प्रधानमन्त्रीसामु जेन–जीको प्रश्न, ‘एमालेको मति कहिले सुध्रिन्छ ?’ | Khabarhub Khabarhub

बालुवाटारको त्रिपक्षीय वार्ता

प्रधानमन्त्रीसामु जेन–जीको प्रश्न, ‘एमालेको मति कहिले सुध्रिन्छ ?’

व्यवस्था होइन, शासक फेर्न आन्दोलन गरेको जवाफ



काठमाडौं– गत भदौ २३ र २४ गतेको उथलपुथलपछि पहिलो पटक बुधबार जेन–जी प्रतिनिधि, उनीहरूकै बलमा बनेको अन्तरिम सरकार र राजनीतिक दलहरू आमनेसामने भए । प्रधानमन्त्री सुशीला कार्कीको पहलमा पहिलो पटक त्रिपक्षीय संवाद हुँदा घोचपेच पनि चल्यो ।

कतिपय अवस्थामा जेन–जीकै कुरा पनि बाझिन पुग्यो । शासक फेर्ने कि व्यवस्था भन्ने कुरामा जेन–जीकै मत बाझियो । त्रिपक्षीय यो संवाद पनि तीन कुरामा केन्द्रित थियो ।

१.संविधानको रक्षा गर्ने ।
२.जेन–जी आन्दोलनलाई संस्थागत गर्ने ।
३.निर्धारित समयमै निर्वाचन गर्ने ।

यी तीन कुरामा भएको ५ घण्टा लामो छलफलमा पहिले जेन–जीले आफ्ना कुरा राखे । त्यसपछि दलका प्रतिनिधि बोले । अन्तिममा प्रधानमन्त्री सुशीला कार्कीले सरकारको पहल र निचोडको व्याख्या गरिन् ।

यो बैठकमा १४ जना जेन–जी प्रतिनिधि थिए । ८ दलका २, २ जना प्रतिनिधि र सरकारबाट प्रधानमन्त्री कार्की, सञ्चार मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल र शिक्षामन्त्री महावीर पुन उपस्थित थिए ।

पहिलो पटक दलसँग संवादमा आएका जेन–जीले आफूहरू संविधान र व्यवस्थाविरुद्ध नरहेको बताए । ‘यो संविधान र व्यवस्थालाई रक्षा गरेर जान्छौँ । तर हाम्रो आन्दोलन संस्थागत गर्नुपर्छ । हाम्रा मुद्दा सम्बोधन गर्नुपर्छ’, उनीहरूले भने ।

बैठकमा एमालेबाट महेश बर्तौला र क्षितिज थेबेले संसद् पुनस्र्थापना गर्नुपर्ने कुरा राखेपछि जेन–जी र प्रधानमन्त्री प्रतिवादमा उत्रिए ।

कांग्रेसका प्रतिनिधि डा.प्रकाशशरण् महतले भने संसद् पुनस्र्थापनाको मुद्दा अदालतलाई छोडेर निर्वाचनको वातावरण बनाउनुपर्ने बताए ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र गुरुङ र माहनकुमार श्रेष्ठले भने वर्तमान संविधान र व्यवस्था परिवर्तनको कुरा उठाए । नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले निर्वाचनमा जानुपर्ने धारणा राखे ।

एमालेविरुद्ध खनिए प्रधानमन्त्री र जेन-जी

एमालेको तर्फबाट बैठकमा युवा संघका अध्यक्ष थेबे र पूर्वसांसद महेश बर्तौला सहभागी थिए । एमालेको पालोमा बर्तौलाले आफ्ना कुरा राख्दै संसद् पुनर्स्थापना हुनुपर्ने बताए ।

उनले संविधान र व्यवस्थामाथि नै प्रहार गरेर प्रधानमन्त्रीले नयाँ सरकार गठन गरेको भन्दै आपत्ति जनाए । ‘अहिले संविधान र व्यवस्थामाथि नै प्रहार गरेर नयाँ सरकार गठन भएको छ । नेकपाकालमा हाम्रा अध्यक्ष एवम् तत्कालीन प्रम केपी शर्मा ओलीले संसद् विगठन गर्दा अहिलेकै प्रधानमन्त्रीले यो असंवैधानिक भनेर व्याख्या गर्नुभएको थियो’, बर्तौलाले भने, ‘त्यतिबेला असंवैधानिक आफैँले मानिएको त्यही प्रक्रियाबाट बनेको सरकार अहिले कसरी संवैधानिक भयो प्रधानमन्त्रीज्यू ?’

