के भन्छन् चुनावको मुखमा विदेशतिर उड्न ठिक्क परेका युवा ? « Khabarhub

के भन्छन् चुनावको मुखमा विदेशतिर उड्न ठिक्क परेका युवा ?



काठमाडौं- प्रतिनिधिसभा निर्वाचनमा मत खसाल्न अब तीन दिन मात्रै बाँकी छ । आगामी निर्वाचनमार्फत अब्बल नेतृत्व चुन्न मतदाता उत्साहित देखिन्छन् । निर्वाचनपछि आउने नेतृत्वले मुलुकमा समृद्धि ल्याउने जनअपेक्षा छ । अर्कोतर्फ विमानस्थलमा रोजगारीका लागि विदेशिने युवाको लर्को पनि कम भएको छैन ।

उनै युवामध्येका एक हुन्- रुपन्देहीका सन्देश धोबी । उनी ८ वर्षदेखि मलेसियामा श्रम गर्दै आइरहेका छन् । १८ वर्षमै परदेश भासिएका उनीमाथि यतिबेला भर्खरै विवाह गरेकी श्रीमतीसँग टाढिनुपर्दाको छट्पटी छ । मध्यपूर्वमा चर्किएको द्वन्द्वका कारण एयरपोर्टमै अलपत्र हुँदा रोजगारी गुम्छ कि भन्ने चिन्ता पनि उनीमाथि छ ।

‘नेताहरुले देशमै रोजगारी दिएको भए ज्यान जोखिममा छ भन्ने थाह हुँदाहुँदै पनि विदेशिनुपर्ने थिएन । धेरै पहिलेदेखि हेरिरहेको छु- जो आएपनि हामीलाई कसैले केही गर्ने होइनन् ।’ उनले सरकारप्रति आक्रोश पोखे ।

शनिबार बिहानैदेखि मध्यपूर्वी क्षेत्रमा द्वन्द्व चर्किएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार मध्यपूर्वका विभिन्न मुलुकमा १७ लाख २९ हजार २ सय ८८ जना नेपाली छन् ।

द्वन्द्व लम्बिएमा अब आउने सरकारलाई त्यहाँँका नागरिकलाई सुरक्षित देश फर्काउँदै स्वरोजगार बनाउने अर्को चुनौती समेत रहनेछ । त्यसमाथि, रेमिट्यान्सले धानेको मुलुकको अर्थतन्त्र र नुनदेखि सुनसम्ममा परनिर्भर नेपाललाई आत्मनिर्भर बनाउने जिम्मेवारी पनि नयाँ सरकारको काँधमा हुनेछ ।

द्वन्द्वका कारण आफूसहित परिवारको गर्जो टार्न परदेश जाने तरखरमा रहेका सन्देश नयाँ आउने सरकारले रोजगारी दिए विदेशबाट फर्किएर देशमै फर्किने सुनाउँछन् । ‘विदेशजस्तो काम यहीँ पाए घर फर्केर परिवारसँगै बस्ने हो ।’ उनले भने ।

आइतबार बिहान नेपाल एयरलाइन्सबाट सीधै मलेसियाको लागि उनको उडान तय भएको थियो । तर, मध्यपूर्वमा विस्तार भएको द्वन्द्वका कारण आफ्नो उडान सोमबार दिउँसोका लागि सरेको उनी सुनाउँछन् । ‘उडान भोलि दिउँसोलाई सरेको भनेर म्यासेज आएको छ, विदेश जाने भनेर पैसा पनि थोरै लिएर आएको थिएँ । सकिन आँटिसक्यो । यहाँ पानी पनि पिउन पाइएको छैन’ उनले सुनाए ।

यस्तै, २० गते कतारको उडान रहेकोमा सोबारे बुझ्न भैरहवाबाट त्रिभुवन विमानस्थल आएका अर्का यात्रु थिए- पशुपति भर । ‘कतारका लागि ४ तारिक फलाइट छ । मेरो प्लेन जान्छ कि जादैँन भनेर बुझ्न आएको हुँ । उहाँहरुलाई पनि केही टुङ्गो रहेनछ । काममा फर्किन नपाए त ७ जनाको परिवार धान्ने आम्दानीको स्रोत नै सकिन्छ,’ उनले पीडा सुनाए ।

नेपालमा व्यापार गर्दा राम्रो नभएपछि रोजगारीका लागि कतार पुगेको उनको भनाइ छ । ‘कतार गएको १७ वर्ष भयो । त्योभन्दा अघि त नेपालमा नै व्यापार गरेको थिए । व्यवसाय गर्न पनि कहाँ सजिलो छ र ? दर्तादेखि नै हैरानी छ, यहाँ राम्रो नभएपछि विदेशीएको हुँ,’ उनले भने ।

