पुस्तकालय पदचाप : पूर्खाको धरोहरदेखि विश्वको धुरीसम्म | Khabarhub Khabarhub

१८औँ पुस्तकालय दिवस

पुस्तकालय पदचाप : पूर्खाको धरोहरदेखि विश्वको धुरीसम्म



“राजेन्द्र सर, तपाईँ त इतिहासकै सबभन्दा शक्तिशाली र सफल सरकार-प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बनेको मन्त्रिपरिषद्को सचिवालयमा काम गर्नुभएको व्यक्ति । सिंहदरबारभित्र अधिकार र शक्तिको नजिकै बसेर काम गरेको मान्छे किन आज गाउँको सानो संस्थामातन–मन–प्राण अर्पण गरेरयति खटिनुभएको ?”

शिक्षा मन्त्रालयका उपसचिव तथा पुस्तकालय समन्वय शाखाका प्रमुख यादवचन्द्र निरौलाको यो प्रश्न साधारण थिएन । बारम्बार सहपाठी र शुभचिन्तकले उठाउँदै आएको जिज्ञासा पोहोर साल अत्तरियाको सुदूरपश्चिम सम्मेलनको एक साँझ मेरा सामु पूर्ण रूपमा उभिएको थियो । अब भने मैले टार्नै सकिनँ । पुस्तकालयसँगको अमिट साइनोको पोयो फुकाउनुपर्ने भयो ।

मैले भनेँ – “मातृभूमि पुस्तकालय मेरो पितृ प्रसाद हो सर । त्यो केवल पुस्तक राख्ने कोठा होइन, मेरो जीवनको पूर्णताको आधार हो । बाल्यकालदेखि नै चेतनाको पहिलो उज्यालो त्यहीँबाट आएको हो । त्यो हाम्रो दोस्रो घर थियो, जहाँ पुस्तक मात्र थिएनन् – बा पुस्ताहरूको पसिना, आँसु, सपना र समर्पण मिसिएको थियो । तन, मन, धनको अंश हालेर उनीहरूले बनाएको त्यो धरोहरसँग नजोडी बस्नु भनेको, मेरो जीवनलाई नै अधुरो बनाउन जस्तै हुन्थ्यो । म जन्मिएको धरामा रहेको मेरो सगर्व विरासत ।”

विर्घामा टोनीको टेको
पुस्तकालयसँगको मेरो पहिलो सम्बन्ध जन्मभूमिमै अंकुरिएको थियो। मातृभूमि पुस्तकालयको आँगनमा। प्रजातन्त्र पुनर्स्थापनापछि जन्मिएको त्यो पुस्तकालय केवल एउटा भवन थिएन, त्यो त स्वतन्त्रताको पहिलो उज्यालो थियो, जसले हाम्रो गाउँलाई नै नयाँ जीवन दियो।त्यही ठाउँ मेरो प्रारम्भिक शिक्षाको आँगन पनि । त्यतिवेला म जनता प्राथमिक विद्यालयमा कक्षा तीनमा पढ्थेँ ।

पुस्तकालयसँगको मेरो पहिलो सम्बन्ध जन्मभूमिमै अंकुरिएको थियो। मातृभूमि पुस्तकालयको आँगनमा। प्रजातन्त्र पुनर्स्थापनापछि जन्मिएको त्यो पुस्तकालय केवल एउटा भवन थिएन, त्यो त स्वतन्त्रताको पहिलो उज्यालो थियो, जसले हाम्रो गाउँलाई नै नयाँ जीवन दियो।

त्यो दिनको स्मृति आज पनि मनमा हिजोको जस्तै ताजा छ, जसलाई सम्झँदा हृदयभित्र अनुपम आनन्दको नदी बग्छ। मातृभूमि पुस्तकालयलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन अमेरिकी नागरिक एन्टोनियो न्यूवर ‘टोनी’ र उनको टोली हाम्रो गाउँमा आएका थिए। हामी फूलमाला समातेका स-साना हात जोडेर, बालमनको उत्साहले ओतप्रोत भई स्वागतका लागि तयार थियौँ। अज्ञात तर आत्मीय लाग्ने ती विदेशी पाहुनाले हाम्रा लागि बोकेर ल्याएको सपना असाध्यै ठूलो थियो । मेरो गाउँलाई उज्यालोले भरिदिने, शिक्षा र ज्ञानको केन्द्र बनाइदिने अमूल्य सपना।

