प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’ « Khabarhub

अन्तर्वार्ता

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली बोल्दा बच्चाले फाइन तिर्नुपर्छ ?



नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ। कुन शुद्ध र कुन शब्द अशुद्ध भन्ने बारेमा भाषा विज्ञबीच नै तालमेल छैन। आ–आफ्नै हिसाबले शब्दको प्रयोग गर्दा एकले अर्कोको शब्द अशुद्ध भनेर आरोपप्रत्यारोपमा रमाएका छन्। पाठ्यपुस्तकदेखि पुस्तक, आमसञ्चारका भाषासमेत ध्वस्त छन्। अरु त अरु शुद्ध भाषाका गाइडलाइन मानिने शब्दकोषसमेत बरमझियाका पेडाजस्ता छन्। असली बुढाको पेडा पसल खुट्याउन कठिन भएजस्तै भाषाको मानकमा सबै अलमलिएका छन्। स्कुलका कलिला बालबालिका गलत शब्द पढ्न बाध्य छन्। पढाउनेलाई नै सही कुन हो भन्ने बोध छैन। उनीहरुलाई सुरुदेखि नै गलत पढाइएको छ। विज्ञान प्रविधिले फड्को मारिसक्दासमेत नेपाली भाषाले न्याय पाएको छैन। कालोपाटीमा सेतो अक्षर पढेर आएका र सेतो बोर्डमा कालो अक्षर पढिरहेकाबीच बुझाइको तालमेल नमिल्दा पढाइको लय नै बिग्रिएको छ।

भाषा के हो ? नेपाली भाषाको विवाद के हो ? सरोकारवाला निकाय किन लापर्वाह बनिरहेको छ ? विद्यार्थी अशुद्ध पढ्न किन बाध्य छन् ? यसको समाधानको चुरो के हो ? लगायतका विषयमा त्रिभुवन विश्वविद्यालय नेपाली विभागका उपप्रध्यापक डा. अशोक थापासँग गरिएको कुराकानी :

केन्द्रीय क्याम्पस नेपाली विभागकै प्रसंगबाट सुरु गरौं, नेपाली भाषा पढ्ने विद्यार्थीको आकर्षण कस्तो छ ?
नेपाली भाषा पढ्ने विद्यार्थी मात्रै नभएर अन्य विषय पढ्ने विद्यार्थीको पनि संख्या घट्दै गएको छ। विश्वविद्यालयको ४२ वटा विभागमा विद्यार्थी संख्या ८ हजार पनि छैन। दश वर्ष अगाडिको संख्या हेर्ने हो भने नेपाली पढ्ने विद्यार्थीको संख्या पाँच सय भन्दा बढी थियो।

यसको विभिन्न कारणमध्ये वैदेशिक रोजगार। प्लसटु सकेपछि विदेश जाने लहरले माथिल्लो तहको कक्षा स्वतः खाली हुने भए। अर्को चाखलाग्दो कुरा जनसंख्या घट्यो। पछिल्लो दश वर्षमा २० लाख जनसंख्या पनि बढेन। केन्द्रीय विभागमा स्नाताकोत्तर, एमफिल र पीएचडी तहसम्ममा ६५ जना जति छन्। एमफिल तह नहुने हो भने यो संख्या अझै कम हुने थियो।

विद्यार्थीको संख्याभन्दा प्राध्यापकको संख्या बढी हुन थाल्यो भन्ने आरोप लाग्न थालिसक्यो। राज्यको नीति, देशको अवस्था लगायतले विद्यार्थीको संख्या घट्यो।

