काठमाडौं– शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शनका क्रममा एक पत्रकारसहित दुई जनाको ज्यान गयो । राजावदीहरूको प्रदर्शनले उग्ररुप लिएपछि सार्वजनिकदेखि निजी सम्पत्तिहरुमा समेत आगजनी, तोडफोड र लुटपाटका घटना भए ।
कुरा शुक्रबार साढे तीन बजेतिरको हो । प्रदर्शन हिंसात्मक भएपछि राजावदीहरू तीनकुनेबाट तितरबितर भए । प्रहरीले लखेटेपछि राजावादीको एउटा समूह तोडफोड गर्दै तीनकुनेबाट कोटेश्वरतिर हानियो । उग्र बनेको प्रदर्शनकारीको समूह कोटेश्वर चोकबाट करिब ३०० मिटर दक्षिणमा रहेको भाटभनेटी सुपरस्टोर पुग्यो । हेर्दाहेर्दै त्यो समूहले भाटभटेनीमा लुटपाट मच्चाउन थाल्यो । क्षणभरमै सामाजिक सञ्जालमा भाटभटेनीबाट कसैले फलफूल, कसैले रक्सी त कसैले महङ्गा सामान लुटेर लगेका फोटो र भिडियो भाइरल भए ।
बंगलादेशमा गत वर्ष अगस्टमा गरिएकै शैलीमा उनीहरूले भाटभटेनीमा लुट मच्चाउन भ्याएका थिए । लुट मच्चाउने समूहले भाटभटेनीमा सामानमात्रै लुटेन, ढुंगामुढासमेत गर्यो । कसैले भाटभटेनीको अगाडि राखिएको स्टलबाट स्याउ, सुन्तला र नजिकै जे भेटिन्छ, त्यही टिपेर हानेको पनि देखियो । प्रदर्शनकारीले ढुंगामुढा गरेर भाटभटेनीको सिसा पनि फुटाइदिए ।
भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले त्यहाँ नियोजित रुपमा लुटपाट भएको बताएका छन् । ‘सिसाहरू पूरै फुटेको छ, इन्जिनियरहरूले त्यसको हसाब गर्दै छन्,’ गुरुङले भने, ‘बाहिर भएका धेरै सामान लुटपाट गरे । मोबाइलहरू धेरै लगे । घडीहरू सबै लगे । बियर, ह्विस्की धेरै लगे । यो नहुने काम भयो ।’
यो घटना भएको दुई दिनपछि अर्थात् आइतबार भने कोटेश्वरको भाटभटेनीले लुटपाट र तोडफोड हुनुअगाडिकै स्वरुप पाएको छ । यो समाचार तयार पर्दै गर्दा भाटभटेनीका इन्जिनियरहरुले अगाडिको सिसा फैर्दैछन् भने भित्र लुटपाट भएको ठाउँमा नयाँ सामान राखिएको छ । गुरुङका अनुसार अहिलेसम्म करिब ७० देखि ८० लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।

लुटेरा समूहसँग भिडे सुरक्षा गार्ड
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको बिल्डिङ यही हो भन्दै प्रदर्शनकारीले भाटभटेनीमा आक्रमण गरेको त्यहाँ कार्यरत सुरक्षा गार्ड दिपेश खड्काले बताएका छन् ।
‘एउटा व्यक्ति थियो, जसले यहाँ सबै बाइकलाई रोक्न लगायो । साधुले लगाउने रुमाल बेरेर आएको थियो । उसले यो बिल्डिङ प्रचण्ड र केपी ओलीको हो, यसलाई पनि हान्नु पर्छ भन्यो’, खड्काले खबरहबसँगको कुराकानीमा भने, ‘उसले भनेपछि सबैजनाले एकैसाथ हान्न थाले । हाम्रो आँखैअगाडि तोडफोड र लुटपाट सुरू भयो ।’
तोडफोड हुन थालेपछि सुरक्षा गार्डले हतार-हतार सटर लगाउन खोजेका थिए । तर विद्युतीय सटर भएकाले विस्तारै बन्द हुँदै थियो । तर प्रदर्शनकारीले जबरजस्ती गरेर सटर खोलेर लुटपाट थालेको खड्काले बताए ।
‘मान्छेको भागदौड भएपछि सरहरूले मुख्य गेट लगाउनुभयो’, खड्काले भने, ‘म माथिल्लो तलामा थिएँ, मलाई बोलाउनु भयो । सबैलाई तयार भएर बस्न भन्नुभयो ।’
ढंगामुढा हुन थालेपछि सुरक्षा गार्डसहितका कर्मचारी आफ्नो सुरक्षाका लागि ग्रोसरी रुममा गए । पछि भने प्रतिकारमा उत्रिएको खड्काले बताए । ‘उनीहरु छिरेपछि हामीलाई लखेटे, भित्र आयौँ । सूर्यबहादुर र अधिकारी सर हुनुहुन्थ्यो’, खड्काले भने, ‘अब यसरी हुँदैन हान्न जाऊँ भन्नु भयो । अब भनौँ न रोक्न जाऊँ भन्नु भयो । पहिले सूर्य सर र अधिकारी सर आउनुभयो । सूर्य सरलाई पहिले नाकमा फलामको पाटाले लाग्यो । त्यसपछि फेरि हामी भागेर ट्वाइलेटमा बस्यौँ ।’
केही बेरपछि सुरक्षाकर्मीले भित्र छिरेकाहरूलाई लात्तीले हानेर बाहिर निकालेको खड्का बताउँछन् । ‘सुरुमा उहाँ (अर्का सुरक्षागार्ड कृष्णप्रसाद पराजुली) ले चाहिँ लिस्टी भेट्टाएर त्यहीले भिडलाई हान्नु भएछ’, खड्काले भने, ‘उहाँले कुट्न थालेपछि हामीलाई पनि हौसला भयो, त्यसपछि हामी सबै सेक्युरिटी भएर पिट्न थाल्यौँ । अनि उनीहरू भागे ।’

