काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधसभाको चुनावअघि विशेष महाधिवेशन गरेर गगन थापालाई सभापति चुनेको नेपाली कांग्रेसमा स्पष्ट दुई धार देखिएको छ । गगनलाई सभापति स्वीकार नगरेको तत्कालीन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाको समूहले समानान्तर गतिविधिलाई तीव्र पारेको छ ।
विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयसँगै पार्टीको नेतृत्व गगन पक्षको हातमा पुगेपछि पूर्वपदाधिकारीको समूहले धुम्बाराहीको होटलमा भेला गरेर पुनरागमनको प्रयास गरिरहेको छ । हाल विशेष महाधिवेशनको वैधानिकता र नयाँ नेतृत्वको विषय सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतले १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई मान्यता दिने देउवा-शेखर समूहको अपेक्षा छ ।
यो समूहले आफू समर्थक जिल्ला सभापतिहरुको भेला बोलाउने तयारी गरिरहेको छ । यस्तो अवस्थामा कांग्रेसमा देखिएको यो किचलोको मिलनविन्दु के हो ? विशेष महाधिवेशनयता दुई पक्षबीच संवाद भएको छ कि छैन ? यस्तै विषयमा आधारित रहेर खबरहबले १४ औँ महाधिवेशनमार्फत केन्द्रीय सदस्य चुनिएका नेता गुरु बरालसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-
यहाँहरुले गगन थापालाई सभापति स्वीकारेका छैनौँ भन्दै समानान्तर गतिविधि गरिरहनुभएको छ, धुम्बाराही भेलाको सन्देश के हो ?
कांग्रेसभित्र विवाद थिए, छन् र चलिरहेका छन् । निर्वाचनकै मुखमा विशेष अधिवेशन गर्नु दुभार्गयपूर्ण थियो । मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा हतार नगरौँ, निर्वाचनको मुखमा अधिवेशनको प्रारम्भिक चरण सुरु गरौँ भनेर हामीले भन्यौँ । निर्वाचनको मुखमा अधिवेशन गर्दा पार्टीभित्र एक खालको दरार सिर्जना गर्छ भन्ने सोचका साथ निर्वाचनलगत्तै वैशाख अन्तिम हप्ता अधिवेशनको मिति तोकिएको थियो । तर तल्लो तहका साथीहरुमा पार्टी रुपान्तरणको चाहना छ भन्ने हामीले नबुझेका होइनौँ ।
विशेषबाट टाउकोमात्रै परिवर्तन गरेर त्यसको सम्बोधन हुनेवाला थिएन । यही भनेर नै हामीले निर्वाचनपश्चात वडाबाटै नेतृत्व बदलेर जाने निर्णय गरेका थियौँ । आफ्नो अभीष्ट पूर्न गरेर साथीहरुले विशेष अधिवेशनको ढ्वाङ रचे । जसकारण पार्टी दुर्घटनामा पर्यो ।
कांग्रेस पार्टीको सिद्धान्त र नीति विपरीत निर्वाचन आयोगले व्यक्तिमुखी भएर गरेको बद्नियतपूर्ण निर्णयमा हाम्रो असहमति छ । हामी अदालत पनि गयौँ । तर निर्वाचनको मुखमा पार्टीलाई आँच पुग्नु हुँदैन भन्ने हाम्रो मत थियो । यही भनेर निर्वाचन लड्ने इच्छा राख्नुभएका २/४ जनाले टिकट पाउनुभएको थियो । उहाँहरु चुनाव लड्नुभयो । तर विवाद भने जहाँको त्यहीँ थियो । यतिबेला कांग्रेसको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतले जे निर्णय गर्छ, त्यसलाई हामी शीरोपर गर्छौँ ।
त्यस बेलासम्म पहिले नै तय गरिएका कार्यक्रम यतिबेला धुम्बाराहीमा भइरहेको छ । जहाँ फागुन २१ मा भएको निर्वाचन परिणामको समीक्षा, वैशाख २८ देखि ३१ का लागि तोकिएको मितिमा वा त्यो नसके जतिसक्दो छिटो १५ औँ नियमित अधिवेशन, वर्तमान सरकारका काम हेरेर आलोचना तथा आवश्यक समर्थन गर्ने विषयमा छलफल भइरहेको छ । अब यो गतिविधिले निरन्तरता पाउँछ ।
कांग्रेसभित्रको वैधानिक विवाद सर्वोच्च अदालतमा विचाराधीन छ, नेतृत्व र आगामी महाधिवेशनबारे तपाईंको धारणा के छ ?
