चैत १५ को सडक सन्देश– ‘नेता फेरौँ, व्यवस्था नफेरौँ’ | Khabarhub Khabarhub

चैत १५ को सडक सन्देश– ‘नेता फेरौँ, व्यवस्था नफेरौँ’



राजा र लोकतन्त्र सँगै हिँड्न सम्भव नदेखेपछि जनताले गणतन्त्रको कल्पना गरेका हुन् । २००७ देखि २०६३ सालसम्म आइपुग्दा खास गरी राजनीतिक दलहरूले राजा र लोकतन्त्र सँगै हिँड्न सक्दैनन् भन्ने विषयको निर्क्यौल गरे । फलस्वरूप ०६२–६३ को जनआन्दोलन मार्फत राजाको प्रत्यक्ष शासन विरुद्ध सडकमा उत्रिए ।

२०६३ साल वैशाख ८ गतेको आन्दोलनलाई सम्झिने हो भने राजतन्त्र मुर्दावाद भन्दै १० लाख बढी जनता सडकमा आएका थिए । काठमाडौं उपत्यकाको २६ किलोमिटर लामो चक्रपथ पुरै मान्छे भरिएका थिए । काठमाडौंलगायत पोखरा वीरगञ्ज, सर्लाही, विराटनगर, पाल्पा, नेपालगञ्ज, भैरहवा तथा प्रत्येक जिल्ला सदरमुकाममा गणतन्त्रका पक्षमा जुलुस निस्कियो ।

ती सबै ठाउँमा जनताले राजतन्त्रको खारेजीको माग राखेका थिए । आन्दोलनमा दर्जनौँ नागरिकले शहादत प्राप्त गरे । तर ‘ज्ञाने चोर देश छोड’ भनेर नारा लगाएको १७ वर्षमै फेरि ‘राजा आउ देश बचाऊ’ नारा किन सडकमा लाग्यो ? कुनै समय भारतमा नागरिकले ‘बरु अङ्ग्रेज शासन ठिक थियो’ भन्दै आवाज उठाएका थिए । सडकमा आउनेहरूको एउटै तर्क छ– सयौँ राजाभन्दा एउटै राजा ठीक ।

२४० वर्षे राजाको शासनमा व्याप्त भ्रष्टाचार थियो । त्यही निरङ्कुशताको विरुद्ध यत्रो सङ्घर्ष गरेर ल्याएको गणतन्त्रमा आज नेताहरूले राणा र राजाहरूकै सिको गरे । त्यसैको निराशाले आफैँले फ्याँकेको शासन चाहियो भन्दै सडक सङ्घर्ष देखिन थालेको हो ।

नेतालाई ‘चोर’ भन्ने अवस्था कसरी आयो ? 
चार वर्ष अगाडि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता गाउँमा जाँदा ‘चोर’ आयो भन्न थालेको बताएका थिए । कांग्रेसको १४औँ महाधिवेशनको शुभकामना दिँदै गर्दा उनले अहिले सबै राजनीतिक दलहरूले विश्वास गुमाएको बताएका थिए । उनले  राजनीति आम जनताको दृष्टिकोणबाट हेर्दा लिक बाहिर गएको उल्लेख गरे ।

‘सरकार सरकार जस्तो छैन, संसद् संसद् जस्तो छैन, अदालत अदालत जस्तो छैन । यो सबलाई ठिक लगाउने कसले ?’, उनले प्रश्न गरेका थिए । २०४६ सालपछि बनेका कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न सकेनन् । नफुटेको पार्टी कुनै भएन । कहाँनेर त्रुटि भयो ? कहाँनेर हामी चुक्यौँ ? उनले प्रश्न गरेका थिए ।

इतिहास हेर्ने हो भने पाँच पटक प्रधानमन्त्री सम्हालेर पनि असफल भन्दै गिरिजाप्रसाद कोइरालाई पनि जनताले ‘चोर’ भनेर नारा लगाएका थिए । अहिलेका प्रधानमन्त्रीलाई पनि ‘केपी चोर, देश छोड’कै नारा लगाइरहेका छन् । देश तथा विदेशमा प्रधानमन्त्रीलाई चोर भनेर विरोध गरेको सुनिन्छ । हिजो मात्रै एक विदेशीलेसमेत विद्युत प्राधिकरणमा चलखेलका कारण कुलमानलाई बर्खास्त गरिएको भन्दै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । शीर्ष नेता तथा प्रधानमन्त्रीलाई मात्रै नभएर अधिकांश नेतालाई चोर भनेरै गाली गरिएको पाइन्छ ।

