काठमाडौं – शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको पूर्व राजाका समर्थकको विरोध कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतासमेत सहभागी भएको खुलेको छ। यसरी हिंसात्मक आन्दोलनमा रास्वपाका खोटाङ जिल्ला पूर्व सभापति डा. राजकुमार राई सहभागी भएको खुलेको हो।
तीनकुने आन्दोलन र हिंसामा सहभागी भएकालाई आइतबार काठमाडौं प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा राईसमेत आन्दोलनमा सहभागी भएको खुलेको हो। प्रहरीले राईलाई आइतबार पाँच दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ।
रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका पूर्व सभापति राईलाई प्रहरीले तीनकुनेमा दुई जनाको मृत्यु भएको र दर्जनौ भौतिक संरचनामा आगजनी र लुटपाट गरेको घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेर ४१ जनासँगै पाँच दिन म्याद थप गरेको हो।

प्रहरीले घटनामा संलग्नमाथि अनुसन्धान जारी रहेको बताएको छ। राई खोटाङको रावाबेसी गाउँपालिका १ का हुन्। उनलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार मात्र काठमाडौँ प्रहरीले जिल्ला अदालत काठमाडौंबाट समय पाएको छ।
राई राजावादी नभएर रास्वपाका खोटाङका चर्चित नेता हुन्। यिनै राई गत पुस १३ गते सम्पन्न खोटाङ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा पराजित भएका थिए। उनलाई पराजित गर्दै मुकुन्दकृष्ण थापा जिल्ला अध्यक्ष बनेपछि उनी पार्टीमा निस्क्रिय भएको खुलेको छ।

रास्वपा जिल्ला अध्यक्षका पराजित भएपछि पार्टीमा निस्क्रिय भएका राई राजावादी समूहमा सक्रिय भएको खुलेको छ। राई पछिल्लो समय खोटाङमा हुने रास्वपाका कार्यक्रममा कम मात्र उपस्थित भएको त्यहाँका नेताले बताउने गरेका छन्। अहिले भने ६३ वर्षीय राईविरुद्ध अपराधिक गतिविधि, ज्यान मुद्दा र संगठित अपराधको कसुरमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।
राईले शुक्रबार बिहान आफ्नो फेसबुकमा आज तीनकुनेमा भेट्नुपर्छ भनेर आह्वानसमेत गरेको खुलेको छ। उनले फेसबुकमा लेखेका छन्, ‘आज तीनकुने भेटौं खोटाङे मित्रलाई विशेष निम्तो।’

राईसँगै प्रहरीले तीनकुनेमा हिंसा भड्काएको र हिंसामा सहभागी भएको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।
प्रहरीले पक्राउ परेका ४१ जनाविरुद्ध विभिन्न कसुरमा अनुसन्धान अगाडि बढाएको हो। उक्त आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाई फरार छन् भने प्रहरीले आन्दोलनका संयोजक नवराज सुवेदीलाईं उनकै घरमा नजरबन्दमा राखेको छ। आन्दोलन समूहका प्रवक्ता तोकिएको स्वागत नेपाल भने आइतबार नै रिहा भइसकेका छन्।
मिश्र, राणासहित ११ जनाविरुद्ध राजद्रोह
हिरासतमा रहेकामध्ये मिश्र, राणासहित ११ जनाविरुद्ध राजद्रोह तथा सङ्गठित अपराधको कसुरमा अनुसन्धान सुरु भएको छ।
जिल्ला अदालतले मिश्र, राणासहित ११ जनामाथि राजद्रोहको कसुर तथा अन्य ३० जनाविरुद्ध आपराधिक उपद्रव तथा सङ्गठित अपराधको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको हो। न्यायाधीश तारादेवी महर्जनको इजलासले म्याद थप गरेको हो।
शान्तिपूर्ण भनिएको प्रदर्शन आगजनी, तोडफोड र लुटपाटमा परिणत भई हिंसात्मक बनेपछि प्रदर्शनकारीले लगाएको आगोमा परी टेलिभिजन पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो। सो घटनामा निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरी ठुलो भौतिक क्षति गराइएको छ। हिंसात्मक प्रदर्शनमा संलग्न अन्य ३१ जनालाई आपराधिक उपद्रवको कसुरमा अदालतबाट म्याद थप भई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहोराका अनुसार प्रदर्शन भड्काउने मुख्य व्यक्ति प्रसाईं फरार रहेकाले खोजीकार्य तीव्र पारिएको छ। प्रसाईंले आइतबार एक भिडियो सन्देश जारी गर्दै आफू सुरक्षित रहन काठमाडौँको एक कुनै मन्दिरमा लुकेर बसेको दाबी गरे पनि प्रहरीले प्रसाईं अझै फेला पार्न सकेको छैन।
जिल्ला प्रहरीपरिसर काठमाडौँको हिरासतमा रहेका ४१ जनालाई आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत अदालतमा पेस गरेको थियो।
घटनामा संलग्न अन्य ३० जनाविरुद्ध आपराधिक उपद्रव र सङ्गठित अपराधको कसुरमा अनुसन्धान हुने छ।

कुल ४१ जनाविरुद्ध प्रहरीले अनुसन्धान गर्ने भएको छ। उनीहरूमाथि प्रहरीले सङ्गठित अपराधमा पनि अनुसन्धान गर्ने भएसँगै ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने भएको छ।
प्रतिक्रिया