काठमाडौँ – नेपालका दुई प्रमुख कम्युनिष्ट दलहरू नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मा यतिखेर नेतृत्वलाई लिएर आन्तरिक विवाद चुलिएको छ ।
एकता गरी ३३ महिना सगोल भएका र घरझगडा चुलिएपछि सर्वोच्च अदालतको आदेशले पूर्ववत् अवस्थामा फर्किएका यी दुई दलभित्रको छुट्टाछुट्टै विवादमा एमालेभित्रका पूर्वमाओवादी खेमाको कन्तबिजोक भएको छ ।
साविकको एमालेको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ र माओवादी केन्द्रको ‘एक्काइसौं शताब्दीको जनवाद’ भित्रको अन्तरवस्तु निकालेर ‘समाजवाद उन्मुख जनताको जनवाद’ लाई मार्गदर्शक सिद्धान्त बनाउँदै यी दुई पार्टीबीच एकता भएको थियो । ६ बुँदे घोषणापत्र जारी गर्दै २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एक भए । पार्टीको नाम राखियो – ‘नेपाल कम्युनिष्ट पार्टी’ नेकपा ।
एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं शताब्दीको जनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै आएका थिए । दुवैलाई आगामी महाधिवेशनमा बहसमा लाने निर्णय गर्दै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैमा कार्यकारी अधिकार निहीत हुने गरी अध्यक्ष तोकिए । पुनर्गठित पार्टीले नौ सदस्यीय केन्द्रीय सचिवालय निर्माण गर्यो ।
त्यसपछिको वरीयतामा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहे । नारायणकाजीलाई प्रवक्ता र विष्णु पौडेललाई महासचिवको जिम्मेवारी दिइयो ।
४५ सदस्यीय स्थायी कमिटी निर्माण भयो । जसमा एमालेबाट २६ र माओवादीबाट १९ नेता समेटिए । केन्द्रीय कमिटी ४४१ सदस्यीय बन्यो । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भयो ।
एकता प्रकृया नटुङ्गिदै फुट
पार्टी एकताको बलमा २०७४ को निर्वाचनमा प्रतिनिधि सभाका २७५ मध्ये १७४ र ६ प्रदेशमा दुई तिहाइभन्दा बढी मत प्राप्त गरी सरकारको नेतृत्व गर्न सफल भएको पार्टी अन्ततः विभाजनमा विर्सजन हुन पुग्यो ।
कम्युनिष्ट आन्दोलनको ५७ वर्ष लामो टुटफुट र विग्रहको बाटो सच्याउने उद्देश्यसाथ गठन भएको नेकपाको आयु दुई वर्ष नौ महिना पनि पूरा हुन सकेन । पार्टी एकता प्रक्रिया नटुङ्गिदै दुई टुक्रामा विभाजित भयो ।
नेकपाको आन्तरिक विभाजनपछि केपी शर्मा ओलीको नेतृत्वमा एउटा समूह निर्माण भयो । प्रचण्ड र माधवकुमार नेपालले अर्को समूह निर्माण गरे । नेकपा विभाजनपछि वामदेव गौतम दुवै समूहमा लागेनन् । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको घोषणा गरे ।

विभाजनपछि एमालेभित्र माओवादी पृष्ठभूमिका नेताको जिम्मेवारी
नेकपा विभाजनपछि आफ्नो लामो राजनीतिक सङ्लग्नता रहेको पार्टी माओवादीमा नफर्किइ एमाले अध्यक्ष ओलीलाईसाथ दिएका नेताहरू रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, चन्द्रबहादुर खड्का, गौरीशंकर चौधरी, दावा लामालगायत थिए ।