नेताहरूले दल कब्जा गर्दा व्यवस्था विरोधी चलमलाए : राजनीतिक विश्लेषक

राजनीतिक विश्लेषक शङ्कर तिवारीले नेताहरूले लोकतान्त्रिक माध्यमबाट दल कब्जा गर्दा व्यवस्था विरोधी चलमलाएको आरोप लगाएका छन् । खबरहबसँग कुरा गर्दै उनले भने, ‘प्रचण्ड, ओली र देउवाले लोकतान्त्रिक माध्यमबाटै दल कब्जा गरे । २०७२ सालपछि लगातार यिनै त्रिमूर्ति प्रधानमन्त्रीको कुर्सीमा घुमिरहेका छन् । उनीहरू एक छन्, बाँकी सबै बाहिर छन् । संविधानलाई राम्रोसँग चल्न नदिई बारम्बार आफ्नो दललाई फेल खुवाए ।’

‘एकपटक फेल भइसकेको नेतृत्वले बारम्बार पार्टी कब्जाको माध्यमबाट उनीहरूले नै पार्टीतन्त्र चलाएका छन् । आम मानिसमा व्यवस्थाप्रति भन्दा उनीहरूले त्यो पार्टीकै कार्यकर्ता र जनतालाई मन परेको छैन’ तिवारी थप्छन्, ‘उनीहरूले नयाँ गर्न सक्ने आधार पनि छैन र नयाँलाई बाटो छाडिदिने चाहना पनि छैन । यो १७ वर्षको अन्तरालमा कति कानुन बन्यो र कति विकास भयो ?’

राजनीतिक कुरालाई विकासले कति भरथेग गर्यो भन्ने महत्वपूर्ण हुने तिवारीको भनाइ छ । ‘कुनैपनि देशको शासकीय व्यवस्थाले त्यहाँको आर्थिक संरचना बोक्न सकेको छ कि छैन ? आम जनतालाई समृद्धि र समुन्नति दिन सकेको छ कि छैन ? प्रश्न यो हो’, उनले भने ।

‘राजावादी आज सडकमा आउँदा के गर्छन् भन्ने उनीहरूलाई थाहा छैन । २०४७ सालमा जान खोजेको भनेका छन् । अब त्यही संविधान राजा ज्ञानेन्द्रलाई मन नपरेर २०५८ असोज ७ मा सत्ता हत्याए । ज्ञानेन्द्रको मुखबाट २०४७ को संविधान अक्षरशः पालन गर्छु भनेर आएको छ त ? छैन । यो व्यवस्थालाई अस्थिरतामा लगेर धमिलो पानीमा माछा मार्ने उनीहरूको प्रयास मात्रै हो’, उनले भने ।

राजावादीभन्दा प्रचण्ड मोर्चामा सहभागी धेरै भएको तिवारीको दाबी छ । भन्छन्, ‘यसले के देखाउँछ भने दलका केही नेतासँग आजित भएका हुन् । व्यवस्थासँग आजित भएका छैनन् । सरकार सञ्चालन गर्नेहरूले विशेषगरी गैँडाको छाला जस्तो चाम्रो शैली जो जनतासँग नडराउने त्यो आम जनतालाई सह्य नभएको हो । राजावादीहरूले त्यही मसिनो त्यान्द्रोमा रहेर आफ्नो रोटी सेकाउने कोसिस गरेका हुन् ।’

तिवारीले नेताहरूलाई चोर भन्ने सवाल स्वभाविक भएको बताएका छन् । ‘हिजो राजालाई पनि चोर भनिएको हो । आन्दोलन, विद्रोह र आवेशमा नेतृत्वलाई गाली स्वतः आउँछ । नभने पनि हुने हो, तर त्यो विरोधको भाषा अर्थात शब्दमा लिनुपर्छ’, तिवारीले भने । 

राजा आउने बाटो नै ठप्प : वरिष्ठ अधिवक्ता
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कुन प्रक्रियाले राजतन्त्र अन्तर्गत आउँछ ? भनेर प्रश्न गरेका छन् । राजा कुन संविधान अन्तर्गत आउँछ ? कुन प्रक्रिया अन्तर्गत आउँछ ? यो त संविधानसभाले लेखेको संविधान हो । दुई–दुई पटक संविधानसभाको निर्वाचनबाट जारी भएको हो । अब यो संविधानलाई कुन प्रक्रियाले फ्याँक्न सक्छ ?

