काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना रनौत फेरि एक पटक विवादमा तानिएकी छन्। दिल्लीको जन्तर मन्तरमा नीट पेपर लिकविरुद्ध आन्दोलन गरिरहेका विद्यार्थी र जेन-जी पुस्ताबारे दिएको विवादास्पद अभिव्यक्तिले उनी विवादमा तानिएकी हुन् । केही प्रदर्शनकारीलाई ‘गटर जेनेरेसन’ भनेपछि उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म बहस चुलिएको छ ।
उनी यसअघि पनि यस्ता विवादमा तानिने अभिनेत्री हुन् । विगत केही वर्षमा उनले किसान आन्दोलन, राजनीति, सामाजिक मुद्दा र सार्वजनिक व्यक्तित्वबारे दिएका टिप्पणीहरूले पटक–पटक देशव्यापी बहस र आलोचना निम्त्याएका छन् ।
जेन-जीलाई किन भनिन् ‘गटर जेनेरेसन’?
कंगनाले इन्स्टाग्राम स्टोरी र सञ्चारमाध्यमसँग कुरा गर्दै आन्दोलनका क्रममा भाइरल भएका भिडियो र रिल्सप्रति असन्तुष्टि व्यक्त गरिन् । उनका अनुसार केही प्रदर्शनकारीले प्रयोग गरेको भाषा र व्यवहार भारतीय संस्कृति र सामाजिक मर्यादा अनुकूल थिएन। उनले भनिन्, “मैले आफ्नो जीवनमा यति अनौठो र यति नराम्रो दृश्य कहिल्यै देखेकी छैन । यिनीहरूलाई कसले जन्म दियो ? कसले हुर्कायो ? यो गटरको पुस्ता हो ।”
यति मात्र होइन, उनले केही युवतीहरूलाई पश्चिमी संस्कृतिको प्रभावमा परेको, सामाजिक सञ्जालमा रक्सी र नशालु पदार्थको प्रदर्शन गर्ने, परिवार र जिम्मेवारी सम्हाल्न नसक्ने भन्दै आलोचना गरिन्। भाइरल रील्स हेरेपछि आफूलाई ‘डिजिटल डिटक्स’ नै आवश्यक भएको समेत उनले बताइन्। कंगनाको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भयो। विपक्षी दलका नेताहरू, विद्यार्थी संगठन र धेरै प्रयोगकर्ताले उनको टिप्पणीलाई सम्पूर्ण युवा पुस्तामाथिको अपमान भन्दै विरोध गरे।
विवाद चर्किएपछि कंगनाले भिडियोमार्फत आफ्नो धारणा स्पष्ट पार्ने प्रयास गरिन्। उनले आफूले सम्पूर्ण जेन जी पुस्तालाई नभई आन्दोलनका क्रममा सार्वजनिक रूपमा अश्लील भाषा र व्यवहार प्रदर्शन गर्ने केही प्रदर्शनकारीको मात्र आलोचना गरेको दाबी गरिन्। उनले सार्वजनिक स्थानमा बालबालिका, महिला र ज्येष्ठ नागरिकको उपस्थितिमा अशोभनीय व्यवहार स्वीकार्य हुन नसक्ने भन्दै मर्यादा र अनुशासनको पक्षमा आफू उभिएको बताइन्।
साथै उनले स्काईरुट जस्ता भारतीय स्टार्टअपको प्रशंसा गरेको, नीट परीक्षार्थीहरूलाई शुभकामना दिएको र आफ्नै परिवारमा पनि जेन जी पुस्ताका सदस्य रहेको उल्लेख गर्दै मिडियाले आफ्नो भनाइको एउटा पक्ष मात्र देखाएको आरोप लगाइन्। कंगना रनौतका लागि यस्तो विवाद नयाँ होइन । किसान आन्दोलनका क्रममा उनले गरेको एउटा पोस्टले देशभर ठूलो विवाद सिर्जना गरेको थियो ।
उनले आन्दोलनमा सहभागी ८८ वर्षीया महिला किसान महिन्दर कौरलाई लिएर ‘१०० रुपैयाँमा उपलब्ध’ भन्ने टिप्पणी गरेकी थिइन् । उक्त अभिव्यक्तिको व्यापक आलोचना भएको थियो । त्यसपछि उनले किसान आन्दोलनलाई बङ्गलादेशको सत्ता परिवर्तनसँग तुलना गर्दै आन्दोलनका पछाडि विदेशी शक्तिको षड्यन्त्र रहेको दाबी गरिन्।
किसान आन्दोलनमा हिंसा र बलात्कारका घटना भएको भन्ने उनको भनाइले पनि ठूलो राजनीतिक विवाद निम्त्यायो । विवाद यति बढ्यो कि उनकै पार्टी बीजेपीले समेत उनको व्यक्तिगत अभिव्यक्तिसँग असहमति जनाउँदै भविष्यमा यस्ता टिप्पणी नगर्न चेतावनी दिएको थियो ।

‘आतंककारी’ टिप्पणी र थप्पड काण्ड
किसान आन्दोलनकै क्रममा कंगनाले प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीट रिट्वीट गर्दै आन्दोलनलाई उक्साउने व्यक्तिलाई ‘आतंककारी’ भनेकी थिइन्। धेरैले उनले किसानलाई नै आतंककारी भनेको आरोप लगाएपछि उनले आफूले किसान होइन, भ्रम फैलाउने व्यक्तिलाई मात्र लक्षित गरेको स्पष्टिकरण दिइन् ।
यही आन्दोलनसँग जोडिएको अर्को घटना सन् २०२४ मा भयो। लोकसभा चुनाव जितेपछि दिल्ली जाँदै गर्दा चण्डीगढ विमानस्थलमा सीआईएसएफकी महिला कन्स्टेबल कुलविन्दर कौरले कंगनालाई थप्पड हानेकी थिइन्। पछि कन्स्टेबलले आफ्नी आमा किसान आन्दोलनमा सहभागी रहेको र कंगनाले आन्दोलनकारी महिलामाथि गरेको टिप्पणीले आफू आक्रोशित भएको बताएकी थिइन्। घटनापछि उनलाई निलम्बन गरिएको थियो।
कंगनाका समर्थकहरू भने उनले सार्वजनिक मर्यादा र अनुशासनको पक्षमा आवाज उठाएको तर्क गरिरहेका छन्। तर आलोचकहरूका अनुसार केही व्यक्तिको व्यवहारलाई आधार बनाएर सम्पूर्ण युवा पुस्तालाई ‘गटर जेनेरेसन’ भन्नु अनुचित र गैरजिम्मेवार अभिव्यक्ति हो ।
यससँगै फेरि एकपटक प्रश्न उठेको छ, के कंगना रनौत आफ्ना स्पष्ट विचारका कारण विवादमा पर्छिन्, वा विवादित अभिव्यक्ति नै उनको राजनीतिक र सार्वजनिक पहिचान बन्दै गएको छ? यही प्रश्न अहिले भारतको राजनीतिक र सामाजिक बहसको केन्द्रमा छ।












प्रतिक्रिया