हामी कानुनी राज्यमा छौँ । त्यसैले निर्वाचन आयोगको निर्णय बद्नियतपूर्ण भएकाले हामीलाई स्वीकार्य छैन । आयोगले संविधान, परम्परा र दलीय व्यवस्था मिचेर निर्णय दिएको छ । कानुनविद्हरूसँगको छलफलपछि १४ औँ महाधिवेशनबाट बनेको कार्यसमिति नै न्यायसंगत हुनेमा हामी विश्वस्त छौँ ।

केही दिनमै सर्वोच्च अदालतले गर्ने फैसलाबाट कांग्रेसको वैधानिकता टुंगो लाग्नेछ । र, त्यो निर्णय जसको पक्षमा आए पनि हामी अक्षरशः पालना गर्न तयार छौँ । भृकुटीमण्डपको भेला हामीले वैधानिक मानेका छैनौँ, तर हामी पार्टीलाई सग्लै राख्न प्रतिबद्ध छौँ ।
हामी पार्टी रुपान्तरण र पुस्तान्तरणका पक्षधर हौँ । तर हतारो, असन्तुष्टि र महत्वाकांक्षाले पार्टी कमजोर बनेको देखिन्छ । सभापति देउवाले नियमित महाधिवेशनमार्फत रुपान्तरणको प्रस्ताव राख्दा संयमता अपनाएको भए अहिलेको अवस्था आउने थिएन भन्ने हाम्रो बुझाइ छ । कार्यकर्ता र शुभेच्छुकबाट एकताका लागि दबाब बढिरहेको छ । त्यसैले अदालतको फैसला स्वीकार गर्दै एक भएर १५ औँ महाधिवेशनको तयारीमा जुट्न आवश्यक छ ।
गगन र देउवा–शेखर पक्षबीच सहमति नजुटेकै कारण पार्टीमा समानान्तर गतिविधि अघि बढेको हो ?
हामी सबै एउटै घर–परिवारका सदस्य हौँ । तर पछिल्लो समय नेतृत्व तहबीच असमञ्जस्य देखिएको छ । नियमित अधिवेशनको मिति तय भएपछि विशेष अधिवेशन स्वतः समाप्त हुन्छ भन्ने सहमतिका आधारमा अघि बढिएको थियो । तर, व्यवहारमा त्यसअनुसार हुन सकेन । पार्टीभित्र बढेको महत्वाकांक्षा र हतारोका कारण विवाद थप चर्किएको देखिन्छ । निर्वाचन परिणामले पनि कांग्रेस इतिहासकै पुड्को र सानो आकारमा छ ।
जो सभापति भए पनि कांग्रेस पार्टी लोकतन्त्रमा विश्वास गर्ने सबैको साझा संस्था हो । पार्टी कमजोर हुँदा लोकतन्त्रप्रति विश्वास राख्ने नागरिकको मनोबल पनि कमजोर हुन्छ । त्यसैले कठिन परिस्थितिमा पनि निर्वाचनमा सहभागी भएर पार्टीलाई जोगाउने प्रयास गरिएको हो ।
अहिले आग्रह–पूर्वाग्रह त्यागेर वैशाखमा तय गरिएको नियमित महाधिवेशन सफल बनाउन सबै पक्ष एक ठाउँमा उभिनु आवश्यक छ । पार्टी एकताका लागि औपचारिक वार्ता अपेक्षित रूपमा अघि बढ्न नसकेको भए पनि संवादको ढोका खुला नै छ । देश, लोकतन्त्र र पार्टीको भविष्यका लागि सबै पक्ष परिपक्व भएर एकतामा आउनु आजको आवश्यकता हो ।
तपाईँहरुले गरिरहेको गतिविधिमा सभापति देउवाको भूमिका छ कि छैन ? उहाँको अवस्था के छ, कहाँ हुनुहुन्छ ?