आज टोनीहामी बीच जीवित छैनन् । म पनि बाल्यकालको त्यो निर्मल रआनन्दमयसमयबाट धेरै टाढा आइपुगेको छु । तर बाँकी छ टोनीको नासो – मातृभूमि पुस्तकालय र मेरो बाल मानसपटलमाजरा गाडेको अमूल्य स्मृति। यही स्मृतिले निरन्तर ढाडस दिन्छ, र मलाई सधैं शिक्षा र पुस्तकालयप्रतिको जीवनभरको समर्पणतर्फ तानेर ल्याइरहन्छ।

टोनी प्रायः हरेक वर्ष नेपाल आउने गर्थिन्। सन् १९९१ मा उनी सोलुखुम्बुको जुनबेंसी गाउँ पुगेकी थिइन्। हिमालको काखमा शान्त र सुनसान गाउँमा उनको साथमा गाइड बनेर दोमी शेर्पाले हरेक पाइलामा सहयोग गरे। यात्राको अन्त्यतिर टोनीले मुस्कुराउँदै भनिन्, “तपाईँले मलाई यति धेरै सहयोग गर्नुभयो, अब म पनि तपाईँलाई केही सहयोग गर्न चाहन्छु।” दोमीले सहजै उत्तर दिए, “हाम्रो गाउँमा पढ्ने संस्कार अझै कमजोर छ। एउटा सानो घर बनेर त्यहाँ किताब राख्न पाइयो भने, गाउँलेले पनि पढ्ने अवसर पाउँथे होला।”

यो सुझाव लेटोनीको मन छोयो । यिनै शब्दले उनको जीवनको नयाँ यात्रा तय गरिदिए। त्यसै वर्ष उनले ‘ग्रामीण शिक्षा तथा विकास’ नामक अन्तर्राष्ट्रिय संस्था स्थापना गरिन् र सामुदायिक पुस्तकालय अभियानको सुरुवात गरिन्। उही वर्ष जुनबेंसीमा पहिलो सामुदायिक पुस्तकालय स्थापना भयो। यो नेपालमा सामुदायिक पुस्तकालयको यात्रा सुरु भएको ऐतिहासिक क्षण थियो।

त्यसपछि दोस्रो पुस्तकालयको रूपमा मातृभूमि पुस्तकालयको जन्म भयो। गाउँका गोपाल दाइले यो ठूलो सपना देख्नुभयो र गाउँका शैक्षिक तथा राजनीतिक अगुवाको निरन्तर साथले त्यो सपना हिजोआजको वास्तविकता बन्यो। तर सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको टोनीको अटुट समर्पण र उपस्थितिले यस अभियानलाई जीवन्त राख्यो। उनले गाउँमा शिक्षा र ज्ञानको उज्यालो फैलाउन आफ्नो जीवनको अमूल्य समय समर्पित गरिन्।

पुस्तकालय खुलेपछि गाउँकै दैनिकी बदलियो । नयाँ–नयाँ पुस्तक हातमा लिएर पढ्ने सौभाग्य पाउनु, बालबालिकादेखि वृद्धसम्म सबैका लागि जीवनको उत्सव जस्तै बन्यो। स्कुलको एक बजेको घण्टी कति बेला बज्ला, हाफछुट्टीमा पुस्तकालय जान पाइएला कि नपाइएला भनेर हामी सधैं उत्साहित हुन्थ्यौँ । पुस्तक पल्टाउने त्यो हतारो, भोक–प्यासलाई बिर्सेर किताबको संसारमा डुब्ने त्यो उमंग।

नयाँ–नयाँ पुस्तक हातमा लिएर पढ्ने सौभाग्य पाउनु, बालबालिकादेखि वृद्धसम्म सबैका लागि जीवनको उत्सव जस्तै बन्यो। स्कुलको एक बजेको घण्टी कति बेला बज्ला, हाफछुट्टीमा पुस्तकालय जान पाइएला कि नपाइएला भनेर हामी सधैं उत्साहित हुन्थ्यौँ ।

