विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा « Khabarhub

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बागलुङ– घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ ।

बागलुङको बडिगाड गाउँपालिका– ७ गावाका लोकबहादुर केसीले करिब ६ वर्ष मलेसियामा बिताएका थिए । त्यहाँ दुःख बढी र सोचेअनुसार कमाई नभएपछि उनी गाउँ फर्किए । त्यसपछि गाउँमै सुरु गरे– मौरिपालन व्यवसाय । अचेल विदेशको दुःख बिर्सेर आफ्नै पाखापखेरामा मौरीसँगै रमाइरहेको उनले सुनाए ।

केसी बिहान उठेदेखि साँझसम्म मौरीका घार सफा गर्ने, हूल छुटेर भागेका मौरीलाई पुनः घारमा ल्याउने र बिरामी भए/नभएको हेरचाह गर्नमा व्यस्त छन् । एउटा घारबाट सुरु गरेको मौरीपालन हाल ६५ घार भएको छ । ३७ वर्षीय केसीका दौँतरी कोही पनि गाउँमा भेटिँदैनन् । कोही जापान, कोही कतार त कोही मलेसियामा छन् । केसीले गाउँमै बसेर हाल परदेशमा भएका साथीभाइले जत्तिकै कमाई गर्न गाह्रो नभएको बताए ।

उनले विसं २०७६ सालमा एउटा घारबाट व्यवसाय सुरु गरेका थिए । केसीलाई सुरुमा स्थानीय बडिगाड गाउँपालिकाले आठ हजारको मौरीघार उपलब्ध गराएको थियो । त्यसपछि थप्दै थप्दै आफूले १२ लाखभन्दा बढी लगानी गरिसकेको उनले जानकारी दिए ।

केसीले भने, ‘देश, विदेश देखियो, जहाँ गएर पनि पैसा कमाउन दुःख गर्नुपर्ने रहेछ । मैले छ वर्ष मलेसियामा काम गरेँ, अहिले त्यहाँ श्रम खर्चेकोमा पछुताएको छु, त्यो समय यहीँ केही गरेको भए धेरै प्रगति भइसक्थ्यो । विदेशले पनि केही कुरा त सिकायो नै, अब गाउँमै केही गर्छु, भन्ने सोच छ । मौरीपालन पनि राम्रो हुँदै गएको छ, अझै बढाउने योजनामा छु ।’

केसीले वार्षिक २२ लाखको मह र मौरीघार बिक्री गर्दै आएको बताए । एउटा घार १० हजार र प्रतिकिलो मह एक हजारमा बिक्री हुने गरेको र महको बजार राम्रो हुँदा मागअनुसार पुर्‍याउन नसकिएको उनको भनाइ छ ।

केसीले उत्पादन गरेको मह हाल बागलुङ, कुश्मा, पोखरा, रुकुम, जाजरकोटलगायत स्थानमा पुग्ने गरेको छ । नेपालसँगै अमेरिका, साउदी, कतार र जापानसम्म आफूले मह निर्यात गर्ने गरेको उनले बताए ।

‘गाउँमा धेरै सम्भावना छन्, ती सम्भावनालाई हामीले सदुपयोग गर्न सकियो भने आत्मनिर्भर बन्न सकिन्छ । म पनि विभिन्न कारणले विदेश गएको थिएँ, तर त्यहाँ गएपछि बल्ल गाउँठाउँको महत्व बुझेँ’, केसीले भने, ‘अहिले जे गरिरहेको छु, त्यो पहिलेदेखि नै गर्नुपर्दथ्यो, विदेश जानुभन्दा यही लगानी गरेर उद्यम गर्न सकियो भने स्वाभिमानका साथ बस्न सकिँदो रहेछ भन्ने बुझेँ, अरु युवाले पनि बुझ्नुपर्छ भन्ने लागिरहेको छ ।’ हाल उनले यही व्यवसायबाट १४ जनाको परिवार धान्दै आएका छन् । (रासस)

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ९ : ०२ बजे

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज : ४७ सांसदले रोजे मातृभाषा

काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई