ललितपुर– ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद जगदीश खरेलले नागरिकसँग प्रत्यक्ष संवादका लागि सम्पर्क कार्यालय स्थापना गरेका छन् । चुनावी घोषणापत्रको प्रतिबद्धता अनुसार सांसद खरेलले क्षेत्र नम्बर २ को ग्वार्को क्षेत्रमा आज आफ्नो सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् ।
खरेलले घोषणापत्रमा खुला सांसदको अवधारणा अनुसार नागरिकका सवाल र समस्यासँग संवादका लागि सम्पर्क कार्यालय स्थापना गर्ने घोषणा गरेका थिए । ललितपुरको ग्वार्को चोकनजिकै स्थापित सम्पकर्क कार्यालयमा नागरिकले गुनासा, समस्या र सुझाव टिपोट गर्न सक्ने र हप्ताको एक दिन ३ घण्टा सांसदसँग संवाद गर्न मिल्ने तालिका बनाइएको छ ।
सांसद खरेलले आफू हरेक शनिबार बिहान ७ देखि १० सम्म नागरिकसँग प्रत्यक्ष संवादमा रहने जानकारी दिए । उद्घाटन कार्यक्रममा बोल्दै सांसद खरेलले नागरिकसँग सधैँ सँगै रहेर काम गर्न र नागरिकका सवाललाई नीतिगत तहमा पुर्याउन सम्पर्क कार्यालय स्थापना गरेको बताए ।
उनले नागरिकका हरेक विषय लिपिबद्ध गरेर अध्ययन गर्ने र त्यसका आधारमा संसद तथा सरकारमा पुर्याउने जानकारी दिए । कार्यालय उद्घाटन कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
















प्रतिक्रिया