एसएलसीसम्म आइपुग्दा पनि पुस्तकालयप्रतिको लगाव घटेन, बरु अझ गहिरिँदै गयो। घर, विद्यालय र पुस्तकालयऔ-यी तीन ठाउँ नैमेरो जीवनको केन्द्र बन्यो । त्यही गाउँले संस्कार र पुस्तकप्रतिको प्रेमले सायद मलाई काठमाडौंसम्म पनि पछ्यायो। राजधानी पुगेपछि पनि ब्रिटिश काउन्सिलमा गएर नयाँ किताब पल्टाउनु, पढाइमा रमाउनु मेरो दैनिकीको हिस्सा बनिरह्यो।

मातृभूमि पुस्तकालयले फेरेको काँचुली
पुस्तकालय जानु र पढ्नु मेरो सामान्य रुचि थियो। तर कहिल्यै सोचेको थिइनँ कि एक दिन म आफैँ पुस्तकालयको नेतृत्वमा उभिनु पर्नेछ, त्यो पनि यति ठूलो जिम्मेवारीसहित । यो अभियानमा यसरी एकलव्य भएर लाग्ने छु । जीवनमा कतिपय जिम्मेवारी अनपेक्षित रूपमा आउँछन् अनि ती नै जीवनको बाटो बदल्ने मोड बन्ने रहेछन् भन्ने कुरा मैले मातृभूमि पुस्तकालयसँगै अनुभव गरेँ।

मेरो बा जनता माध्यमिक विद्यालयका हेडसर, श्रोत व्यक्ति मात्र नभई, निवृत्त जीवनमा मातृभूमि पुस्तकालयका अध्यक्षसमेत हुनुहुन्थ्यो। उहाँले एक मुठी सास रहुन्जेल सम्म पनि मलाई एउटै वाक्य भनिरहनुभयो, “मातृभूमि जोगाउनु, बनाउनू ।” त्यही वाक्य मेरा लागि अमर मन्त्र बनेको छ ।

२०७२ सालको विनाशकारी भूकम्पले मातृभूमि पुस्तकालयलाई क्षणभरमै भत्काइदियो। त्यो घडीमा बाले पुस्तकालय पुनर्निर्माणलाई आफ्नो पहिलो प्राथमिकता बनाउनु भयो। तर अचम्मको संयोग, भूकम्प गएको दिनकै ठीक तीन वर्षपछि, १२ वैशाखमै, बा पनि यो धर्तीबाट बिदा हुनुभयो। गाउँका अग्रजहरूले जब पुस्तकालयको जिम्मेवारी मेरो काँधमा राखिदिए, मैले बाको अन्तिम वचनलाई पूरा गर्ने दृढ संकल्प गरेँ। भित्रैदेखि एउटा अदृश्य ऊर्जा जाग्यो – बा जीवित रहुन्जेल दोहोर्या इरहनुभएको आवाज जस्तै “मातृभूमि जोगाउनु, बनाउनू।”

पुस्तकालयलाई नयाँ भवनमा परिणत गर्नु मात्र होइन, यसको निरन्तरता सुनिश्चित गर्नु झन् ठूलो चुनौती थियो। तर सहयोग र सहकार्य जुट्यो । जापान सरकारको अटुट सहयोग, शान्ति भोलेन्टियर एसोसिएसनको आर्थिक साथ र रिड नेपालको प्राविधिक हातेमालोले यो सपना साकार भयो। आज मातृभूमि पुस्तकालय एउटा साधारण भवन मात्र छैन, यो हाम्रो समुदायको आशा, भविष्य र ज्ञानको पवित्र धरोहर हो। यहाँ आउने हरेक पुस्ताले आफ्नो जीवन उज्यालो बनाउन सक्ने ज्योति पाउँछन्। यही उज्यालो नै हाम्रो गाउँको साँच्चिकै नयाँ काँचुली हो।

मातृभूमि बीउ, राष्ट्रिय अभियान वृक्ष
मातृभूमि पुस्तकालयको नेतृत्व जिम्मामा आएपछि पुस्तकालयप्रतिको मेरो स्नेह झन् गहिरिँदै गयो। जीवनको सुरुवात त पत्रकारिता र सञ्चारमाध्यमबाट भएको थियो। पढाइ पनि त्यही, काम पनि त्यही। तर जब गाउँको पुस्तकालयको जिम्मेवारी काँधमा आयो, तब मात्र बुझेँ-यो साधारण जिम्मेवारी होइन, भविष्यका पुस्ताको ज्ञान–दियो प्रज्वलित गर्ने अभियान हो।

