युवासंघमा जित्नेलाई बालुवाटारमा लड्डु, प्रतिस्पर्धा गर्नेहरूलाई ओलीको बेवास्ता ! | Khabarhub Khabarhub

युवासंघमा जित्नेलाई बालुवाटारमा लड्डु, प्रतिस्पर्धा गर्नेहरूलाई ओलीको बेवास्ता !


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओलीबाहेक अन्य कुनै नेताको गुट छैन । दशौँ महाधिवेशनमा प्रतिस्पर्धा गरेका तत्कालीन उपाध्यक्ष डा. भीम रावललाई पनि गत पुस १० गते ओलीले पार्टीबाट निकालिसकेका छन् ।

नवौँ महाधिवेशनमा पराजित माधवकुमार नेपाल, अर्का नेता झलनाथ खनाल र तत्कालीन उपाध्यक्ष वामदेव गौतम पनि एमालेमा छैनन् ।

ओलीलाई टक्कर दिने अन्य नेता नहुँदा पनि एमालेमा अहिले माथिदेखि तलैसम्म सकेसम्म प्रतिस्पर्धालाई रोक्ने कोसिस भइरहेको छ । मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ले पार्टीको लोकतन्त्रीकरण, आन्दोलनको लोकतन्त्रीकरण र समाजको लोकतन्त्रीकरणसम्न्धी मान्यताको ब्याख्या गरेको छ । जहाँ सेवा, संघर्ष, प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने नीतिमार्फत् संगठनात्मक जीवनलाई व्यवस्थित गर्नुपर्छ भनेर व्याख्या गरिएको छ ।

तर, जबजलाई नै मूल मन्त्र मानेको एमालेमा अहिले पार्टीकै प्रदेश कमिटी, जिल्ला कमिटी हुँदै जनवर्गीय संगठनहरूमा पनि सर्वसम्मतका नाममा लोकतान्त्रिक प्रतिस्पर्धालाई निषेध गरेर नेतृत्व चयन गर्ने अभ्यास चलिरहेको छ । यसले प्रतिस्पर्धाको अभ्यास संकटमा पर्दा एमालेको लोकतान्त्रिक चरित्रमाथि पनि प्रश्न उठ्न थालेको छ ।

जबजको योग्यता र क्षमता प्रदर्शन गर्दै – प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्दै अगाडि बढ्नुपर्ने त्यही सिद्धान्तलाई बेवास्ता गर्दै एमाले नेताहरूले २०८१ फागुनयता महाधिवेशन भएका एमालेका ११ वटा जनवर्गीय संगठनमा सर्वसम्मतका नाममा निर्वाचन कार्यक्रमलाई निषेध गरेर नेतृत्व छानिसकेका छन् ।

नयाँ नेतृत्वका लागि महाधिवेशनको लाइनमा रहेको राष्ट्रिय युवा संघ मात्रै त्यस्तो संगठन बनेको छ, जसको नेतृत्वमा क्षितिज थेबेले चुनावी प्रतिस्पर्धाबाट दोस्रो कार्यकाल पक्का गरेका छन् ।

उनलाई युवासंघबाट बिदा हुनुअघि महासचिव पदमा रहेका सुमन पुरीले कडा टक्कर दिएका थिए । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जेठ ९ गतेदेखि पोखरामा भएको युवासंघको दशौँ महाधिवेशनमा थेबेलाई सर्वसम्मत अध्यक्ष बनाउन बल गरेका थिए ।

ओलीले बालुवाटारबाटै थेबेलाई सर्वसम्मत रुपमा अध्यक्षमा दोहोर्‍याउन जनसंगठन समन्वय संयन्त्रका संयोजक ढकाल, पूर्वअध्यक्ष महेश बस्नेत र युवा संघका इन्चार्ज राजीव पहारीलाई निर्देशन दिएका थिए ।

ओलीको निर्देशनअनुसार नेताहरूले सर्वसम्मतका नाममा निर्वाचन नगर्ने कयौँ कोसिस गरे । तर सुमन पुरीले आफू हार्न तयार रहेको तर निर्वाचनमा जानैपर्ने अडान लिए । त्यहीकारण चार दिनसम्म चलेको युवासंघको महाधिवेशन निर्वाचनमा पुगेर थेबे नेतृत्वमा दोहोरिए ।

बालुवाटारमा मध्यराति लड्डु

ओलीले युवासंघमा निर्वाचन नै हुने अवस्था आएपछि ‘जसले जित्छ, उही मेरो नेता’ भनेका थिए । अहिले जित्ने पदाधिकारीहरूलाई बालुवाटारमै बोलाएर लड्डु खुवाएका ओलीले पराजितलाइ भने वास्तै नगरेको गुनासो आइरहेको छ ।

नेतृत्वमा दोहोरिएपछि निवर्तमान महासचिव पुरीले प्रतिस्पर्धामा उत्रिँदा आफ्नो पक्षमा नतिजा नआएको भन्दै थेबेसहितलाई बधाई पनि दिए । उता थेबेले प्रतिस्पर्धाबाट भए पनि अध्यक्षमा दोहोरिएको भन्दै खुसी व्यक्त गरे ।

थेबेलाई अध्यक्षमा दोहोर्‍याउन सकेकोमा सबैभन्दा खुसी थिए एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य एवम् युवासंघमा पूर्वअध्यक्ष महेश बस्नेत र इन्चार्ज राजीव पहारी ।

उनीहरू बिहीबार मध्यराति उक्त खुसी बाँड्न थेबेसहित युवासंघका नयाँ पदाधिकारीलाई लिएर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे ।

