इरानमाथि अमेरिकी–इजरायली आक्रमण : नेपालीको भान्सासम्मै पर्न सक्छ असर « Khabarhub

इरानमाथि अमेरिकी–इजरायली आक्रमण : नेपालीको भान्सासम्मै पर्न सक्छ असर


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मध्यपूर्वी मुलुक इरानमाथि शनिबारदेखि अमेरिका र इजरायलले आक्रमण गरेसँगै सम्पूर्ण विश्व व्यवस्था नै प्रभावित बन्न सक्ने देखिएको छ ।

यो युद्धका कारण विश्व राजनीतिक शक्ति सन्तुलनमा परिवर्तनदेखि विश्व बजार प्रणालीमा ठूलो असर पर्न सक्ने अनुमान गरिएको छ ।

समग्र विश्व प्रभावित हुँदा भौगोलिक रूपमा हजारौं किलोमिटर टाढा इरानले व्यहोरेको युद्धको प्रत्यक्ष असर नेपालमा पनि पर्न सक्छ ।

विश्वव्यापीकरण र नेपालको आर्थिक संरचनाका कारण यो द्वन्द्वले नेपालको अर्थतन्त्र, श्रम बजार र आमनागरिकको भान्सासम्मै प्रत्यक्ष प्रभाव पार्ने निश्चित छ ।

मध्यपूर्वको तनावले नेपालको वैदेशिक रोजगारी, रेमिट्यान्स आप्रवाह, पेट्रोलियम पदार्थको दरभाउ, वस्तु तथा सेवाको मूल्यदेखि समग्र आर्थिक क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा नकारात्मक असर पर्ने सक्ने देखिएको छ ।

नेपाली श्रमिकको सुरक्षा र रेमिट्यान्स आप्रवाहमा असर

नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड ‘रेमिट्यान्स’ (विप्रेषण) हो । जसको ठूलो हिस्सा मध्यपूर्वका विभिन्न खाडी मुलुकहरूबाट नै आउने गरेको छ ।

पछिल्लो तथ्यांकअनुसार खाडी मुलुकका १२ वटा देशमा १७ लाख २९ हजार नेपाली श्रमिकले औपचारिक रूपमै काम गरिरहेका छन् । अनौपचारिक रूपमा कति नेपालीले काम गरेका छन् भन्ने कुरा सरकारसँग नै तथ्यांक छैन ।

त्यस क्षेत्रमा युद्ध बिस्तार हुँदै गयो भने उनीहरूको भौतिक सुरक्षा सबैभन्दा नेपालको लागि सबैभन्दा ठूलो चुनौती बन्छ । लाखौँ नेपाली श्रमिकको उद्धार गर्ने विषय नेपाल सरकारको लागि निकै असामान्य विषय हो ।

साथै, सो क्षेत्रमा युद्धका कारण ती देशहरूको अर्थतन्त्र सुस्त भएमा निर्माण र सेवा क्षेत्रमा काम गर्ने लाखौँ नेपालीले रोजगारी गुमाउन सक्छन् ।

जसकाकारण रोजगारी कटौती र असुरक्षाका कारण स्वदेश फर्किनेको संख्या बढ्दा विदेशी मुद्रामा भारी गिरावट हुन सक्छ । त्यस्तो, स्थिति सिर्जना भए नेपालको सोधनान्तर स्थितिलाई कमजोर बनाउन सक्छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्ने

इरान विश्वको प्रमुख तेल उत्पादक राष्ट्रमध्ये एक हो । विश्वको करिब २० प्रतिशत तेल ‘स्ट्रेट अफ हर्मुज’ हुँदै विश्वका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । अमेरिका–इजरायलको आक्रमणपछि इरानले स्ट्रेट अफ हर्मुज क्षेत्रबाट समुद्री जहाजरूलाई आवतजावतमै प्रतिबन्ध लगाएको छ ।

यसका साथै, इरानमाथिको आक्रमणले त्यस राष्ट्रले गर्ने तेलको उत्पादन र निर्यात पूर्ण रूपमा प्रभावित हुन पुग्ने देखिन्छ । जसले गर्दा तेलको कच्चा पदार्थको मूल्य बढ्दा विश्वबजार नै महँगो हुनसक्छ ।

यस अवस्थामा पेट्रोलियम पदार्थमा शतप्रतिशत आयातमा निर्भर नेपालमा प्रत्यक्ष ठूलो असर पर्ने निश्चित छ । यसले गर्दा सार्वजनिक यातायातको भाडा र मालसामान ढुवानी लागत तत्काल महँगिन सक्छ ।

चरम महँगी र आपूर्ति शृङ्खलामा अवरोध

ढुवानी लागत बढ्नेबित्तिकै सम्पूर्ण वस्तु र सेवा उत्पादकको लागत बढ्दा त्यसको मार उपभोक्ता तहसम्मै पुग्छ । इन्धनको मूल्यवृद्धिसँगै छिमेकी मुलुक भारत र चीनसँगै विश्वका तेस्रो मुलुकबाट आयात हुने खाद्यान्न, लत्ताकपडा र अन्य दैनिक उपभोग्य वस्तुको मूल्यमा अस्वाभाविक वृद्धि हुन्छ ।

यसका साथै, लाल सागर र मध्यपूर्वका जलमार्गहरू असुरक्षित हुँदा पानीजहाजहरूले लामो बाटो प्रयोग गर्नुपर्ने हुन्छ ।

यसले गर्दा पनि युरोप र अमेरिका हुँदै नेपाल आउने सामानको भाडा दोब्बरसम्म बढ्न सक्छ र सामान आइपुग्न लाग्ने समय पनि लम्बिनेछ । जसले गर्दा पनि नेपालको बजारमा वस्तु तथा सेवाको मूल्यमा अस्वभाविक वृद्धि हुन सक्ने देखिन्छ ।

पर्यटन र पूर्वाधार क्षेत्रमा असर

कोभिड महामारीसँगै निकै नकारात्मक प्रभाव परेको नेपालको पर्यटन क्षेत्र केही समययता तंग्रिन सुरु गरेको थियो । तर, पछिल्लो विकसित मध्यपूर्वको तनावले विश्व अर्थतन्त्रमै असर पर्न पुगे बाह्य पर्यटकहरूको खर्च क्षमतामा पनि असर पर्छ । यसो हुँदा त्यसले नेपालको आन्तरिक र बाह्य पर्यटन क्षेत्रमा असर पर्न सक्ने देखिन्छ ।

अर्कातिर, पेट्रोलिमय पदार्थदेखि विश्वबजारको हरेक वस्तुको मूल्यवृद्धि हुने अवस्थामा नेपालको पूर्वाधार क्षेत्रको निर्माण प्रक्रियामा पनि त्यसले प्रत्यक्ष असर गर्न सक्छ ।

अहिले नेपालमा भइरहेका निर्माणका काम महँगा हुन जाने र नयाँ सुरू गर्नुपर्ने काम पनि महँगा हुँदा सरकारीदेखि निजी क्षेत्रका आयोजना प्रभावित हुन सक्छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ५ : ५२ बजे

बेमौसमी वर्षाले रूपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

सिद्धार्थनगर–  बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको

सपथपछि हर्कले भने- प्रतिपक्षीमा बसेर सरकारलाई सहयोग गर्छौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा

यूएईको आबु धाबीमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा दुई जनाको मृत्यु

आबु धाबी- संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबु धाबीमा

यस्तो देखियो प्रतिनिधि सभाका सांसदहरूको शपथ (तस्बिरहरू)

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा विजयी प्रतिनिधिसभाका सांसदहरूले बिहीबार दिउँसो