काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई सुरुवाती ११ मा नराख्ने घोषणा गरेपछि बढेको विवादबीच उनको राष्ट्रिय टोलीमा भविष्य अनिश्चित बनेको छ।
पोर्चुगलका ४१ वर्षीय स्टार रोनाल्डोले प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोली छाडेका छन्। उनले बुधबार ढिलो गरी टोली छाड्ने निर्णय सार्वजनिक गरेका थिए। त्यसअघि पत्रकार सम्मेलनमा जेससले लगातार दोस्रो खेलका लागि रोनाल्डोलाई सुरुवाती लाइनअपमा नराख्ने पुष्टि गरेका थिए।
पूर्व रियल म्याड्रिडका फरवार्ड रोनाल्डोले यूईएफए नेसन्स लिगअन्तर्गत डेनमार्कविरुद्धको खेलको अघिल्लो दिन पार्केन स्टेडियममा टोलीका साथीहरूसँग प्रशिक्षण गर्नुपर्ने थियो। तर जेससले खेल योजना सार्वजनिक गरेपछि उनी टोली छाडेर हिँडेका थिए।
‘राष्ट्रिय टोलीका प्रशिक्षकको पत्रकार सम्मेलनपछि र पोर्चुगाली फुटबल संघका अध्यक्षसँगको कुराकानीपछि मैले राष्ट्रिय टोलीको भूमिका छाड्ने निर्णय गरेको छु,’ रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन्।
रोनाल्डोले आइतबार नर्वेविरुद्धको २–१ को नेसन्स लिग जितमा पूरा समय बेन्चमा बिताएका थिए। त्यसअघि गत बिहीबार वेल्सविरुद्धको १–० को घरेलु जितमा उनी कप्तान थिए।
यी खेल विश्वकप वा युरोपियन च्याम्पियनसिपजत्तिकै महत्त्वपूर्ण नभएकाले प्रशिक्षकहरूले खेलाडीलाई घुमाएर खेलाउनु सामान्य मानिन्छ। तर रोनाल्डोले जेससको निर्णयका पछाडि अन्य कारण रहेको संकेत गरेका छन्।
‘उचित समयमा म पोर्चुगाली जनतालाई मैले सधैँ आफूलाई समर्पित गरेको राष्ट्रिय टोली छाड्नुका कारणहरूको सत्य बताउनेछु,’ उनले भनेका छन्।
उनको यो भनाइले अन्तर्राष्ट्रिय फुटबलबाट स्थायी रूपमा बाहिरिने संकेत गरेको अनुमान गरिएको छ । ‘कुनै अपवादबिना अहिले पोर्चुगल र मेरा सबै साथी खेलाडीलाई भविष्यका लागि शुभकामना दिने समय हो,’ उनले भने।
स्पेनी खेलकुद दैनिक मार्काका अनुसार जेसस र पोर्चुगाली फुटबल संघका अध्यक्ष पेड्रो प्रोएन्काले रोनाल्डोलाई टोलीमा रोक्न कोपनहेगन विमानस्थलसम्म पछ्याएका थिए। तर रोनाल्डो आफ्नो निजी जेटमा चढेर त्यहाँबाट निस्किएका थिए।
जुलाईमा पोर्चुगलको प्रशिक्षक नियुक्त भएका ७२ वर्षीय जेससले बुधबार आफू र रोनाल्डोबीच कुनै मतभेद नरहेको बताएका थिए। उनले नर्वेविरुद्ध बेन्चमा बस्दा रोनाल्डो निराश भएको स्वीकार गरेका थिए।
घटनापछि सामाजिक सञ्जालमा पनि प्रतिक्रिया देखिएको थियो। रोनाल्डोकी बहिनी एल्मा अवेइरोले समेत आक्रोशपूर्ण प्रतिक्रिया जनाएकी थिइन्।
‘उनीहरू कुनै पनि कुराको उत्कृष्टता पाउन लायक छैनन्,’ उनले इन्स्टाग्राममा पोर्चुगाली जनतालाई संकेत गर्दै लेखेकी थिइन्।
‘हामी ईर्ष्यालु, घृणायुक्त र अज्ञानी छौँ र सीआर–७ अघिको फुटबल युगको मध्यमतामा फर्कन लायक छौँ,’ उनले भनेकी थिइन्।
ओस्लोमा भएको नर्वेविरुद्धको खेल नोभेम्बर २०२४ पछि पहिलोपटक थियो, जहाँ रोनाल्डो घाइते वा निलम्बित नभई पनि पोर्चुगलका लागि खेलेका थिएनन्।
‘कुनै घटना नै भएन,’ जेससले उक्त खेलपछि पत्रकारहरूसँग भनेका थिए। जेससले यसअघि साउदी क्लब अल–नस्रमा रोनाल्डोलाई एक वर्ष प्रशिक्षण दिएका थिए। त्यसपछि उनी पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षक बनेका हुन्।
‘म आफैँ पनि खेलाडी थिएँ। कुनै खेलाडी २० वा ३० मिनेट वार्मअप गरेपछि मैदानमा आउन नपाउँदा खुसी हुँदैन भन्ने मलाई थाहा छ,’ जेससले बुधबार भनेका थिए।
पोर्चुगाली प्रशिक्षकले खेलअघि रोनाल्डोलाई सुरुवाती ११ मा नराखिए पनि पछि मैदानमा उतार्ने योजना रहेको बताएका थिए।
‘प्रशिक्षकको हैसियतमा मैले उनलाई पछि नखेलाउने निर्णय गरेँ। यो हल्ला मच्चाउने विषय होइन,’ जेससले भने।
रोनाल्डोको प्रस्थानपछि पोर्चुगाली फुटबल संघले डेनमार्क र नर्वेविरुद्धका दुई खेलको तयारी बाँकी २४ खेलाडीसहित योजनाअनुसार अघि बढिरहेको जनाएको छ।
‘पूरै प्रतिनिधिमण्डल राष्ट्रिय टोलीका आगामी खेल र निर्धारित उद्देश्य हासिल गर्न पूर्ण रूपमा केन्द्रित छ,’ संघले भनेको छ।
जेससले डेनमार्कविरुद्ध एसी मिलानका स्ट्राइकर गोन्कालो रामोसलाई सुरुवात गराउने संकेत गरेका छन्। रामोसले नर्वेविरुद्धको खेलमा विजयी गोलका लागि योगदान गरेका थिए।
‘यदि सबै योजनाअनुसार भयो भने गोन्कालो नै खेल्नेछन्,’ जेससले भने। रोनाल्डोबारे उनले थपे, ‘यदि मलाई उनको आवश्यकता भयो भने उनी आउन सक्छन्। आवश्यकता महसुस भएन भने बोलाइनेछैन।’
रोनाल्डोले हालै यो सिजन सम्भवतः आफ्नो फुटबल करियरको अन्तिम वर्ष हुने घोषणा गरिसकेका छन्।
उनी पोर्चुगलका सर्वाधिक गोलकर्ता तथा सर्वाधिक चर्चित खेलाडीमध्ये एक हुन्। उनले पोर्चुगलका लागि २३४ खेलमा १४६ गोल गरेका छन्।
स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसका पूर्व स्ट्राइकर रोनाल्डोले सन् २००३ मा १८ वर्षको उमेरमा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।
त्यसको अर्को वर्ष उनी युरो २००४ को फाइनलमा घरेलु टोलीका रूपमा ग्रीससँग पराजित भएको पोर्चुगल टोलीमा थिए। त्यसपछि उनले सन् २००६ को विश्वकपमा पोर्चुगललाई सेमिफाइनलसम्म पुर्याउन योगदान गरे।
उनकै कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो। रोनाल्डो र पोर्चुगल यस वर्षको विश्वकपमा अन्तिम १६ मा स्पेनसँग पराजित हुँदै बाहिरिएका थिए।














प्रतिक्रिया