नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’ « Khabarhub

नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नारायणी नदीमा जल पर्यटनको प्रवर्द्धन र यहाँको धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘क्रुज’ सञ्चालनमा आएको छ ।

आइतबार साँझ क्रुजको विधिवत्रुपमा उद्घाटन भएपछि ‘राइनो क्रुज’ले नियमित सेवा सञ्चालन गरेको छ । नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो क्रुज सञ्चालनमा ल्याइएको हो ।

क्रुजको औपचारिक उद्घाटनका क्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले राइनो क्रुज गैँडाकोटको नमूना गहना भएको उल्लेख गर्दै यसको सञ्चालनमा आवश्यक पर्ने सहयोग पालिकाले गर्ने बताए । क्रुजले यहाँको पर्यटन प्रवर्द्धनमा निकै टेवा दिने भन्दै नगरप्रमुख अधिकारीले क्रुजलाई देवघाटधामसम्म मात्रै नभइ देवघाटधाम र त्रिवेणीधामसम्म जोड्नुपर्नेमा जोड दिए ।

क्रुज सञ्चालनका लागि नारायणीको धेरै ठाउँमा बाधाअड्चन भएको भन्दै उनले बाधा अड्चन हटाएर नदीलाई गहिरो बनाउन आवश्यक पर्ने सहयोग पालिकाले गर्ने बताए । क्रुजको उद्घाटनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य एवम् होटल रिभर क्राउनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जल क्रियाकलापसँगै होटल सञ्जाल गर्न राइनो क्रुज र होटलबीच सहकार्य भएको बताए ।

क्रुज सञ्चालनमा आएसँगै गैँडाकोट र नवलपुरको मात्रै नभइ यस क्षेत्रका समग्र आर्थिक विकासलाई सञ्चालन र वृद्धि गर्न टेवा पुग्ने उनको भनाइ छ । क्रुजलाई स्थायीरुपमा सञ्चालन गर्दै यहाँको धार्मिक र पर्यटकीय क्षेत्रहरूलाई जोड्नका लागि पनि आफूहरूले भूमिका खेल्ने डा. भट्टराईको भनाइ छ ।

क्रुज सञ्चालनकै क्रममा होटल व्यवसायी प्रभाकर पण्डितले क्रुज सञ्चालनमा आएसँगै नवलपुर तथा चितवनसहित देशकै पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिएको बताए ।

नेपालकै पहिलो क्रुज नारायणी नदीमा सञ्चालनमा आएकाले यसले पर्यटकीय गतिविधिको वृद्धिमा सफलता हासिल गर्ने पण्डितको भनाइ छ । क्रुजको सञ्चालनले यहाँको आर्थिक क्रियाकलापलाई चलायमान एवम् आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उनको भनाइ छ ।

क्रुज सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालि एवम् होटल रिभर क्राउन प्रालिका प्रबन्ध निर्देशक दीपक ढुङ्गेलले क्रुजले देवघाटदेखि दक्षिणतर्फ नारायणी नदीमा ४० किलोमिटर यात्राको अनुमति पाएको बताए । साढे दुई तले क्रुजको लम्बाइ ९५ फिट एवम् चौडाई २१ फिट रहेको भन्दै ढुङ्गेलले क्रुजको पूरा क्षमता दुई सय जना भए पनि १५० जनालाई सेवासुविधा उपलब्ध गराउनेगरी सञ्चालनमा ल्याइएको बताए । क्रुजको यात्रा पूर्णरुपमा सुरक्षित रहेको भन्दै उनले क्रुज यातायातको लागि नभइ रमाइलो जलयात्राका लागि सञ्चालनमा ल्याइएको बताए ।

सामान्यता क्रुजिङको समय बढीमा एक घण्टाको भए पनि कार्यक्रम तथा प्याकेजअनुसार थपघट गर्न सकिने ढुङ्गेलको भनाइ छ । क्रुजिङका लागि साधारण टिकट पाँच सय रुपैयाँ तोकिएको भन्दै उनले ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लन्च क्रुजिङको दुई हजार तथा डिनर क्रुजिङको तीन हजार एवम् अन्य कार्यक्रमको प्याकेजअनुसार शुल्क निर्धारण गरिएको जानकारी दिए ।

क्रुजले प्रति यात्रु १० लाख बराबरको बीमा गराएको भन्दै उनले गैँडाकोट तथा नारायणी नदीकिनारलाई दक्षिण एसियाकै नमूना नदी पर्यटन गन्तव्य बनाउँदै नेपाललाई लक्जरी जल पर्यटनको नक्शा स्थापित गराउने बताए । (रासस)

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ११ : ३५ बजे

कञ्चनपुरका सीमसार तथा ताल तलैयाको अस्तित्व संकटमा

कञ्चनपुर– जलवायु परिवर्तन, बढ्दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका

बुद्धको सन्देश बोकेका भिक्षुहरूको अमेरिकामा ‘लङ्ग मार्च’

वाशिङ्गटन डिसी – अमेरिकामा जनवरी महिना यसै चिसो हुन्छ ।

स्वास्थ्य बीमाले ओपीडी सेवा घटाउँदै, वर्षमा २५ हजारको मात्रै सुविधा पाइने 

काठमाडौं– स्वास्थ्य बीमाबाट बीमित बिरामीले एक आर्थिक वर्षमा बहिरंग (ओपीडी)

जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र

साउथ सुपरस्टार रामचरण बने जुम्ल्याहा सन्तानका पिता

काठमाडौँ– दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता रामचरण र उनकी पत्नी