शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाले लिए शपथ « Khabarhub

शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाले लिए शपथ


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री तथा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का सहकुलपति सस्मित पोखरेलले त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले हालै नियुक्त भएका अध्यक्ष थापालाई शपथ गराएका हुन्। त्यस्तै, मन्त्री पोखरेलको उपस्थितिमा आयोगका नवनियुक्त सदस्य प्रा. डा. रेजिना मास्केलाई अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराए।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई त्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन्।

शपथपछि अध्यक्ष थापाले त्रिवि सेवा आयोगको जिम्मेवारी निर्भीक, निष्पक्ष र इमानदार ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीको वृत्ति विकास, पेसागत दक्षता अभिवृद्धि र संस्थागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

उनले त्रिविको गौरवशाली इतिहासलाई आत्मसात गर्दै २१औँ शताब्दीका चुनौती सामना गर्न सक्षम विश्वविद्यालय निर्माणमा आफ्नो कार्यकाल केन्द्रित रहने विश्वास व्यक्त गरे। साथै, आयोगको अध्यक्षजस्तो महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकारप्रति आभार पनि व्यक्त गरे।

मन्त्रालयका अनुसार अध्यक्ष थापा र सदस्य मास्केको नियुक्ति त्रिवि सेवा आयोगलाई थप प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ गरिएको हो।

शिक्षामन्त्री पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले आवेदन दिएका उम्मेदवारहरूको अध्ययन, मूल्याङ्कन र अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गरेका हुन्।

समितिले गत जेठमा सेवा आयोग अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनहरूको योग्यता, अनुभव, नेतृत्व क्षमता र कार्यसम्पादनको मूल्याङ्कनपछि योग्य उम्मेदवारहरूको नाम सिफारिस गरिएको मन्त्रालयले जनाएको छ।

आर्किटेक्ट तथा सहरी योजनाविद्का रूपमा परिचित थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न जिम्मेवारी सम्हालेका छन्। उनी सहरी विकास, शिक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जल तथा ऊर्जा आयोग सचिवालयलगायतका निकायमा सचिवका रूपमा कार्यरत रहिसकेका छन्।

थापाले राष्ट्रिय आवास योजना, राष्ट्रिय सहरी विकास रणनीति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीति तथा नेपाल पर्यटन वर्ष २०११ जस्ता महत्वपूर्ण सरकारी नीति तथा कार्यक्रमको निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।

त्यसैगरी, भूकम्पपछिको पुनर्निर्माण अभियानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिका विज्ञ सदस्यका रूपमा योगदान दिएका थापा हाल नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडिजमा सहरी योजना विज्ञ तथा काठमाडौं विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीका रूपमा आबद्ध छन्। आवास, सहरी विकास, पूर्वाधार, विपद् व्यवस्थापन तथा सार्वजनिक नीतिका क्षेत्रमा उनको लामो अनुभव रहेको छ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  १ : ३४ बजे

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित

काठमाडौं– ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित

काठमाडौं– प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित भएको

पूर्वअर्थमन्त्री पौडेलविरुद्ध ६ दिन म्याद थप

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध ६ दिन

राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

काठमाडौं- राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि

कर्णालीमा गाडी दुर्घटना : भिरमा अड्किएको शव निकाल्ने प्रयास, बेपत्ताको खोजी जारी

दैलेख- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको फोर्स गाडी