घरैपिच्छे तरकारी उत्पादन, बढ्दै मिर्गेको पहिचान « Khabarhub

घरैपिच्छे तरकारी उत्पादन, बढ्दै मिर्गेको पहिचान


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

दोलखा– भौगोलिक र दूरीका हिसाबले सदरमुकाम चरिकोटदेखि करिब २५–३० किलोमिटर पूर्वतर्फ पर्ने वैतेश्वर गाउँपालिका–३ को मिर्गे कृषिमा आत्मनिर्भर गाउँ हो ।

खेतीपाती र उत्पादनको हिसाबले जिल्लाकै एक सम्भावना बोकेको गाउँको रूपमा परिचित मिर्गेका स्थानीयहरूले कृषि कर्मलाई आय–आर्जनको मुख्य स्रोतको रूपमा विस्तार गर्दै लगेका छन् ।

यहाँका सयौँ स्थानीयले ’एक घर– एक करेसा बारी’ विस्तार गर्दै कृषि उत्पादनमा जोड दिँदै आएका छन् । पछिल्ला वर्षहरूमा कृषि खेतीपातीमार्फत स्थानीयले लाखौँ आम्दानी लिँदै आएका छन् ।

करिब ४ हजार कुल सङ्ख्या रहेको मिर्गेमा ७० प्रतिशत समुदाय कृषिमा आत्मनिर्भर छन् ।

यहाँको जैँनालु, दोभान,  लहरेमाने, फलेघर–डाँडा टोल, कुलाफाँट, खानिगाउँ, पाइले, मजुवा यार्सा, पात्ले ठाडे, चिलाउनेखडग लगायतका गाउँका स्थानीयहरूको दैनिक खेतीपाती तथा कृषिमा बित्ने गरेको छ । 

मुख्यगरि यहाँको जैनालु र मिर्गे लहरेमाने आसपासका गाउँबस्तीबाट करोडौंको मौसमी तथा बेमौसमी तरकारी,फलफूल तथा खाद्यान्न र अलैँची तथा कुचो बिक्री हुँदै आएको छ ।

मिर्गेको फलेघर, डाँडाटोलमा पछिल्ला वर्षहरूमा घर–घरमा सिँचाइ पुगेसँगै कृषि खेती र उत्पादनमा वृद्धि आएको स्थानीय धन बहादुर तामाङले बताए ।

तामाङले घरसँगै जोडिएको करेसा बारीभरी थरीथरीको तरकारी लगाएका छन् । एउटै बारीमा उनले मिश्रित तरकारी खेती गरेका छन् । उनको बारीमा लसुन, हरियो सागपात, आलु, तोरी, खुर्सानी, प्याज, गहुँ तथा सुन्तला र किवी लगाएका छन् ।

तरकारी तथा फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै आएका ७० वर्षीय तामाङ २०६२ साल देखि पुरानो ट्रेकिङ पेशा छोडेर कृषि कर्ममा रमाइरहेका छन् ।

त्यसैगरी सोही गाउँका अर्का स्थानीय प्रेम कुमार पाख्रिनले पनि बुढेसकालको पेशा कृषि बनाएका छन् । लामो समय जागिरे जीवन बिताएका उनले बुढेसकाल लागेसँगै तरकारी र फलफूल खेती गर्दै करेसाबारीलाई हराभरा बनाएका छन् ।

त्यसैगरी मिर्गेकै अगुवा कृषक दिनेश तामाङले पनि अलैँची, किवी तथा तरकारी खेतीबाट लाखौँ आम्दानी गर्दै आएका छन् ।

अलैँचीको खेती विस्तार र उत्पादनको हिसाबले प्रमुख थलो मानिने मिर्गे जैनालु, दोभान, कुलफाट्बाट वार्षिक दुई करोड बराबरको अलैँची निर्यात हुँदै आएको स्थानीय प्रेम कुमार तामाङले बताए । 

त्यसैगरी मिर्गेबाट अलैँची, कुचोमात्रै नभएर लसुन, फर्सी, खुर्सानी, आलु, किवी तथा अन्य तरकारीबाट पनि यहाँका स्थानीयले लाखौँ आम्दानी गर्दै आएका छन् ।

मिर्गेको उत्पादन काठमाडौं निर्यात

मिर्गे चोकमा व्यापार व्यवसाय गर्दै आएकी शान्ति तामाङले मिर्गेका गाउँ टोलबाट उत्पादन हुने हरेक कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउने गरेकी छिन् ।

गाउँघरमा उत्पादन भएको कृषि उत्पादनलाई दैनिक संकलन गर्दै किसानलाई उचित मूल्य दिएर उनीहरूको उत्पादनलाई काठमाडौं निर्यात गर्दै आएको बताइन् ।

उनले लहरेमाने चोकमा आफ्नै पसलमा सामान स्टोर गर्दै दैनिक काठमाडौं–मिर्गे क्युको रूपमा चल्ने बसमा सामान राखेर बिक्रीको लागि काठमाडौं पठाउने गरेको बताइन् । 

गाउँका किसानले उत्पादन गरेको सागसब्जी, तरकारी फलफूलले सहज रूपमा उत्पादन मूल्य पाउन सकुन् भन्ने उद्देश्यले आफूले उनीहरूको उत्पादनलाई साँझ–बिहान बस छुट्नु अघि पसलमा ल्याउन लगाउने र भोलिपल्ट बसमा उक्त कृषि उत्पादनलाई काठमाडौं निर्यात गर्ने गरेको उनले बताइन् ।

तामाङले कृषकले उत्पादन गरेको तरकारीहरूमा खुर्सानी, लसुन, फर्सी, सागसब्जी, मुला, आलु, स्कुस,प्याज गोल्भेडा, सुन्तला, केरा, किवी र अम्रिसोको कुचो संकलन गर्दै काठमाडौं पठाउने गरेको सुनाइन् ।

कृषकलाई कृषि तालिमसँगै प्राविधिक ज्ञानको अभाव

मिर्गेका स्थानीय कृषकहरूले खेतीपातीमा प्राविधिक सल्लाह र कृषि तालिमको अभाव भएको बताएका छन् । उनीहरूले फलफूल तथा तरकारी खेती गर्दा प्राविधिक ज्ञानको कमीले कतिपय समय र सिजनमा लगाइएको तरकारी तथा फलफूल खेतीबाट ठुलो क्षतिसँगै समस्या खेप्नुपरेको बताए । 

प्राविधिक परामर्श र तालिम अभावले पुरानै शैलीमा तरकारी तथा फलफूल खेती गर्नुपर्ने बाध्यता रहेको उनीहरूले गुनासो गरे ।

मिर्गेको सबै क्षेत्रको जमिन खेतीयोग्य भए पनि कुन क्षेत्रमा के फल्छ र कुन समयमा कसरी खेती लगाउने भन्ने प्राविधिक ज्ञानको कमी हुँदा सबैले एकै प्रकारको खेती गर्नाले उत्पादनको गुणस्तर र रोग किराको समस्या झेल्नुपरेको कृषकहरू बताउँछ। सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ३ : ५१ बजे

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र

दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा

अमेरिकी डलरको भाउ उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज : ४७ सांसदले रोजे मातृभाषा

काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज