पुस्तकालय भविष्य निर्माणको एक आयाम हो । एक दर्विलो आधार हो । भविष्यपरक पुस्तकालय निर्माणका लागि पुस्तकालयलाई विविध दृष्टिकोणबाट हेर्न आवश्यक छ । यसै प्रसंगमा ब्रुनो लाटरको अभिनेता-सञ्जाल सिद्धान्त अर्थात एक्टर-नेटवर्क थ्यौरी (एएनटी) लाई पुस्तकालयको सन्दर्भमा जोड्ने प्रयत्न यो लेखमा गरिएको छ ।
एएनटी एक सामाजशास्त्रीय रुपरेखा हो । सामाजिक दृष्टिकोण हो । जसले समाज, विज्ञान र प्रविधिलाई फरक ढंगले बुझ्दछ । मानव र गैरमानव अभिनेताहरुको सञ्जालद्वारा सामाजिक व्यवस्था कसरी सिर्जना हुन्छ भनेर विश्लेषण गर्दछ ।
परम्परागत सामजशास्त्रले समाज मानिसहरुको अन्तर्क्रिया/सञ्जाल अथवा सामाजिक संरचनाबाट मात्र निर्मित हुन्छ भन्ने मान्यता राख्दछ भने लाटरको एएनटीले मानव अभिनेता (ह्युमन एक्टर) र गैर मानव अभिनेता (नन् ह्युमन एक्टर) दुवैलाई समाजका सक्रीय अभिनेताको मान्यता दिन्छ । यसले मानिस, वस्तु, प्रविधि, घटना तथा घटनालाई प्रभाव पार्ने सम्पूर्ण तत्वहरुलाई समाजको अभिनेता (एक्टर) को रुपमा हेर्छ ।
एएनटीले विश्व/ज्ञान/सूचनालाई एक पृथक सामाजिक संस्थाको संग्रह नभई त्यस्ता संस्थाहरुको गतिशील सञ्जाल हो भनी परिभाषित गर्छ । यसले सञ्जालको अवधारणा (कन्सेप्ट) मार्फत वस्तु, मानव र विषय एक आपसमा जोडिएको गतिशील (डायनामिक) सञ्जालका रुपमा व्याख्या गर्छ जसमा शक्ति, प्रविधि, ज्ञान वा सामाजिक संरचना स्थिर अथवा पुर्व निर्धारित वस्तु नभई सम्बन्ध र अन्तर्क्रियाहरुको निरन्तर प्राप्त हुने परिणाम हो । यसले विश्व बजारमा निर्मित/उत्पादन हुने हरेक प्रक्रियालाई व्यक्ति, वैज्ञानिक वा प्राविधिक आदिको व्यक्तिगत प्रयास मात्र नभई व्यक्ति, वस्तु, उपकरण, प्रविधि, भाषा, बजेट, शक्ति, राजनीति आदिको अन्तर्क्रियाबाट बनेको सञ्जालको उपलब्धि वा परिणाम मान्दछ ।
पुस्तकालय पनि एक सामाजिक सञ्जाल हो जहाँ पुस्तक, पत्रपत्रिका, जर्नल, फोटोग्राफ, कम्प्युटर, प्रविधि, संस्था, प्रयोगशाला, नीति, नियम, विचार, भावना आदिले पनि मानिस सरह सेवामा प्रभाव पार्ने, निर्णय परिवर्तन गर्ने तथा ज्ञान/सूचना निर्माण वा सिर्जना गर्ने क्षमता राख्दछन् ।
पुस्तकालयको सन्दर्भमा एएनटीलाई कसरी विश्लेषण गर्न सकिन्छ भन्ने विषयको सेरोफेरोमा यो लेखले फन्को मारेको छ ।

पुस्तकालय र एएनटी
हरेक क्षेत्र विषय तथा सिद्धान्तहरुले एउटा लामो इतिहास बोकेको हुन्छ । विकासक्रमको लामो/अग्लो सिंडी छिचोलेर समय अनुकुल आफूलाई परिवर्तन र टिकाउँदै (सस्टेन्ड) आएका हुन्छन् । पुस्तकालयको पनि आफ्नो छुट्टै विकासक्रम वा इतिहास रहेको छ ।
