काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन (ला लिगा २) को क्लब ‘सीडी एल्डेन्से’ खरिद गरेका छन् । आवश्यक नियामक निकायको स्वीकृति प्राप्त भएसँगै क्लब हस्तान्तरणको प्रक्रिया औपचारिक रूपमा पूरा भएको हो ।
३९ वर्षीय मेसीले स्पेनी क्लबमा लगानी गरेको यो दोस्रो पटक हो । यसअघि गत अप्रिलमा उनले क्याटालन क्लब कोर्नेला खरिद गरेका थिए ।
“१०० वर्षभन्दा पुरानो इतिहास बोकेको क्लब सीडी एल्डेन्सेको स्वामित्व लिओनेल मेसीले लिएको आधिकारिक घोषणा गर्दछौँ। यसले क्लबको इतिहासमा एक नयाँ र रोमान्चक अध्यायको सुरुआत गरेको छ,” एल्डेन्सेले आफ्नो आधिकारिक वेबसाइटमा उल्लेख गरेको छ ।
एलिकान्टेमा आधारित एल्डेन्से क्लबको खेलकुद, संस्थागत र सामाजिक विकासलाई प्रवर्द्धन गर्ने दीर्घकालीन लक्ष्यसहित मेसीको आगमन भएको क्लबले जनाएको छ । यसअघि गत सेप्टेम्बरमा मेसी र क्लबबीच मुख्य सेयरधनी बन्ने प्रारम्भिक सहमति भएकोमा अहिले सबै प्रक्रिया पूरा भएको हो ।
हाल २२ टोली सहभागी स्पेनिस सेकेन्ड डिभिजनमा एल्डेन्से पाँच अङ्कसहित १९ औँ स्थानमा छ । टोलीले लिगका सुरुआती सात खेलमध्ये एकमा मात्र जित निकालेको छ ।
८ पटकका बलोन डी’ओर विजेता मेसी हाल अमेरिकी मेजर लिग सकेर (एमएलएस) को क्लब इन्टर मायमीबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । अर्जेन्टिनालाई सन् २०२२ को विश्वकप दिलाएका मेसीले गत अगस्टमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइसकेका छन् ।
सन् २००४ मा १७ वर्षको उमेरमा बार्सिलोनाबाट सिनियर टोलीमा डेब्यु गरेका मेसीले सो क्लबका लागि ७७८ खेलमा कीर्तिमानी ६७२ गोल गरेका थिए । सन् २०२१ मा बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी) पुगेका उनी २०२३ मा अमेरिकी क्लब मायमी पुगेका हुन् ।
पछिल्लो समय भेट्रान खेलाडीहरूले स्पेनी क्लबमा लगानी बढाउँदै लगेका छन् । मेसीका पूर्व प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोले पनि गत फेब्रुअरीमा अर्को स्पेनी क्लब अल्मेरियाको २५ प्रतिशत सेयर खरिद गरेका थिए ।














प्रतिक्रिया