नेपाली विषय पढ्नेहरुका लागि रोजगारी छैन भन्ने बुझाइ छ। के त्यस्तै हो ?
यो बुझाइ भने गलत हो। नेपाली पढेकाहरु कोहीपनि बेरोजगार छैनन्। शिक्षण क्षेत्रमा नर्सरीदेखि स्नातकसम्म अनिवार्य पढाई हुने विषय नेपाली हो। अर्को अंग्रेजी पनि हो। नेपाली विषयको गरिमा फराकिलो छ। साथै पत्रकारिता, साहित्य लेखन, लोकसेवा आयोग लगायत कुनैपनि क्षेत्रमा भाषाको पकड भएकाहरुले राम्रो गर्छन्। उनीहरुले बेरोजगार बस्नु पर्दैन। जागिर प्रवेश गरिसकेपछि पनि उत्कृष्ट कर्मचारी बन्छन्। राजनीतिमा पनि राम्रो भाषण गर्नेलाई धेरैले मन पराउँछन्।
नेपाली विषय पहिले सजिलो थियो। अहिले समय परिवर्तन भएको छ। अंग्रेजी सजिलो र नेपाली गाह्रो हुँदै गएको छ। भोलि अंग्रेजी विषयको परीक्षा भएका विद्यार्थी ढुक्क छन् तर नेपाली विषयको परीक्षा छ भने चिन्तित। निजी स्कुल तथा कलेजका विद्यार्थीको लागि नेपाली सबैभन्दा गाह्रो विषय हो। त्यसकारण नेपाली सजिलो छैन, यो हेलाहोचो गर्ने विषय पनि होइन।

नेपाली विषय पढ्नुपर्छ भन्ने विद्यार्थीको पृष्ठभूमि कस्तो ?
दुई वर्ष अगाडि विश्वविद्यालयको नीति फरक थियो। उच्च तहमा नेपाली पढ्न स्नातक तहमा ३०० पूर्णाङकको नेपाली अनिवार्य पढेको हुनुपर्ने थियो। प्लसटु देखिनै पढ्दै आएकाले पढ्न पाउने नीति थियो। गत वर्षदेखि उक्त नीति परिवर्तन भएको छ। इच्छुक विद्यार्थीले प्रवेश परीक्षा पास गरेपछि पढ्न पाइन्छ। सबैलाई खुला गरिएको छ।
अहिले कक्षामा मेडिकल डाक्टर, इन्जिनियर, संगीतकार लगायत विभिन्न क्षेत्रबाट आएका विद्यार्थी छन्। विशेष साहित्यमा रुचि हुनेहरुले नेपाली पढिरहेका छन्।

आठ सय बढी भाषाको बाहुल्य रहेको न्यू पपुवागिनीमा समेत भाषाको विषयमा त्यति बहस सुनिदैन। तर नेपालमा भाषामाथि यति विधि राजनीति अलि अशोभनीय भएन ?
भाषा राजनीतिकै क्षेत्र होइन। तर भाषामाथि राजनीति गरिएको छ। २०६२÷६३ पछि जुन पहिचानको मुद्दा उठ्यो। त्यसपछि राजनीति भएको देखिन्छ। तर राजनीति पहिलेपनि भएको हो र हुँदै आएको छ। नेपालमा करिब डेढसय भाषा छन्। हिजो राणाकाल र पञ्चायतकालमा एक भाषाको प्रवद्धृन गर्ने र अरुलाई दमन गरियो। नेपाली भाषा काखमा राखेर अरुलाई पाखा लगाइयो।

बहुदल आयो, गणतन्त्र आएपछि अन्य भाषीले पनि आफ्नो संस्कृति, भाषा र पहिचान महत्वपूर्ण रहेको बोध गरे। त्यसपछि उनीहरुले आफ्नो अधिकार खोज्न थाले। संविधानले पनि यहाँ बोल्ने सबै राष्ट्रिय भाषा भन्दिएको छ। सरकारी कामकाजका भाषा हुन सक्छन् भन्दिएको छ। सबै भाषाले आफ्नो अधिकार खोज्नु नराम्रो होइन। बगैंचा पनि धेरै थरिका फूलले सुन्दर देखिन्छ। सबै भाषा र संस्कृति समान हिसाबले विकसित हुनुपर्छ।

पपुवान्युगिनी र नेपालको परिस्थिति फरक हो। यहाँ जाति, जनजाति सांस्कृतिक तथा पहिचानका मुद्दा छन्। संविधानले १२३ भाषा सुचिकृत गरेको छ। अझ थप भएर १४० पुग्ने भएको छ। अर्को नेपाली भाषालाई हेयको दृष्टिले हेर्ने र काखी च्याप्ने प्रवृत्तिले वादविवाद भएको हो।