परम्परागत रुपमा पुस्तकालय सूचना संकलन गर्ने सामजिक संस्थाका रुपमा चिनिन्थ्यो भने समयक्रमसँगै प्रयोगकर्ताहरुको मागका आधारमा सूचनामा पहुँच सुनिश्चित गर्ने, व्यक्तिगत रुपमा सूचना प्रदान गर्ने आदि भूमिका थपिँदै गए । यस प्रसंगमा पुस्तक/सूचना, पुस्तकालय प्रयोगकर्ता र पुस्तकालयकर्मीबीचको सम्बन्धलाई एकपक्षीय रुपमा हेरिन्छ (जहाँ पुस्तक/सूचना साधन, प्रयोगकर्ता जानकार र पुस्तकालयकर्मी मध्यस्थकर्ताको रुपमा रहेको हुन्छ ।)
तर, ब्रुनो लाटरको एएनटीको दृष्टिकोणबाट पुस्तकालयलाई हेर्दा पुस्तकालयको दृष्य पूर्णतः बदलिएको देखिन्छ । एएनटीले समाज, व्यक्ति, विषयवस्तु तथा प्रविधिको सीमाना हटाएर (मेटाएर) अभिनेता (एक्टर) भन्ने शब्द मानव तथा गैरमानव दुवैमा प्रयोग गर्दछ ।
यस सन्दर्भलाई पुस्तक/सूचना, बर्गीकरण प्रणाली, सूचीकरण (क्याटलगिङ्ग), अनलाइन पब्लिक एक्सेस क्याटलग (ओपिएसी), डाटा, सूचनाबोर्ड, पुस्तक लेनदेन प्रणाली, आर.एफ.आइ.डी. का लागि आवश्यक उपकरण, स्क्यानर, प्रिन्टर आदि सबै गैरमानव अभिनेता हुन् । जसले ज्ञान/सूचनाको प्रयोग, वितरण तथा सिर्जना र पूनः निर्माणमा प्रत्यक्ष प्रभाव पार्दछन् ।
एएनटीले भन्छ—मानिस (पुस्तकालयकर्मी,पुस्तककालय प्रयोगकर्ता, अनुसन्धानकर्ता) मात्र नभई त्यहाँ रहेका हरेक वस्तु वा प्रणालीले पनि अभिनेताको भूमिका राख्दछन् र यस्ता अभिनेताहरु आवश्यकता अनुसार विना भाषा, विना आवाज बोल्दछन् ।
पुस्तकालय सञ्जालहरुको जीवित संरचना
एएनटी भन्छ, हरेक सामाजिक घटना वा परिघटनाहरु अनेकौं मानव तथा गैरमानव/ अमानव अभिनेताहरुको अन्तर्क्रियाबाट निर्मित वा सिर्जित सञ्जाल हो । पुस्तकालयभित्रको एउटा सानो कार्य पुस्तक वा सूचना खोज्ने (सर्च) कार्यलाई उदाहरणका रुपमा लिँदा त्यहाँ पुस्तकालय प्रयोगकर्ता, अनलाइन पब्लिक एक्सेस क्याटलग (ओपिएसी) वा मानवीय पुस्तक सूची, बारकोड, पुस्तकालयकर्मी, पुस्तक वा सूचनाको अवस्था, सेल्भिङ्ग सिस्टम, स्पाइन लेभल आदि सम्पूर्ण विषय, वस्तु तथा व्यक्तिहरुको समग्रता एक सञ्जाल हो । जहाँ कम्प्युटर, बारकोड, स्क्यानर आदि अमानवीय अभिनेता मार्फत विषयवस्तुहरुको मानवीय अभिनेताको प्रयोगबाट डाटावेश तयार गरिएको हुन्छ । यदि छैन भने प्रयोगकर्ताको माग अनुसारको सूचना उपलब्ध गराउन नसकि प्रयोगकर्ताहरुलाई अल्मल्याउन सक्छ ।
तसर्थ यहाँ अनलाइन पब्लिक एक्सेस क्याटलग (ओपिएसी) एक अभिनेता हो जसको आवाज (बोली) र यसको सक्रियता र निश्क्रियता दुवैले प्रयोगकर्ताको अनुकुलता वा प्रतिकुलताको निर्धारण गर्दछ ।
जब पुस्तक/सूचना बोल्न थाल्छ
ब्रुनो लाटरको एएनटीले पुस्तक/सूचना स्वयमंलाई पनि एउटा अभिनेता मान्दछ । सूचनाभित्र श्वासविना नै जीवन्तता रहेको हुन्छ । जसले सन्दर्भ, आकार, भाषा, स्थिति, अवधारणा अनुसार आफ्ना प्रयोगकर्ताहरुमा प्रभाव पार्ने, सोच तथा दृष्टिकोण बदल्ने, निर्णय निर्माणमा सक्रिय भूमिका खेल्न सक्ने जस्ता जीवन्त तत्वहरु बोकेको हुन्छ ।

लाटर भन्छन् “ अब्जेक्ट टु ह्याभ एजेन्सी, दे एक्ट एण्ड रिएक्ट”। लाटरको सिद्धान्तलाई सापट लिँदा सूचनालाई निश्क्रिय मान्नु अपुरो दृष्टिकोण/अवधारणा हो ।
प्राचीन समयमा संग्रहित गरिएका विभिन्न ऐतिहासिक लिपि प्रयोग गरी लिपिबद्ध गरिएका अभिलेख, शीलालेख, ताम्रपत्र, भोजपत्र, हस्तलिखित ग्रन्थ, पुस्तक आदिले पनि त्यस समयको समाज, सामाजिक स्वरुप, ज्ञानको स्वरुप, सामाजिक मूल्य मान्यता आदिका बारेमा बोलिरहेको हुन्छ भने वर्तमानमा प्रविधिसँगै विकसित भएका डिजिटल सामग्री (कन्टेन्ट) हरु जस्तै-अनलाइन पुस्तक, पत्रपत्रिका, नक्शा, अडियो/भिडियो कन्टेन्ट आदिले पनि विभिन्न प्राविधिक वस्तुहरुको सहयोगद्वारा समाजमा भएका परिवर्तन, विकास, सामाजिक भावना, परिवर्तित मूल्य मान्यता, व्यक्ति तथा समूहका दृष्टिकोणहरुका विषयमा बोलिरहेका हुन्छन् ।
पुस्तकालयमा नयाँ अभिनेताहरुको उदय
प्रविधिको विकाससँगै पुस्तकालयमा पनि नयाँ नयाँ अभिनेताहरुको रुपमा डिजिटल अभिनेता (एक्टर) उदय हुँदै गइरहेको छ । पुस्तकालयलाई अनलाइन प्लेटफर्ममा उतार्नका लागि क्लाउड स्टोरेज, डाटा सर्भर, इरिडर, क्युआर कोड, डाटावेश, इरिसोर्ससँग सम्बन्धित लाइसेन्स सम्झौता आदि जस्ता नयाँ अभिनेताहरुले पुस्तकालयमा हुने कार्य तथा गतिविधिहरुलाई नवनिर्माण वा परिमार्जित गर्दै गइरहेका छन् ।
पुस्तकालयका प्रयोगकर्ता, अनुसन्धानकर्ताहरुले विभिन्न डाटावेशहरुमा सूचना सामाग्रीहरु खोज्दा त्यहाँ प्रयोग भएका अल्गोरिदम, प्रयोगकर्ताको पहुँच अनुमति, सदस्यताका प्रकार, प्रयोगकर्ता प्रोफाइलिङ्ग आदिले एक प्रकारको सञ्जाल निर्माण गरेका हुन्छन् ।
यस सन्दर्भमा लाटरको भनाइ छ, समाजमा मानव र प्रविधिबीचको सम्बन्ध स्थीर नभइ सधैं गतिशील हुन्छ । त्यसैले पुस्तकालय भित्र पनि मानिस (पुस्तकालयकर्मी, प्रयोगकर्ता), प्रविधि, स्थान आदि सबैको संयुक्त सञ्जालमा आफ्नो सूचना सम्प्रेषण, सूचना निर्माण, पुनः निर्माण तथा सूचनासम्म पहुँचको सुनिश्चितता निरन्तर रुपमा गरिरहेको हुन्छ ।
