काठमाडौं– यही भदौ १० गते बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले बगाएर ज्यान गुमाएका विदेशी नागरिकको शव परिवारलाई हस्तान्तरण गर्न सरकारले प्रक्रिया तय गरेको छ।
काठमाडौंस्थित भारतीय दूतावासले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै विदेशी नागरिकको शव हस्तान्तरणसम्बन्धी नेपाल सरकारले निर्धारण गरेको प्रक्रियाबारे जानकारी गराएको हो। सरकारले शव हस्तान्तरणअघि नौवटा चरण पूरा गर्नुपर्ने व्यवस्था गरेको छ।
जसअनुसार शवसम्बन्धी कागजात तयार गर्ने, फोटो तथा अन्य विवरण अभिलेख गर्ने, पोस्टमार्टम गर्ने, मृत्युको कारण पुष्टि गर्ने, औपचारिक पहिचान स्थापित गर्ने, फिङ्गरप्रिन्ट, डीएनए वा अन्य फरेन्सिक नमुना संकलन गर्ने, पासपोर्ट वा परिचयपत्र प्रमाणीकरण गर्ने, सम्बन्धित दूतावास वा कन्सुलरसँग समन्वय गर्ने तथा अन्तिममा शव हस्तान्तरण र भर्पाईको प्रक्रिया पूरा गर्नुपर्नेछ।
यीमध्ये सुरुवाती चार चरण अर्थात् कागजात तयार गर्ने, विवरण अभिलेख गर्ने, पोस्टमार्टम र मृत्युको कारण पुष्टि गर्ने काम नेपाल सरकारका सम्बन्धित अधिकारीले गर्नेछन्।
प्रहरीको वेबसाइटबाट पहिचान
मृतकका आफन्तले नेपाल प्रहरीको वेबसाइटमा राखिएका शवका तस्बिर र विवरणका आधारमा पहिचान गर्न सक्ने भएका छन्।
पहिचान खुलेको अवस्थामा काठमाडौंस्थित भारतीय दूतावासले स्थानीय अधिकारीसँग समन्वय गरी शव बुझ्न तथा स्वदेश पठाउने प्रक्रियामा आवश्यक सहयोग गर्ने जनाएको छ।
बाढीमा ठूलो संख्यामा शव फेला परेकाले जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले केही शवलाई अस्थायी रूपमा सुरक्षित तवरले गाडेर व्यवस्थापन गरेको छ।
यसरी अस्थायी रूपमा व्यवस्थापन गरिएका शवको पहिचानका लागि मृतकका प्रथम श्रेणीका आफन्तसँग डीएनए मिलान गर्नुपर्ने व्यवस्था गरिएको छ।
डीएनए मिलानबाट पहिचान गरिने
पहिचान खुल्न नसकेका वा अस्थायी रूपमा गाडिएका शवको हकमा नेपाल सरकारले डीएनए मिलानका लागि सहजीकरण गर्नेछ।
नेपाल प्रहरीका अधिकारीहरूले मृतकको डीएनए प्रोफाइल तयार पार्न शवबाट फरेन्सिक नमुना संकलन गरिरहेका छन्। मृतकका आफन्तले आफ्नो डीएनए प्रोफाइल नेपाल प्रहरीको इमेलमा पठाउन वा आवश्यक परे रगतको नमुना उपलब्ध गराउन सक्नेछन्।
डीएनए प्रोफाइलिङ तथा यससम्बन्धी थप जानकारीका लागि नेपाल प्रहरीको हेल्पलाइन नम्बर +९७७ ९८४१६१६०९५ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ।












प्रतिक्रिया