इरानसँग युद्ध अन्त्य हुने संकेतपछि विश्व बजारमा तेलको मूल्य घट्यो « Khabarhub

इरानसँग युद्ध अन्त्य हुने संकेतपछि विश्व बजारमा तेलको मूल्य घट्यो


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता गर्न चाहेको समाचार सार्वजनिक भएपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार प्रतिशतभन्दा बढीले घटेको छ। मध्यपूर्वमा जारी युद्ध अन्त्य हुन सक्ने सङ्केतसँगै विश्व बजारमा तेलको मूल्यमा गिरावट आएको हो।

इरानले द्वन्द्वसँग सम्बन्धित अन्य सर्तहरू पूरा भएमा अमेरिका सबै मोर्चामा युद्ध अन्त्य गर्न सहमत हुने अवस्थामा दुई दिनभित्रै स्ट्रेट अफ होर्मुज खोल्न तयार रहेको बताएपछि तेलको मूल्यमा थप दबाब परेको हो।

समाचार संस्था एक्सियोसका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाईलाई सम्भावित नयाँ वार्ताका लागि पत्र पठाउनुभएको छ। पछिल्ला केही महिनायताकै यो उच्चस्तरको कूटनीतिक पहल भएको बताइएको छ।

तेलको मूल्य घटेसँगै ऊर्जा क्षेत्रका प्रमुख कम्पनीहरूको सेयर मूल्यमा पनि गिरावट आएको छ। तर, इन्धनको लागत घट्दा अन्य क्षेत्रका कम्पनीलाई भने लाभ पुगेको छ।

‘ग्लोबल रिस्क म्यानेजमेन्ट’का प्रमुख विश्लेषक आर्ने लोहमान रासमुसेनले अमेरिकी मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा ट्रम्पले दिएका सङ्केत रणनीतिक कदम मात्र हुन सक्ने बताएका छन्। उनले स्ट्रेट अफ होर्मुजमा पानीजहाजमाथिका आक्रमण जारी रहेकाले ऊर्जा मूल्य लामो समयसम्म उच्च रहने आफ्नो पूर्वानुमान यथावत् रहेको उल्लेख गरेका छन् ।

यसैबीच, मङ्गलबार हुने अमेरिकी मध्यावधि निर्वाचनले पनि विश्व वित्तीय बजारमा प्रभाव पार्ने देखिएको छ। निर्वाचनमा डेमोक्र्याटहरूले कङ्ग्रेसमा कम्तीमा आंशिक नियन्त्रण हासिल गर्ने अपेक्षा गरेका छन्। त्यसो भएमा राष्ट्रपति ट्रम्पका राजनीतिक निर्णयमा उनीहरूको प्रभाव बढ्न सक्नेछ।

रिपब्लिकनहरूले कङ्ग्रेसमा आफ्नो बहुमत गुमाएमा ट्रम्पमाथि राजनीतिक दबाब बढ्ने सम्भावना छ। उच्च मुद्रास्फीति, इरानसँगको अनिश्चित युद्ध र सरकारका गतिविधिमाथि डेमोक्र्याटहरूले गर्ने सम्भावित छानबिन उनका लागि चुनौती बन्न सक्नेछन्।

विश्व बजारमा तेलको मूल्यसँगै प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर कारोबारमा पनि गिरावट देखिएको छ। अमेरिकी ठूला प्रविधि कम्पनीहरूको अपेक्षाभन्दा कमजोर आम्दानीले कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा भइरहेको ठूलो लगानीको प्रतिफलबारे लगानीकर्ताको चिन्ता बढाएको छ।

‘वेल्थ क्लब’की प्रमुख लगानी रणनीतिकार सुसाना स्ट्रीटरका अनुसार अमेरिकी मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा लगानीकर्ताहरू बजारमा थप अस्थिरता आउन सक्ने अनुमानसहित कारोबार गरिरहेका छन्। एआई क्षेत्रमा भइरहेको ठूलो लगानी र त्यसबाट प्राप्त हुने प्रतिफलबारे पनि प्रश्न उठ्न थालेको उहाँको भनाइ छ।

यस साता एप्पल, एडभान्स्ड माइक्रो डिभाइसेस (एएमडी) र सफ्टवेयर कम्पनी पलान्टिरका वित्तीय नतिजा तथा व्यावसायिक प्रक्षेपणलाई लगानीकर्ताले चासोका साथ हेर्नेछन्।

जापानी चिप निर्माता कम्पनी कियोक्सियाले अपेक्षाभन्दा कमजोर व्यावसायिक प्रक्षेपण सार्वजनिक गरेपछि सोमबार यसको सेयर मूल्य करिब १६ प्रतिशतले घटेको छ। कम्पनीको सेयर मूल्य जुन महिनामा कायम उच्च बिन्दुबाट करिब ७० प्रतिशत तल झरेको छ। यद्यपि, वर्षको सुरुआतको तुलनामा यसको मूल्य अझै २०० प्रतिशतभन्दा बढी छ।

यसको विपरीत ताइवानको टीएसएमसीको सेयर मूल्य करिब दुई प्रतिशत र दक्षिण कोरियाको एसके हाइनिक्सको सेयर मूल्य तीन दशमलव आठ प्रतिशतले बढेको छ।

क्रिप्टोकरेन्सी बजारमा पनि उतारचढाव देखिएको छ। विश्वकै ठूलो क्रिप्टोकरेन्सी विनिमय प्लेटफर्म बाइनान्समा भएको साइबर आक्रमणबाट छ अर्ब अमेरिकी डलरभन्दा बढी रकम चोरी भएको समाचार सार्वजनिक भएको छ। यद्यपि, शुक्रबारको गिरावटपछि सोमबार बिटक्वाइनसहित अन्य क्रिप्टोकरेन्सीको मूल्य स्थिर रहेको छ।

कर्पोरेट क्षेत्रमा भने फ्रान्सेली उच्च गतिको रेल निर्माता कम्पनी अल्स्टमको सेयर मूल्य २५ प्रतिशतभन्दा बढीले घटेको छ। कम्पनीले आफ्ना नयाँ ‘कोराडिया म्याक्स’ क्षेत्रीय रेलमा थप उत्पादन समस्या देखिएको जनाएको छ।

उक्त समस्याका कारण कम्पनीले छ महिनाभित्र दोस्रो पटक नाफासम्बन्धी लक्ष्य घटाउनुपरेको छ। वर्षको सुरुआतमा १२ अर्ब युरो रहेको कम्पनीको बजार मूल्य घटेर पाँच दशमलव तीन अर्ब युरोमा झरेको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ७ : १३ बजे

माग्रीभिरको कडा चट्टान छिचोलियो : सडक सञ्जालमा पहुँच हुने आशा

मुगु– गमगढी-नाक्चेलाग्ना सडकअन्तर्गत मुगुम कार्मारोङ गाउँपालिकाको माग्रीभिरमा रहेको करिब ३००

बाढीपीडितलाई नगद सहायता उपलब्ध गराउनेबारे छलफल

रसुवा-भोटेकोशी, बुढीगण्डकी बाढीलगायतका विपद्‌बाट प्रभावित घरपरिवार एवं व्यक्तिहरुलाई नगद सहायता

वार्षिक कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालयलाई सरकारको निर्देशन

काठमाडौँ– सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तथा नीति