काठमाडौं- नेकपा नेता तथा पूर्वरक्षामन्त्री डा. भीम रावलले रसुवाको भोटेकोसी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट उत्पन्न समस्या समाधानका लागि प्रधानमन्त्रीसहित सर्वदलीय बैठक बस्नुपर्ने बताएका छन्।
रास्वपाका सभापति रवि लामिछानेले मंगलबार दिउँसो सर्वदलीय बैठक बोलाएको समाचार आएको भन्दै रावलले यस्तो संकटको सामना गर्न सर्वदलीय बैठक हुनु सकारात्मक भए पनि राज्यको नेतृत्व गर्ने प्रधानमन्त्रीको उपस्थिति अनिवार्य रहेको बताएका हुन्।
रावलले यसअघिको सर्वदलीय बैठकमा प्रधानमन्त्रीको उपस्थिति नरहेको उल्लेख गर्दै यसपटक पनि प्रधानमन्त्री अनुपस्थित रहने हो भने बैठकको औचित्य नरहने टिप्पणी गरेका छन्।
उनले प्रधानमन्त्री अनुपस्थित बैठकबाट सर्वदलीय संयन्त्र गठन गर्ने विषयसमेत औचित्यहीन हुने बताएका छन्।
‘साँच्चै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको सरकारले यो विपद्लाई सामना गर्न राष्ट्रिय एकताका साथ अगाडि बढ्न चाहेको हो भने सर्वदलीय बैठकमा प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र भौतिक योजनामन्त्री समेत उपस्थित हुनुपर्छ,’ रावलले भनेका छन्।
बैठकमा सहभागी हुन जाने राजनीतिक दलका नेताहरूले पनि सरकारका प्रमुख जिम्मेवार पदाधिकारीको उपस्थितिको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ।
रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको छ।
बाढीपछि उद्धार, राहत, पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका चुनौतीबीच राजनीतिक दलहरूबीच समन्वय र राष्ट्रिय सहकार्य आवश्यक रहेको रावलले जोड दिएका छन्।












प्रतिक्रिया