एमालेमा आएका यी नेतालाई एमाले अध्यक्ष ओलीले विभिन्न जिम्मेवारी प्रदान गरेका थिए । बादल बागमती इञ्चार्ज, टोपबहादुर रायमाझी मोर्चा विभाग प्रमुख (जनसंगठनको नेतृत्व), मणि थापा कर्णाली प्रदेश इञ्चार्ज र लेखराज भट्ट सुदूरपश्चिम प्रदेशको इन्चार्ज थिए । प्रभु साहलाई प्रदेश–२ (हाल मधेश प्रदेश) को अध्यक्षको जिम्मेवारी दिइएको थियो ।
माओवादीको प्रदेश तहका नेता समेत एमालेमा रहेका थिए । तत्कालीन प्रदेश–१ बाट माओवादी प्रदेश संसदीय दलका नेता टंक आङबुहाङ, प्रदेश २ बाट प्रदेश संसदीय दलका नेता रामचन्द्र मण्डल, प्रदेशसभा सदस्यहरू ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर रहेका थिए ।
लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी, कर्णालीका धर्मराज रेग्मी र सुदूरपश्चिमका झपट बोहोराले एमाले रोजेका थिए । बोहोराले ओलीलाई साथ दिँदा उनले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री पद छाड्नुपरेको थियो ।
एमाले अध्यक्ष ओलीले माओवादीबाट आएका नेतालाई स्थापित गर्न नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व विघटन गरी विधान संशोधन गरेका थिए । उनले माओवादीबाट आएका नेताहरू सहितको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए । ओलीले बादलसहित २३ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरेका थिए ।
कमिटीमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह दावा लामा, टङ्क आङबुहाङ, पासाङ शेर्पा, ज्वाला शाह, टेकबहादुर बलमपाखी, कमल चौलागाईं, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, गिरधारि लाल, झपट बोहोरा, चन्द्रबहादुर खड्का, गौरीशंकर चौधरी, डम्बर विष्ट, दिनेश पन्थी, धर्मराज रेग्मी र नवीन रोक्कालाई मनोनित गरिएको थियो ।
तर अदालतले एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटीलाई मान्यता दिने आदेश दिएपछि माओवादी पृष्ठभूमिका नेतालाई बाँडिएको पदको वैधानिकता गुमेको थियो । दशौं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीको मान्यता नदिने गरी आदेश आउनुअघि थापासहित माओवादी तर्फका सात मन्त्री पदमुक्त भएका थिए ।
माओवादी केन्द्रले पार्टी सदस्यसँगै सांसदबाट पदमुक्त गरेपछि दायर रिटमाथि सुनुवाइ गर्दै अदालतले उनीहरूलाई मन्त्री पदबाट मुक्त गर्ने आदेश दिएको थियो ।
एमालेभित्र कन्तबिजोक
नेकपा विभाजनपछि ‘प्रचण्ड कित्ता’ मा उभिएका माधव नेपाल र झलनाथ खनाललगायतले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी २०७८ भदौ २ गते निर्वाचन आयोग दर्ता गरे ।
‘नेकपा काल’ मा प्रचण्डसँग उभिएका एमाले पृष्ठभूमिका नेताहरू एमालेसँगको विभाजनसँगै नयाँ दलमा गए । तर एमालेमा रहेका माओवादी पृष्ठभूमिका नेताहरूमा एमाले नेतृत्वप्रतिको मोह भङ्ग हुँदै गएको छ ।
उनीहरूले पार्टीमा उचित जिम्मेवारी पाउन सकेका छैनन् भने एमाले नेताहरूसँग ‘तीतो– टर्रो’ को अनुभव बटुल्न परिरहेको छ ।
टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा पक्राउ परे । उनी अहिले झ्यालखानामा छन् । मणि थापाले एमालेमा उचित जिम्मेवारी पाएनन् । एमाले नेतृत्वप्रति असन्तुष्ट रहँदै पार्टी सम्पर्कबाहिर छन् ।