सुरुवाती दिनमा भने मनमा प्रश्न उठ्थे। कहिलेकाहीँ आफैँलाई सोध्थेँ- “मेरा सहपाठी विश्वका प्रतिष्ठित पुस्तकालयमा समय बिताइरहेका छन्, म किन गाउँको सानो पुस्तकालयमै रमाइरहेको छु ? के म सही बाटोमा छु ?” ती प्रश्नले अलमल्याए, तर अन्ततः अन्तर्मनले एउटा स्पष्ट उत्तर दियो-“यो केवल बाबाको सपना मात्र होइन, मातृभूमि मात्र जोगाउने कुरा होइन, यो त देशभरि छरिएका सामुदायिक पुस्तकालय जोगाउने राष्ट्रिय अभियान हो।”

यही विश्वासले मलाई राष्ट्रिय अभियानतर्फ डोहोर्याियो। २०७९ साल भाद्रमा चितवनमा सम्पन्न नेपाल सामुदायिक पुस्तकालय संघको अधिवेशनमा जब मलाई महासचिवको जिम्मेवारी सुम्पियो, त्यो क्षणले मातृभूमिको बीउलाई राष्ट्रिय अभियानको वृक्षमा रूपान्तरण गरिदियो। त्यसपछि सातै प्रदेशमा सम्मेलन भए-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा। म ती प्रत्येक सम्मेलनमा सक्रिय सहभागी भएँ। जहाँ–जहाँ पुगेँ, त्यहाँ–त्यहाँका पुस्तकालयको पीडा, आवश्यकता र सम्भावना नजिकबाट महसुस गर्ने अवसर पाएँ।

सम्मेलनबाट प्रदेश–प्रदेशमा समिति गठन भए, घोषणापत्र जारी भए र पुस्तकालयको स्वर सुन्ने संस्कृति बन्न थाल्यो। आज म विश्वासका साथ भन्छु- मातृभूमिबाट सुरु भएको त्यो सानो बीउ अब राष्ट्रिय अभियानको वृक्षमा परिणत भइसकेको छ। यसको जरामा समुदायको भरोसा छ, हाँगामा पुस्ताको आशा छ र पात–पातमा भविष्यको ज्ञान फर्फराइरहेछ ।

लाइब्रेरी अफ काँग्रेस र न्यूयोर्क पब्लिक लाइब्रेरीको अनुभव
स्कुले दिनमा हाजिरी जवाफमा शिक्षकले प्रायः सोध्नुहुन्थ्यो “संसारको सबैभन्दा ठूलो पुस्तकालय कुन होर ?‌” म तुरुन्तै कुर्सीबाट उफ्रिन्थेँ र गर्वले भन्न्थेँ “लाइब्रेरी अफ काँग्रेस, अमेरिका।” शिक्षकको ‘सही’ भन्ने उत्तरसँगै मलाई लाग्थ्यो, मानौँ मैले संसार जितेँ। त्यतिबेला मेरो दृष्टिमा काठमाडौँ नै अमेरिका सरह ठूलो थियो। वास्तविक अमेरिकामा पुग्ने, त्यहाँको विशाल पुस्तकालयभित्र पस्ने त कल्पनाभन्दा परको कुरा थियो।

जीवनमा यदि साधना र प्रतिबद्धता छ भने असम्भव पनि सम्भव बन्ने रहेछ। अमेरिकन नागरिक टोनीले बाल्यकालमै मेरो चेतनामा प्रज्ञा र उज्यालो जगाइदिएका कारण अमेरिकाको भूगोल सधैं मानसपटलमा खेल्थ्यो। त्यसै चेतनाको बिउ पुस्ताले पुस्तामा पलाएर आज मलाई विश्वकै प्रतिष्ठित पुस्तकालयसँगै उभ्याउनेछ भन्ने मैले सोचेको थिइनँ।

