दिमाग खराब : निर्देशक निश्चल एकाएक ‘भिलेन’ « Khabarhub

दिमाग खराब : निर्देशक निश्चल एकाएक ‘भिलेन’


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्य आमव्यक्तिका कुरा छाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र एवम् पूर्व सांसद सूर्य थापाले समेत निर्देशक निश्चल बस्नेतबारे तिखो र तीतो टिप्पणी गर्न भ्याएका छन् । 

सामाजिक सञ्जालमा छुच्चो स्वभाव देखाइरहने थापाले लेखेका छन्, ‘निश्चल बस्नेत, स्वस्तिमा खड्का, अर्जुन घिमिरेलगायत थुप्रै कलाकार भदौ २३, २४ र फागुन २१ सम्मका घटना–परिघटनामा जसरी दुरूपयोग भए, त्यसको उचित हिसाब किताब समयक्रममा हुने नै छ ।

जानी-नजानी राजनीतिको दुरुपयोगमै परेका व्यक्तिलाई घृणा होइन, उद्दार र सही शिक्षाको जरूरत छ । तर, तिनका चलचित्र बहिस्कार गरेर वा गर्न भनेर होइन, फुर्सद मिल्दा टिकट काटेर हेरी सहयोग गर्न चाहन्छु ।’

यतिबेला निश्चललाई बहिस्कार गर्ने चर्चा सामाजिक सञ्जालमा उग्र बनेको छ । उनलाई ‘खरानी ग्याङ’को योजनाकर्ता र नाइकेका रुपमा प्रस्तुत गरिएको छ। यो ग्याङबारे यस सामाग्रीमा चर्चा पक्कै हुनेछ । 

जब अदालतले प्रदर्शनमा रोक लगाएको फिल्म ‘लालीबजार’को समर्थन गर्दै उनी माइतीघर मण्डलमा पुगे, तब आक्रमण झन् बढ्यो । निश्चल माइती घर नजाऊन् पनि कसरी ? श्रीमतीसमेत रहेकी स्वतस्तिमा खड्का यस फिल्मकी शीर्ष नायिका हुन् । फिल्म नै जोडिएको विषयमा त्यही क्षेत्रको भएकाले ऐक्यबद्धता जनाउन जानु नैतिकरूपमा बाध्यकारी पनि हुन्छ।

दिन बिग्रिएपछि कसको के लाग्छ ? निश्चल आफ्नो उपस्थितिबाट अदालतले रोक्का गरेको फिल्मलाई केही राहत पुग्ने आशयसहित धर्नामा गएका थिए, तर भइदियो उल्टो । 

केहीले ‘लालीबजार’लाई निश्चलको फिल्म मानेका छन् । केहीले स्वस्तिमा जोडिएको फिल्म उनकै हो भन्ने तर्क गरेका छन् । तर्क जे होस्, सार र आशय एकै छ– फिल्म बहिष्कार, निश्चललाई बहिष्कार, उनका फिल्मलाई बहिष्कार । 

ठूलै गल्ती गरेर बाटो बिराए जसरी उनीमाथि सामाजिक सञ्जालमा चौथर्फी आक्रमण भइरहेको छ । उनी संगठित हमलाकै शिकार बनेका छन् । 

भदौ २३ अघिका निश्चल

डेढ दशकअघि प्रदर्शनमा आएको ‘लुट’ फिल्म नै निश्चलको परिचय फेरेको थियो ।

त्यसबेला नेपाली फिल्म लगभग कोल्याप्स हुने अवस्थामा थियो । बनिरहेका फिल्मप्रति दर्शको वितृष्णा थियो । मेकरले अहिले पनि भन्ने गरेका छन्, ‘त्यसबेला हलमा दर्शक आउनै छाडेका थिए ।’

