म्याग्दीमा पशुपालन गर्नेको संख्या घट्दै « Khabarhub

म्याग्दीमा पशुपालन गर्नेको संख्या घट्दै


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी–  वैदेशिक रोजगारी, युवा पुस्तामा पशुपालनप्रति आकर्षण नहुनुलगायत कारणले पछिल्लो समय जिल्लामा पशुपालन गर्नेको सङ्ख्या घट्न थालेको छ । 

युवाहरू अवसरको खोजीमा जिल्ला तथा मुलुक बाहिर जाने, गाउँघरमा ज्येष्ठ नागरिक मात्र हुने, वनजङ्गलमा आहारको कमीलगायत कारणले पशुपालन गर्नेको सङ्ख्या घट्न थालेको हो । 

जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार म्याग्दीमा पछिल्ला केही वर्षयता गाई र भेडा, बाख्रासँगै पशुपालक किसानको सङ्ख्या पनि घट्दै गएको छ । 

युवाहरू शिक्षा, रोजगारीको खोजीमा विदेशिने, गाउँघरमा भएका जेष्ठ नागरिक वनजङ्गलमा पुगेर पशुको आहरा व्यवस्थापन गर्न नसक्ने, वनमा आहार अभाव हुनेलगायत कारणले पशुपालक किसानको सङ्ख्या घट्दै गएको केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले बताए । गाउँघरमा घुम्तीगोठ सञ्चालन गर्न नसकेपछि पशुपालन पेसाबाट पलायन हुने क्रम बढेको उनको भनाइ छ ।

‘युवाहरू विदेश पलायन हुँदा पशुपालन पेसा विस्थापित हुने मुख्य चुनौती बनेको छ’, रेग्मीले भने, ‘पशुपालनमा युवा वर्गको आकर्षण छैन, गोठ र फार्म सञ्चालन गरेका किसान पनि पेसाबाट विस्थापित भएर विदेश पलायन भएका छन् ।’

आर्थिक वर्ष २०७९/८० मा १८ हजार ५६७ भेडा र ६१ हजार ४२४ वटा बाख्रा रहेका म्याग्दीमा आव २०८०/८१ मा भेडा १७ हजार ५६५ र बाख्रा ६० हजार ४२३ मा झरेको केन्द्रले जनाएको छ । 

सबैभन्दा बढी गाईगोरु पालक किसान घटेपछि आव २०७९/८० मा १९ हजार ९८९ वटा गाईगोरु, तीन सय ६२ वटा याकनाक रहेकामा आव २०८०/८१ मा १७ हजार ७९ वटा गाईगोरु र तीन सय १५ वटा याकनाक रहेका केन्द्रका सूचना अधिकारी रेग्मीले जानकारी दिए ।

घरायसी दूध, घ्यू उपभोगका लागि घरघरमा भैँसीपालन गर्ने चलन कायम रहेकाले भैँसीको सङ्ख्या स्थिर देखिएको छ । पछिल्लो दुई वर्षमा म्याग्दीमा पालिएका भैँसीको सङ्ख्या २५ हजार १४५ रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।  

अघिल्लो पुस्ताका मानिस वृद्धवृद्धा भएपछि घुम्तीगोठमा बर्खामा लेक र हिउँदमा बेँसी गरेर ठूलो सङ्ख्यामा पशुपालन गर्ने क्रम घटेको हो ।

धवलागिरि गाउँपालिका–३ मुनाका ८० वर्षीय लिलबहादुर पुनले छोरानातीले चासो नदेखाएपछि चार पुस्ता अघिदेखि घुम्तीगोठमा गर्दै आएको भेँडाबाख्रा पालनबाट विस्थापित हुनुपर्ने अवस्था आएको बताए ।

बजार क्षेत्रमा पशुपालन भन्दा अन्य पेसा, व्यवसाय वा विदेशतर्फ आकर्षण बढ्दा व्यावसायिक पशुपालनमा यसको असर परेको उनको भनाइ छ ।

“दुई वर्षअघि बेनी बजारमा अर्थुङ्गे, घतान, सिङ्गा, पात्लेखेतबाट दैनिक ४० जना किसानले मोटरसाइकलमार्फत दूध ल्याउने गर्दथे । अहिले त्यो सङ्ख्या घटेर २० जनामा झरेको छ”, केन्द्रका सूचना अधिकारी रेग्मीले भने । 

बेनीका व्यावसायिक दूध उत्पादक कृषक सुरेश ढुङ्गानाले पशुपालक कृषकलाई यो पेसामा टिकाउन राज्यले उचित नीति र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । यसो हुन नसके पशुजन्य उत्पादन घट्नुका साथै आयात बढ्ने जोखिम रहेको उनले बताए । उत्पादनमा आधारित अनुदान, दाना र दूध ढुवानीका लागि सहज सडकको सुविधा र बजारको सुनिश्चितता हुनुपर्ने उनले उल्लेख गरे ।  
 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १ : ५१ बजे

विश्वकप क्रिकेट लिग–२ : अमेरिकाले ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज

एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने

काठमाडौँ– नेकपा एमालेको आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लाले च्याम्पियन्स लिग खेल्ने पक्का

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई हराउँदै एस्टन भिल्लाले अर्को

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति

अनलाइनमार्फत घरमै नक्सा प्राप्त

भोजपुर– प्रविधिको तीव्र विकाससँगै अब घरमै बसेर जग्गाको नक्सा प्राप्त