काठमाडौं – चुनाव आउन तीन दिन बाँकी छ । देश चुनाव केन्द्रित हुँदा सिनेमा हलमा दर्शकहरू छैनन् । तथापि हलमा तीन नेपाली फिल्म लागिरहेका छन् । केही दिन यता यी तीनै फिल्मको अकुपेन्सी न्यून छ ।
‘रमिताको पिरती’ र ‘आबाट आमा’ माघमा प्रदर्शनमा आएका फिल्म हुन् । महानायक राजेश हमाल स्टारर ‘प्रवासी जीवन’ भने फागुन १५ बाट हलमा लागेको हो । यो फिल्मले पनि दर्शक हलमा तान्न सकेन ।
चुनाव केन्द्रित हुँदा दर्शकहरू हलमा आएका छैनन् । चुनावले नै गर्दा अहिले फिल्मी गतिविधि शून्यप्रायः देखिन्छ ।
चुनावकै कारण फागुन १ मा प्रदर्शनकाे मिति तोकिएका केही फिल्म प्रदर्शनमै आएनन् । तीन फिल्म ‘श्री बुकुरो’, ‘शिवांश’ र ‘बिगुल’ भने सोही मितिमा प्रदर्शनमा आए ।
दर्शकको साथ नपाएपछि पाँच दिन हलमा लगाएर फागुन ६ गतेदेखि मेकहरुले तीनै फिल्म उतारे । त्यसयता प्रदर्शनमा आएको एक मात्रै फिल्म ‘प्रवासी जीवन’ हो ।
फागुनको सुरुवातमै दर्शकहरू चुनाव केन्द्रित भएर हलतिर चासो दिन छोडिसेका थिए । चुनावको ६ दिनअघि प्रदर्शनमा आएको ‘प्रवासी जीवन’ हेर्न के दर्शक हलमा पुग्थे ? दर्शकहरू आफ्नो मतदान क्षेत्रमा गइसके ।
‘प्रवासी जीवन’को प्रिमियरमै मान्छे थिएनन् । हलहरू खाली थिए । महानायक राजेश हमालको फिल्मको प्रिमियरमै हल खाली थियो । अर्थात्, फिल्म क्षेत्रकै व्यक्तिहरू पनि कर्म छोडेर राजनीतिमै आकर्षित भएको पाइन्छ ।
कालकारहरू सार्वजनिकरुपमा भोट मागेर वा उम्मेद्वार बनेर चुनावी गतिविधिमा संलग्न भएको पाइन्छ ।
राजेश हमालको ‘प्रवासी जीवन’ हेर्न दर्शक नआएपछि हलहरूले शो कटौती गरिसके । यो फिल्मको शो घटेर अहिले औँलामा गन्न सकिने भएको छ । अर्थात्, राजेशको फिल्म तीन दिनै हलबाट करिब उत्रिने अवस्थामा आइपुगेको छ ।

समयको कुरा
स्टारडमको कुरा गर्दा नेपाली फिल्म क्षेत्रमा राजेश हमाल शीर्ष स्थानमा आउँछन् । बच्चादेखि बूढासम्म उनको फ्यान छन् । उनको अभिनय, बौद्धिकता र व्यक्तित्वको सधैँ चर्चा हुन्छ ।
उनको स्टारडर झल्किने एउटा प्रसंगको चर्चा गरौँ । ‘पोस्टरमा राजेशको टाउको राख्दा फिल्म हिट हुन्थ्यो,’ उनको प्राइम करिअरलाई नजिकबाट लियाल्नेहरू भन्छन् । राजेशलाई फिल्म ‘युगदेखि युगसम्म’बाट ठूलो पर्दामा डेब्यू गराउने निर्माता पनि उक्त किस्सा सत्य रहेको बताउँछन् ।
राजेशका सहकर्मी राजेन्द्र खड्कीले राजेशको अनुहार पोस्टरमा राख्न निर्माताले दिएकाे दबाब कयौँ पटक देखेकै छन् । उनी विभिन्न स्थानमा यसबारे बोल्दै आएका पनि छन् । अर्थात्, उनको स्टारडम यति उच्च थियो कि– फिल्म चल्न पोस्टरमा अनुहार राखे पुग्थ्यो ।
फिल्ममा नभएको नायकको अनुहार पोस्टरमा राख्ने कुरा भएन । सोहीकारण उनले थुप्रै फिल्ममा ‘गेस्ट अपिरेन्स’ दिएको पाइन्छ । अहिले राजेशको यो स्टारडमको पावर समयसँगै सिथिल हुँदै गएको छ । राजेशले हिट फिल्म नदिएको दशक भइसक्यो ।
सन् २०१० बाट नेपाली सिनेमा निर्माणाको धार परिवर्तन भएपछि राजेश स्टारडमको राज हराउँदै गयो ।
सन् २०१६ बाट राजेशले फिल्मबाट विश्राम नै लिए । ८ वर्षपछि उनी पूर्णरुपमा नायककै रुपमा गत वर्षबाट ठूलो पर्दामा फर्किए । उनको कमब्याक फिल्म ‘नरसिंहा : अवतार’ फ्लप भयो । अहिले उनको अर्को फिल्म ‘प्रवासी जीवन’ प्रदर्शनमा आयो । यो फिल्म एक साता पनि हलमा नटिक्ने देखिन्छ ।
कुनै बेलाका पोस्टरमा टाउको राख्न डिमान्डमा रहने राजेशकै पछिल्लो समय फिल्म चलेका छैनन् । ‘स्टारडमको पनि आयु हुन्छ’ भन्ने भाष्य राजेशको अभिनय करिअरमा पनि लागू भएको छ । तथापि उनलाई फिल्ममा लिन चाहने मेकरहरू प्रशस्त छन् । राजेश सार्वजनिक मञ्चमा भन्दै आएका छन्, ‘राम्रो स्क्रिप्ट छानेर मात्रै फिल्म गर्छु ।’













प्रतिक्रिया