यही परिदृश्यमा निश्चलले ‘लुट’ ल्याए । फिल्म ब्लकबस्टर भयो । त्यसको संवाद दर्शकको मुख-मुखमा झुण्डियो । यो फिल्म यति हिट भयो कि पर्दापछाडि सीमित डेब्यू निर्देशक निश्चलको प्रोफाइल स्टार नायकको भन्दा चर्चित बन्यो । 

‘लुट’लाई नेपाली फिल्म क्षेत्र कोल्याप्स हुनबाट बचाउने अचुक बुट्टीका रुपमा लिइन्छ । फिल्म निर्माणको धार परिवर्तन गराउने आइडलका रुपमा हेरिन्छ । नेपाली फिल्मको एउटा कोशेढुङ्गा हो, ‘लुट’ ।

यहीकारण निश्चलको दर्शकसँग राम्रो प्रभाव छाडे । ‘निश्चलको फिल्म राम्रो हुन्छ है’ भन्ने विश्वास दर्शकमा छ । निश्चलले फिल्म क्षेत्रका लागि गरेको योगदान हो– हलवालासँगको विद्रोह । 

फिल्म ‘दिमाग खराब’ प्रदर्शनका दौरान निश्चलले निर्मातालाई बचाउन हलवालासँग भिडे । त्यसबेला फिल्म प्रदर्शनको तेस्रो साताबाट निर्माताले हलबाट टिकट बिक्रीको ३५ प्रतिशत हिस्सा पाउँथे । निश्चलले ५० प्रतिशत पाउने अडान राखे, नभए फिल्म हलबाट उतार्ने चेतवानी दिए । 

निश्चललको त्यही विद्रोहबाट अहिले निर्माताले हलबाट ५० प्रतिशत हिस्सा पाउँछन् । निर्मातालाई मुनाफा कमाउन र लगानी सुरक्षित गर्न त्यसपछि ठूलो राहत मिलेको छ । 

गत भदौ २३ अघिका निर्देशक बस्नेत बिलकुल स्वच्छ छवि र राम्रो फिल्म दिने मेकरका रुपमा परिचित थिए ।

खरानी ग्याङ

गत भदौ २३ र २४ गते दुई दिन भएको जेन–जी आन्दोलनको भौतिक समर्थनमा उत्रिएका कलाकारमध्ये एक हुन्– निश्चल । 

यस आन्दोलनले सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय, संसद् भवन, प्रहरी कार्यालय, सयौँ सरकारी कार्यालय र निजी संरचना ध्वस्त पारियो । अर्थात्, जेन-जीका नाममा देशलाई करिब करिब खरानीमा परिणत गरियो ।

यही आन्दोलनमा सहभागी भएर अग्रपंक्तिमा देखिएको र सर्वसाधरणलाई सरकारी कार्यालय जलाउन उक्साएका भन्दै निश्चलको छविलाई त्यसपछि खलपात्रमा परिणत गर्न थालियो ।

जेन–जी आन्दोलनमा उनको सहभागिता कस्तो हो ? उनी आफैँ सरकारी कार्यालय जलाउन उत्रिएका थिए ? यसको आधाकारिक पुष्टि सरकारी निकायले गर्न सकेका छैनन् । तर, उनी नेपाली समाजको एउटा तप्काका लागि सरकारी सम्पत्ति जलाउने नाइके साबित भइसके । त्यसयता उनलाई निरन्तर राक्षसीकरण गरिँदैछ।

अझ छुटाउन नहुने पाटो आन्दोलनयता निश्चलको राजनीतिक सक्रियता हो । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का वरिष्ठ नेता बालेन शाहनिटक देखिए, खुला समर्थक बने । बालेनसँगै खाना खाइरहेका देखिए। सार्वजनिक स्थानमा पनि देखिए। अर्थात्, उनीहहरूको सम्बन्ध एकदमै नजिकको रहेको कुरा अब गोप्य छैन ।

