राजेन्द्र लिङ्देनलाई ज्ञानेन्द्रको धक्का : अब रवीन्द्र र धवललाई बोक्ने कि हटाउने ? | Khabarhub Khabarhub

राजेन्द्र लिङ्देनलाई ज्ञानेन्द्रको धक्का : अब रवीन्द्र र धवललाई बोक्ने कि हटाउने ?



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन वैचारिक एवम् नैतिक संकटमा फसेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपालाई ‘हाइज्याक’ गरेर नवराज सुवेदी, रवीन्द्र मिश्र र धवल शमशेर राणालाई निर्मलनिवासतिर तानेपछि अब उनीहरूलाई ‘बोक्नु कि कारवाही गर्नु’ को दोसाँधमा पुगेका छन् लिङदेन ।

बिहीबार साँझ खबरहबलाई दिएको अन्तर्वार्तामा लिङ्देनले चैत १५ गतेको प्रदर्शन राप्रपाको आयोजनामा नभएको बताउँदै चैत २६ गते विरोध सभाको तयारी गरेको स्पष्ट पारेका थिए । तर, पार्टीले आफ्नो आयोजना नरहेको भनेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर सक्रिय रुपमा सहभागी मात्रै भएनन्, हिंसात्मक अभिव्यक्ति दिएका दुर्गा प्रसाईंसँगै मञ्चमा उभिएर अराजकतालाई दुरुत्साहनसमेत दिए ।

बिहीबारको अध्यक्षको अन्तरवार्तालाई आधार मान्ने हो भने शुक्रबार राणा र मिश्रले देखाएको गतिविधि राप्रपाको निर्णयअनुरुप थियो त ? प्रश्न गर्ने ठाउँ देखिएको छ ।

हेर्नुहोस् लिङदेनको अन्तर्वार्ता

शुक्रबार तीनकुनेमा आयोजित मञ्चमा उभिएर दुर्गा प्रसाईले एयरपोर्ट र संसद् भवन कब्जा गर्ने भन्दै कार्यकर्तालाई अघि बढ्न भनेका थिए । लगत्तै उनले गाडी हुइँक्याएर प्रहरीको घेरा तोडेका थिए ।

भ्रष्टाचारीलाई किरा परोस् भन्ने टीसर्ट लगाएर प्रसाईसँगै उभिएका राप्रपा नेताहरूले एयरुपोर्ट र संसद भवन कब्जा गर्ने प्रसाईको अभिव्यक्तिलाई हौस्याउँदै ‘अगाडि बढौं… अगाडि बढौँ’ भनेका थिए ।

राप्रपामाथि प्रश्न

राजा फर्काउने एजेन्डा लिएर संसदीय राजनीतिमा रहेको राप्रपा देशको पाँचौँ ठूलो दल हो । तर, शुक्रबारको हिंसात्मक घटनामा आफ्नै पार्टीका दुई शीर्ष नेताको सक्रिय सहभागिताका कारण अध्यक्ष लिङदेनलाई नैतिक संकट परेको छ ।

घृणात्मक अभिव्यक्ति र अराजकताका प्रतीक मानिने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई ‘कमाण्डर’ मानेर राप्रपाका शीर्ष नेताहरू प्रसाईंको फेर समाउन गएपछि राप्रपामाथि प्रश्न उब्जेको छ ।

आफ्नै पार्टीको सदस्यता परित्याग गरेका नवराज सुवेदीको मातहतमा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेता र महामन्त्री सहभागी हुँदा अध्यक्ष लिङ्देन टुलुटुलु हेर्न बाध्य देखिएका छन् ।

शुक्रबार तीनकुनेमा भएको आन्दोलन गैरराजनीतिक र लुटपाटले पराकाष्ठा नाघेपछि राप्रपालाई यो आन्दोलान बोक्नु न टोक्नु जस्तै भएको छ । र, प्रसाईंकै कारणले अब राजसंस्था फर्काउने आन्दोलनले धक्का व्यहोर्ने सम्भावना बढेको छ ।

महामन्त्री राणा र वरिष्ठ उपाध्यक्ष मिश्रले आन्दोलनलाई भड्काउने काम गरेको र भिडलाई उत्तेजित बनाएको भन्दै अहिले दुवै नेता प्रहरी नियन्त्रणमा छन् ।

उनीहरूलाई आइतबार अदालतमा उपस्थित गराएर पाँच दिन म्याद थपिएको छ । दुवै नेतामाथि राज्यविरुद्ध अभियोगमा मुद्दा चलाउने सरकारको तयारी छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष र महामन्त्री नै प्रहरी नियन्त्रणमा परेपछि राप्रपाले शनिवार पटक–पटक औपचारिक र अनौपचारिक बैठक राखेको थियो ।

बैठकमा कतिपय वैचारिक नेताहरूले भने राणा र मिश्रलाई पार्टीबाट तत्काल बर्खास्त गरिहाल्नुपर्ने सुझाव दिएका थिए भने कतिपयले राजनीतिक गतिविधि भएकाले यस्ता गतिविधिमा क्षमा याचना हुने भन्दै तत्काल कारवाही नगर्न भन्दै रोकेका थिए ।

त्यसपछि लिङ्देनले राणा र मिश्रबाट भिडलाई उत्तेजित बनाउने काम गरेको प्रमाण पुगेमा मात्रै पार्टीबाट बर्खास्त गर्न मिल्ने बताएका थिए । साथै, तीनकुनेमा भएको जनधनको क्षतिको जिम्मा सरकारले लिनुपर्ने राप्रपाले निष्कर्ष निकालेको थियो ।

हुन त लिङ्देनले आइतबार प्रतिनिधि सभामा छाती पिट्दै ‘राजावादी यहाँ छ, कारवाही गर’ भन्नसमेत भ्याए ।

राणा र मिश्रमाथि प्रश्न

विवेकशील साझा पार्टीमा हुँदा बीबीसीका पूर्वपत्रकार रवीन्द्र मिश्र लोकप्रिय व्यक्ति मानिन्थे । त्यसबेला उनी सडकमा ढुंगा हान्ने र नेपाल बन्द गर्ने जस्ताकार्यको घोर विरोधीसमेत थिए । तर, उनी राप्रपामा प्रवेश गरेपछि भने विवादमा तानिँदै गए र हिंसात्मक विद्रोहको पक्षपाती बन्न पुगे ।

त्यसैगरी नेकपा एमाले र राप्रपाको भोट पाएर बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित राप्रपाका महामन्त्री धवल शमशेर जबरा पनि पूर्वराजा ज्ञानेन्द्र शाहका विश्वासिला पात्र हुन् । उनलाई पूर्वराजाको दरिलो साथ छ । पछिल्लो समय लिङ्देनलाई काउन्टर गरेर राणा र मिश्र पूर्वराजाका प्यारा बनेका छन् ।

तर, राप्रपाका एक नेता खबरहबसँग भन्छन्, ‘दुर्गा प्रसाईंको नेतृत्वमा आन्दोलनमा सहभागी हुन सक्दैनौ भनेर उहाँहरूले भन्न सक्नुपर्ने थियो । अध्यक्षलाई देखाउन खोज्दा आफैं फस्नु भयो ।’

आत्मसमर्पण गर्ने बेला आयो : विश्लेषक लाभ

राजनीतिक विश्लेषक सुरेन्द्र लाभ अब राप्रपा अध्यक्ष लिङ्देनले जनतासामु आत्मासमर्पण गर्न सक्नुपर्ने बताउँछन् । ‘कि रवीन्द्र मिश्र र धवलसमशेर राणाको लाइन सही छ भन्नुपर्‍यो, कि बेठिक छ भन्नुपर्‍यो’, लाभ भन्छन्, ‘दोहोरो चरित्र देखाएर बस्न हुँदैन ।’

लाभले अगाडि थपे, ‘सडकमा शुक्रबार जे भयो, त्यो गुण्डागर्दी नै हो । राप्रपाका नेताहरू गलत बाटोमा गइरहेका छन् ।’

गणतन्त्रवादी पार्टीले पनि कार्यशैली सच्चाउनुपर्ने तर उनीहरूको कार्यशैलीलाई लिएर राजावादीले जनतालाई हिंसाको बाटोमा लान नमिल्ने लाभ बताउँछन् । उनी पूर्वराजा ज्ञानेन्द्र शाहको विषयमा पनि सरकारले कडा निगरानी गर्नुपर्ने बताउँछन् ।

‘अब राजेन्द्र कि त मूलधारको राजनीति छाडेर सडकमा जाउन् । कि त सदनमै बसुन् । दोहोरो भूमिका जायज छैन’, उनले भने ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ५ : २७ बजे

इङ्लिस प्रिमियर सिप : आर्सनल र नटिङघम फरेस्ट विजयी

काठमाडौं – इङ्लिस प्रिमियर सिपको मंगलबार राति भएको खेलमा आर्सनलले

राज्य व्यवस्थासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक बस्दैछ । आज

शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने

काठमाडौं– नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको

नयाँ करका निर्णय कार्यान्वयनको घोषणा गर्दै ट्रम्प : लाखौंले रोजगारी गुमाउने

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वतन्त्रता दिनलाई लक्षित गरेर

प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षीबीच आज भेटवार्ता, केही सम्झौता पत्रमा हस्ताक्षर हुने

बैङ्कक– थाइल्याण्डको औपचारिक भ्रमण र बहुपक्षीय प्राविधि तथा आर्थिक सहयोगका