सामुदायिक पुस्तकालय संघसँगको आबद्धताले मलाई पुस्तकालय र पठनसंस्कृतिप्रति झन् गहिरो रूपमा जोड्यो । पुस्तकालयलाई देखिने, महसुस हुने, प्रभावकारी बनाउन हाम्रो निरन्तर प्रयासले राष्ट्रिय पुस्तकालय दिवसलाई भव्य भयो। १७ औँ पुस्तकालय दिवसको उत्सव मैझारो हुँदै नहुँदै अमेरिका भ्रमण निश्चित भयो।

सामुदायिक पुस्तकालय संघसँगको आबद्धताले मलाई पुस्तकालय र पठनसंस्कृतिप्रति झन् गहिरो रूपमा जोड्यो ।

यो मेरो दोस्रो अमेरिका यात्रा थियो। पहिलो पटक डेढ महिनाको बसाइँमा म धेरै सहर घुमिसकेको थिएँ, धेरै चिनजानका मानिस भेटिसकेको थिएँ। तर यस पटकको यात्राको ध्येय फरक थियो- “पुस्तकालयलाई नजिकबाट देख्ने, महसुस गर्ने र आत्मसात् गर्ने।”

त्यसैले अमेरिका पुग्नेबित्तिकै मैले ज्ञानको भोक मर्न दिइनँ । संयोगवश मलाई दुई ऐतिहासिक र विश्वविख्यात पुस्तकालय-न्यूयोर्क पब्लिक लाइब्रेरी (New York Public Library) र लाइब्रेरी अफकाँग्रेस (Library of Congress) भ्रमण गर्ने मात्र होइन, पुस्तकालय सम्बन्धी राष्ट्रसंघको एक महत्त्वपूर्ण सम्मेलनमा नेपालको प्रतिनिधि र अतिथि वक्ता बन्ने सुवर्ण अवसर पनि प्राप्त भयो।

यो यात्रा केवल पर्यटकको दृष्टिले रमाइलो गर्ने मौका थिएन। यो त पुस्तकालयको शक्ति, प्रभाव र मानव सभ्यतामा यसको अनुपम योगदानबारे गहिरो आत्मचिन्तन गर्ने थियो। जब म विशाल भवनमा उभिएको थिएँ, मैले बुझें-पुस्तकालय केवल भवन होइन, यो त सभ्यताको मेरुदण्ड हो।

न्यूयोर्क पब्लिक लाइब्रेरी : सहरकोआत्मा
अमेरिका टेक्ने बित्तिकै मेरो पहिलो गन्तव्य भयो- न्यूयोर्कको हृदयमा धड्किरहेको, सहरकै आत्मा मानिने न्यूयोर्क पब्लिक लाइब्रेरी। व्यस्त शहर, चौबिसै घण्टाको चहलपहल, न्यूयोर्कको अचम्मको भिडभाडलाई चिर्दै जब म यसको प्रवेशद्वार पुगेँ, त्यहाँ उभिएका दुई विशाल सिंहका मूर्तिहरू-‘Patience’ र ‘Fortitude’, धैर्यता र साहसका अनन्त प्रतीक-मलाई स्वागत गर्दै थिए। लाग्यो, पुस्तकालय प्रवेश गर्नु भनेको ज्ञानको दरबार प्रवेश गर्नु हो, जहाँ धैर्य र साहस बिना यात्रा सम्भव छैन। यसअघि पनि म यहाँ आएको थिएँ, तर त्यो केवल पर्यटकको दृष्टिबाट । केही तस्बिर खिचेर फर्किएको। तर यसपटक भने यो स्थानले मलाई गहिरो रूपमा छोयो।

जब म भव्य ‘Rose Main Reading Room’ भित्र पसेँ, आकाशै छुनेजस्ता अग्ला छत, त्यसमा सजिएका अद्भुत चित्रकला, काठका टेबलमा अनुशासनपूर्वक अध्ययन गरिरहेका मानिस देख्दा, लाग्यो-म कुनै साधनालय, कुनै मन्दिर भित्र छु। यहाँ किताब मात्र थिएनन्, जीवनलाई बुझ्ने, आत्मालाई निखार्ने, समयलाई अर्थ दिने अनन्त बाटा खुलिरहेका थिए।

सबैभन्दा अद्भुत कुरा के भने- यो पुस्तकालय केवल किताबको भण्डार थिएन। यो समुदायको केन्द्र, संस्कृति र चेतनाको संगमस्थल थियो। प्रदर्शनी, बालबालिकाका लागि पठन कार्यक्रम, डिजिटल आर्काइभ, प्रविधि तालिमदेखि भाषा कक्षासम्म-यसले समुदायलाई जोड्ने हजारौं पुल निर्माण गरिरहेको थियो। पुस्तकालयकी सिनियर अफिसर Zena ले त्यो अनुभव सुनाउँदै गर्दा मैले समयलाई बिर्सेँ, आधा दिन कसरी बित्यो थाहा नै भएन। ज्ञान र संस्कृतिको यो गहिरो संसारले मलाई पूर्ण रूपमा मन्त्रमुग्ध बनायो ।

लाइब्रेरी अफ काँग्रेस: ज्ञानको महासागर
न्यूयोर्कबाट तीन दिन छुट्याएर सुरु भएको मेरो यात्रा वाशिङटन डिसीमा पुगेपछि, बाल्यकालदेखि मनभित्र बोकेको एउटा कल्पना यथार्थमा परिणत हुन लागेको थियो- संसारकै सबैभन्दा ठूलो पुस्तकालय, लाइब्रेरी अफ काँग्रेस। जेफरसन भवनतर्फ पाइला चाल्दै गर्दा लाग्यो, म कुनै भवनतर्फ होइन, समयकै नाभितिर प्रवेश गर्दैछु। सेतो संगमरमरका सिँढीहरू, पातको चमकले झल्किएको गुम्बज, सभ्यताको कथा सुनाउने चित्रकला, सबै कुरा आँखै अघिल्तिर चमत्कारझैँ देखिन्थे । त्यही त्यही बेला मनले बोल्यो, “ज्ञान शक्ति हो, तर यो शक्ति मात्र होइन, सौन्दर्य पनि हो।”

भित्र पस्दा लाग्थ्यो, किताब र कागजले बनेको होइन, इतिहास, दर्शन र मानवता मिलेर खडा गरेको कुनै जीवित मन्दिरमा छु। १७ करोडभन्दा बढी पुस्तक, नक्सा, पाण्डुलिपि, ध्वनि–दृश्य सम्पदा-नेपोलियनका पत्रदेखि सेक्सपियरका दुर्लभ कृति, पुराना अमेरिकी कानुनी अभिलेखदेखि विश्वका चौंथाइ कुनाको ज्ञान-सबै यहाँ मौन ध्यानस्थ भएर सुस्ताइरहेका।

सबैभन्दा भावुक क्षण थियो-विश्वभरका अनुसन्धानकर्ताले ‘ज्ञानकोपवित्र स्थान’ भनेर सम्मान गर्ने Main Reading Room भित्र बस्ने अवसर । गोलाकार हलको बीचमा शान्त बसीरहेको म, वरिपरि उभिएका आलमारी ज्ञानका पहाडझैँ ठडिएका, माथि काँचबाट पस्ने मन्द सुनौलो प्रकाश, अनि मौनतामा डुबेका अध्ययनशील अनुहारहरू। पुरानो कागज र स्याहीको सुवासले शताब्दीयौँ पुरानोबौद्धिक यात्रामा सहभागी गराएजस्तो । त्यहाँ बस्दा लाग्थ्यो-समय बिस्तारै बगिरहेको छ, तर ज्ञान भने स्थिर, अनन्त र शाश्वत छ।

करिब ६ घण्टा John र RON लगायतका कर्मचारीको साथमा म पुस्तकालयका विभिन्न कक्षहरूमाडुलिरहेँ र प्रत्येक पाइला नयाँ ऊर्जा र उत्साहले भरिएको थियो । भित्र आफ्नै संसारमा हराएका पाठक गहिरो अध्ययनमा मग्न थिए, न त कसैले कसैलाई बाधा पुर्यामउँथ्यो, न त वातावरणको शान्तिमा कुनै खलल पर्थ्यो। तर यहाँको वास्तविक जादु त भौतिक उपस्थितिमाथियो-पुस्तौँको स्पर्शले उज्यालो बनेका पित्तलका रेलिङ समाउँदा र विशाल गुम्बजमुनि उभिँदा महसुस हुनेत्यो अद्वितीय अनुभव जीवनदायी स्पर्श लाग्दथ्यो । बाहिर निस्कँदा अन्तस्करणले भन्यो– “पुस्तकालय किताब राख्ने कोठा मात्र होइन, यो सभ्यताको संरक्षक हो। यो विचारको जागरण स्थल हो। उज्यालो भविष्य निर्माण गर्ने आधारशिला हो।”अनि मनले मलाई नै प्रश्न गर्यो, “नेपालमा पनि एक दिन यस्तै वातावरण भएको पुस्तकालय निर्माण गर्न पाए कस्तो हुन्थ्यो होला?”

