बाम्का बजार आगलागी : पीडितलाई एक करोड राहत, पुनः स्थापनामा जुट्दै व्यापारी | Khabarhub Khabarhub

बाम्का बजार आगलागी : पीडितलाई एक करोड राहत, पुनः स्थापनामा जुट्दै व्यापारी


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

धनगढी– बाजुराको बाम्का बजारका आगलागी पीडितका एक करोड बढी राहत सहयोग गरिएको छ । प्रदेश सरकार, स्थानीय तह, व्यापार व्यवसायी र अन्य साझेदार निकायबाट प्राप्त एक करोड बढी रकम राहत स्वरूप सहयोग गरिएको हो । राहत संकलन तथा व्यवस्थापन समितिका तर्फबाट पीडितलाई ६७ लाख ८२ हजार ८ सय ६७ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । 

बाजुराको बुढीगंगा नगरपालिका ६ बाम्का बजारमा जेठ २३ गते दिउँसो आगलागी भएको थियो । आगलागीबाट तेजबहादुर बोहरा, शेरबहादुर विष्ट, चन्द्र अयडी, धनबहादुर साउद, उद्वव थापा, छत्र थापा, रामबहादुर अयडी, दीपक साउद, तोयानाथ न्यौपाने, डम्मरा भट्टराई, तुल कटुवाल, शुशील थापा र सुनील बरालको पसल जलेर नष्ट भयो ।

पुष्कर शाह, रामचन्द्र गिरी, सरोज सार्की, नन्दु मिजार, मन नाथ, सोनि धामी, पवन बुढा, महारुद्र न्यौपाने, मनिराम पाध्याय र भुपाल थापाका पसलमा आंशिक क्षति भयो । पूर्ण र आंशिक क्षति भएका सबै २२ जनाका संकलन भएको राहत रकम हस्तान्तरण गरिएको समिति संयोजक एवं बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाले बताएका छन् ।

राहत स्वरूप संकलन भएको करोड बढी रकम चेकमार्फत बुझाइएको हो । जसमा समिति सहसंयोजक एवं त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापासहित सदस्यहरू सहभागी थिए । समितिका अनुसार हालसम्म ८३ लाख ६९ हजार ६ सय १७ रुपैयाँ नगद सहयोग गरिएको छ । 

जसमा बैंकमार्फत ६६ लाख २७ हजार ६ सय ३२ रुपैयाँ, नगद हस्तान्तरण १४ लाख ४० हजार ९ सय ८५, घोषणा भई बाँकी रहेको २ लाख ११ हजार र समितिमा नगद प्राप्त ९० हजार सहयोग रकम बुझाइएको हो । क्षति भएका पसलको पुनः स्थापनाका लागि करिब १८ लाख बराबरका आवश्यक सामग्री सहयोग भएको छ । 

आगलागी पीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले केही राहत सामग्री सहित ४० लाख नगद सहयोग गरेको छ । भने त्रिवेणी नगरपालिकाले १० लाख, बुढीगंगा नगरपालिकाले ५ लाख रकम सहयोग गरेको हो । जिल्लाका अन्य पालिकाले १।१ लाख सहयोग गरेका थिए । 

बाम्का बजारका व्यवसायीको पहलमा मात्रै पीडितका लागि ९ लाख ३ हजार २ सय ८० र बाजुरा उद्योग वाणिज्य संघको पहलमा ३ लाख ५४ हजार १ सय ५० रुपैयाँ संकलन गरी सहयोग गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाजुरा, गैर सरकारी संस्था र अभियन्ताहरुले पनि खाद्यान्न सहितका सामाग्री सहयोग गरेका थिए ।

थोरै भए पनि राहत स्वरूप सहयोग गर्न पाउँदा मन शान्त भएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन् । क्षति धेरै भएको छ, त्यो पुरा गर्न सक्ने अवस्था तत्काल छैन, तर पनि राहत स्वरूप सहयोग रकम वितरण गरिएको बानीयाँको भनाई छ । 

नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्केर आगलागी भएको थियो । एउटै पसलबाट सुरु भएको आगलागीले आधा बजार सखाप पा¥यो । १३ जनाले शरीरको कपडा बाहेक सम्पत्ति जोगाउन पाएनन् । नौ वटा पसलमा आंशिक क्षति भए । जोगाउन खोज्दा खोज्दै अरू दर्जनभन्दा बढी पसलमा पनि क्षति भयो । धन्न ! मानवीय क्षति हुन पाएन । 

घण्टा नबित्दै बाम्काका व्यापारीले १८ करोड रुपैयाँभन्दा बढी नगद, जिन्सी र संरचना गुमाए । बैङ्कमा राखेको धेरथोर बाहेक कोही कसैको केही बाँकी रहेन । उनीहरूको श्रीसम्पत्ति र सर्वस्व नै गुम्यो । क्षति ब्यहोरेका व्यापारीमध्ये अधिकांशको १० देखि २० वर्षको लगानी र आम्दानी सबै खरानी भएको थियो ।

जति क्षति बेहोरेका छन्, त्यो पूर्ति गर्न सकिने अवस्था छैन, तर तत्कालका लागि उहाँहरूका टहरा उठाउन सहयोग पुग्ने राहत दिन पाउँदा पनि खुसी लागेको भन्छन्, त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापा । उहाँले राहतका लागि आफूहरूको प्रयास जारी रहने बताएका छन् ।

घर र सम्पत्ति नै धितो राखेर बनाएका पसल र सुरु गरेको व्यापार खरानी भएपछि आफ्नो प्राण बाहेक उनीहरू खाली बनेका थिए । घरबार विहीन बनेको अवस्था थियो, तत्कालका लागि टहरा उठाउने रकम पाएकोमा पीडितलाई राहत महसुस भएको छ ।

बुढीगङ्गा र त्रिवेणी नगरपालिकाले संयुक्त सहकार्य गर्ने गरी राहत सङ्कलन तथा व्यवस्थापन समिति बनाएका छन् । बाम्कामा प्रयास बुढीगङ्गा र त्रिवेणीका व्यापारीको बसोबास छ । बुढीगङ्गाका नगरप्रमुख रामबहादुर बानियाँ र त्रिवेणीका नगरप्रमुख कर्णबहादुर थापा सहित ११ सदस्यीय समितिलाई राहत सङ्कलन तथा व्यवस्थापनको जिम्मेवारीमा छन् । 

आगलागीकै पछिल्लो दिन अवस्था बारे जानकारी लिन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे बाम्बा पुगेका थिए । संघिय सरकारबाट भने अहिलेसम्म कुनै राहतको प्याकेज न घोषणा गरिएको छ, न आउने विश्वास नै दिलाएको देखिन्छ । 

पूर्ण क्षति भएकोका हकमा तत्काल टहरा निर्माण, बसाइ व्यवस्थापन र दैनिक खानपिनका लागि प्रतिपरिवार तीन लाख र आंशिक क्षति भएकाको हकमा ५० हजार रुपैयाँ राहत सुरुमै उपलब्ध गराइएको थियो । हाल बाम्कामा टहरा उठ्न थालेपछि बजार संरचनाको स्वरूप पुरानै अवस्थामा देखिन थालेपनि टहरा उठेका छन्, तर खाली छन् । उनीहरूको आश पनि सकिएको जीवन मुक्तिका लागि राज्य पक्ष जिम्मेवार भइदियोस् भन्ने नै छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ६ : ३६ बजे

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस

फुड सप्लिमेन्टमा कालोबजारी, पाँच गुणा बढी रकम असुल्ने पक्राउ

पर्सा – पोषण पूरक औषधि (फुड सप्लिमेन्ट औषधि)को पाँच गुणाभन्दा