काठमाडौं- कम्बोडियाको कोह कोङ प्रान्तस्थित पाक ख्लाङ गाउँको काओ पाओ गाउँका बासिन्दाहरूले बारुदी सुरुङ र विस्फोट नभएका बम-हतियार (युएक्सओ) बाट मुक्त बनाइएको आफ्नो जग्गा औपचारिक रूपमा फिर्ता पाएका छन्। भारतीय सरकारको ‘क्विक इम्प्याक्ट प्रोजेक्ट’ (क्यूआईपी) को आर्थिक तथा प्राविधिक सहयोगमा उक्त क्षेत्रलाई सुरक्षित र जोखिममुक्त बनाइएको हो।
थाइल्याण्डको सीमा नजिकै पर्ने तटीय क्षेत्र काओ पाओमा आयोजित एक विशेष कार्यक्रमका बिच करिब १ लाख ९७ हजार ८१० वर्गमिटर क्षेत्रफल भएको उक्त जग्गा स्थानीय गाउँलेहरूलाई हस्तान्तरण गरिएको छ। यो जमीन फिर्ता भएसँगै त्यस क्षेत्रका करिब १३४ परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
जमीन हस्तान्तरण समारोहका अवसरमा भारतीय दूतावासद्वारा जारी वक्तव्यमा उक्त जमीन समुदायलाई फिर्ता गरिएकाले अब स्थानीयवासीले कृषि, आवास निर्माण तथा अन्य सामाजिक-आर्थिक गतिविधिहरू सुरक्षित रूपमा सञ्चालन गर्न पाउने जनाइएको छ । मानवीय आधारमा गरिने बारुदी सुरुङ हटाउने अभियानमा भारतले सन् १९९० को दशकदेखि नै कम्बोडियासँग निरन्तर सहकार्य गर्दै आएको छ । यसक्रममा भारतले प्राविधिक सहयोग, क्षमता अभिवृद्धि, सुरुङ पत्ता लगाउने तालिमप्राप्त कुकुर तथा उपकरण उपलब्ध गराउनुका साथै पीडितहरूको पुनःस्थापना र अनुदान सहयोग प्रदान गर्दै आएको छ ।
मेकोङ-गङ्गा सहकार्य (एमजीसी) अन्तर्गत सञ्चालित ‘क्विक इम्प्याक्ट प्रोजेक्ट’ ढाँचाभित्र रहेर भारतले कम्बोडियामा विभिन्न पूर्वाधार र विकास निर्माणका क्षेत्रमा सहयोग विस्तार गरेको छ। भारतले हालसम्म कम्बोडियामा ७५ वटा यस्ता आयोजनाहरू स्वीकृत गरिसकेको छ, जसमध्ये ५५ वटा सम्पन्न भइसकेका छन् भने २० वटा आयोजनाहरू कार्यान्वयनका क्रममा रहेका छन्। यी आयोजनाहरू कम्बोडिया सरकारको प्राथमिकताप्राप्त क्षेत्रहरू जस्तै शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, महिला सशक्तिकरण र बारुदी सुरुङ उन्मूलनमा लक्षित रहेका छन्।
काओ पाओ गाउँको करिब दुई लाख वर्गमिटर जमीन सुरक्षित बनाएर सर्वसाधारणलाई सुम्पिनुले सर्वसाधारणको जीवनस्तर सुधार र भविष्यको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।














प्रतिक्रिया