एमालेमा सचिवको जिम्मेवारी पाएका लेखराज भट्ट पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट रहेको चर्चा छ । केही समयअघि उनको एउटा अनौपचारिक संवादको अडिओसमेत सामाजिक सञ्जालमा भाइरल भएको थियो । एमाले अध्यक्ष र नेताहरूमा अहंकार रहेको उनले बताएका थिए । यद्यपि उनले पार्टी छाड्ने विषयको भने खण्डन गरेका थिए ।
एमाले छाडेर माओवादीमै फर्किए यी नेता
एमालेको राजनीतिक लाइन र नेतृत्वशैलीसँग तादाम्यता नमिलेपछि नेकपा विभाजनपछि पनि एमालेमै रहेका माओवादी पृष्ठभूमिका नेताहरू पुनः माओवादीमै फर्किरहेका छन् ।
चन्द्रबहादुर खड्का
माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का एमालेतिर लागेपछि २०७८ वैशाख १५ गते उनको राष्ट्रियसभा सदस्यको पद गयो । एमालेमा लागेपछि माओवादी केन्द्रले कारबाही गरेपछि उनी पदमुक्त भएका थिए ।
एमालेका सांसद टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा जेल परेपछि पूर्वराष्ट्रिय सभा सदस्यसमेत रहेका खड्का माओवादीमै फर्किएका हुन् । नेकपा विभाजनपछि उनी टोपबहादुरसँगै एमालेमै रहेका थिए ।
टेकबहादुर बलम्पाकी
नेकपा विभाजनपछि रामबहादुर थापा ‘बादल’ सँगै एमालेमा रहेका बलम्पाकी एमालेका केन्द्रीय सदस्य थिए । माओवादी विभाजन हुँदा मोहन वैद्यतिर रहेका उनी बालदसँगै माओवादीमा फर्किएका थिए ।
पुनःस्थापित एमाले नेकपाको निरन्तरता हो भन्ने बुझेर एमालेमै रहेका बलम्पाकी सार र रूप दुवै दृष्टिले एमालेमा रहनु एकताको निरन्तरता होइन भन्ने ठहर गरेपछि माओवादीमा फर्किएको बताएका थिए ।
गमबहादुर गुरुङ
माओवादीको पूर्व राज्य समितिको सचिवालय सदस्य र तत्कालीन समयमा आदिवासी जनजाति महासंघ युरोपको अध्यक्ष थिए गमबहादुर ।
नेकपा विभाजनपछि एमालेमा बसेका गुरुङले एमालेसँगको राजनीतिक लाइन नमिलेको भन्दै पुरानै घरमा फर्किएको प्रतिक्रिया दिएका थिए ।
यस्तै; नेकपा विभाजनपछि एमालेमै रहेका केही नेताहरू एकसाता नबित्दै माओवादीमा फर्किएका थिए । ती नेताहरूमा माओवादीका तत्कालीन बागमती प्रदेश सदस्य गिरीधारी सुवेदी र सुरेश थापालगायत थिए ।
एकता विभाजनपछि एमालेका केन्द्रीय सदस्य पाएका ठक्कर विष्ट माओवादी केन्द्रका तर्फबाट सुर्खेतका निर्वाचित प्रदेशसभा सदस्य थिए ।
माओवादी केन्द्रले विष्टसहित ओली समूहमा लागेकालाई दल त्यागसम्बन्धी व्यवस्थाअनुसार सांसद पदबाट हटाउन निर्वाचन आयोग, संघीय संसद र प्रदेश संसद सचिवालयलाई पत्राचार गरेपछि उनी माओवादीमा फर्किएका थिए ।
नेताको चित्तदुःखाइ
एमालेमा ‘माओवादी जनयुद्ध’ लाई हेर्ने दृष्टिकोणमा मतभेद रहेको गुनासो छ । माओवादी पृष्ठभूमिका नेता एमालेभित्र यसको तीव्र प्रतिवादमा उत्रिएको बताउँछन् । माओवादी जनयुद्धमा योगदान रहेको उनीहरूको दृढता छ ।
एमालेको नेतृत्वले जनयुद्धलाई हिंसा भन्दा चित्त दुख्ने स्वयम् नेता लेखराज भट्टले अभिव्यक्ति दिँदै आएका छन् । माओवादी जनयुद्धलाई अपमानित गर्ने, होच्याउने काम एमाले नेता हुन नहुने उनको जिकिर छ ।
