काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार हङकङमा भेटवार्ता भएको छ ।
विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षकका रूपमा सहभागी हुने क्रममा डा. राणा र समकक्षी वाङबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा नेपाल-चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारसहित यस वर्ष दुवै देशले मनाइरहेका नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षबारे कुराकानी भएको छ ।
भेटका क्रममा मन्त्री राणाले नेपालले चीनसँगको सम्बन्धलाई महत्व दिँदै आएको प्रसंग उल्लेख गरिन् । उनले एक असल मित्रराष्ट्रका रुपमा नेपालको आर्थिक, सामाजिक विकासका क्षेत्रमा लामो समयदेखि चीनले गरेको सहयोग र समन्वयका लागि विदेशमन्त्री वाङमार्फत् चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद दिइन् ।
आगामी दिनमा पनि आर्थिक, प्राविधिक, प्रविधि हस्तान्तरण एवम् प्रत्यक्ष वैदेशिक लगानी लगायत विविध क्षेत्रहरूमा चिनियाँ सहयोगको निरन्तरताको अपेक्षा नेपालले गरेको मन्त्री राणाले बताइन् ।
त्यस अवसरमा मन्त्रीराणाले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रही आएको दोहोर्याउँदै नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिइने कुरामा नेपाल अडिग रहेको पनि स्पष्ट गरिन् ।
मन्त्री राणाले नेपालले हालै सम्पन्न गरेको सगरमाथा संवादमा चीनबाट भएको प्रतिनिधित्वका लागि चीन सरकारलाई विशेष धन्यवाद दिएका छन् ।
भेटका क्रममा नेपाल-चीनबीच केही वर्षयता भइरहेका उच्चस्तरीय भ्रमणबारे चर्चा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत डिसेम्बरमा गरेको चीनको औपचारिक भ्रमण र सहमति एवम् सम्झौताहरूको कार्यान्वयबारे पनि कुराकानी भएको थियो ।
यस वर्ष नेपाल र चीनले कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइरहेकाले यसै नेपाल भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङलाई मन्त्री राणाले निमन्त्रणा पनि दिए ।

दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षका अवसरमा सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाइएकाले यस वर्ष नेपालमा बढीभन्दा बढी चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाल इच्छुक रहेको पनि मन्त्री राणाले त्यस भेटका क्रममा बताए ।
भेटका क्रममा चिनियाँ विदेशमन्त्री वाङले नेपालले हालै गरेको सगरमाथा संवाद सफलतापूर्वक सम्पन्न गरेकोमा मन्त्री राणामार्फत् नेपाल सरकारलाई बधाई दिए ।
उनले जलवायु परिवर्तन र यसको असरलाई कम गर्ने तथा वातावरण संरक्षण गर्ने क्षेत्रमा आगामी दिनमा नेपालसँग सहकार्य गर्न चीन तयार रहेको बताए ।
वाङले चीनले नेपाललाई दिँदै आएको सहयोग आगामी दिनमा निरन्तर रहने बताउँदै चीनको समन्वयमा स्थापना हुने मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय संगठनमार्फत् आगामी दिनमा नेपालसँग पनि समन्वयका साथ अघि बढ्न सकिने बताए ।
विदेशमन्त्री वाङले प्रधानमन्त्री ओलीको चीन भ्रमणका भएका सहमति र सम्झौता कार्यान्वयन गर्न मन्त्री राणामार्फत् नेपाल सरकारलाई आग्रह गरे।
मन्त्री डा राणाले दिएको नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गर्दै आफू उचित समयमा आउने उनले बताएका थिए ।
मन्त्री वाङले नेपालको कूटनीतिक क्षेत्रमा हाल मन्त्री राणाको नेतृत्वमा भइरहेका र अघि सारिएका कार्यक्रमको प्रशंसा गर्दै विश्व महिला नेतृत्वसम्बन्धी फोरममा सहभागिताका लागि चीन सरकारका तर्फबाट विशेष निमन्त्रणा पनि दिए ।
प्रतिक्रिया