बालेन उनै नेता हुन्– जसलाई जेन–जी आन्दोलनलाई प्रभावित पार्ने मुख्य नेता मानिन्छ । तथापि, उनी यो आन्दोलनका लागि सडकमा निस्किएनन्। उनले सामाजिक सञ्जालबाट भने भिडलाई उक्साउने काम गरे । तर उनी प्रत्यक्ष रुपमा यो आन्दोलनमा होमिएनन् ।

यतिबेला ती सरकारी कार्यालय जलाएको आवेगमा बालेनको टिम र उनको पार्टीलाई नै ‘खरानी ग्याङ’का रुपमा सामाजिक सञ्जालमा चित्रित गरेको पाइन्छ । 

बालेन प्रधानमन्त्री नहुञ्जेल उनको महत्त्वपूर्ण राजनीतिक भेटघाटमा निश्चल अनिवार्य उपस्थित हुन्थे । उम्मेदवारी चयनमा पनि बालेननिकट रहेर निश्चल सहभागी भएको भित्री सूचनामा पनि बाहिरियो । 

चुनावमा पनि उनी बालेनको समर्थनमा देखिएका थिए । खुलेर मैदानमै उत्रिए ।

देश खरानीमय बनेकोसँग असन्तुष्टको आक्रोश अहिले निश्चलमाथि पनि छ । किनकि त्यो आन्दोलनमा सहभागी उनी एक चर्चित सेलिब्रिटी हुन् ।

निश्चल कुनै सरकारी या निजी सम्पत्ति जलाउन सक्रिय भएको तथ्य खबरहबले फेला पारेको छैन । तर उक्त आन्दोलनमा उनको समर्थन रहेको कुरामा कुनै द्विविधा छैन ।

एकाएक भिलेन

सामाजिक सञ्जालको आक्रोश हलमा देखिन पनि सक्छ तर, नदेखिएको उदाहरण धेरै छ । 

यो बहिष्कार अभियान र भिडको प्रभाव हलमा देखियो भने निश्चल व्यवसायिक संकटमा पर्ने देखिन्छ । 

आक्रोश फेरि समान्य छैन । उनी नैतिक समर्थन गर्न उभिएकै फिल्मलाई बहिष्कारको धम्की छ । यो हेर्दा त ठूलै भीड निश्चलको फिल्म बहिस्कार गर्ने पर्खाइमा रहेको लख काट्न सकिन्छ ।

निश्चल जस्ता अन्य सेलिब्रिटी पनि आन्दोलनमा होमिएका थिए । उनीहरू पनि रास्वपा र बालेनको समर्थनमा देखिएका थिए । तर, निश्चलमाथि नै व्यवसायिक संकट पार्ने गरी किन ठूलो भीड रुष्ट भयो त ? 

यहाँ फिल्म ‘दिमाग खराब’ जोडिएको छ । निश्चलले फागुन २१ को निर्वाचनअघि यो फिल्म युट्युबमा सार्वजनिक गरेका थिए । त्यहीकारण यो फिल्मलाई ‘रास्वपाको भिजुअल’ घोषणा पत्रका रुपमा विपक्षी पार्टीका नेता-कार्यकर्ताले लिएका छन् ।

यस फिल्मको कथा पुराना नेतालाई विस्थापन गर्न विद्रोही युवाको स्वतन्त्र उम्मेदवारी केन्द्रित छ । 

तत्कालीन समयको राजनीतिक अवस्था र रास्वपाले अंगिकार गरेको मुद्दासँग मिल्दो कथा वस्तु भएको फिल्म निश्चलले चुनावको मुखमै सार्वजनिक गरेका थिए । 

यो घटनालाई ‘उनको व्यवसायिक शक्ति रास्वपा पक्षलाई सहयोग पुग्ने गरी जनताको मनासिकता परिवर्तन गर्न प्रयोग गरेको’ टिप्पणी त्यही बेलादेखि भएको हो । 