१४ औँ नियमित महाधिवेशनका हाम्रा सभापति शेरबहादुर देउवाले पार्टीको बेदाग र खारिएको नेता पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिनुभएको छ । त्यो पनि विधानअनुरुप नै भएको छ । सभापति अहिले उपचारकै क्रममा सिङ्गापुरमै हुनुहुन्छ ।
६०/६५ वर्षदेखि देश, देशको लोकतन्त्र र पार्टीको लागि अनवरत खट्दै आएको मान्छेलाई पार्टीभित्रबाटै भएको यो अपमान सहन सजिलो छैन । उहाँ विक्षिप्त हुनुहुन्छ । यो सबका बीचमा पनि देशले गति लियोस, देश र लोकतन्त्र स्थिर होस, पार्टी थप मजबुत भएर जाओस् भन्ने उनको चिन्ता छ ।
उहाँ अहिले पनि अभिभावकीय भूमिकामा हुनुहुन्छ । पार्टीको चिन्ता गरिराख्नुभएको छ । संवादमै हुनुहुन्छ । हामीलाई मार्गनिर्देशन गरिराख्नुभएको छ । अब उहाँ सक्रिय रुपमा आउनुहुन्न । देउवाले पहिलेदेखि नै मेरो तेस्रो कार्यकाल हुँदैन, विधानले दिँदैन, म आउँदिन भनिरहनुभएको थियो । साथीहरुलाई पद पाउन हतार भयो । २०७९ असार ६ मा अमेरिकी सेना ल्याउने एसपीपी परियोजना अगाडी नबढाउँदा उहाँले निकै प्रेसर झेल्नु परेको थियो ।

संसदमा उहाँलाई त्यसपछि पनि सबैभन्दा पुरानो र ठूलो दलको नेताको रुपमा प्रधानमन्त्रीको अफर आएको हो । तर स–शर्त आयो । त्यसैले उहाँले स्वीकार गर्नुभएन । ओलीजीले यो कुरा गरिदिएको भए यो दुर्दशा हुने थिएन । देशलाई अन्तर्राष्ट्रिय प्रभावबाट जोगाउन प्रधानमन्त्रीले नखाएर उहाँले कुटाइ खाएको हो । त्यसैले उहाँको पुनरागमन हुँदैन ।
तपाईंहरु दुबै पक्षले एक हुन्छौँ, कांग्रेस फुट्दैन भन्नुहुन्छ, साँच्चै एकता चाहेको हो भने एकताको सूत्र के हुनसक्छ ?
असन्तुष्टि कांग्रेसमा मात्रै होइन परिवार, समाजदेखि हरेका संस्था समूहमा हुन्छन् । हामीले विशेषलाई मानिदियौँ, उहाँहरुले पनि १५ औँ नियमित महाधिवेशन त गर्नुपर्छ । त्यो गरेको केही दिनमै अर्को पक्ष विशेषको निवेदनसहित यसैगरी लाग्यो भने के हुन्छ ?
काम गर्ने क्रममा कमी कमजोरी हुन्छन । फेरि दायाँ र देब्रेले हस्ताक्षर बटुलेर लिएर गयो भने त्यसले चिरस्थायी दुर्घटना निम्त्याउँछ नि ! त्यही भएर त्यो प्रवृत्ति बन्द गरौँ र १४ औँ कार्यसमितिलाई ब्यूँताएर १५ अधिवेशनमार्फत प्रतिस्पर्धाबाटचुनिएर स्वच्छ गरी पार्टी चलाउँ ।
पार्टीमा नयाँ छलाङ ररुपान्तरण चाहेर हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिको हुटहुटीमा कोही झिल्के आएर म गर्छु भन्दा तपाईँ म समाज सबै बहकिन्छौँ । त्यस्तै बहकाउको जालोमा कांग्रेस पर्यो र भूमरीमा फस्यो पनि । देश पनि अहिले त्यही अवस्थामा छ ।
बालेन्द्र नेतृत्वको सरकारले विभिन्न आरोपमा एकपछि अर्को नेतालाई निशाना बनाउँदै गएको छ । यसलाई कसरी हेर्नुभएको छ ?
केपी ओली, रमेश लेखक, दीपक खड्का सबैले निर्वाचित बनेलगत्तै सम्पत्ति विवरण बुझाउँदै आउनुभएको छ । यो समात्ने थुन्ने आतङ्क फैल्याउने काम भएको छ । यसरी सबै दललाई आतङ्कित बनाएर त्यसको आडमा लोकप्रियता कमाउनेमा सरकार लागेको छ । दलहरुलाई दबाबमा राखेर राष्ट्रलाई घात पुग्ने काम पनि गरिरहेका हुन सक्छन् । त्यसो भएर हामीले सचेततापूर्वक खबरदारी गर्न जरुरी छ ।
















प्रतिक्रिया