प्रचण्ड छाडेर ओलीतिर लागेका नेताहरूले पार्टीभित्रै सास्ती खेप्नुपरेको गुनासो गर्ने गरेका छन् । प्रभु साहलगायत नेताहरूले एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) लाई स्वीकार्न नसक्ने भएपछि पार्टी परित्याग गरे ।
नेकपा विभाजन हुँदा पार्टीको नाम नेकपा र सिद्धान्त ‘जनताको जनवाद’ भनिए पनि एमालेले जबजलाई नै मार्गदर्शक सिद्धान्तका रूपमा हाबी गराएपछि पुनःस्थापित एमालेतिर लागेका साहलगायतका नेता बिच्किए ।
रामबहादुर थापा बादल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको ४० वर्षको सम्बन्ध तोडेर एमाले अध्यक्ष केपी ओलीलाई साथ दिएका रामबहादुर थापा बादल जनयुद्धकालमा प्रचण्डपछिका शक्तिशाली सैन्य कमाण्डर भनेर चिनिएका थिए ।
२०३७ सालदेखि भूमिगत राजनीति गरेका रामबहादुर थापा बादललाई माओवादी सशस्त्र विद्रोहका एक प्रमुख योजनाकार मानिन्छन् । माओवादीभित्र उनी प्रभावशाली भूमिकामा थिए । २०६४ को चुनावपछि प्रचण्ड प्रधानमन्त्री हुँदा डा.बाबुराम भट्टराई अर्थमन्त्री र बादल रक्षामन्त्री थिए ।

एमालेका तर्फबाट बामदेव गौतम गृहमन्त्री हुँदा प्रचण्ड सरकारमा बादल रक्षा मन्त्रालयको जिम्मेवारीमा थिए । संविधान जारी नहुँदै मोहन वैद्य किरणले माओवादी विभाजन गरेपछि बादल किरणसँग लागे । संविधान बनेपछि पुनः उनी माओवादीमा फर्किए । बाबुराम भट्टराईले समेत माओवादी छाडेकाले बादल पार्टीभित्र थप प्रभावशाली बने ।
नेकपा विभाजनपछि बादल एमालेतिर लागे । एमालेमा लागेकै कारण उनलाई माओवादी केन्द्रले कारबाही गर्यो । उनले तत्कालीन राष्ट्रियसभा सदस्य गुमाए । गृहमन्त्री रहेका उनी २०७८ जेठ ६ गते पदबाट मुक्त हुन पुगे ।
माओवादी परित्याग गरेर एमाले प्रवेश गरेपछि बादलको राष्ट्रिय सभा सदस्य पद गुम्यो । रिक्त उक्त स्थानमा उपनिर्वाचन भयो । एमालेले बादललाई उम्मेदवार त बनायो तर उनी डा. खिमलाल देवकोटासँग पराजित हुन पुगे । हाल बादल एमालेको उपाध्यक्ष छन् ।
प्रभु साहद्वारा आम जनता पार्टी गठन
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपा विगठन भएपछि माओवादी केन्द्र छाडेर एमालेतिर लागेका प्रभु साह आफ्नै नेतृत्वमा नयाँ दल खडा गरे । उनले २०७९ मङ्सिर ४ को निर्वाचन अगाडि एमाले छाडे ।
एमाले छाडेपछि उनी रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भए । एमालेले दिएको टिकट होल्ड गरेर अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दिएका साहलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो ।
त्यसपछि उनले आम जनता पार्टी गठन गरेको घोषणा गरेका थिए ।
मणि थापा
२०७७ फागुन २३ गते सर्वोच्च अदालतको आदेशमा एमाले र माओवादी केन्द्र पूर्ववत फर्कियो । माओवादी पृष्ठभूमिका केही नेताले केपी ओलीको नेतृत्वमा एमाले रोजे ।
माओवादीका नेताले एमालेमा रहने भएपछि एमाले अध्यक्ष ओलीले पार्टीलाई नेकपाको निरन्तरताको रूपमा अर्थ्याए । रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझीसँगै मणिचन्द्र थापाले एमाले रोजेका थिए ।