अहिले उनलाई भिलेनका रुपमा चित्रण गर्नेहरू व्यवसायिक आक्रमणबाटै बदला दिने दाउमा देखिन्छन् । 

फेरि उनी श्रीमती नायिका स्वस्तिमा पनि रास्वपा र जेन–जी आन्दोलनको खुला समर्थक नै हुन् । 

बादी समुदायको आपत्तिका कारण उच्च अदालत पाटनले ‘लालीबजार’ रोक्यो, जसकी मुख्य नायिका स्वस्तिमा नै हुन् । दुवै रास्वपानिकट रहेका व्यक्ति अप्ठ्यारोमा पर्दा रिस फेर्न दाउ कुरेकालाई अहिले मौका मिलेको छ।

प्रदर्शनताका निर्माताको पक्षमा हलवालासँग विद्रोह गर्न प्रयोग भएको फिल्म ‘दिमाग खराब’ अहिले राजनीतिक अस्त्रका रुपमा चर्चित हुन पुग्यो । 

राजनीतिमा लाग्दा फिल्ममा दशक समय लगाएर बनाएको छविलाई अब एकाएक राक्षसीकरण गरिँदैछ ।

यथार्यभन्दा पर बहिष्कार ?

निश्चललाई जुन रुपमा चित्रित गरेर बहिस्कारको ट्रेन्ड चलाइएको छ, त्यसमा पूर्ण सत्यता नभएको पत्रकार तथा विश्लेषक सामिप्यराज तिमल्सिना पाउँछन् । 

जेन–जी आन्दोलनमा निश्चलको सक्रियतालाई गलत परिभाषित गरिएको पनि उनको बुझाइ छ । 

भन्छ्न्, ‘राजनीतिक निकास, खबरदारी र देशका विद्यमान समस्याको समाधानका लागि युवाको आवाज बुलन्द गर्न निश्चल सहभागी भएको देखिन्छ । तर, पुराना भनिएका दल वा निटक व्यक्ति–समूहले निश्चललाई नै विध्वंशको नाइकेका रुपमा चित्रण गरिदिए ।’

यही भाष्य सोसल मिडिया एल्गोरिदममा पर्दा निश्चललाई बदला लिने सोचमा भएकालाई बहिष्कार ट्रेन्ड चलाउन सहज भएको तिम्लसेना पाउँछन् । 

दीपकराज गिरी पनि निश्चललाई बहिस्कार गर्ने ट्रेन्ड जेन–जी आन्दोलनसँग सम्बन्धित रहेको बुझाइ राख्छन् ।

निर्वाचनमार्फत् जेन–जी आन्दोलनलाई जनताले सदर गरिसेकको अवस्थामा सहभागीलाई यो अवस्थामा प्रहार गर्नु उचित हो भन्ने दीपकलाई लाग्दैन । 

‘कलाकार कुनै दलको वा विचारको पक्ष पोषक हुनु हुँदैन’ भन्ने तर्कमा पनि दीपक दम देख्दैनन् । भन्छन्, ‘कोही विचार, व्यक्ति वा दलको पक्षमा लाग्ने पहिलो मेकर निश्चल होइनन् । यसरी दलमा आबद्ध हुने धेरै कलाकार वा मेकर छन् ।’

दीपकराजले निश्चललाई बहिस्कारको विषय केबल विपक्षीले रिस फेर्न निशाना लगाएको रुपमा बुझेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ७ : १२ बजे

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका

म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन

म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु

बन्दीपुरमा ‘गाउँ पर्यटन मार्ट’: हिमाली स्वाददेखि तराईको संस्कृतिसम्म

बन्दीपुर – पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा बिहीबारदेखि ‘गाउँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को

कञ्चनपुरका मजदुरलाई छैन न्यूनतम ज्याला, महिलामाथि विभेद

कञ्चनपुर – भीमदत्त नगरपालिका–८ की राजमती दमाईले गत सिजनमा अढाइ