काठमाडौं- २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ मध्ये ६ वटा मात्रै राष्ट्रिय दल बने । जसमा ५ दल पुरानै दोहोरिए । श्रम संस्कृति पार्टीले नयाँ दलको मान्यता पायो ।
नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुरानातर्फबाट मान्यता पाएका दल हुन् ।
यीमध्ये कांग्रेसबाहेक सबैले संसदीय दलको नेता चुनिसकेका छन । रास्वपाले निर्वाचनअघि नै वालेन्द्र शाहलाई दलको नेतासहित प्रधानमन्त्री बनाउने बताइसकेको थियो ।
त्यहीअनुसार प्रकृया अघि बढाएर उनी गत शुक्रबार प्रधानमन्त्री बनिसकेका छन् । राप्रपाबाट ज्ञानेन्द्र शाही तथा श्रम संस्कृति पार्टीले अध्यक्षसमेत रहेका हर्क साम्पाङ राईलाई दलको नेता चुनेका छन् ।
एमालेमा पनि विवादबीच बुधबार २०७४ सालअघि वाम एकता हुँदा भित्रिएका रामबहादुर थापा (बादल) दलको नेता चयन भए । उनीसँग प्रतिस्पर्धा गर्न खोजेका युवा नेता सुहाङ नेम्वाङ थिए ।
तर पार्टीभित्र लोकतान्त्रिक अभ्यासको थिति बसाल्न उभिएका उनले समर्थक र प्रस्तावक नै पाएनन् । जसको विरोधमा युवाहरूले पार्टी कार्यालयमा धर्ना नै बसे ।
प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षीको भूमिकामा यतिबेला नेपाली कांग्रेसमा छ । रास्वपाले जस्तै कांग्रेसले पनि सर्लाही–४ बाट निर्वाचनमा होमिएका गगनकुमार थापालाई प्रधानमन्त्री घोषणा गरेको थियो । तर, उनी फराकिलो मतान्तरसहति पराजित भएपछि दलको नेतामा कांग्रेसले विकल्पमा जानुपरेको हो ।
अर्कोतर्फ निर्वतमान सभापति शेरबहादुर देउवा–डा. शेखर कोइराला पक्षले समानान्तर गतिबिधि सुरू गरेपछि कांग्रेस आन्तरिक किचलोमा छ ।
त्यहीकारण निर्वाचनपश्चात शुक्रबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा कांग्रेस मात्रै दलको नेताबिनै सहभागी हुने पार्टी बन्यो । सभाको पहिलो बैठकमा दलको नेतामा दाबेदारका रुपमा रहेका भीष्मराज आङ्देम्बेले सम्बोधन गरे ।
कांग्रेसमा अर्का दाबेदार हुन्, ज्येष्ठ सदस्यका रुपमा सभाको सभामुखको भूमिका निर्वाह गरिरहेका अर्जुननरसिंह केसी । उनले समाजिका सञ्जालबाटै आफू दलको नेताको दाबेदार घोषणा गरिसकेका छन ।
लामो राजनीतिक तथा संसदीय अभ्यासमा भिजिसकेकाले उनी दाबी स्वभाविक पनि हो । तर उनीमाथि कांग्रेस सरकारमा हुँदा पटक–पटक लाभको पदमा बसेकोमा अहिले अरुले पालो पाउनुपर्ने दबाब छ । त्यसैमाथि सभापति थापाका ससुरा भएका कारण उनी दलको नेता बन्दा पार्टीलाई क्षति पुग्न सक्ने नेताहरू बताउँछन् ।
‘सभापतिको ससुराभन्दा पनि उहाँ अब्बल क्षमतावान नेता हो । तर उहाँलाई दलको नेता चयन गर्दा अहिलेको बदँलिदो पस्थितिमा पार्टीलाई असर पुग्छ कि भन्ने पनि सोच्नुपर्छ,’ थापा सचिवालयका एक सदस्यले भने ।
केसी समानुपातिक सूचीबाट सांसद बनेका हुन् । त्यसैले पनि प्रत्यक्ष निर्वाचित नेतालाई नै दलको नेता बनाइने कांग्रेसको अभ्यास अनुसार नै हुनुपर्ने दबाबसमेत बढेको उनले थपे ।

‘आङ्देम्बे र थापा दुवै समानुपातिक सांसद हुनुहुन्छ । प्रत्यक्षबाटै आएकालाई दलको नेता चुन्ने गरेकोमा पनि ध्यान दिन दबाब बढेको छ,’ उनले बताए ।
कांग्रेसको वैधानिकताको विषयलायई लिएर सर्वोच्च अदालत विचाराधीन मुद्दाको सुनुवाइ यही चैत २२ गते भएकाले त्यसपछि टुंगो गर्ने तयारी रहेको उनले बताए ।
‘विचाराधीन मुद्दाको फैसला आएपछि निर्णय गर्न खोजिएको भन्न पनि सकिन्छ,’ उक्त स्रोतले भन्यो ।
यस्तै, सह–महामन्त्री फरमुल्लाह मंसुरले सम्भव भएसम्म सर्वसम्मतिमै चयन गरिने अन्यथा प्रक्रियाअनुरुप हुने बताएका छन ।
‘अहिले ३८ जना सांसद हुनुहुन्छ । उहाँहरू सबै दलको नेताका दाबेदार पनि हो । मलाई लाग्छ सर्वसम्मतिमै नेता चयन गरिनेछ । त्यसो हुन नसके प्रक्रियामा जानुपर्छ,’ मन्सुरले भने । उनका अनुसार २/४ दिनामा यसबारे निर्णय हुनेछ ।
आङ्दाम्बे र केसीसँगै दलको नेतामा भरतबहादुर खड्काको पनि चर्चा छ । अर्कातर्फ युवातर्फ देशकै आकर्षण बढिरहँदा कांग्रेसका इलाम–२ बाट निर्वाचित निश्कल राई पनि चर्चामा छन ।
‘भरत दाइ र निश्कलको पनि दाबी रहने देखिन्छ । तर युवा नेतालाई नेतृत्वमा आउन बाटो खुल्ला नखुल्ला त्यो भने शंका नै छ,’ उनले शंकासहित भने ।
दलको नेता चयनमा ढिलाइ गर्दा कांग्रेसमा समस्या देखिएको छ । सर्वोच्चबाट प्रकाशमानसिंह राउत बिदा भएपछि अब बुधबारदेखि कार्यवाहक पद सपना प्रधान मल्लले सम्हालेकी छिन ।
उक्त पद चैत १८ देखि रिक्त भए पनि नयाँ नियुक्तिका लागि संवैधानिक परिषद्ले आवश्यक पहल गर्न सकेको छैन । संविधानको धारा २८४(३) अनुसार एक महिनाअगावै नाम सिफारिस हुनुपर्ने व्यवस्था छ ।
तर, परिषद् अझै पूर्ण नभएकाले प्रक्रिया अघि बढ्न सकेको छैन । प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष र कानूनमन्त्री पदमा रहे पनि प्रतिनिधिसभाको सभामुख र विपक्षी दलको नेता चयन नहुँदा परिषद अपूर्ण बनेको हो ।
















प्रतिक्रिया