खालिदा जियालाई राजकीय बिदाइ « Khabarhub

खालिदा जियालाई राजकीय बिदाइ


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ अन्तिम बिदाइ दिएको छ । 

राजधानी ढाकामा आयोजित अन्त्येष्टिमा विशाल भीड उपस्थित रहँदा देशले दशकौँसम्म आफ्नो राजनीतिलाई आकार दिएकी एक प्रभावशाली नेतृप्रति गहिरो शोक प्रकट गर्‍यो ।

प्रधानमन्त्रीका रूपमा सेवा गर्ने बङ्गलादेशकी पहिलो महिला रहेकी खालिदा जियाको मङ्गलबार ८० वर्षको उमेरमा निधन भएको हो । सत्र करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली मुलुकमा उनको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा गहिरो शून्यता सिर्जना गरेको छ ।

अन्त्येष्टिका क्रममा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो । हजारौँ सुरक्षाकर्मीको उपस्थितिमा उनको पार्थिव शरीर राष्ट्रिय झण्डाले ढाकिएको गाडीमा राजधानीका मुख्य सडक हुँदै लगिएको थियो । सडकछेउ उभिएका सर्वसाधारणले मौन श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

सेवानिवृत्त सरकारी कर्मचारी मिन्हाज उद्दीनले आफूले कहिल्यै उनलाई मत नदिए पनि तीन पटक प्रधानमन्त्री बनेकी नेतृप्रति सम्मान प्रकट गर्न आएको बताए । 

‘म मेरो नातिसँग यहाँ आएको हुँ, एक अनुभवी राजनीतिज्ञलाई अन्तिम बिदाइ दिन, जसको योगदान सधैँ सम्झिरहनेछ’, उनले भने ।

शोकमग्न शर्मिना सिराजले बेगम जियालाई महिला नेतृत्वको प्रेरणाका रूपमा स्मरण गरिन् । दुई सन्तानकी आमाले बालिकाहरूको शिक्षाका लागि सुरु गरिएको स्टाइपेन्ड कार्यक्रमले ‘हाम्रा छोरीहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको’ बताए ।

लामो समयदेखि खराब स्वास्थ्य र कारावासको पीडाका बाबजुद बेगम जियाले फेब्रुअरी १२ मा तय भएको निर्वाचनमा पार्टीको समर्थनमा सक्रिय रहने प्रतिबद्धता जनाएका थिए । उक्त निर्वाचन गत वर्ष भएको जनआन्दोलनपछि शेख हसिनाको सत्ता पतनपछिको पहिलो मतदान हो ।

उनको नेतृत्वमा रहेको बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) लाई निर्वाचनमा अग्रस्थानमा देखिएको छ । सत्र वर्षको निर्वासनपछि हालै स्वदेश फर्किका उनका सुपुत्र तारिक रहमानलाई पार्टीले बहुमत पाए सम्भावित प्रधानमन्त्रीका रूपमा हेरिएको छ ।

‘उहाँ अब हामीबीच हुनुहुन्न, तर उहाँको विरासत जीवित छ र बिएनपी पनि जीवित छ’, अन्त्येष्टि हेर्न परिवारसहित टाढाबाट आएकी जेनी परवेजले भनिन् ।

नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गर्दै विस्तृत राजकीय अन्त्येष्टि आयोजना गरेको हो । संसद् भवन बाहिर ठूलो भीड जम्मा भएको थियो, जहाँ निर्धारित समयमै अन्त्येष्टि प्रार्थना सम्पन्न गरियो । युनुसले बङ्गलादेशले ‘एक महान् संरक्षक गुमाएको’ प्रतिक्रिया दिए  ।

बेगम खालिदा जियाको पार्थिव शरीर उनका दिवङ्गत पति, पूर्व राष्ट्रपति जियाउर रहमानसँगै दफन गरिनेछ । रहमानको सन् १९८१ मा हत्या भएको थियो ।

तारिक रहमानले विज्ञप्ति जारी गर्दै देशले ‘आफ्ना लोकतान्त्रिक आकांक्षालाई दिशा दिने मार्गदर्शक व्यक्तित्व गुमाएको’ बताए  । उनले आमाले पटक–पटक गिरफ्तारी, उपचारमा अवरोध र निरन्तर दबाब सहनुपरे पनि ‘उहाँको साहस र दृढता कहिल्यै नटुटेको’ उल्लेख गरे ।

धेरै स्वास्थ्य समस्याबाट ग्रसित बेगम जियालाई नोभेम्बर अन्त्यतिर अस्पताल भर्ना गरिएको थियो । उपचारका बाबजुद अवस्था सुधार हुन नसक्दा उनको निधन भएको हो । यद्यपि, निधन हुनुभन्दा केही घण्टाअघि मात्र पार्टी कार्यकर्ताले उनको तर्फबाट आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै बेगम जियाको ‘दूरदृष्टि र विरासतले दुई देशबीचको सम्बन्धलाई मार्गदर्शन गरिरहने’ आशा व्यक्त गरे  । 

भारतका विदेशमन्त्री डा. एस. जयशङ्कर अन्त्येष्टिमा सहभागी भएका छन्, जुन शेख हसिनाको पतनपछि भएको भारतको सबैभन्दा उच्चस्तरीय भ्रमण हो । पाकिस्तानका वरिष्ठ अधिकारीहरू पनि कार्यक्रममा सहभागी भएका छन् ।

हाल भारतमा आश्रित रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनले पनि सामाजिक सञ्जालमार्फत बेगम खालिदा जियाको आत्माको चिरशान्तिका लागि प्रार्थना गरेकी छन् । रासस
 

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १२ : २२ बजे

पर्यटन बोर्डले मनायो २७औँ स्थापना दिवस, नेपाल-आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाडौं– नेपाल पर्यटन बोर्डले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान

गाजाको मानवीय अवस्थाप्रति विश्वव्यापी चिन्ता

एजेन्सी– क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, आइसल्याण्ड, जापान, नर्वे, स्वीडेन, स्विट्जरल्याण्ड

‘अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक’ 

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित

माली र बुर्किना फासोद्वारा अमेरिकी नागरिकमाथि प्रतिबन्ध

एजेन्सी – माली र बुर्किना फासोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

पुसभित्र विशेष महाधिवेशन गर्ने बाटोमा अगाडि बढ्याैँ : कांग्रेस महामन्त्री थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम जनताको परिवर्तनको आकाङ्क्षा