फागुन २१ गते हुन लागेको निर्वाचनबारे सोध्दा उनले आफूलाई नयाँमाथि भरोसा रहेको सुनाए । ‘विदेश जाने-आउने गर्दा मैले त कहिले पनि भोट नै हालेको छैन ।’ उनले भने । विदेशमा दुःख र ज्यानको असुरक्षा हुँदाहुँदै पनि स्वदेशमा बस्न सक्ने अवस्था बनाउन नसकेकोमा उनी विगतका नेतृत्वप्रति रुष्ट देखिन्छन् । ‘बहुदल आएदेखि नै मैले देखेको छु, खोई कसैले राम्रो गर्न सकेनन् ! नत्र त विदेश जाने मन हामीलाई पनि कहाँ छ र ?’ उनले गुनासो पोखे ।

यस्तै, दाङ तुलसीपुरका अर्का यात्रु बोधबहादुर सुनार पनि सरकारले शिक्षा र रोजगारी सिर्जनामा बेवास्ता गर्दा देशमा टिक्न नसकेको बताउँछन् । ‘संविधानले शिक्षा, स्वास्थ्य निःशुल्क बनाएको छ । हामीले हाम्रा बच्चालाई गुणस्तरीय शिक्षा दिलाउन भने प्राइभेट स्कूल नै हाल्नुपर्ने अवस्था छ । त्यसैको लागि पनि विदेश जानु परेको छ । हामी बाध्यताले विदेश जाँदै गर्दा छोराछेरीमा समेत उतै जाने लहर बढेको छ,’ उनले भने । अब आउने सरकारले देश बनाउने विकासका नयाँ निर्णयसहित अडिग भएर सेटिङ नगरी जनताको लागि काम गर्न उनले सुझाए ।

‘०३६ सालदेखि हामीले भोगेका छौँ । हरेक काममा सेटिङ हुन्छ । सबैले आफ्नै छोराछोरी र आफन्तलाई मौका दिएका छन्, ठाउँमा पुर्‍याएका छन् । गरिबहरु त जहिलेपनि समस्यामा अल्झिने र तल पर्ने भएको छ । हामी त भोट दिने वस्तु मात्रै त रहेछौँ नि,’ उनले भने । कतारका लागि शनिबार विमानस्थल आउँदा उडान रोकिएको खबर पाएपछि फर्किएका उनी आइतबार पुनः उडान हुने वा नहुनेबारे बुझ्न विमानस्थल आएका थिए ।

यस्तै, साउदी अरबका लागि आइतबार दिउँसो साढे २ बजेको उडान तय भएका मोरङका उपेन्द्र मगर पनि विमानस्थल पुगेका थिए । द्वन्द्वका कारण उडान रोकिएपनि मत हालेर उम्मेदवार चुन्न पाउने अवस्था बनेकोमा भने उनी खुसी देखिन्थे । ‘पहिलोपटक विदेश जान लागेको हुँ । फ्लाइट रोकिँदा भोट हाल्न पाइन्छ जस्तो छ । चुनावमा भोट माग्न आउँदा हामी गर्छौँ भनेपनि बरोजगारीकै कारण विदेश जान लागेको हुँ,’ उनले भने ।

साउदी अरब जान लागेका उपेन्द्र मगर

उनी थप्छन्, ‘नागरिकको दुःखसँग भोट साटेर सरकारमा पुगेकाहरुले गर्नुपर्ने काम नगरेकै कारण सानै उमेरमा गाँस जुटाउनकै लागि मैले न बालापन भोग्न पाएँ न पढ्न नै सकेँ ! खोई त सरकराले बालअधिकार र शिक्षाको प्रत्याभूति गराउन सकेको ?’ उनी प्रश्न गर्छन् । सिंहदरबार दैलोमा पुगेको भनिएपनि केही काम हुन नसकेको उनको गुनासो छ ।

‘स्थानीय सरकारले आर्थिक अवस्था कमजोर भएका हामीजस्ता परिवारलाई कामसँग जोडिदिएको भए समस्या हुदैँनथ्यो,’ उनी थप्छन् । रोजगारीमा भौँतारिनु पर्दा आफूले माध्यामिक तहसम्म मात्रै अध्ययन गर्न सकेको उनले सुनाए ।

कानुनले सबै नागरिकलाई समान देख्ने व्यवस्था बनाउन अब आउने सरकारलाई उनी सुझाव दिन्छन् । ‘कानुन र पहुँचको भरमा धनी गरिब भनेर नलागोस्, सबैले समान गुणस्तरको शिक्षा र बाँच्न पाउने अधिकार पाउँन् भन्ने लागेको छ,’ उनले भने ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  १० : ४० बजे

निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक निर्वाचनमा

लेबनानमा इजरायली आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

बेरुत- इरानपछि इजरायलले लेबनानमा पनि बमबारी थालेको छ। समाचारअनुसार लेबनानमा

इरानको अडान : ‘अमेरिका फर्स्ट’को नारा ‘इजरायल फर्स्ट’ भइसक्यो, अब वार्ता हुँदैन

वासिङ्टन- इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीलेले अमेरिकासँग कुनै

सल्यानमा रास्वपाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीबाट मदिरा र चामल नियन्त्रणमा 

सल्यान– सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा संलग्न

सूर्यमा चित्त नबुझे तारामा भोट हाल्न एमाले नेताको आह्वान

काठमाडौं– नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर