रास्वपामा नमिसिएका मिलन पाण्डेलाई प्रश्न : विवेकशीललाई फेरि पुनर्गठन गर्ने हो ? « Khabarhub

अन्तर्वार्ता

रास्वपामा नमिसिएका मिलन पाण्डेलाई प्रश्न : विवेकशीललाई फेरि पुनर्गठन गर्ने हो ?



विवेकशील नेपाली अभियान लिएर २०७० सालदेखि वैकल्पिक राजनीतिमा आएका मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकतामा गएनन् । दुई दलबीच एकता हुँदा विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटासहितका नेताहरू घण्टीघरमा जोडिए । तर पाण्डे भने समय राजनीति नगर्ने पक्षमा छन् । उनले रास्वपासँग एकता गर्नुलाई हतारको निर्णय भने । आज एउटा पार्टी र भोलि अर्को पार्टी पुग्ने चलन ठिक नभएको उनले बताएका छन् । पेशले सिभिल इन्जिनियर पाण्डे रास्वपामा जानुपरे साधारण सदस्य हुने बताउँछन् । आफू पदको बार्गेनिङ नगरी त्यहाँ जाने उनले बताए । विगत दुई वर्षदेखि विवेकशील साझा पार्टीको बैठक र अन्य कार्यक्रममा नगएका उनीसँग खबरहबले संक्षिप्त कुराकानी गरेको छ ।

किन रास्वपामा नजाने निर्णय गर्नुभएको ?

त्यो एकीकरण नकारात्मक भनेको छैन । म चाहिँ सामेल हुँदिन, एकीकरण त सकारात्मक हो भनिरहेकै छौँ नि ।

एकतामा सामेल नहुनुको कारण ?

आज एउटा पार्टीमा बस्यो, भोलि अर्कोमा जानेभन्दा केही समय कलिङ पिरियड लिनका लागि यो निर्णय गरेको हो ।

पहिलो कुरा : घरीघरी पार्टी परिवर्तन गर्नु राम्रो होइन । राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै कुरा र दस्तावेजका विचार पनि मिलेका छैनन् । उहाँहरूले पार्टीको विचारधारा के हो टुङ्गो लगाउनु भएको छैन ।

रास्वपा अझै पनि परिपक्व भएको छैन । मसँग त विवेकशील र साझा दुई पटक मिलेको, फुटेको तीतो-मिठो अनुभव छ । त्यही भएर केही समय सोच्ने तयारीमा छु । रास्वपा त राम्रो पार्टी हो । मेरो समर्थन छ । म रविजीलाई भेट्न गएदेखि नयाँ र वैकल्पिक शक्ति मिल्नुपर्छ भन्ने हो । तर म चाहिँ व्यक्तिगत रूपमा समय दिन्छु ।

दोस्रो कुरा : विचार, सिद्धान्त, मूल्य-मान्यता नमिली एकीकरण गर्नुभन्दा चुनावी गणबनधन ठिक छ । मोर्चा बनाएर गएको भए आफ्नो पहिचान हराउँदै थियो भन्ने बुझाइ हो ।

यहाँ अब विवेकशील बनाउन जाने कि चुप लागेर बस्ने ?

म केही न केही नगरी त बस्दिनँ । अहिलेलाई भन्दा वेट गर्छु । मेरो विचार, क्षमता र नेतृत्वको अनुभवले भ्याएसम्म केही निर्णय गरेर जान्छु ।

उसो भए विवेकशीललाई नै फेरि पुनर्गठन गरेर जाने हो ?

त्यो कुरामा त साथीहरूसँग छलफल गर्नुपर्छ । पार्टी नामको मात्रै पनि कुरा भएन । यात्राको कुरा हो, राजनीति भनेको के हुन्छ, कसो हुन्छ साथीहरूसँग छलफल गरेर निर्णय लिन्छु । तर राजनीति यात्रा छोड्दिनँ ।

तर यहाँ त कुलमान घिसिङसँग पनि सम्पर्कमा हुनुहुन्छ रे ? उता जाने तयारी पनि छ भन्छन् नि ?

मैले आजसम्म कुलमानजीलाई भेटेको छैन । उहाँले पनि चिन्नुहुन्छ होला, मैले पनि चिन्छु । फोनमा चाहिँ कुरा भएको हो । उहाँका साथीहरूसँग पनि कुरा भएको हो । निकै भयो उहाँलाई भेटेको छैन । अरू साथीहरूलाई पनि भेटेको छु । कुरा हुन्छ । तर अरु नै विषयमा ।

उसो भए उहाँको टिमसँग छलफलमा हुनुहुन्छ ?

सबैसँग छलफलमा छु । म यता-उता जाने भन्ने पक्षमा छैन । कुलमानको उज्यालो नेपाल र रास्वपा कतै जान्नँ । हिजोसम्म एउटा पार्टी, आज अर्को पार्टी, हिजोसम्म एउटा बोली, आज अर्को बोली गर्नुभन्दा केही समय सोचेर सम्झेर निर्णय लिन्छु । रास्वपामा जानुपरे साधारण सदस्य भएर जान्छु । किन पद चाहियो र ? मलाई मन परे साधारण सदस्य लिएर जानछु । अनलाइनमै छ । सजिलो छ ।

यहाँ रास्वपामा नजाने कुरा अगाडि नै जानकारी गराउनु भएको थियो पार्टीमा ?

म पार्टीमा एक तहको निष्क्रिय जस्तै हो । विकत एक-दुई वर्षदेखि केन्द्रीय कमिटी बैठकमा पनि गएको थिइनँ । म त निष्क्रिय जस्तै थिएँ । एक तहको मेरै सहमतिमा पनि यो निर्णय भयो नि । मैले केन्द्रीय कमिटी बैठकमा विरोध गरेको भए त दुईतिहाइ केन्द्रीय सदस्य साथीहरूले निर्णय गर्नुपर्ने थियो, त्यो त गाह्रो हुने थियो । मैले सहजीकरण गरेकै हो ।

नेतृत्व त अध्यक्षको, महासचिवको, उपाध्यक्षको थियो नि । मैले त्यसलाई सहजीकरण गरेको हो । विरोध गरिनँ । समीक्षा बास्कोटाजी, रञ्जु दर्शनाजी र प्रकाशचन्द्र परियारजीले एकता गर्ने भन्नुभयो, ठिक छ गर्नुहोस् भनिदिएँ। तर म चाहिँ जान्न भनेँ । उहाँहरू जानुभयो, म बसेँ ।

किन पार्टी बैठकमै नजानु भएको ?

मुख्य कुरा त मेरो स्वास्थ्यको कारण हो हो । बितेको एक वर्ष त बेड रेस्ट गरेँ । पार्टीले केही काम गरेको थिएन, निष्क्रिय थियो । बैठक भए अनौपचारिक भयो होला तर पार्टी नै निष्क्रिय थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ६ : ०५ बजे

गाजल, मञ्जन र सिन्दूरमा भेटियो घातक सिसा, जनस्वास्थ्यमा गम्भीर असर

काठमाडौं– नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य प्रसाधन (गाजल), व्यक्तिगत सरसफाइका

राष्ट्रिय युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन

प्रचण्डको दाबी- स्वच्छ चुनाव भए प्रत्यक्षतर्फ नेकपा पहिलो हुन्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

मञ्जनको निगरानी र गुणस्तर जाँच गर्न ‘हाइजेनिस्ट एसोसिएसन’ को माग

काठमाडौं– बजारमा बिक्री वितरण भइरहेको मञ्जनको निगरानी र गुणस्तर जाँच

‘निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व’

गण्डकी– निर्वाचन आचारसंहिताको पालना एवम् प्रभावकारी कार्यान्वयन सबैको साझा दायित्व