तर अहिले मणि थापा पार्टीका कुनै पनि अभियानमा देखिँदैनन् । उनले २०७९ मङ्सिर ४ को निर्वाचनमा गृहजिल्ला प्युठानमा भएका केही जनसभामा सहभागिता जनाएका थिए । तत्पश्चात् उनी पार्टी सम्पर्कमा छैनन् ।
थापा हाल नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सांस्कृतिक मोर्चा ‘सामना परिवार’ मा आवद्ध भइ देश दौडाहामा छन् । माओवादी सङ्घर्षकालमा नै थापा चर्चित जनसंस्कृतिकर्मी थिए ।

नेताहरूका अनुसार उनी कार्यविभाजनमा ‘बिदा’ जनाएर निष्क्रिय बसेका थिए । एमालेमा जिम्मेवारी, आकर्षण र मोह नदेखेपछि उनी सम्पर्कविहीन छन् । थापा एमालेको स्थायी कमिटीमा रहे पनि उनलाई पार्टीले कुनै जिम्मेवारी तोकेन ।
थापा तत्कालीन माओवादी जनयुद्धमा सहभागी नेता हुन् । उनी माओवादीको सांस्कृतिक मोर्चामा सक्रिय थिए । २०६२ को चुनवाङ बैठकपछि उनले माओवादीबाट अलग भई आफ्नै नेतृत्वमा पार्टी निर्माण गरेका थिए ।
२०७३ सालमा दश माओवादी घटक एकताका क्रममा पुनः जोडिएका थिए । एकतापछि बनेको माओवादी केन्द्रमा थापा स्थायी समिति सदस्य रहे । एमाले–माओवादी एकतापछि बनेको नेकपामा समेत उनी स्थायी समिति सदस्य रहे । एमाले-माओवादी केन्द्र पूर्ववत् फर्किएपछि उनले एमाले रोजेका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलमा थापा खानेपानी मन्त्री थिए । एमालेको चितवनमा भएको दसौँ महाधिवेशनमा उनी स्थायी समिति सदस्य बने । पछिल्लो समय एमालेको सम्पर्कमा नरहेका थापा विप्लव नेतृत्वको नेकपा जाने चर्चा चलेको थियो । तर त्यो विषय पनि त्यत्तिकै सेलायो ।
विधान महाधिवेशनका सन्दर्भमा लिखित सुझाव
एमालेले आगामी भदौ २० गतेदेखि २२ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीभित्रका विकृति, विसङ्तिलाई महाधिवेशनले विधानमार्फत् सम्बोधन गर्ने विषय एमालेका केन्द्रीय नेतृत्वले उठाएका छन् ।
नेकपा विभाजनपछि एमालेमा रहेर केन्द्रीय सदस्य बनेका भोजपुरका नेता (जिल्ला इञ्चार्ज) पर्शुराम अधिकारी पार्टी नेतृत्व र पद्धतिसँग पछिल्लो समय असन्तुष्टि पोख्ने नेता हुन् । उनले एमाले अध्यक्ष ओली र पार्टीका नेताहरूलाई सम्बोधन गर्दै विधान महाधिवेशनमा संशोधन गर्नुपर्ने सात बुँदे सुझाव राखेका छन् ।
उनले दोस्रो बुँदामा कमिटीको आकार सानो बनाउने नाममा नेतृत्वलाई विस्थापित गर्ने विषय उपयुक्त नहुने सुझाव दिएका छन् । त्यस्तै तेस्रो बुँदामा नेता रिझाउने कार्यकर्ता बिझाउने पद्धति एमालेमा हाबी भइरहेको भन्दै सचेत गराएका छन् ।
एमालेभित्र आलोचना र आत्मालोचनाको संस्कृति अन्त्य भएको महसुस भएको उनले उल्लेख गरेका छन् । सुझावको चौथो बुँदामा उनले भनेका छन्– पार्टीभित्र आलोचना र आत्मालोचनाको संस्कृति अन्त्य जस्तो भएको छ । जसले विकृति र विसङ्गति बढिरहेको छ । यसलाई विधानमा नै व्यवस्था गरेर जाऊँ । यसकोो अभ्यास हालसम्म चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्वन गरिरहेको पाइन्छ ।’
प्रतिक्रिया