जोड्ने तथा रङ्ग लगाउने गर्छन् । दुई वर्षअघि २३६ घार भारतको सिक्कमसम्म निर्यात गरेको जिकिर गर्दै उनले विभिन्न जिल्लामा अनुदानमा वितरण गर्ने गोलासहित र गोला रहितको घार उत्पादन गर्दै आएको बताए। 

मौरीको गोलासहितको घारलाई १० हजार र मौरीको गोलारहितको खाली घारलाई चार हजारदेखि पाँच हजारसम्म बिक्री गरिएको केसीले जानकारी दिए । आम्दानीको ३० देखि ४० प्रतिशत रकम बचत भएको छ । केसीले गत आर्थिक वर्षमा ६५ लाखको मह र मौरीका घार बिक्री गर्दा २५ लाख नाफा भएको बताए। 

मौरीको घार उत्पादन गर्न टुनीको काठ खरिद, विद्युत् महशुल, कर्मचारी तलबलगातमा उद्योगले लाखौँ रुपैयाँ खर्च गरिरहेको छ । टुनीको काठबाट बनेका घारको माग बढी छ । बजारमा स्थानीय तहले सघाउन सकेमा आफ्नो उद्योगले सयौँ नागरिकलाई रोजगारी दिन सकिने केसीले बताए।

‘घार उत्पादनमा समस्या छैन,  बजारीकरण गर्न कागजी प्रकृया नै झन्झटिलो छ’, उनले भने।

बलेवा मौरीपालन उद्योगमा उत्पादित मह प्रतिकिलो रु एक हजारमा बजारमा बिक्री हुने गरेको छ । उद्योगलाई बागलुङ नगरपालिकाले १८ लाख अनुदान दिएको केसीले बताए। 

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १ : ५० बजे

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा