कााठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको भीषण बाढीपछि पहिलो पटक प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा उभिएका छन् ।
प्रधानमन्त्री भएयता संसद्लाई बेवास्ता गर्दै आएका उनी विनाशकारी बाढीको सातापछि संसद्मा सम्बोधन गर्न पुगेका हुन् ।
बाढीपछि अझै हजारभन्दा बढी नागरिक बेपत्ता भएको अवस्था छ। त्रिशूली थ्री ए र थ्री बीसहितका जलविद्युत्का सुरुङमा ९ सयजना हराइरहेको विवरण सरकारी निकायसँगै छ।
बाढीमा ज्यान गुमाएकाहरूको शव व्यवस्थापन र जीवितहरूको उद्धार अझैसम्म हुन सकेको छैन। सरकारले सीमित स्रोत साधनका कारण र बाढीको दिनदिनै असर बढ्दा उद्धारमा कठिनाइ भएको बताइरहेको छ ।
बाढीका कारण रसुवा र नुवाकोटमा ठूलो क्षति पुगेको छ। भौतिक र मानवीय क्षति हुँदा अहिलेसम्म ४ हजार भन्दा बढी सङ्ख्यामा हराइरहेका छन्।
जलविद्युत्का विभिन्न सुरुङमा फसेकाहरूलाई पनि सरकारले आठ दिन बित्दा पनि उद्धार गर्न सकेको छैन। विपक्षी दलहरूले अन्तर्राष्ट्रिय सहयोग लिएर सुरुङमा फसेका व्यक्तिहरू उद्धार गर्नुपर्ने सरकारलाई ध्यानाकर्षण गराउँदा पनि त्यसमा सरकार तयार भएको देखिएको छैन ।
अहिले भोटेकोशी क्षेत्रमा कयौँ शवहरू सडेका छन् । सरकारले सबै संयन्त्र खर्चिएर काम गरिरहेको बताए पनि भनेजस्तो परिणाम देखिएको छैन। विपक्षीले मंगलबारको सर्वदलीय बैठकमा पनि सरकारको आलोचना गरे ।
विपक्षीहरूले सर्वदलीय बैठकमा प्रधानमन्त्रीको खोजी गरेपछि बुधबार सदनमा उभिएर प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रको अवस्थाका विषयमा जानकारी गराएका हुन् ।
मंगलबारको सर्वदलीय बैठकमा एमाले नेता प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका नेता देवराज चालिसे र नेकपाका नेता वर्षमानपुन लगायतले प्रधानमन्त्रीको खोजी गरेका थिए।
जनस्तरबाट पनि आठ दिन बितिसक्दा प्रधानमन्त्रीले आधिकारिक रुपमा राष्ट्रका नाममा सम्बोधन नगरेको भन्दै आलोचना हुन भएको थियो । त्यसको दबाबमा उनी प्रतिनिधि सभामा बोलेका हुन् ।
गत बुधबार प्रधानमन्त्री वालेन्द्रले दोस्रोपटक प्रश्न उत्तर कार्यक्रममा सहभागी जनाउने तयारी थियो । तर बाढी आएका कारण उक्त कार्यक्रम अवरुद्ध भएको थियो।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अनिश्चितकालका लागि सदन रोकेका थिए। त्यसपछि प्रतिनिधि सभा बैठकमा बुधबार प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् ।












प्रतिक्रिया