प्रज्ञा र चेतनाको त्यो धामबाट पाएको प्रेरणा
यो यात्राले मलाई गहिरो अनुभूति र जीवनपर्यन्त साथ रहने अमूल्य शिक्षा दियो। मैले बुझेँ कि पुस्तकालय किताबको भण्डार मात्र होइन, यो त समुदाय, संस्कृति र सभ्यताको जीवित संस्थान हो।त्यहाँ देखिएको खुला पहुँच, अत्याधुनिक प्रविधि, विविध सांस्कृतिक गतिविधि, आत्मीय सेवा–भावना र आगन्तुकप्रति प्रकट गरिने सम्मान यी नै त हुन् पुस्तकालयलाई साँच्चिकै महान् बनाउने आधार स्तम्भ।

लाइब्रेरी अफ काँग्रेस र न्यूयोर्क पब्लिक लाइब्रेरीको अनुभवले मलाई नेपालका पुस्तकालयलाई नयाँ दृष्टिकोणबाट हेर्ने ऊर्जा र आत्मविश्वास पाएँ। हाम्रो देशसँग पनि सामुदायिक जीवन र इतिहासको अमिट धरोहर छ-अब संरचना, पहुँच र प्रविधिमा मात्र नवीनता भर्न बाँकी छ।

म विश्वस्त छु यदि हामीले पुस्तकालयलाई ‘पढ्ने ठाउँ’को सिमानाभन्दा बाहिर निकालेर शिक्षा, सशक्तिकरण र सामाजिक रूपान्तरणको केन्द्र बनाउन सक्यौँ भने, नेपालका सामुदायिक पुस्तकालय पनि एक दिन विश्वका लागि अनुकरणीय उदाहरण बन्नेछन्।

पुस्तकालयले दिलाएको त्यो गरिमामय मञ्च
पुस्तकालयसँगको मेरो सम्बन्ध नयाँ होइन, तर अनपेक्षित अवश्य हो । न म पुस्तकालय विज्ञानको विद्यार्थी, न त यस क्षेत्रमा दशकौँ अनुभव बटुलेको विज्ञ । मैले सिकेको यत्ति होकि यदि दृढ इच्छाशक्ति र अटूट मेहनत छ भने अनुभवको कमी कहिल्यै बाधा बन्ने रहेनछ । अमेरिका यात्रा सुरु गर्दा मेरो मनमा एउटा स्पष्ट उद्देश्य थियो, विश्वविख्यात पुस्तकालयको नजिक पुग्ने, महसुस गर्ने, र यस यात्रामा जीवन अर्पण गरेका व्यक्तिसँग आत्मीय संवाद गर्ने । यही क्रममा अमेरिकन लाइब्रेरी एसोसिएसनका साथीसँग भेटघाट निश्चित थियो । त्यसै क्रममा IFLA (International Federation of Library Associations)सँग सम्बन्धित अन्तर्राष्ट्रिय पुस्तकालय अभियन्ता लोइडियासँग भेट भयो ।

पहिलो भेटमै मैले उनलाई सोधें-“तपाईं किन यो क्षेत्रमा लाग्नुभयो?”उनको उत्तर सुन्दा म स्तब्ध भएँ । किनकि त्यो कथा मेरो आफ्नै जीवनसँग उस्तै मिल्थ्यो । उनी पनि आफ्नी आमाको सपना पूरा गर्न यो बाटोमा लागेकी रहिछिन्, म भने बाको सपना पूरा गर्न । त्यही क्षण, हाम्रो भेट पेसागत सिमाना नाघेर भावनात्मक सम्बन्धमा रूपान्तरित भयो । नेपालका सामुदायिक र सार्वजनिक पुस्तकालयबारे गहिरो चासो राखेकी लोइडियाले विस्तृत जानकारी सुनेपछि मलाई प्रस्ताव गरिन्- संयुक्त राष्ट्रसंघको ७९औँ महासभाको क्रममा अमेरिकन लाइब्रेरी एसोसिएसनले आयोजना गरेको “Libraries Powering the United Nations Global Digital Compact” प्यानल डिस्कसनमा अतिथि वक्ता बन्ने ।

