काठमाडौं– कांग्रेसको आन्तरिक विवाद समाधानार्थ इतर समूहले उपसभापति विश्वप्रकाश शर्माले अघि सारेको सातबुँदे प्रस्तावमा लिखित जवाफ पठाएको छ। नेता पूर्णबहादुर खड्काले २२ जेठमा शर्मासँग भेटेर आफ्नो पक्षका सर्त र एजेन्डा राखेका थिए। त्यसयता दुवै पक्षबीच थप छलफल भने भएको छैन।
जवाफमा इतर समूहले डिजिटल अद्यावधिकलाई निरन्तरता दिनेमा सकारात्मक जवाफ सहित अद्यावधिक नगर्नेले महाधिवेशनमा भाग लिन नपाउने व्यवस्था गर्न नहुने अडान पनि इतर समूहले राखेको छ।
यस्तै, १४औँ महाधिवेशन र विशेष महाधिवेशनबाट बनेका दुवै केन्द्रीय कार्यसमितिलाई समायोजन गर्नुपर्ने उल्लेख छ ।
‘दुवै कार्यसमितिमा रहेका साथीहरूलाई मिलाएर पार्टीको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने तथा पदाधिकारी र सदस्यको परम्पराअनुसार मर्यादाक्रम कायम गर्ने,’ प्रस्तावमा उल्लेख छ।
प्रस्तावमा महाधिवेशन तयारीका लागि गठन हुने विधान संशोधन, क्रियाशील सदस्यता व्यवस्थापन, निर्वाचन, अनुशासन, लेखा, व्यवस्थापन र प्रचारप्रसारलगायत सबै समिति दुवै पक्षको सहमतिमा गठन गर्नुपर्ने उल्लेख छ । उक्त लिखित जवाफमा भ्रातृ तथा शुभेच्छुक संस्थाको गठन–पुनःगठन विगतको अभ्यासअनुसार सहमतिमा गर्नुपर्ने छ ।
१५औँ महाधिवेशनको तयारी, संगठन विस्तार र लोकतान्त्रिक पद्धति तथा नागरिकका सवालमा राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने पनि इतर समुहको माग छ ।
यतिबेला कांग्रेसका महामन्त्री गुरुप्रसाद घिमिरेले एकताका लागि नेताहरू पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौलासँग भेटघाट तथा छलफल गरिरहेका छन् ।

यस्तो छ पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको जवाफ
१. पार्टीको विधान बमोजिम केन्द्रीय कार्यसमितिको निर्णयअनुसार हुन लागेको नियमित पन्ध्रौँ महाधिवेशनको कार्यतालिका अनुसार अधिवेशनका गतिविधि सञ्चालन भइरहेकै वेला एकतर्फी ढंगले विशेष महाधिवेशन भएकोले साबिक चौधौँ महाधिवेशनबाट निर्वाचित पक्षले नियमित पन्ध्रौँ महाधिवेशन नभएसम्म उक्त कार्यसमिति कायम रहेको दाबी गरिरहेको अवस्थामा महाधिवेशन सम्बन्धी आ–आफ्ना धारणा र विमतिहरूलाई पन्ध्रौँ महाधिवेशन सम्म खुल्ला राखी, एक अर्काको अस्तित्वलाई स्वीकार गर्दै दुवै कार्यसमितिमा रहेका साथीहरूलाई मिलाएर पार्टीको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने । साथै उक्त एकताको कार्यसमितिमा पदाधिकारी र सदस्यहरूको परम्परानुसार मर्यादाक्रम समेत कायम गर्ने ।
२. एकताको केन्द्रीय कार्यसमितिले विधान अनुसार गठन गर्ने विभाग एवं समितिहरू विशेष सहमतिमा गठन गर्ने ।
३. पन्ध्रौँ महाधिवेशनको तयारीका लागि आवश्यक पर्ने विधान संशोधन मस्यौदा समिति, क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानबिन समिति, निर्वाचन समिति, अनुशासन समिति, लेखा समिति, व्यवस्थापन समिति, प्रचार प्रसार समिति लगायतका समितिहरू गठन गर्दा दुवै पक्षको सहमतिमा सन्तुलन कायम गरी गर्ने ।
४.पार्टीको पन्ध्रौँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरणको काम २०८२ पौष १० गते सम्ममा अधिकांसत टुङ्गीसकेकोले तत्कालीन अवस्थामा छुटेकाहरूको नवीकरण गर्ने र तत्पश्चात् पार्टीमा आउन चाहेका विधान बमोजिम योग्यता पुगेका व्यक्तिहरूलाई नयाँ सदस्यता वितरण गर्ने गरी निश्चित समय दिने । अद्यावधिकका रूपमा भइरहेको “डिजिटल इन्ट्री” लाई निरन्तरता दिई पार्टी सदस्यको अभिलेखलाई प्रविधिमैत्री बनाउँदै लैजाने । तर हाल सञ्चालन भइरहेको क्रियाशील सदस्यहरूको ‘डिजिटल इन्ट्री’ लाई नै थप नवीकरणको रूपमा अर्थ लगाई अधिवेशनमा भाग लिन पाउने नपाउने भन्ने प्रावधान र परिभाषा गर्न नहुने र त्यस्तो प्रावधान विधान वा नियमावलीमा कतै राखिएको भए हटाउने ।
५.पार्टीमा सम्पूर्ण एकता कायम गर्न भ्रातृ संघ तथा शुभेच्छुक संस्थाहरूको गठन पुनःगठन गर्दा विगतका परम्परा र अनुभव समेतलाई आधार मानी सहमतिमा गर्ने ।
६. पार्टीको सम्पूर्ण एकतामा तत्काल वाधा पुर्याउने वैधानिक अस्पष्टतालाई स्पष्ट व्याख्या गर्दै त्यस्ता व्यवस्थाहरूलाई आवश्यकताअनुसार सहमतिमै निलम्बन वा खारेज समेत गर्ने ।
७. पार्टीको सम्पूर्ण एकता कायम गरी उत्साह र उमङ्गकारसाथ संगठन विस्तार, पन्ध्रौँ महाधिवेशनको तयारी र लोकतान्त्रिक पद्धति विधिको शासन र नागरिकका सवालमा राष्ट्रिय अभियान सञ्चालन गर्ने ।












प्रतिक्रिया