बर्तौलाले यति भन्न नपाउँदै प्रधानमन्त्री कार्कीले संसद् विगठन ठिक नभएको भनेर फैसला नगरेको दाबी गरिन् । प्रधानमन्त्रीले त्यसबेलाको मुद्दा आफूले नहेरेको भन्दै पन्छिने कोसिस गरिन् । ओलीले प्रतिनिधिसभा विगठन गर्दा सर्वोच्च अदालतले पनि असंवैधानिक रहेको ठहर गरेको थियो ।

कार्कीले त्यसबेला प्रतिनिधिसभाग विघटनलाई सार्वजनिक रुपमै असंवैधानिक भनेकी थिइन् । तर बुधबारको बैठकमा बर्तौलासँगको नोकझोंकमा उनले आफ्नो सञ्चारमाध्यमलाई दिएको सार्वजनिक अभिव्यक्तिसमेत उनी स्वीकार गर्न तयार भइनन् ।

‘बर्तौलाजीले उठाएको कुरालाई प्रधानमन्त्रीले सामान्यीकरण गर्नुभयो,’ बैठकमा सहभागी एक नेताले खबरहबलाई भने, ‘प्रधानमन्त्रीले त्यो बेला असंवैधानिक हो भनेर सही त गर्नुभएको हो । तर किन मुद्दा हेरेको होइन भन्नुभयो, त्यो बुझिएन ।’

यसमै बर्तौला र प्रधानमन्त्रीबीच लामो सवाल जवाफ चल्यो। त्यसपछि बर्तौलाले ‘तपाईंले यो फैसला नगरे पनि मिडियामा त बोलेको हो भने ।’ त्यसपछि कार्कीले भनिन् ‘दुई चारजना ‘फतौरे पत्रकार’ले के लेखे मलाई थाहा छैन ।’

जेन–जीले सोधे, ‘एमालेको मति कहिले सुध्रिन्छ ?’

बैठकमा एमाले नेतासँग जेन–जीहरू पनि खनिए । पहिले चरणमा आठैजना जेन–जीले कुरा राखे । तर एमालेले संसद् पुनस्र्थापना हुनुपर्ने अडान लिएपछि दोस्रो चरणमा बोल्ने जेन–जी कड्किए । जेन–जी जेम्स कार्कीले ‘अरू पार्टी त सुध्रिन खोजेको देखियो, तर एमालेको कहिले बुद्धि आउँछ ?’ भनेर प्रश्न गरे ।

उक्त कुरामा अन्यले पनि सहमति जनाउँदै हल्ला गरे । यसमा रक्षा बमले पनि साथ दिइन् । ‘हाम्रो आन्दोलनलाई अरू पार्टीले स्वीकारेको देखिन्छ । तर, एमालेले अहिलेसम्म स्वीकारेको छैन,’ बमले भनिन्, ‘एमाले कहिले सुध्रिन्छ ? आफ्नो मति सुधार्नु पर्‍यो । सधैँ आफैँ राम्रो भनेर हुन्छ ? अरूको कुरा स्वीकार्नु पर्दैन ? सधैँ मैमत्ता भएर चल्दैन ।’

त्यसपछि उपार्जुन राई र सागर ढकालका लगायतले देशमा सुशासन नआउनु र भ्रष्टाचार बढ्नुमा एमालेसहित ठूला दल नै दोषी रहेको कुरा राखे । यस विकृतिलाई सुधारेर अगाडि नबढे देशले थप जटिलता निम्तिने दुवैले बताए ।

उपार्जुनले महेशलाई भने, ‘एमाले भन्ने दल निर्वाचनबाट किन भागेको हो ? कुन्नि कुन दलले त दुईदुई पटक संसद् विघटन गरेको थियो, कसले गरेको रहेछ ? त्यो दलका साथीहरू सायद यहाँ हुनुहुन्न क्यारे !’