पुस्तकालयकर्मी : सञ्जालको कुशल समन्वयकर्ता
सामान्य अर्थमा पुस्तकालयकर्मीलाई पुस्तकालयका प्रयोगकर्ताहरु माझ सूचना प्रवाह गर्ने र त्यस सेवासम्बन्धी जोडिएका कार्यहरु- सूचनाको बर्गीकरण, सूचीकरण, अनलाइन पब्लिक एक्स्स क्याटलग (ओपिएसी) आदि निर्माण गर्ने व्यक्तिको रुपमा चिनिन्छ । यस प्रसंगलाई एएनटीको आँखाबाट हेर्दा पुस्तकालयकर्मी प्रयोगकर्ताहरुको सूचनाहरुसँगको सम्बन्ध बुझेर सञ्जाल बनाउने (नेटवर्क ब्युल्डर) हुन् ।
उक्त सिद्धान्तको दृष्टिकोणमा पुस्तकालयकर्मी अदृश्य तर शक्तिशाली सञ्जाल निर्माणकर्ता हुन्, जसले प्रविधि व्यवस्थापन, सूचना साक्षरता, पाठक मार्गदर्शन, पुस्तकालय नीति निर्माण, संगठन व्यवस्थापन जस्ता विविध पक्षमा सञ्जाल निर्माण गर्दै स्रोत, संरचना र प्रयोगकर्तालाई एउटै सञ्जालमा जोडेर सूचना सम्प्रेषणलाई सहज, गतिशील र प्रभावकारी बनाउँछन् ।
अन्त्यमा,
ब्रुनो लाटरको अभिनेता सञ्जाल सिद्धान्त भविष्यपरक पुस्तकालयलाई बुझ्न सक्ने एक नयाँ दृष्टिकोण हो । यसले पुस्तकालयलाई सजीव सञ्जालको रुपमा हेर्न सिकाउँछ जसमा सूचना, प्रविधि, विषय, वस्तु, मानिस सबै एकअर्काबीचमा कृयाशील रहन्छन् । यिनीहरु पुस्तकालयको अवस्था, कार्य, प्रभावकारिता, तथा भविष्य तय गर्न सहयोगी हुन्छन् ।
यस दृष्टिकोणले पुस्तकालयलाई सामाजिक विज्ञान, प्रविधिको अध्ययन तथा व्यवहारशास्त्रसँग पनि जोड्छ । पुस्तकालयको भित्री संरचना र सेवा प्रवाह (सूचनाको खोज, पहुँच, व्यवस्थापन, पुनः निर्माण) एक पक्षीय कार्य नभई अनेकौं अभिनेताहरुको अन्तर्क्रियाबाट निर्मित जटिल सञ्जालको उपलब्धी हो भन्ने कुरालाई नकार्न सकिन्न ।
सूचना आफैंमा बोल्न सक्ने, प्रयोगकर्तालाई प्रभाव पार्ने, ज्ञान सिर्जना गर्न सक्ने क्षमता रहेको हुन्छ । प्रविधिको निरन्तर विकासले नयाँ नयाँ अभिनेताहरुलाई पुस्तकालयमा प्रवेश गराइ सेवा प्रवाहलाई परिवर्तनशील गराउँदै भविष्यका लागि उपयोगी बनाउँदै लगेको छ ।
तसर्थ, पुस्तकालयलाई एएनटीको चश्मा लगाएर हेर्दा यो बहुआयामिक दृष्टिकोणले भविष्यका पुस्तकालयका अभ्यास, अनुसन्धान तथा सेवा प्रवाहमा नयाँ सम्भावना खोलेको छ । जहाँ सूचना बोल्छ, क्याटलग बोल्छ, बर्गीकरण गरिएका संकेत बोल्छन्, प्रयोगकर्ताहरु प्रतिक्रिया दिन्छन्, प्रविधिक वस्तु तथा विषयहरु बोल्छन् र सबै मिलेर ज्ञानको बहुआयामिक कथा सुनाउँछन् ।
यहाँ प्रश्न उठ्न सक्छ—के हामी सुन्न तयार छौं ?
(भट्टराई त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा कार्यरत पुस्तकालय अधिकृत हुन्)
प्रतिक्रिया