काठमाडौं– नेपालमा प्रत्येक वर्ष मस्तिष्कघातका कारण ५० हजारभन्दा बढी मानिस प्रभावित हुने गरेको पाइएको छ । नेपाल पक्षघात सङ्घले गरेको अध्ययनमा प्रत्येक वर्ष नेपालमा मस्तिष्कघातका कारण ५० हजारदेखि ६० हजार मानिस प्रभावित हुने गरेका हुन् ।
नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष एवम् ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट डा. राजु पौडेल नेपालमा प्रत्येक १० मिनेटमा एकजनामा मस्तिष्कघात हुने गरेको बताउँछन् ।
‘एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको मस्तिष्कघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै मस्तिष्कघात भनिन्छ । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ,’ डा पौडेलले भने ।
नेपालमा मस्तिष्कघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्न सन् २०१७ मा नेपाल पक्षघात सङ्घ स्थापना गरी विभिन्न कार्यक्रम गरिँदै आइरहेको छ । डा. पौडेल मस्तिष्कघातको उपचारका लागि सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नाका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको बताउँछन् ।
उक्त सङ्घले भर्खरै विश्वका एक दर्जन बढी मुलुकका ५०० बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थितिमा ‘हिमालय अन्तरराष्ट्रिय मस्तिष्कघात सम्मेलन’समेत आयोजना गरेको थियो । उक्त सङ्घले जर्मनीको युनिभर्सिटी हस्पिटल हाइडलबर्गको सहयोगमा नेपाल पक्षघात परियोजनासँग सहकार्य गरी काम गर्दै आएको छ । यस्तै, जिआइजेड, विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँगको सहकार्यमा नेपालको मस्तिष्कघातसम्बन्धी गाइडलाइन तय गर्ने काम गरेको डा पौडेल बताउँछन्।
सङ्घले मस्तिष्कघातसम्बन्धी निर्देशिका निर्माण गरी सरकारलाई बुझाइसकेको छ । यस्तै, देशभरका अस्पतालको मस्तिष्कघातको अवस्थाबारे सूचीकरण गर्ने, बिरामीको अवस्थाबारे जानकारी राख्नेलगायतका कामसमेत सङ्घले गरेको छ । डा पौडेल मस्तिष्कघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताउँछन्।
‘विश्वमा हरेक चारजनामा एक जनालाई र तीन सेकेन्डमा एकजनालाई पक्षाघातको सम्भावना हुन्छ, यसबाट सजग हुनुपर्छ’, उनले भने।
विश्वभर प्रत्येक वर्ष मस्तिष्कघातका कारण एक करोड २० लाख मानिस प्रभावित हुँदै आएका छन् । प्रभावितमध्ये ५० प्रतिशतको मस्तिष्कघातका कारण मृत्यु हुने गरेको डा पौडेल बताउँछन् । विश्वभर मस्तिष्कघात भएकामध्ये १० करोडभन्दा बढीले पुनर्जीवन पाएका छन् ।
नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा मस्तिष्कघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको उनको भनाइ छ । नेपालमा अहिले मस्तिष्कघात भएकामध्ये १५ देखि २० प्रतिशतको मृत्यु हुने गरेको तथ्यांक रहेको डा पौडेल बताउँछन्।
उहाँका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गडबड हुँदा पक्षघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षघातको लक्षण भएको र यस्ता लक्षण देखिए चार घण्टाभित्रै अस्पताल पुग्न सके उपचार सम्भव रहेको डा पौडेल बताउँछन्।
मस्तिष्कघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्ने र यसका अतिरिक्त बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने हुन्छ । नेपालमा भौगोलिक विकटता, सीमित स्रोतसाधन र दक्ष जनशक्तिको अभावका कारण पक्षघातको उपचारमा चुनौतीपूर्ण हुँदै गएको छ । समयमै रोग पहिचान गरेर उपचार गर्न सके उपचार सम्भव रहेको डा पौडेल बताउँछन्।
अक्टोबर २९ अर्थात् आज विश्वभर विश्व पक्षघात (मस्तिष्कघात) दिवस मनाइएको छ । ‘प्रत्येक मिनेट गणना’ भन्ने मूल नाराका साथ आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा मस्तिष्कघातसम्बन्धी हाजिरजवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।












प्रतिक्रिया