२१ सेप्टेम्बर २०२४-मेरा लागि स्मरणीय, ऐतिहासिक र जीवनमा विशेष अध्याय थपिएको दिन । त्यो अन्तर्राष्ट्रिय मञ्चमा आयरल्यान्डका स्थायी नियोगका प्रतिनिधि कार्ल रेडमण्डसँगै म पनि अतिथि वक्ता थिएँ। छलफलमा विश्वका पुस्तकालयहरूले डिजिटल युगमा कसरी प्रभावकारी योगदान दिन सक्छन् भन्ने विषयमा विज्ञहरूको गहिरो विचार–विमर्श भयो ।

सम्बोधनका क्रममा मैले नेपालको पुस्तकालय यात्रा-इतिहासदेखि वर्तमानसम्मको कथा सुनाएँ । डिजिटल पुस्तकालयको आवश्यकता, सबैलाई-विशेषतः भिन्न क्षमता भएका व्यक्तिलाई समेत-समान अवसर दिनुपर्ने अपरिहार्यता र भविष्यका चुनौतीबारे धारणा राखेँ । मैले भनें-“नेपालमा यो सुरुवात भइसकेको छ, तर यात्रा अझै लामो छ ।” मलाई सुनिरहेका अनुहारहरूमा गहिरो चासो झल्किरहेको थियो । कार्यक्रमपछि धेरैले नेपालको सामुदायिक पुस्तकालयबारे थप जानकारी मागे ।

त्यो मञ्चमा उभिँदै गर्दा, सात समुद्रपारको विशाल हलभित्र मेरो मन भने आफ्नै गाउँ फर्किएको थियो। सहभागिको भाव पढ्दै गरेका मेरा आँखामा अचानक बादल लागे झैँ भयो ।मनभित्र बाल्यकालका यादहरू नाच्न थाले। मैले बा सम्झेँ-जसको अनुशासन, प्रेम र आशीर्वाद मेरो जीवनको मेरुदण्ड बनेको छ। टोनी सम्झेँ-जसको साथ, विश्वास र प्रेरणाले मलाई यहाँसम्म ल्यायो। मातृभूमि सम्झेँ-जसको माटोको सुगन्ध मेरो श्वासभित्र आज पनि बाँचिरहेको छ ।

केही क्षण म अवाक् उभिरहेँ । त्यो खुशीको समाचार सुनाउन न बा थिए, न त टोनी। न्यूयोर्कको त्यो व्यस्त सडकमा आफ्ना गन्तव्यमा दौडिरहेका मानिसमाझ मेरो सफलताको खुसी साट्ने मेरा अविभावक थिएनन् । मेरो मनले पुकारी रह्यो-“बा, तपाईंको राजु आज यहाँसम्म आइपुगेको छ। तपाईंको मार्गदर्शन र भरोसाले मलाई यहाँ उभ्याएको छ बा।”

“प्रिय टोनी, मातृभूमिमा तिमीले रोपेको सानो बीउ आज राष्ट्रिय अभियानको वृक्ष बनेर फक्रिएको खबर लिएर, श्रद्धा अर्पण गर्न तिम्रा पदचिन्ह पछ्याउँदै म तिम्रै आँगनमा आइपुगेको छु।”
अन्ततः, म आफैँ सम्हालिएँ र आफैँलाई सम्झाएँ “यो अनुभव केवल पेसागत सफलता होइन, यो सपना, स्मृति र कृतज्ञताको संगम हो जुन मेरो हृदयमा अनन्तकालसम्म प्रतिध्वनित भैरहनेछ ।”

  • लेखक नेपाल सामुदायिक पुस्तकालय संघका महासचिव हुन्

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ११ : ४८ बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