‘व्यवस्था होइन, शासक फेर्ने आन्दोलन’

जेन–जी मिराज ढुङ्गानाले प्रत्यक्ष कार्यकारीको कुरा उठाएर व्यवस्था नै परिवर्तन हुनुपर्ने मत राखे । उनको कुराले राष्ट्रिय स्वतन्त्र पार्टी हौसिए । तर, उपार्जुनले वर्तमान संविधान र व्यवस्थाको विकल्प खोज्नु गलत हुने बताए अधिवक्तासमेत रहेका जेन–जी जेम्सले सहमति जनाए ।

‘साथीहरू र उपस्थित नेताहरूलाई भ्रम नहोस्, हामी यही व्यवस्था, यही संविधान टेकेर अगाडि बढ्छौँ । त्यसकै लागि हामीले फागुन २१ मा निर्वाचन भनेको हो । हामी संविधान मास्ने, व्यवस्था भत्काउने पक्षमा छैनौँ योजनामा छैन । यही संविधानबाट सुशासन र भ्रष्टाचार अन्त्य गर्न सकिन्छ’, उपार्जुनले भने, ‘जेन–जीहरु व्यवस्था र संविधान मास्ने योजनामा रहेछन् भन्ने भ्रम नहोस् । निर्वाचनभन्दा उत्तम विकल्प अरू छैन ।’

पहिलो पटक जेन–जीसँग मिसिएर बालुवाटार छिरेका सागर ढकालले पनि संविधान मान्दै निर्वाचनमा होमिन आग्रह गरे । उनले जेन–जी आन्दोलनलाई दबाउन खोज्नु अर्को प्रहार रहेको बताउँदै यस्तो प्रहार सह्य नहुने बताए ।

‘पटक–पटक कांग्रेस–एमाले गठबन्धनले देशमा नरसंहार गरेको छ । यसको जिम्मा कसले लिन्छ ?’, बैठकमा सागरले भने, ‘हाम्रो आवाज दबाउने कोसिस नगरियोस् । हाम्रो आन्दोलनलाई संस्थागत गरियोस् । यही संविधान र व्यवस्थालाई टेकेर आन्दोलन गरेको हो ।’

सुरू सौहार्द रुपमा छलफल भए पनि एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेपछि कुरो बिग्रियो । अन्तरिम सरकार गठन नै गलत भएको भनेपछि जेन–जी तातिए । उनीहरूले यो व्यवस्था मास्न नभई भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध आन्दोलन गर्नुपरेको जवाफ दिए । उनीहरूले भने, ‘हामीले गरेको आन्दोलन व्यवस्था होइन, शासक फेर्न गरिएको हो । यो व्यवस्थामाथि प्रहार गरिएको भनेर भ्रम नछरियोस् ।’

सम्पत्ति छानबिन गर्न दबाब

माओवादीबाट बोलेका नेता वर्षमान पुनले भ्रष्टाचार नियन्त्रण गर्न ०४६ पछि सार्वजनिक ओहोदामा पुगेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज उठाए । उनले उच्चस्तरीय संयन्त्र बनाउने कुरामा आफ्नो समर्थन र सहयोग रहने उल्लेख गरे ।

‘हामीले विगतमा पनि सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि काम गरेका थियौँ, आवाज उठाएका थियौँ । भ्रष्टाचार नियन्त्रण र सुशासनको एजेन्डामा हामी र जेन–जीबीच निकटता छ । त्यहीकारण यो आन्दोलनमा समर्थन रहेको हो,’ उनले भने ।