यसभित्र हिज्जे, वर्णविन्यास, प्रयोग र शब्दचयनलाई लिएर शब्दकोषमा दिएको प्रविष्टिलाई लिएर विवाद सुरु भयो। यो स्वाभाविक हो। ज्युँदो भाषाको बहस, तर्क हुन्छन्। भाषा भनेको गतिशील हुन्छ। हजुरबुवाले बोलेको भाषा बुवाले बोल्नु भएन। बुवाहरुले बोलेको आज हामी बोल्दैनौ। जेन–जीले हाम्रो जस्तो बोल्दैनन्।

तर ह्रस्व दिर्घ नै गञ्जागोल हुन भएन। विश्वविद्यालयमा पढाउनेहरुको कमजोरी हो। नेपाल प्रज्ञा प्रतिष्ठानले बृहत शब्दकोष बनाएको छ। त्यहाँ काम गर्नेहरुको कमजोरी हो। प्राध्यापकहरुकै व्यक्तिगत आग्रह पूर्वाग्रह छ। विवादअर्को हाम्रो भाषा मिश्रित भएर पनि हो। धेरैतिरबाट जम्मा भएको ‘कक्टेल’ जस्तो छ। ६० प्रतिशत संस्कृतबाट आएको छ। अंग्रेजी, उर्दू , फारसीदेखि स्थानीय भाषाबाट आएको छ।

शब्दकोष प्रशस्त भेटिन्छन्, असली शब्दकोष कसरी चिन्ने ?
यसका दुई आधार छन्। एक त्यसले दिएको शब्दको अर्थ प्रविष्टिलाई ध्यान दिने। अर्को नेपाल सरकारको स्वामित्व वा लगानी भएको संस्था जस्तै प्रज्ञाप्रतिष्ठान, भाषा आयोग र विश्वविद्यालय लगायतले काम गरेको शब्दकोषलाई आधिकारिक मान्नुपर्छ। तिनीहरुले शब्दकोषको शास्त्रमा टेकेर लेखेका हुन्छन्।

शब्दकोष निर्माण जटिल प्रक्रिया हो। विषयविज्ञ, सरोकारवालाहरु सम्मिलित भएर लेखिएको हुन्छ। तर अघि भनिएजस्तै भाषा गतिशील हुन्छ। आज लेखिएको शब्द दशवर्षमा अर्को भइसक्छ। त्यसका कतिपय शब्दको स्तरान्नति हुन्छ भने कति शब्द खस्किन्छ। पितृकार्यको प्रयोग हुने श्राद्ध शब्द अहिले आदरभावमा पनि प्रयोग हुन्छ।

हिजो ऋषिमुनिहरु जसले पढाउँथे। उनीहरु गुरु हुन्थे। अहिले गाडी चलाउन सिकाउने, कम्प्युटर चलाउन सिकाउने, लुगा सिलाउने, नाच्न– खेल्न सिकाउने सबै गुरु हुन्। शब्द यसरी खस्किन्छ पनि।

अंग्रेजी संसारकै चलायमान भाषा हो। यसमा पनि प्रशस्तै गतिशीलता छ। तर यसको मर्मतसंहारको त्यति बहस सुनिदैन। नेपाली भाषाको धेरै सुनिनुको कारण के हो ?
अंग्रेजी भाषा पनि संशोधन भइरहेका छन्। सन् १९४८ देखि यता अक्सफोर्ड डिक्सनेरी २५ पटक बढी संशोधन भइसकेको छ। हिजो प्रयोग भएका शब्द आज विस्थापित भएका छन्। त्यहाँको विवाद हामीले थाहा नपाएको हो।

बेलायतको लण्डनमा बोल्ने अंग्रेजी र वेल्समा बोल्ने अंग्रेजी फरक छ। अमेरिकी र अष्ट्रेलियन अंग्रेजी मिल्दैन। लण्डनको अंग्रेजीले मेनचेस्टरको अंग्रेजीलाई होच्याएको छ।