भाटभटेनीमा २०–२५ जनाजति छिरेको खड्का बताउँछन् । त्यो बेलमा धेरै ग्राहक नभए पनि महिला कर्मचारीलाई लुकाएर राखेको खड्काले जानकारी दिए । ‘ज्यानको माया मारेर हामीले प्रतिकार गर्न थालेपछि उनीहरू डरले पनि निस्किए’, खड्काले भने ।
पटक पटक खबर गर्दा पनि प्रहरी भने २ घण्टा ढिलो आएको खड्का बताउँछन् । ‘प्रहरीलाई खबर त कयौँ पटक गरेको हो, तर उताबाट हामीसँग फोर्स कम छ, हाम्रो प्रहरी नै घाइते भएर अस्पतालमा अप्रेसन गरिरहेका छन् भनियो’, खड्काले भने, ‘पछि फोन गर्दा यो कोटेश्वरको भाटभटेनी भनेको कहाँ हो भनेर जवाफ दिएका थिए ।’
लुटपाट गर्नेलाई पहिलो प्रतिकार गरेका कृष्णप्रसाद पराजुली पहिले भागेको र पछि प्रतिकारमा उत्रिएको बताउँछन् । ‘हामी भित्र थियौँ’, पराजुलीले भने, ‘पछि फेरी हामी बाहिर जाऊँ भने पछि हामी बारिबाट भित्र छिर्दै गरेका व्यक्तिलाई कुट्न थाल्यौँ ।’

त्यो दिन हाम्रा लागि ठूलो चुनौती बन्यो : स्टोर म्यानेजर राई
भाटभटेनी कोटेश्वरकी स्टोर म्यानेजर मुना राई भने लुटपाटको घटनालाई ठूलो चुनौतीको रुपमा लिएको बताउँछिन् ।
कोटेश्वरको स्टोरमा ३०० भन्दा बढी कर्मचारी कार्यरत थिए । त्यसमा ९० प्रतिशतभन्दा बढी महिला कर्मचारी रहेको राईको भनाइ छ ।
‘घटनालाई स्मरण गर्दा धेरै ठूलो चुनौतीको रुपमा लिएको छु’, राईले खबरहबसँग भनिन्, ‘म मात्रै होइन, मेरो मातहतका कर्मचारी, मलाई जिम्मा दिनुभएको बिल्डिङ, सपिङ गर्ने आएका ग्राहक सबैको मेरो जिम्मेवारी थियो । मैले उहाँहरूलाई कसरी सकुशल राखौँ भन्ने मात्र थियो ।’
आफूले आफ्नो कर्मचारी र ग्राहकलाई हौसला दिएको र त्यसले काम गरेको राई बताउँछिन् । ‘अहिलेसम्मको क्षति यति नै हो भन्ने यकिन भइसकेको छैन’, राईले भनिन्, ‘लुटपाट भएका रक्सी, बियर, ह्वस्की, घडी, मोबाइल, कस्मेटिक सामान, बेकरी, आइसक्रिम, पैसा, कप्युटरका पार्टपुर्जा, क्यास लकर, क्यामेरा पनि फुटाइदिएका छन् ।’

बक्सहरू, काउन्टर र्याक तोडफोड भएको छ । आइसक्रिम र बेकरीका सामान राख्ने फ्रिज २–३ वटा बाहिर लगेर तोडफोड गरिएको राई बताउँछिन् । ‘कस्टुमरले राखेका गाडी पनि तोडफोड भएका छन्’, राईले भनिन्, ‘उनीहरूले भेटेसम्म र देखेसम्म केही बाँकी राखेका छैनन् ।’
लुटपाट गरिएको ठाउँमा नयाँ सामान राखिएको राईले जानकारी दिइन् । ‘सबै हामी आफैँले नयाँ ठाउँमा सामान राखेका हौँ । बक्स पनि आफैँले राखेका हौँ’, राईले भनिन्, ‘हाम्रो आफ्नै इन्जिनियरको टोली छ । हामी सर्भिस र काम छिटो छरितो गछौँ ।’
भाटभटेनीको लुटपाट र तोडफोड नियोजित भएको उनले दाबी गरिन् । घटनाको अनुसन्धन हुनुपर्ने राईको माग छ । ‘यो अनुसन्धानको पाटो भयो, त्यो कुरा पछि आउला’, राईले भनिन्, ‘म यहाँको स्टोर म्यानेजरका रुपमा देख्दा एउटा अराजक हुल आएर लुटपाटसँगै तोडफोड गर्यो । जुन एकदम गलत हो, त्यसमा संलग्नलाई कारबाही हुनुपर्छ ।’
प्रतिक्रिया