पुनले मुलुकलाई सही संवैधानिक प्रक्रियामा लाने बाटो निर्वाचनमार्फत् रहेको उल्लेख गरे । ‘सरकार निर्वाचनको तयारीमा लाग्नुपर्छ । विश्वसनीय वातावरण निर्माण गर्नुपर्छ । जेन–जी आन्दोलनका मागलाई सरकारले तत्काल सम्बोधन गरोस्, हाम्रो समर्थन छ’, उनले भने ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेन्डा लिएर माओवादी चुनावमा जाने उनले बताए । ‘हामी जेन–जीसँग पनि चुनावी सहकार्य गर्न चाहन्छौँ । हाम्रो तर्फबाट जेन–जीसँग निरन्तर संवाद जारी छ’, उनले भने ।

माओवादीले भनेको २०४६ पछि सार्वजनिक ओहोदामा बसेकाको सम्पत्ति छानबिन गर्न संयन्त्र बनाउने कुरामा अधिकांशको सहमति थियो । एमाले र कांग्रेसका प्रतिनिधि भने यसमा मौन रहे ।

प्रधानमन्त्री कार्कीले अन्तिममा सम्बोधन गर्दै सबैको फाइल खोलेर कारबाही हुनुपर्ने बताइन् । यसमा जेन–जी पनि सहमत भए ।

उनीहरूले उच्च ओहोदामा पुगेकाको सम्पत्ति छानबिन प्राथमिकता दिनुपर्ने कुरा राखे । जेन–जीले ३५, ४० वर्षदेखि सरकारमा बसेर सुशासन दिन नसक्ने तर आन्दोलनपछि कराउने दलहरूलाई पनि चोखो छु भन्ने नठान्न आग्रह गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ निशा डाँगीले सार्वजनिक पद धारण गरेकाहरूको सम्पत्ति छानबिन र भ्रष्टाचारको फाइल खोल्ने कुरामो सहयोग र समर्थन रहने बताइन् ।

प्रधानमन्त्रीले के भनिन् ?

बालुवाटारमा बुधबार आयोजित त्रिपक्षीय संवादमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा व्यक्त समापन मन्तव्य

म यहाँ रहरले आएकी होइन। राष्ट्रपति कार्यालयमा म, ओमजी (ओमप्रकाश अर्याल) र मेरो श्रीमान् थियौँ। मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ, मेरो विधा परेन भनेकी थिएँ। म यतातिर लाग्दिनँ भनेर त्यहाँबाट हिँडेकी पनि हुँ।

म त्यसरी हिँड्दा देशलाई यस्तो अफ्ठ्यारो परेका बेला, देशले खोजेका बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिज्यूले भन्नुभयो।

जेनजी युवाहरू मेरो घरैमा आएर अभिभावकत्व लिइदिन भन्नुभयो। प्रधानमन्त्री बन्नुपर्छ भनेर धरधरी रुनु पनि भयो।

मैले ती निर्दोष बालबालिका निधारमा गोली लागेर ढलेको सम्झिएँ। ती घाइतेहरूको अनुहार हेरेँ। मेरो साथमा जनता छन्, मैले केही गर्नैपर्छ भन्ने लाग्यो र एउटा अठोटसाथ अगाडि आएँ।

हामी सहिद परिवार, घाइते र ती प्रत्येक परिवर्तनकामी नेपाली युवाको आवाज सम्बोधन गर्न लागिपरेका छौँ। र, बलिदानी दिने सहिदका परिवार अनि घाइतेलाई पनि अलपत्र पार्दैनौँ। बोलेको पुर्‍याउँछौँ।

हामी चुनावमा केन्द्रित छौँ। प्रत्येक दिन यसैगरी छलफल र गृहकार्य गर्छौँ। कामको प्रगतिविवरण लिन्छौँ। समस्याहरु फुकाउन लागिपरेका छौँ। अविश्वासहरू चिर्दै विश्वासको वातावरण बनाउँदै छौँ, आत्मविश्वास उठाउँदै छौँ।