काठमाडौंमाबासीले सुदूपश्चिमेली भाषालाई जिस्काएको जस्तो। त्यो राम्रो होइन। अंग्रेजी भाषामा पनि भेरियसन छ।
तर नेपालमा भाषाको स्तरीय रुपको खोजी भइरहेको छ। त्यसको लागि देशको संस्कृति, शिक्षा प्रणाली, पठनपाठन र रहनसहनले प्रभाव पार्छ। बोर्डिङ स्कुल जहाँ नेपाली शब्द उच्चारण गर्दा बच्चालाई फाइन तिराउँछ, त्यहाँ लगेर पढाउने। अनि नेपाली भाषा आफूले जस्तै बोल्न सकेन भनेर पीर गरेर भएन।

दुई महिना अगाडि अदालतले नेपाली बोल्दा फाइन नतिराउन निर्देशन दिएको छ। आफ्नो भाषा बोल्न अदालतले निर्देशन दिनुपर्ने कस्तो नीति होला ? नेपाली बच्चा, नेपाली बाउआमाले पाएको बच्चा, नेपालको स्कुलमा नेपाली बोल्दा सजाय गर्ने देश नेपाल हो। विरोधाभाष अभिभावकसँग छ।

नेपाली नबिगारीकन पनि अंग्रेजी सिकाउन सकिनेछ भन्ने बोध भएको दिन नेपाली भाषा उत्कृष्ट बन्नेछ।

भाषा भनेको बुझ्नु त हो भनिन्छ त ?
बुझे पुग्यो भन्ने कुतर्क हो। भाषाको मानक, स्तर भत्किदै जान्छ। संकेत तथा इसारा पनि बुझिन्छ। त्यसो त आवाज पनि निकाल्न पर्दैन। कसैले चिमोट्यो भने महसूस हुन्छ। के अब भाषा चाहिँदैन ?यस्ता खालका तर्कले भाषालाई विरुप बनाउँछ। संविधान र कानुन विना देश कस्तो हुन्छ ? भाषा विनाको मानव जीवन त्यस्तै हुन्छ। गाडीहरुलाई ट्राफिक रुल गरिएन भने के हुन्छ ? व्याकरण भनेको ट्राफिक नियम हो। जसले भाषालाई रुल गर्छ।

भाषा के हो ?
विचार विनिमयको माध्यम हो। तपाईले प्रश्न गरिरहनुभएको मैले बुझेको छु। मेरो उत्तर तपाईले बुझ्नुभएको छ। तपाई र मबीच विचार आदानप्रदान गर्ने माध्यम भाषा हो। यसका निश्चित नियम छन्। भाषा अनुशासनमा हिडाउने पद्धति पनि हो। ह्रस्वदिर्घ जान्दैन। अधिकांश शुद्ध लेख्न सक्दैनन्।

नेपाली हिज्जे वर्णविन्यासलाई अतिनै जटिल बनाइएको छ। आधुनिक चिन्तनले बुझे भइहाल्यो भन्नेमा छन्। जसले अंग्रेजीतिर तन्काउने। शास्त्रिय चिन्तन गर्नेहरुले संस्कृततिर तन्काउदै लगे। कैचीको धारमा नेपाली भाषा परेको छ। त्यसकारण भद्रगोल भएको छ।

यसको समाधानतिर लागौ। दामोपालको अभिलेख हेर्ने हो भने नेपाली भाषाको इतिहास एक हजार वर्ष पुरानो छ। गोरखापत्र छापिएको ढेडसय वर्ष पुग्यो। यो समयमा भाषा सहि बनाउन विभिन्न आन्दोलन, बहस शब्दकोष र व्याकरण बन्यो। प्रज्ञा प्रतिष्ठानले बृहत शब्दकोष बनायो तर शुद्धता भएन।

