मधेशका लागि आपत्कालीन कार्ययोजना, तत्काल राहत दिन ऊर्जामन्त्रीको निर्देशन | Khabarhub Khabarhub

मधेशका लागि आपत्कालीन कार्ययोजना, तत्काल राहत दिन ऊर्जामन्त्रीको निर्देशन


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेशप्रदेशका आठ जिल्लामा परेको खडेरीका कारण सिँचाइ एवं खानेपानी समेतको समस्या भएपछि सरकारले ‘विपद्’ को रूपमा लिएसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको उच्चस्तरीय कार्यदलले तयार पारेको प्रतिवेदन ऊर्जामन्त्री खड्कालाई बुधबार बुझाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्रतिवेदन बुझ्दै कार्यदलले दिएको सुझावलाई तत्काल कार्यान्वयन गर्ने र राहतदेखि सिँचाइका कामहरू सुरु गर्न निर्देशन दिए । 

उनले भने, ‘अब ढिलो गर्नु भनेको जनताको भरोसा गुमाउनु हो । यो विषय सरकारको कार्यसूचीको पहिलो प्राथमिकतामा हुनेछ ।’

तराई मधेश देशको अन्नको भण्डार रहेको भए पनि समयमै पानी नपर्दा सिँचाइ देखि खानेपानीको अभाव हुनु गम्भीर चिन्ताको विषय रहेको भन्दै ऊर्जामन्त्री खड्काले विपद्‌लाई योजनामा होइन, किसानको खेतमा सिँचाइ सुविधा पुग्ने गरी कार्यान्वयन गर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘आजै प्रधानमन्त्रीलगायत सम्बन्धित पक्षसँग कार्यदलले बुझाएको प्रतिवेदनको बारेमा छलफल गरी कार्यान्वयन गराउन लाग्ने छु ।  सिँचाइ सुविधा नहुँदा तराइमा मात्र नभई देशमै अन्नको संकट हुने हुँदा पीडित किसानलाई तत्काल सिँचाइ, बिउ-विजनलगायतको सेवा उपलब्ध गराउनु राज्यको पहिलो दायित्व भएकोले द्रुत गतिमा काम गर्न सबै लाग्नुस् ।’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह सचिव सुशील चन्द्र आचार्यको नेतृत्वमा कृषि तथा पशुपंछी मन्त्रालयका सहसचिव, कृषि विभागका महानिर्देशक, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकसहितको ६ सदस्यीय कार्यदल गठन गरेको थियो । 

सो कार्यदलले तयार गरेको प्रतिवेदनले मधेश प्रदेशमा भूजलको गिरावट, साना तथा मझौला सिँचाइ संरचनाको जीर्ण अवस्था, प्राविधिक जनशक्तिको अभाव, र सिँचाइको असमान पहुँच लगायतका विषयहरूलाई गम्भीर संकटका रूपमा उजागर गरेको छ । 

यससँगै स्थानीय तहसँगको समन्वय, कृषि मन्त्रालयसँगको सहकार्य र नीति कार्यान्वयनमा लचकता आवश्यक रहेको उल्लेख गरिएको छ ।

मन्त्रालयले तत्काल लागू गरिने केही प्राथमिक कार्यक्रमहरूको खाका पनि सार्वजनिक गरेको छ। जसमा खानेपानी आपूर्तिका लागि पानी ट्याङ्कर परिचालन, साना तथा मझौला ट्युबवेलहरूको मर्मत र पुनः सञ्चालन, सिँचाइ सामग्रीको सरल आपूर्ति प्रक्रिया निर्माण, भूजल रिचार्ज प्रविधिमा जोड र आधुनिक सिँचाइ विधिहरू जस्तै ड्रिप तथा माइक्रो इरिगेसन प्रणालीको विस्तार जस्ता विषय समावेश छन् ।

ऊर्जा मन्त्री खड्काले यस कार्य योजनालाई विपद्‌ व्यवस्थापनका साथ विकासको अवसरमा रूपान्तरण गर्ने एउटा मोडेलको रूपमा व्याख्या गरे । उनले भने, ‘अब हामी बहानाभन्दा समाधान चाहन्छौँ । पीडितलाई पानी पुर्‍याउने काममा ढिलाइ गर्नु गम्भीर अपराध हो ।’

प्रतिवेदन तयार पार्ने कार्यदलले प्रदेशका प्रभावित जिल्लाहरूमा स्थलगत अध्ययन गर्दै स्थानीय प्रतिनिधि, किसान, उपभोक्ता समिति तथा सरोकारवाला निकायसँगको छलफलबाट तथ्य संकलन गरेको जनाएको छ ।  

प्रतिवेदनअनुसार मधेशको सुख्खा समस्यालाई ‘नीति निर्माणदेखि कार्यान्वयनसम्म पुनरावलोकन गर्नुपर्ने’ आवश्यकतासमेत औँल्याइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ७ : २९ बजे

उद्यमीलाई प्रधानमन्त्रीले भने- हाम्रो देश हामीले नै बनाउने हो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान्

‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

पाटन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन

देशभरका सात राजमार्ग अवरुद्ध

काठमाडौं– मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग

दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनको गिरफ्तारी वारेन्ट जारी

सोल- दक्षिण कोरियाको एक अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योलका

आमरण अनसन बसेका मेयर अस्पताल भर्ना (तस्बिरहरू)

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि अनसनरत दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर तीर्थराज