प्रहरीको मनोबल पनि बढ्छ। भागेका कैदीबन्दीहरू पनि समातिन्छन्।

३५ वर्षसम्म मनोबल गिराउन लागिपरेकाहरू अहिले मनोबलको कुरा गरिरहेको पनि देख्छु। भ्रष्टाचार, शोषण र विभेदले खस्काइएको मनोबल एकै महिनामा हामी कसरी उठाउँछौँ? तर, हामी मनोबल उठाउन लागेका छौँ, उठ्छ। किनकि, हामी सपार्ने दिशामा छौँ।

अब यहाँ विदेशीको कुरा पनि आयो। विदेशीले हस्तक्षेप गर्छ, यो गर्छ, त्यो गर्छ भन्ने कुरा पनि आयो। तर, यो तर्साउने हतियार मात्र हो। यहाँ मलाई एउटा पनि कोही विदेशीले आएर यसो गर र नगर भनेको छैन।

हामीहरू राजदूत सिंहदरबारमा भेट्छौँ, बालुवाटारमा भेटेका छैनौँ। अहिलेसम्म शिष्टाचार भेट मात्र भएको छ। काम विशेषले हुने भेट मन्त्रीज्यूहरूले गर्नुभएको छ। हामीलाई कुनै विदेशीले खोजेको पनि छैन। त्यसैले विदेशी हस्तक्षेपको कुरा गलत भाष्य हो।

अर्को कुरा यहाँको अनौठो चलन देखियो भने काम गर्न नदिने, अनि बातैपिच्छे काम गरेन भन्ने। हामी प्रयास गरिरहेका छौँ। हामी रोकिँदैनौँ। जतिसुकै बाधा र अवरोधहरू भए पनि फुकाउँदै अघि बढ्छौँ।

यहाँ न्यायाधीशका कुरा पनि उठे। संसद विघटनमा भएका निर्णयका पनि कुरा आए। के न्यायाधीशलाई सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्न संविधानले रोकेको छ? न्यायाधीश भइसकेको व्यक्ति चुनाव लड्न पाउँदैन भनेर संविधानमा लेखेको छ? भारतमा न्यायाधीशहरू सांसद, मन्त्री भएका छन्। यहाँ यो असामान्य परिस्थितिमा हुँदा किन प्रश्न? अचम्म छ।

कहिलेकाहीँ त लाग्छ, हाम्रो नेपाली समाज कुरैकुरामा मात्र बाँचेको छ। काम गर्नु छैन। अरू देशमा राजनीति गर्नेले खेती पनि गर्छ। तर, यहाँ राजनीति मात्र गरेको छ। राजनीति गरेरै आर्यघाट जाने।

मैले गोली लागेका ती रक्ताम्य युवा देखेको छु। गोलीको वर्षा भइरहेको त्यो जनसागरबीच नारा लगाइरहेका ती युवाको त्यसबेलाको भावभंगी देखेको छु। म त्यही सम्झेर काम गर्छु। मेरो प्रतिबद्धता यही छ।

म पहिलादेखि लडाकु हुँ। मेरा परिवारका अरु सदस्य पनि लडाकु स्वभावकै हुनुहुन्छ। हामी डराउँदैनौँ। भनेको पुर्‍याउँछौँ।

अनिलजी (अनिलकुमार सिन्हा) लाई अनुरोध गरेर ल्याएको (मन्त्री बनाएको) हुँ। उहाँजस्तो इमानदार र बझेको मान्छे हुँदा धेरै काम सहज भएको छ। हेर्दै जानुहोस्, हामीले केके गर्दै छौँ? हिजो थन्क्याएका फाइल खुलाउँदै छौँ। कति त समातिसकेका छन्। कतिलाई समात्दै छौँ। यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु। त्यो दृढताका साथ हामी अघि बढेका छौँ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ४ : ३८ बजे

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न