सूचना प्रवधि एआइसम्म आइसक्यो। कागजी रुपमा मात्रै बहस गर्नुभन्दा ह्रस्वदिर्घ, तर्कुले, वरदानेमा अब अल्झिनु भएन। अब डिभाइसले नेपाली भाषा चिन्छ। नेपालीमा अब स्पेल चेकर(शब्द जाँच) बनाउन पर्यो। अंग्रेजी शब्द गतल टाइप गर्दा डिभाइडरले सच्याएर पठाउछ। हामीले यस्तै एप्लिकेसन बनाउनुपर्छ। प्रज्ञा प्रतिष्ठान, भाषा विज्ञान केन्द्रिय विभाग, भाषा आयोग,त्रिवि र अनुसन्धानकर्ता सबैको सहकार्यमा बनाउनुपर्छ। पावरफुल नेपाली स्पेल चेक एप्लिकेसन बनाउनुपर्छ। नबनाउने हो भने यस्तै ह्रस्व र दिर्घमै भइरहेको बहस निरन्तर चलिरहन्छ।

पाठ्यपुस्तकदेखि सञ्चारमाध्यमसम्म भाषा अशुद्ध छ। कमीकमजोरी कसले गरिरहेको हो ?
स्कुल तहको पाठ्यपुस्तको भाषा हेरिनसक्नु छ। पाठ्यक्रम निजी र सरकारी तहबाट छापिन्छन्। दुर्भाग्य दुवै धोस्त छन्। निजीस्तरका पाठ्यक्रम लेख्नेहरु जो छन्। तिनीहरु लोकसेवा परिक्षा फेल, मिडियाले पनि नपत्याएका, वेरोजगार जो सडकमा पुग्ने स्थिति भएपछि किताब लेख्न थाल्छ। सरकारी पाठ्यक्रम विकास केन्द्रले शिक्षामन्त्रीको पार्टीको कार्यकर्ता हुन्छन्।
त्यस्ता व्यक्तिहरुले लेखेका किताब हाम्रा बच्चाहरुले पढ्नुपरेको छ। कतै ७५ जिल्ला कतै ७७ जिल्ला लेखिएको किताब बच्चालाई पढाइएको छ। देशलाई टुक्राटुक्रा पार्नु संघीयता हो भनेर एउटा किताबमा लेखिएको रहेछ।

सेन्सर खै ? यसलाई नियमन गर्ने कसले ? त्यस्ता किताब पास नगर्ने नियमन निकायको अभाव हो। पाठ्यपुस्तक लेख्नेको क्षमता हेर्नुपर्छ। पाठ्यपुस्तकमाथि धोका, बेइमानी भइरहेको छ। बच्चालाई मिसइन्फरमेसन दिनु अपराध हो। सरकारले छापेको किताबमा समेत बेइमानी भइरहेको छ। मिडियाको उस्ते धोस्त छ। सामाजिक सञ्जालमा शुद्ध खोज्ने सवालै भएन।

भाषालाई लिकमा ल्याउन कसको भूमिका कस्तो अपेक्षित छ ?
सामाजिक सञ्जाल र सञ्चारमाध्यमले खबरदारी गरिराख्या छन्। तर खबरदारी पुगेको छैन। हिजो बनेको निति परिवर्तन भएको छैन। शिक्षा निति परिवर्तन भएन। अब परिवर्तन हुन बाध्यकारी बनाउनुपर्यो। आशा गरौ, कुनै राम्रो शिक्षामन्त्रीले यो काम गर्नुहोला।

यसलाई लिकमा ल्याउन भाषाको उपभोक्ता नै सचेत हुनुपर्छ। दोस्रो लेखक सचेत हुनुपर्यो। भाषा निमार्ण गर्ने सरकारी निकाय साझा प्रकाशन, प्रज्ञा प्रतिष्ठान, भाषा आयोग, विश्वविद्यालय, मिडियाले सचेत हुनुपर्यो। भाषा राम्रो हुदाँ देशको संस्कृति, शिक्षा राम्रो हुन्छ। कुनै देशको विघटनतिर लानुपर्यो भने उक्त देशको भाषामाथि आक्रमण हुन्छ। त्यसकारण भाषा अत्यन्त संवेदनशील हो।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ८ : ५३ बजे

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।