खबरहबसँग कुरा गर्दै त्रिपाठीले राजतन्त्र कुनै हालतमा फर्कनै नसक्ने दाबी गरे । भन्छन्, ‘रोगभन्दा रोगको उपचार खतरनाक हुनु हुँदैन । नेपालको संविधानले राजा पूर्ण रूपमा असान्दर्भिक छ । देशमा कुशासन र भ्रष्टाचारको समस्या छ । तर राजा आएर यसको समाधान हुँदैन । समस्या एकातिर समाधान अर्कोतिर खोजिरहेका छौँ । यो गतल छ, ज्ञानेन्द्र टेस्टेड व्यक्ति हुन् ।’

शासनमा हुँदा उनले गरेको भ्रष्टाचार र कुशासन जनताले कसरी बिर्सिए ? उनी प्रश्न गर्छन्, ‘लोकतन्त्र अपरहण गरे, नागरिक अधिकार खोसे, मिडियामा सैनिक परिचालन गरे । रहस्यमय तरिकाले राजा बनेका हुन् । त्यो आफैँमा गैरकानुनी थियो । तर उनले पुनः मुलुकमा अस्थिरता र अराजकता भित्र्याउँदै छन् । यसको समाधानको लागि दलका पुराना नेताले राजनीतिबाट बिदा लिन जरुरी छ । यी नेताहरूबाट समाधान हुन सक्दैन । नेता फेरौँ, व्यवस्था नफेरौँ । व्यवस्था ठीक छ ।’

गणतन्त्र पुरै लुटतन्त्रमा परिणत भएपछि यो अस्थिरता आएको उनको आरोप छ । ‘जनतामा चरम निराशा किन भयो भने अहिले संविधान अन्तर्गत बनेका सरकारले मुलुकलाई सुशासन दिन, बेरोजगारी हटाउन सक्नुपर्थ्यो । तर सीमित व्यक्तिहरूले गणतन्त्रको फाइदा उठाए, त्रिपाठी थप्छन्– ‘गरिबी, बेरोजगारी चरम छ । युवाहरूमा वैदेशिक रोजगार बाहेक विकल्प छैन । लोकतन्त्रले डेलिभरी गरेन भने जनताको असन्तोषलाई सिर्जनशील तरिकाले व्यवस्थापन गर्न सकेन भने गम्भीर दुर्घटना हुन सक्छ ।’

श्रीपेच नभएका राजा बढ्दा असन्तुष्टि बढ्यो : समाजशास्त्री 
समाजशास्त्री सविता प्रसाईंले श्रीपेच नभएका राजा धेरै भए भन्नेमा जनता पुगेको बताएकी छिन् । उनले भनिन्, ‘हिजो देशमा एक जना राजा थिए तर गणतन्त्रमा हजारौँ छोटे राजाको जन्म भयो । उन्नत व्यवस्थामा पनि जनता रैती नै रहन पुगे । त्यसको निराशा अहिले सडकमा देखिएको छ । त्यस्तै राजनीतिक दलप्रति वितृष्णा जगाउने काम नेताहरूले गरे ।’

‘मान्छेको स्वभाव परिवर्तनशील हुन्छ । आवश्यकता अनुसार मानिसको रुचि फरक हुँदै जान्छ । आफू अनुकूल नभएपछि जनताको व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने सोच आउनु स्वाभाविक हो’ प्रसाईं थप्छिन्, ‘गणतन्त्रले रिजल्ट दिन्छ भन्ने थियो । आशा थियो, तर निराशामा बदलियो । भाषणमात्रै नतिजा छैन । भाषणले नेता हुने युग समाप्त भैसकेको हो । यतिबेला जनताले रिजल्ट खोजिरहेका छन् ।’

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १ : ५५ बजे

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल चैत २० गते बुधबार चैत

आज २०८१ साल चैत २० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल चैत २० गते बुधबार चैत

मार्चमा एक लाख २१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए

काठमाडौं – सन् २०२५ को मार्च महिनामा एक लाख २१

‘लाज शरणम्’का बालकलाकार केसीको कुपोषणको कारण मृत्यु

काठमाडौं – महाशिवरात्रिमा प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ मा अभिनय

पर्वतमा ट्र्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु, चालक गम्भीर

पर्वत – पर्वतको जलजला गाउँपालिका वडा नं ५ लेखफाँटमा आज