त्यहाँ युवासंघकी पूर्वअध्यक्ष निरू पाल, किरण पौडेलदेखि अर्का नेता गोविन्द थापा पनि देखिए । बालुवाटारमा युवासंघका नवनिर्वाचित पदाधिकारीसहित अन्य नेतालाई लड्डुसमेत बाँडियो ।

प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले उनीहरूलाई लड्डु बाँडे । उक्त लड्डु प्रधानमन्त्री ओलीले खुवाउँदै गरेको तस्बिर पूर्वअध्यक्ष बस्नेतले सामाजिक सञ्जालमा हालेर खुसीसमेत साटेका छन् ।

उनले युवा संघ नेपालको महाअधिवेशन सफलतापूर्वक सम्पन्न भएकाले खुसी साट्न बालुवाटार पुगेको उल्लेख गरेका छन् ।

‘युवासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा भेटघाट राति साढे २ बजेसम्म चल्यो’, बस्नेतले लेखेका छन्, ‘भोक लागेकै कारण आफ्नै हातले मिठाइ खुवाउनु भयो । यो आत्मीय व्यवहारले प्रधानमन्त्री केपी शर्मा ओली सबैका अभिभावक बन्न सफल हुनुभएको हो।’

प्रतिस्पर्धा गरेका पुरीलाई बेवास्ता

बालुवाटारबाट सार्वजनिक तस्बिरमा जनसंगठन समन्वय संयन्त्रका संयोजक ढकाल पनि थिए । तर, उनी नेतृत्वको टोली बालुवाटार पुग्दा थेबेसँग प्रतिस्पर्धा गरेको समूहलाई भने पूरै बेवास्ता गरिएको छ ।

‘बालुवाटारमा लड्डु बाँडेको तस्बिरले पोखरामा युवासंघ र कांग्रेसनिकट तरुण दलबीच चुनावी प्रतिस्पर्धा भएको जस्तो सन्देश दियो’, महाधिवेशनका क्रममा पदाधिकारीमा पराजित एक नेताले भने, ‘पार्टीमा लोकतान्त्रिक प्रतिस्पर्धा हुनु स्वभाविक हो । तर पोखरा महाधिवेशनमा प्रतिस्पर्धा गरेर पराजितहरूलाई अध्यक्ष तथा प्रधानमन्त्रीले बेवास्ता गर्दा राम्रो सन्देश गएन ।’

पोखरा महाधिवेशमा प्रतिस्पर्धा गरेर बाहिरिएका कसैलाई पनि समन्वय संयन्त्रका संयोजक ढकालले पनि बालुवाटार नबोलाएको ती नेताले बताए ।

‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई इगोका रुपमा लिने समस्या हाम्रो नेतृत्वमा देखियो’, युवा संघबाट बिदा भएका ती नेताले गुनासो गर्दै भने, ‘जित्नेहरूले पनि अर्को दलको संगठनलाई प्रतिस्पर्धामा हराएको जसरी प्रचार गरिरहेका छन् । अझै पनि निषेध गरेर अघि बढ्न खोजिँदैछ । त्यसलाई बालुवाटारले पनि मलजल गर्ने काम गर्दा दु:ख लागेको छ ।’

महाधिवेशनमा प्रतिस्पर्धा गरेर पराजित भएकाहरूलाई अभिभावकका रुपमा ओलीले संरक्षण गर्नुपर्ने नेताहरूको तर्क छ । तर बालुवाटारको दृश्यले त्यस्तो सन्देश नदिएको उनीहरूले गुनासो गरेका छन् ।

के भनेका थिए पुरीले ?

युवासंघको अध्यक्षमा पराजित पुरीले खुला प्रतिस्पर्धाको आस्था राख्ने युवाहरूको यो महाधिवेशनमा ठूलो जित भएको बताएका थिए ।

‘यसरी खुला प्रतिस्पर्धा हुनु नै राष्ट्रिय युवा संघ नेपालमा आस्था राख्नुहुने सबै सबै युवाहरूको ठूलो जित हो। यो यात्रामा म केवल पदको लागि होइन, विचार, मूल्य र परिवर्तनको पक्षमा उभिएको थिएँ। यात्राको हरेक पाइला हार होस् वा जित सङ्गठनमा आन्तरिक लोकतन्त्र बलियो बनाउने आधार बनेको छ र म गर्वका साथ भन्छु,’ उनले भनेका थिए, ‘म त्यो प्रक्रिया र विचारको हिस्सा बन्न पाएँ, जनताको बहुदलीय जनवादलाई सङ्घमा उत्कृष्ट प्रयोग गर्नका लागी आवाज उठाए, जुन मेरो लागि जितभन्दा कम छैन। हामी सबैको यो कदमले सङ्गठनभित्र बहस, विकल्प र परिपक्वताको नयाँ ढोका खोलेको छ ।’

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ६ : २८ बजे

सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धुम्रपान तथा सुर्तीजन्य पदार्थको

शेखर कोइरालाले भने : कांग्रेसको नेतृत्वमा सरकार नबनेसम्म देशको विकास हुन्न

खोटाङ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली जनताको

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बैतडी – बैतडीमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

फेवातालको सीमाङ्कन गर्न पोल गाडिँदै

कास्की – पोखराको पर्यटकीयस्थल फेवातालमा सीमाङ्कन गर्न सुरु भएको छ

बढ्यो डिजेल र पेट्रोलको मूल्य, लिटरको कति पुग्यो ?

काठमाडौं – नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य